प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानूनी जटिलता व्यहोर्न पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानूनी जटिलता व्यहोर्न नपर्ने बताएका छन् । सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन तथा मूल्याङकन समितिको बैठकमा उनले विदेशमा कोरोना सङ्क्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि तत्तत् देशलाई आग्रह गरिएकाले उपचारमा समस्या कहीँकतै नदेखिएको बताएका हुन् । मन्त्री ज्ञवालीले भने, “खानेबस्ने प्रबन्ध मुख्यरूपमा रोजगारदाताले गरेका छन्, केही ठाउँमा रोजगारदाता भागेको अवस्थामा गैरआवासीय नेपाली सङ्घ, स्थानीय च्यारेटी सङ्घ र दूतावास मिलेर सक्दो सहयोग गराइरहेका छन् । यद्यपि सबै ठाउँमा सबै ठिक छ भन्ने होइन । प्रवेशाज्ञाको म्याद सकिए पनि कानूनी झन्झट व्यहोर्नुनपर्ने व्यवस्था मिलाइएको छ ।” कोभिड–१९ का कारण बिस्तारै रोजगारी गुमाउनेको सङ्ख्या बढ्दै गएको बताउँदै उनले नेपालीहरुले आफ्नो देश फर्कन पाउनुपर्छ भन्नेमा सरकार सचेत छ भने । कोरोनाको महामारीपछि उत्पन्न परिस्थितिका कारण नेपाल फर्कने नेपालीको सङ्ख्या ५ लाख ८८ हजार ७ सय हुनसक्ने अनुमान गरिएको सो अवसरमा जानकारी दिइयो । खाडी मुलुकबाट ३ लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान छ । तीमध्ये तत्काल ल्याउन पर्ने सङ्ख्या २ लाख १० हजार ८ सय ७१ रहेको मन्त्रालयले जानकारी दियो । फर्कन चाहनेको प्राथमिकता निर्धारण र ल्याएपछि कहाँ–कसरी क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्ने चुनौती छ । स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने, कुन क्वारेन्टाइनमा राख्ने र त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको मन्त्री ज्ञवालीले बताए । अहिले मुलुकमा तयार गरिएका ३५ हजार क्वारेन्टाइनमध्ये २५ हजार भरिएका छन् । एकैसाथ धेरै नेपाली स्वदेश फर्केमा क्वारेन्टाइनकै समस्या हुने अनुमान गरिएको छ । उनले भने, “एकैपटक ठूलो सङ्ख्यामा नेपाली फर्कने हो भने तयारी र व्यवस्थापनमा उलटपुलट हुनेछ । यद्यपि आवश्यक तयारी गरेर ल्याइने हुनाले व्यवस्थापन गर्न सरकार सक्षम हुनेछ ।” रोजगारी गुमाएर स्वदेश फर्केकालाई रोजगारीमा कसरी जोड्ने भन्ने अर्को चुनौती हो । नेपालको कूल जनसङ्ख्याका १५ प्रतिशत जनसङ्ख्या मुलुकबाहिर छ । कूटनीतिक निकाय र नियोगबाट प्राप्त जानकारीअनुसार विश्वका १ सय ९ मुलुकमा ६४ लाख ६३ हजार ३ सय ७३ नेपाली विभिन्न पेशा र व्यवसायमा छन् । विभिन्न २१ मुलुकमा १० हजारभन्दा बढी नेपालीको सङ्ख्या छ । प्रवासमा रहेकामध्ये ठूलो सङ्ख्या श्रमिक छन् । विश्वका १२ मुलुकमा श्रम सम्भौताका आधारमा रोजगारीका लागि गएका नेपालीको सङ्ख्या १२ लाख ११ हजार ९ सय २४ रहेको छ । वैदेशिक रोजगारीमा घरमा काम गर्न विभिन्न माध्यमबाट गएकाले उनीहरुको यकिन तथ्याङ्क नरहेको मन्त्रालयले जनाएको छ । यसअघि बैठकमा सांसदहरूले मुलुकको आर्थिक विकासमा विप्रेषणका माध्यमबाट ठूलो योगदान पुर्याउँदै आएका अहिले अप्ठेरोमा परेर घर फर्कन चाहने नेपालीलाई तुरुन्त स्वदेश फर्काउने व्यवस्था गर्न सुझाव दिए । रासस
काेभिड -१९ : पोखरामा बैंक र वित्तीय संस्थाले पालना गरेनन् सुरक्षा मापदण्ड
