विकासन्युज

रुसको अस्पतालमा आगो लाग्दा ५ जना काेराेना सङ्क्रमितकाे मृत्यु

काठमाडौं । रूसमा काेराेनाकाे उपचार भइरहेकाे अस्पतालमा आगो लाग्दा ५ जनाकाे मृत्यु भएकाे छ । रुसको सेन्ट पिटर्सबर्गस्थित एक अस्पतालमा आगलागी हुँदा सघन उपचार कक्षमा उपाचाररत ५ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । भेन्टिलेटरमा शर्टसर्किट हुँदा आगलागी सुरु भएको रुसी समाचार संस्थाले जनाएकाे छ । अस्पतालबाट १ सय ५० जनाको उद्धार गरिएको र आगलागी नियन्त्रणमा आएको त्यहाँको आपत्कालीन मन्त्रालयले बताएको छ ।

भारतमा आजबाट रेलसेवा पुन: सञ्चालन

दिल्ली । भारतमा मंगलबारदेखि रेल सेवा पुनः सञ्चालनमा आउने बताइएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भारत सरकारले बन्द गरेको रेलसेवा झण्डै डेढ महिनापछि आजबाट सञ्चालनमा आएको हो । यसअघि भारतका विभिन्न स्थानमा खाद्यान्न तथा अन्य सामान ढुवानीका लागि रेलसेवा आंशिक रुपमा सञ्चालनमा थियो तर यात्रुबाहक रेल भने पूर्ण रुपमा बन्द गराइएको थियो । रेल सेवाका लागि सोमबार अपराह्न ४ बजेदेखि नै अनलाइन बुकिङ खुलेको थियो । तर रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न नपाइने व्यवस्था गरिएको छ । काउन्टरमा भीडभाड हुने भएकोले अनलाइनबाटै टिकट किन्न पाइने अधिकारीहरूले जानकारी गराएका छन् । रेलका मजदुरहरुले रेल सेवा पुनः सञ्चालनका लागि पहिल्यै देखि सरकारलाई आग्रह गर्दै आएका थिए । सोही बमोजिम सरकारले मंगलबारदेखि सो सेवाको सुरुआत गरेको बताएको छ । भारत सरकारका अनुसार मंगलबार नयाँ दिल्लीबाट १५ वटा रेल देशभरका मुख्य रेलवे स्टेसनका लागि छुट्ने बताइएको छ । नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मुतावीका लागि रेलसेवा उपलब्ध हुने छ । यी सबै रेलवे स्टेसनमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र स्वास्थ्य परीक्षणमा कोभिड १९ को कुनै लक्षण देखिएमा उनीहरूलाई रेलमा प्रवेश गर्न नदिइने तथा सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने बताइएको छ । यसरी सञ्चालनमा आएका रेलहरुमध्ये केही दैनिक र अरु केही साप्ताहिक रुपमा सञ्चालनमा आउने व्यवस्था गरिएको छ । यहाँको रेलसेवा मन्त्रालयले कोभिढ १९ का विरामीका लागि यो सेवा बन्देज लगाएको छ । हरेक रेल स्टेसनको बाहिरै स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ भने रेलमा प्रवेश गर्ने सबैले मास्क अनिवार्य रुपमा लगाउनुपर्ने नियम बनाइएको भारतको रेलसेवा मन्त्रालयले जानकारी दिएको छ । उता भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या भने बढ्दो देखिएको छ । भारतमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ । मंगलबार बिहान जनाइएअनुसार यहाँ कोभिड १९ बाट संक्रमित व्यक्तिको संख्या ७० हजार ७५६ जना पुगेको छ । यहाँ गत २४ घण्टामामात्र थप ३ हजार ६०५ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । रासस/एएनआई

यसरी सम्भव भएको थियो नेपालमै पहिलो पटक प्राकृतिक विपद् जोखिम सामुहिक दुर्घटना बीमा