पाेखरा । कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीलाई खुकुलो बनाउँदै विकास आयोजना, औद्योगिक प्रतिष्ठान तथा केही व्यवसाय सञ्चालनको अनुमति दिइए पनि पोखराका बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सोमबार पोखरामा गरेको अनुगमनका क्रममा अधिकांश बैंक, वित्तीय संस्था, बीमा, धितोपत्र तथा सहकारीहरुबाट पूर्वसावधानी तथा नियन्त्रणका उपाय अवलम्बन गरेको नपाइएकाले पुनः सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न/गराउनका लागि सचेत गराइएको छ । जिल्ला प्रशासनले सूचना जारी गरी अब उप्रान्त अनिवार्यरूपमा मापदण्डको पालना गर्न आग्रह गर्दै अन्यथा सिसीएमसी, सुरक्षा निकायका प्रतिनिधि वा जिल्ला प्रशासनका अधिकृतसहितको अनुगमन टोलीले सेवा वा व्यवसाय बन्द गराई सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । सिसीएमसीका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सोमबार अनुगमन गरिएका बैंक तथा वित्तीय संस्थामा सङ्क्रमण रोकथामका लागि पालना गर्नुपर्ने सुरक्षा उपायको पालना गरेको नदेखिएको बताए । यही वैशाख २७ गतेदेखि सामाजिक दूरी कायम गर्ने/गराउने पूर्ण जिम्मेवारी बहन गर्ने गरी कार्यालय सञ्चालनका लागि अनुमति दिइएको बताउँदै उनले भने, “जति संस्थामा अनुगमन गरियो, त्यहाँ सुरक्षा उपाय अवलम्बन गरिएको पाइएन, त्यस्ता संस्थालाई सचेत गराउँदै मापदण्ड पालनाको निर्देशन दिइएको छ ।” कार्यस्थलमा नियमित निसङ्क्रमित गर्ने, कार्यस्थलमा प्रवेश गर्नुपूर्व अनिवार्यरूपमा साबुनपानीले हात धुने, ज्वरो मापन गर्ने तथा व्यक्तिगत सुरक्षाका लागि मास्क, पञ्जा लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने र सेवा प्रवाहका बखत सामाजिक दूरी कायम गर्न/गराउन प्रशासनले सबैमा सचेत गराएको छ । त्यसैगरी कार्यालयका जम्मा कर्मचारीको एकतिहाइ सङ्ख्या नबढ्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउने, कार्यालय प्रमुखले लकडाउनको अवधिमा काममा खटाइएका कर्मचारीलाई अनिवार्यरूपमा खटाइएको दिन, बार र समय स्पष्ट खुल्ने प्रमाणित कागजात र आफ्नो परिचयपत्र लिई कार्यालय आवतजावत गर्ने व्यवस्था मिलाउन भनिएको छ । रासस
कोरोना भाइरस : ब्रिटेन, फ्रान्स र स्पेनमा लकडाउन खुकुलो पारिँदै
काठमाडौं । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्यान्डमा सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा ुसर्तसहितको योजनाु सार्वजनिक गरेका छन् । उनले घरबाट काम गर्न नसक्ने व्यक्तिहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने बताए । कोरोना भाइरस महामारी रोकथामका लागि ब्रिटेनले लकडाउन लगाएको थियो । प्रधानमन्त्री जोनसनले पाँच तहको नयाँ कोभिड सतर्कता प्रणालीले कति चाँडै लकडाउनका प्रतिबन्धहरूलाई अझ खुकुलो पार्न सकिन्छ भन्ने तय गर्ने बताए । उनले जुन १ सम्म प्राथमिक तहका विद्यार्थीलाई विद्यालय फर्काउन सकिने आशा व्यक्त गरे । आगामी चरण देशवासीका नाममा सम्बोधन गर्दै जोनसनले यो चरणमा यदि विज्ञानद्वारा समर्थन प्राप्त भए पसलहरू खोलिने बताए । आगामी चरणमा केही पर्यटन उद्योगहरू पनि खुल्न सक्नेछन् । तर जुलाई १ अघिसम्म ती बन्द रहनेछन् । जोनसनले यी चरणहरू लकडाउन खोल्ने योजनाको पहिलो खाका भएको बताए । उनले भने, यो साता सामान्य रूपमा लकडाउन समाप्त पार्ने समय होइन । त्यसको साटो हामी हाम्रा उपायहरूलाई सावधानीपूर्वक परिवर्तन गरिरहेका छौं ।