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र तत् पश्चातका पराकम्पनहरू तथा २०७५ साल चैत्र महिनामा बारा र पर्सामा आएको टोर्नाडो नामको आँधिबेहरीका कारण नेपालमा ठूलो मात्रामा जनधनको नोक्सान भएको थियो । विगतमा पनि नेपालले यस प्रकारका दैवी प्रकोपका कारण असंख्य मात्रामा जनधनको नोक्सानी वहन गरेको छ । यसका अतिरिक्त नेपालका अधिकांश मानव वस्तीहरु जोखिमग्रस्त क्षेत्रहरुमा नै छन् । बढ्दो शहरीकरण र यातायातको पँहुचको कारण जोखिमग्रस्त क्षेत्रहरुमा नै बसाईको क्रम बाक्लिदै छ । यस्ता क्षेत्रका वस्तीहरु बाढी, पहिरो, भुकम्प, हावाहुरी तथा चट्याङ्ग आदिका कारण बढी प्रवाभित भएका छन् । यी अनेक प्रकारका विपत्तिको प्रभावले आर्थिक स्थिति कमजोर पारेर जाने र सोबाट मुक्त हुन आर्थिक रुपमा निम्नस्तरका जनतालाई बर्षौं लाग्ने हुँदा जनतालाई समृद्ध बनाउने सरकारी नीति असफल बन्ने मात्र नभई जनतास्तरमा समेत सम्बृद्धि नहुने पक्का छ । जनताले बहन गरेका जोखिम हस्तान्तरण गर्ने र भविष्यमा पर्न सक्ने प्राकृतिक विपदका कारण जनधनको क्षति भएमा सोको आर्थिक क्षतिपूर्ति गर्न संघीय वा प्रदेश सरकारले बीमा शुल्क भुक्तानी गर्ने गरी एक निश्चित भुगोल अन्तर्गतका सम्पूर्ण जनताको दैवी प्रकोप दुर्घटना बीमा गर्न उपयुक्त भएकोले यो अबधारणा भित्र बीमालेख तयार गरी प्रचलनमा समेत आएको छ । बीमालेख तयारका क्रममा संबन्धित बिषय विज्ञ, जनप्रतिनिधि र प्रदेश सरकारको राय सुझावमा ‘प्राकृतिक विपद् जोखिम सामुहिक दुर्घटना बीमा’ नामाकरण गरी बीमा समितिबाट स्वीकृतिसमेत लिई २०७६ चैत १ देखि कर्णाली प्रदेश सरकारले १७ लाख ७४ हजार जनताको लागि प्रतिनागरिक २ लाख रुपैयाँ क्षतिपूर्ति गर्ने गरी सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीसँग यो बीमालेख खरिद गरेको छ । बीमालेखका विषेशताहरु यस बीमालेखले प्राकृतिक विपद् जोखिम (बाढी, पहिरो, भु–स्खलन वा भुकम्प, हावा, हुरी तथा आँधिबेरी, चट्याङ्ग, हिमपात, सामुहिक आगलागी) का कारणले प्रदेशको भौगोलिक सिमाभित्र नागरिकहरुको मृत्यु भएमा बिमाङ्क रकम बराबर क्षतिपूर्ति प्रदान गर्नेछ । प्राकृतिक विपद्जन्य घटना बाहेक अन्य दुर्घटनाबाट भएको (सवारी दुर्घटना, आत्महत्या, एकल आगलागी, खतरनाक खेलहरु, युद्धजन्य गतिविधि तथा खानी उत्खनन) हानी नोक्सानीको क्षतिपूर्ति यो बीमालेखले गर्ने छैन । साथै यस बीमालेखले अन्य प्रदेशका नागरिकलाई यो सुविधा उपलब्ध गराउने छैन । तर, निजामती कर्मचारी, सुरक्षा निकाय, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी अन्य प्रदेशका भए पनि यो सुविधाबाट बन्चित हुने छैनन् । फाइदाहरू –बीमाको पहुँचमा बृद्धी हुन्छ –विपद्का बेला सरकारलाई ठूलो आर्थिक भारबाट मुक्त गराउँदछ –नागरिकद्धारा अन्य बीमाको उपयोगमा बृद्धि हुन्छ –एक बीमालेखबाट ठुलो संख्यामा