उनले लकडाउन पालना गर्नुपर्ने समूहमा पर्ने व्यक्तिले उल्लङ्घन गरे बढी जरिवाना तिर्नुपर्ने चेतावनी दिए। निर्देशन सोमवार प्रकाशित हुने लकडाउनसम्बन्धी आदेशले नयाँ योजनाबारे विस्तृत जानकारी दिने अपेक्षा गरिएको छ । विपक्षीहरूले सरकारले अझै पनि सर्वसाधारणले जान्न खोजेका प्रश्नहरूको उत्तर सरकारले स्पष्ट रूपमा दिन नसकेको बताएका छन् । स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डले स्टे अलर्ट अर्थात् सावधान रहौं भन्ने नयाँ सरकारी योजनालाई अस्वीकार गरेका छन् । ती क्षेत्रमा मानिसहरूलाई घरमै बस्न प्रोत्साहित गरिएको छ । कानुनी रूपमा उनीहरूले आफ्नो क्षेत्रमा आफ्नै तरिकाको लकडाउन लागउन सक्छन् र ब्रिटिश सरकारको योजना लागु नगर्न पनि सक्छन् । फ्रान्समा धेरै प्रतिबन्ध हट्दै युरोपकै सबैभन्दा लामो लकडाउनपश्चात् फ्रान्सले सोमवारबाट कोरोना भाइरस नियन्त्रणका लागि लगाइएका धेरै प्रतिबन्धहरू हटाउँदैछ । पसलहरू र अधिकांश प्राथमिक विद्यालयहरू खुल्नेछन् । मानिसहरूलाई आफ्नो घरबाट १ सय किलोमिटरसम्म यात्रा गर्न दिइनेछ । उनीहरूले सानो समूहमा आफ्ना साथीभाइ र आफन्त भेट्न पाउनेछन् । तर बार, रेस्टुराँ र सिनेमाघर कम्तीमा अझै तीन सातासम्म बन्द रहनेछन् । भाइरस अतिप्रभावित प्यारिस र पूर्वोत्तर क्षेत्रमा थप नियमहरू लगाइनेछ । स्पेनमा खुकुलो स्पेनले पनि आफ्ना केही क्षेत्रहरूमा सोमवारदेखि लकडाउनलाई खुकुलो पार्दैछ । मानिसहरूले आफन्त र इष्टमित्र भेट्न पाउनेछन्। तर १० जनाभन्दा बढी भेला हुन पाइनेछैन । आफ्नो प्रदेशभित्र मानिसहरूले आवतजावत पनि गर्न पाउनेछन् । भिडभाड नगरी बार, रेस्टुराँ र पसलहरू खुल्न पाउनेछन् । तर कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित मड्रिड र बार्सिलोनामा भने प्रतिबन्धहरू यथावत् छन् । (बीबीसीबाट)
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४२ लाख ५२ हजार ३ सय ३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ८७ हजार १ सय ३३ जनाको मृत्यु भइसकेको छ भने १५ लाख २५ हजार ८ सय ९० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८१ हजार ७ सय ९१ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १३ लाख ८५ हजार ८ सय १३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ७० हजार ७ सय ६८ पुगेको छ भने अहिलेसम्म २ हजार २ सय ९४ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ सय ३४ जना संक्रमित भएका छन् भने ३३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
आनन्द पाण्डे एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
काठमाडाैँ । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आनन्द पाण्डे नियुक्त भएका छन् । ललितपुर महानगरपालिका वडा न १० कुपण्डाेलका पाण्डे संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आनन्द पाण्डे नियुक्त भएका हुन् । कम्पनीको गत चैत १० गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई नियुक्त गरेको हो ।उनको कार्यकाल चैत २३ गते देखि लागू हुने गरी आगामी ४ वर्षका लागि रहेको कम्पनीले जनाएकाे छ ।
देशका युवाहरुलाई शिक्षित बनाउने अभियानमा आईएमई पे र मिस नेपाल अनुष्का श्रेष्ठ