बीमा हुने हुँदा प्रशाशनिक खर्चमा कमी आउछ –सामुहिक बीमाको अवधारणा बृद्धी भई स्थानीय सरकारले जोखिम हस्तान्तरण गर्न सक्छ (विपन्न नागरिकहरुको छनौट गरी अन्य विषयका बीमा गर्न सकिन्छ, जस्तो प्रदेश २ मा रहेका बिपन्न वर्गका घरको बीमा योजना, भुकम्पपछि अनुदानमा निर्माण भएका आवाशीय भवनहरुको बीमा योजना) –आफ्नो प्रदेशभित्रै नागरिकहरुलाई वस्न, स्वरोजगार बन्न अभिप्रेरित गर्छ –निजी बीमा कम्पनीहरुलाई नयाँ नयाँ बीमालेखको विकास गर्न बाध्य गराउँदछ –निजामती कर्मचारी, सुरक्षा निकाय, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीलाई अन्य प्रदेशमा गई सेवा गर्न अभिप्रेरित गर्छ –बीमा ज्ञान र चेतनाको विकास हुन्छ बेफाइदा यसले नागरिकमा परनिर्भरता बढाउँदछ र स्वामित्व ग्रहण गराउदैन अन्त्यमा कर्णाली प्रदेशको भौगोलिक विकटता, जटिलता, संवेदनशीलता र पटक पटकका विपद्का घटनाहरुलाई दृष्टिगत गर्दै विपद् जोखिम न्यूनिकरण गर्न र नागरिकलाई बीमा मार्फत जोखिम सुरक्षाको प्रत्याभुत गर्न आवश्यक भएकोले विपद् जोखिम बीमा सम्बन्धी कार्यविधि २०७६ प्रदेश मन्त्रिपरिषदबाट स्विकृत गरी प्राकृतिक विपद् जोखिम सामुहिक दुर्घटना बीमा ब्यवहारमा लागू भइसकेको पनि छ । सामुहिक बीमाको माध्यमबाट सुरुमा ठुलो रकम बीमा कम्पनीलाई भुक्तानी गरिएको देखिए तापनि यस्ता बीमाको परिणामको तुलना पहिलो बर्षमै गर्न सकिदैन । सम्मवतः पहिलो बर्ष एउटा पनि दाबी नपर्न सक्छ । यस प्रकारको बीमाको परिणाम ३ देखि ५ बर्षमा देखिने प्रक्ष्येपण गरिएको छ । अतः सम्बन्धित निकायले यो बीमालेखको निरन्तरता कम्तिमा पनि ३ बर्ष दिनु पर्छ । यस अवधीमा यसको आवश्यकता र महत्व आफै स्थापित हुनेछ र नागरिकहरुले पनि स्वामित्व ग्रहण गर्न सक्ने समय आउने छ । यो अवधीमा सम्वन्धित बीमा कम्पनीले आफूलाई ब्यवसायिक बनाउनु भने भुल्नु हुदैन । यस्तो बीमाको अवधारणा सानो मेहनत र प्रयासले आएको भने होइन । नेपालको सन्दर्भमा यस्तो बीमालेख नयाँ पनि थियो । यसको कार्यान्वयनका लागि सरोकारवालालाई यो बीमालेखको अवधारणा विकास गर्न सहयोग गर्नुहुने कर्णाली प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री माननिय नरेश भण्डारी, गृह मन्त्रालय विपद महाशाखाकी प्रमुख सहसचिव ईन्दु घिमिरे, बीमा समितीका अध्यक्ष चिरन्जिवी चापाँगाई, कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल पुर्नबीमा कम्पनीका पुर्नबीमा बिज्ञ स्व. शैलेन्द कुमार श्रेष्ठ र राष्ट्रिय बीमा कम्पनी संचालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्याय लगायत प्रमुख कार्यकारी अधिकृत र कर्मचारीहरुको साथ र सहयोगले नै यो सम्भव भएको थियो । (लेखक पराजुली राष्ट्रिय बीमा कम्पनीको बजार विज्ञका रुपमा कार्यरत रहेकै सममयमा गरिएको पहल स्वरुप कर्णाली प्रदेशमा यस्तो बीमाको अवधारणा अघि सारिएको थियो)