काठमाडौं । विश्वभर फैलिएको महामारीले विश्वका हरेक मानव जीवनलाई आँधीको चपेटामा पारेको अवस्थामा, मिस वल्र्ड नेपाल अनुष्का श्रेष्ठले युवाहरुलाई पुनः जोड्ने प्रयास स्वरुप एक पहलको शुरुवात गरेकी छिन् । श्रेष्ठकाे देशका युवाहरुलाई शिक्षित बनाउने र जागृत गराउने यो पहलमा आईएमई पे ले साथ दिएको छ । आउँदो ३ हप्तासम्म श्रेष्ठले समकालीन नेपाली आर्थिक, शैक्षिक, प्रशासनिक र अन्यका बारेमा विभिन्न विज्ञ व्यक्तित्वहरुका साथ संवाद गर्नेछिन् । यस शोको शिर्षक रिकनेक्टिङ रहनेछ, जुन अनुष्का श्रेष्ठको फेसबुक पेज र युट्युब च्यानलका साथै आईएमई पेको फेसबुक पेजमा प्रत्यक्ष (लाइभ) प्रसारण हुनेछ । साथै उनले नेपाल राइजिङ्ग संस्थाको सहयोगार्थ कोभिड–१९ सहायताकोषको लागि सहयोग संकलन गरीरहेकी छिन् । राइजिङ्ग नेपाल संस्थाद्धारा काठमाण्डौ भित्रका विभिन्न स्थानमा असाहय तथा विपन्नवर्गको लागि दैनिक जिवनयापनको लागि आवश्यक वस्तुहरु वितरण गरीरहेको छ । उनलाई सहयोग गर्न इच्छुकले अाईएमई पे एप डाउनलोड गरी उनलाई सहयोग गर्न सक्नेछन् ।
वाग्मती प्रदेश सरकारद्वारा अध्यादेश जारी
काठमाडाैँ । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा २०२ को उपधारा १ को अधिकार प्रयोग गरी वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरी पठाएको प्रदेशमा वातावरण संरक्षणको व्यवस्था गर्न बनेको अध्यादेश २०७७ लाई आज जारी गरका हुन् । वाग्मती प्रदेशसभाको बैठक हाल सञ्चालनमा नरहेकाले वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गत वैशाख २२ गते बसेको बैठकले सो अध्यादेश ल्याउन सिफारिस गरेअनुसार आजै प्रदेश प्रमुख प्रसाईंले सो अध्यादेश जारी गरेकाे प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले बताएका छन् । रासस
प्रलय
हे नापनक्साको मात्र आधाउधी मानव तिमी सुकिलामुकिला कत्रो यो दम्भ, किन कसैलाई हेला दुई दिने जिन्दगीमा कस्तो गनाउने खेला ? श्रृष्टि झैँ लामो बाँचेको यो धर्तीमा जिन्दगीभन्दा अधिक छैन तिम्रो चोला तैपनी यो छिछि, दुर्रदुर्र र हुँकार कठै मृत्युभन्दा पर कहाँ पो पुग्छौ होला ? हे नापनक्साको मात्र आधाउधी मानव तिम्रो यो धन, तिम्रो यो ज्ञान तिम्रो नमेटिने तृष्णा, यो खोक्रो अभिमान तिम्रो सौन्दर्य अनि त्यो बहादुरी ? तिमी त फगत गु-मुत, सिँगान र खकारको भकारी । हे नापनक्साको मात्र आधाउधी मानव तिम्रो यो धन, तिम्रो यो ज्ञान तिम्रो नमेटिने तृष्णा, यो खोक्रो अभिमान तिम्रो सौन्दर्य अनि त्यो बहादुरी ? तिमी त फगत गु-मुत, सिँगान र खकारको भकारी । लेखक अनि तिम्रो ब्राण्डेड कपडा, अत्तर र चम्किला गहना तिमी त केबल लासको ज्यूँदोजाग्दो नमूना तिम्रो मिलेको ज्यान, कसिला पाखुरा, चम्किलो कपाल तिमी देख्छौ होला आफैलाई संसारभरकै महान तर म देख्छु तिमीमा जलिरहेको लाश, अनि तिम्रो अस्थित्व राजाले त्यागेको दरबारको विलाश । बिर्सियौ तिमीले ती विश्व युद्ध, अनि प्रकृतिको अनगिन्ती क्रोध कहिले भएन तिम्लाई आफ्नो निम्छरो अस्थित्वको बोध थुनियौ आफ्नै घरभित्र, बन्यौ संसारिक जेलभित्रको बन्दी आफ्नै देखि भाग्नपर्ने, मानिससँगै डराउनुपर्ने यो कस्तो पावन्दि ? जीवन सँधै थियो हेर अनिश्चित, बुझेनौ यसको मर्म उन्मक्त रह्यो, विश्वलाई जित्यौ अनि चलायौ प्रकृति मास्ने कर्म । खोल अब आँखा नत्र होला निकै अबेला कोरोना भाइरस बिरुद्ध एक हुने आएको छ बेला । बुझ है अब त तिमी आफ्नै कमजोरी एउट अदृष्य भाइरसले नाच्दैछ ताण्डव संसारभरी खोतल आफैलाई, नगर घमण्ड मिलेर बसौं सबैसँग, जोगाऔं भविष्यको लागि यस अमूल्य ब्रम्हाण्ड । *समाप्त*