सिटिजन लाइफको जीवन बीमा कोष २ सय १२ प्रतिशतले बढ्यो

काठमाडौ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तमा जीवन बीमाकोष २ सय १२ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीको जीवन बीमा कोष ४० करोड ४७ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कोष १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । खुद बीमाशुल्क  चालु आर्थिक वर्षको चैत मसान्तमा कम्पनीले खुद बीमा शुल्कमा ७९ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीको खुद बीमाशुल्क ६५ करोड ५ लाख रुपैयाँ रहेको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा खुद बीमाशुल्क १ अर्ब १६ करोड ३५ लाख रुपैयाँ छ । सिटिजन लाईफले कुल लगानी रकम करिब ३ अर्ब ६० करोड मध्ये ९६ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको लामो अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गरेको छ । साथै, सिटिजन लाईफले आफूले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरुलाई १ लाख रुपैयाँको कोरोना भाइरस (कोभिड–१९) बीमा सुविधा उपलब्ध गराएको छ । यस्तै, बीमितहरुको सुविधालाई मध्यनजर गरी कम्पनीले डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

डब्लुएचओले गर्याे नेपालको ढाँचामा आइसोलेशन सेन्टर निर्देशिका तयार

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्य देशले गरेका प्रयत्नकोे अध्ययन गरेर नेपाली ढाँचाको ‘कोभिड आइसोलेशन सेन्टर’ निर्माण निर्देशिका तयार पारिएको छ । विभिन्न क्षेत्रका विज्ञको सहभागिता र अन्तरराष्ट्रिय अनुभवको अध्ययन गरेर आर्किटेक्टहरुको संस्था सोसाइटी अफ नेप्लिज आर्किटेक्टस (सोना) ले उक्त निर्देशिका तयार गरेको हो । सोनाले आफूले तयार पारेको कोभिड–१९ संक्रमितको उपचारका लागि छुट्टै उपचार केन्द्र अर्थात् कोभिड आइसोलेशन सेण्टर निर्माण निर्देशिका आइतबार मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीलाई हस्तान्तरण गरिएको जनाएको छ । समूहगत रुपमा छलफल गर्दा सरकारलाई सहयोग गर्ने उद्देश्यले नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) सँगको सहकार्यमा निर्देशिका तयार पारिएको सोनाका महासचिव सुरज खनालले जानकारी दिए । उनका अनुसार निर्देशिका तयार पार्नुअघि विज्ञ टोलीले डब्लुएचओ, रोग नियन्त्रण तथा रोकथाम केन्द्र, राष्ट्रिय स्वास्थ्य सेवासहितका संस्थाका मापदण्ड र बंगलादेश, हङकङका साथै आर्किटेक्टहरुको एशियास्तरीय परिषद्लगायतले जारी गरेका निर्देशिकाको समेत अध्ययन गरिएको थियो । उक्त निर्देशिकामा ५० शय्याको आइसोलेशन सेण्टर सरल तथा सहज निर्माणका लागि आवश्यक जनशक्तिलगायत विषयलाई समावेश गरिएको सोनाले जनाएको छ । महासचिव खनालका अनुसार उक्त निर्देशिकाबमोजिम नेपालले पनि अन्य देशसरह अधिक जनशक्ति प्रयोग गरेर छोटो समयमा नै आइसोलेशन सेण्टर निर्माण गर्न सक्नेछ । रासस

विश्वकै दोस्रो अग्लो बन्जीमा नेपालकै अग्लो लिङ्गेपिङ पनि सञ्चालन

पर्वत । साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतमा फेरि अर्को साहसिक खेल सञ्चालनमा आएको छ । कुश्माबजारमा कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जीजम्प परिसरमा नेपालकै अग्लो लठ्ठेपिङ सञ्चालनमा आएको हो । दशैं–तिहारमा बाँस गाडेर बनाइने पिङ लिङ्गेपिङजस्तै जमीनबाट १२ मिटर उचाइका फलामे स्तम्भमा पिङ बनाइएको हो । कालीगण्डकीमाथि निर्माण भएको बन्जीपुल २२८ मिटर अग्लो छ भने लिङ्गेपिङ पुलबाट २० मिटरसम्म जान सकिने भएकाले उचाइसहित २४८ मिटर अग्लो छ । विश्वमा सबैभन्दा अग्लो लिङ्गेपिङ चीनमा छ । उक्त पिङ जमीनबाट २५ मिटर अग्लो छ । तर जमीनमा २५ मिटर भए पनि कालीगण्डकीको खोँचभन्दा माथिसम्म पिङमा मच्चिन सकिने भएकाले पिङ खेल्दा २ सय ५० मिटरबाट जमीनलाई तल देख्न सकिने बन्जीजम्प सञ्चालन गर्ने कम्पनी द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए । उनका अनुसार यो पिङमा बन्जीजम्पमा प्रयोग हुने डोरी प्रयोग गरिएको छ भने सुरक्षाका सबै मापदण्ड पूरा गरिएको छ । अन्य लिङ्गेपिङमा मानिसले नै मच्चाइदिने र खेल्ने मानिस नै मच्चिनुपर्ने हुन्छ । यसमा विन्च मेसिनले नै मानिसलाई जमीनभन्दा धेरै माथि लगेर छाडिदिने भएकाले बढी रोमाञ्चक र धेरै उचाइमा जान सक्छन् । “नेपालका लागि यति धेरै उचाइमा लिङ्ेपिङको सुविधा दिएर थप साहसिक खेलको शुरुआत गरेका हौँ”, उनले भने, “नेपालमा यस्तो प्रविधिमा सञ्चालित पिङ पहिलो हो भन्दा हुन्छ ।” कुश्माकै बन्जी नजिक यसअघि सञ्चालित पिङमा आन्तरिक पर्यटकको ठूलो आकर्षण देखिएको थियो । अहिले पनि उक्त पुलमा खेल्ने र सामाजिक सञ्जालमा राख्नेहरु धेरै इच्छुक देखिएका छन् । द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बन्जीमा व्यावसायिकरूपमा सञ्चालन गर्न शुरु गरेको बेला लकडाउन शुरु भएकाले प्रभावित भएको छ । रासस

छिमेकी जिल्ला सप्तरी र उदयपुरमा कोरोना सङ्क्रमति भेटिएपछि नाका बन्द

लहान । कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो । यसअघि उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेको भन्दै तत्काल उदयपुर जिल्लाबाट हुने आवतजावत रोक्न उदयपुर जिल्लासँग सीमा जोडिएका नाका बन्द गरिएको थियो । तर, सप्तरीमा पनि कोरोना सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सीमानाकासमेत बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईले जानकारी दिए । छिमेकी सप्तरी र उदयपुर जिल्लामा सङ्क्रमित पाइएकाले सिरहा जिल्ला पनि उच्च जोखिममा परेकाले ती दुवै जिल्लाबाट हुने गरेको आवतवाजत पूर्णरूपमा बन्द गरिएको र ती जिल्लासँग जोडिएका नाकामा सुरक्षा सतर्कता बढाइएको प्रजिअ गुरागाईले बताए । सप्तरी र उदयपुरका विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने र लहानबाट उदयपुरतर्फ आवतजावत भइरहेकाले सिरहा जिल्ला पनि उच्च जोखिममा रहेको भन्दै नागरिक समाजका अगुवाहरुले स्थानीय प्रशासनसँग तत्काल दुवै जिल्लाबाट हुने आवागमन रोक्नुपर्ने माग गरेका थिए । चितवनमा भवन निर्माणका लागि मजदुरीमा खटेका सप्तरीका ती युवा लकडाउनकै समय गत वैशाख ९ गते पैदलयात्रा गरी सप्तरीस्थित घर आइपुगेका थिए । अन्य १३ जना साथीसहित घर फर्केका ती युवालाई पातोस्थित माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । वैशाख २५ गते थ्रोट स्वाब सङ्कलन गरी परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा सात जनाको रिर्पोट प्राप्त भएको र सोही रिर्पोटमा ती युवामा कोरोना सङ्क्रमण देखिएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेट डा चुमनलाल दासले जानकारी दिए । रासस

ड्यूटीमा रहेका बेला सम्पर्कविहिन प्रहरी मृत अवस्थामा भेटिए

काठमाडौं । सुर्खेतमा ड्यूटीमा रहेका बेला सम्पर्कविहिन भएका एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । सिम्ता गाउँपालिकामा रहेको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का ड्युटीबाटै सम्पर्कविहीन उनी विहान मृतक फेला परेका हुन् । सम्पर्कविहिन भएका खड्काको शव बिहान ९ बजे आग्रीगाउँ प्रहरी चौकीदेखि एक किलोमिटरको दुरीमा भेटिएको खबर प्राप्त भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । राती २–३ बजेसम्मको ड्युटीमा खटिएका प्रहरी जवान खड्का आफूसँगै भएको एक थान पेस्तोल र गोलीसहित सम्पर्कविहीन भएको प्रदेश प्रहरीले जनाएको छ । साे घटनाको विषय अनुसन्धान भइरहेको कणौली प्रहरी कार्यालयले जानकारी दिएको छ ।