विकासन्युज

देवः विकासलाई प्राप्ति गर्दै कुमारी बैंक, दुबैले एकैदिन बाेलाए साधारणसभा

काठमाडाैं । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ती गर्ने भएकाे छ । साे प्रयाेजनकाे लागि दुबैले एकैदिन एकैसमय अर्थात २०७७ जेठ १९ गते ११ बजे साधारणसभा बाेलाएका छन् । कुमारी बैंकले देवःविकास बैंकलाई प्राप्ति गर्ने  सम्झौतालाई अन्तिम रुप दिन आफ्नो केन्द्रिय कार्यालय, नक्सालमा विशेष साधारणसभा बाेलाएकाे छ । त्यस्तै, देवःले काठमाडौंकाे केन्द्रीय कार्यालय लालदरबारमा १३ औं वार्षिक साधारण सभा बोलाएको छ। त्यसैगरी, सभाले देवः विकास बैंकले सञ्चालक समितिले प्रस्ताव गरेको ८.५५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाने भएको छ। कुमारी बैंकले विशेष साधारण सभा प्रयोजनका लागि जेठ ७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । त्यस्तै, देवः विकास बैंकले वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । हाल कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रूपैयाँ रहेको छ। त्यस्तै, देवः विकास बैंकको चुक्तापुँजी ३ अर्ब १७ करोड ७१ लाख रूपैयाँ रहेकाे छ । कुमारीको १ कित्ता सेयर बराबर देवः विकास बैंकको शून्य दशमलब ८६ कित्ता सेयर आदान प्रदान गर्ने सहमति अनुसार कुमारीले देवः लाई प्राप्ती गर्ने भएकाे हाे ।

संसदमा अनुपस्थित, मन्त्रिपरिषदमा गएनन्, कहाँ हराए अर्थमन्त्री ?

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसद राजेन्द्र लिंदेनले अर्थमन्त्री खतिवडा नभएको भन्दै संसदको रोष्टमबाटै प्रश्न उठाए । आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा अर्थमन्त्री उपस्थित नभएको भन्दै सांसद लिंदेनले प्रश्न उठाएका हुन् । यस्तै, प्रधानमन्त्री निवास वालुवाटारमा आजै बसेको मन्त्रिपरिषद बैठकमा पनि अर्थमन्त्री डा. खतिवडा उपस्थित नभएको फोटो प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ । सचिवालयले संचारमाध्यमलाई पठाएको मन्त्रिपरिषद बैठकको फोटोमा अर्थमन्त्री डा. खतिवडा देखिदैनन् । आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता बारेको प्रतिनिधिसभा बैठकमा पनि उपस्थित नहुने र मन्त्रिपरिषद बैठकमा पनि भाग लिन नपाउने गरी अर्थमन्त्री डा. खतिवडा कहाँ व्यस्त भए ? अर्थमन्त्री डा. खतिवडाका प्रेस सल्लाहकार यमन पौडेलले अर्थमन्त्री खतिवडा विहान मन्त्रालयमा आएर प्रतिनिधिसभा बैठकमा भाग लिन गएका जानकारी दिए । अहिले आफू मन्त्री खतिवडासँग नभएकोले मन्त्रिपरिषद बैठकमा सहभागी भए नभएको बारेमा जानकारी नभए पनि प्रतिनिधिसभा बैठकमा गएका भने आफूलाई जानकारी रहेको प्रेस सल्लाहकार पौडेलको भनाइ छ । यस्तै, मन्त्री खतिवडाको सचिवालयले पनि उनी प्रतिनिधिसभा बैठकमा गएका जानकारी गरायो । प्रतिनिधिसभाका सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले मन्त्री खतिवडा प्रतिनिधिसभा बैठकमा उपस्थित भएका जानकारी दिए । मन्त्री खतिवडा बैठकमा सहभागी नभएका भन्दै प्रश्न उठाउने सांसद लिंदेनले बोल्ने बेलामा मन्त्री खतिवडा यताउता गएका समय परेको हुन सक्ने भए पनि बैठकमै सहभागी नभएका भन्ने कुरा गलत भएको न्यौपानेको भनाइ छ । फोटोः राजन काफ्ले, प्रधानमन्त्रीको निजी सचिवालय ‘उहाँ (मन्त्री खतिवडा) सभामुखको चेम्बरमा पनि आउनु भएको थियो, बजेटका सिद्धान्त र प्राथमिकता बारेमा छलफल आज सकिएर मन्त्रीले जवाफ दिन भ्याउने अवस्था देखिएको छैन, त्यसैले मन्त्री खतिवडाले प्रतिनिधिसभामा उठेका प्रश्नमाथि भोलि जवाफ दिने सम्भावित कार्यक्रम छ, उहाँ बैठकमा आउनु भएको प्रमाणका रुपमा भिडियो हेरे पनि हुन्छ,’ प्रेस संयोजक न्यौपानेले भने । प्रतिनिधिसभा बैठकमा उपस्थित भएका कारण डा. खतिवडा मन्त्रिपरिषद बैठकमा पनि केही ढिलो पुगेका हुन सक्ने उनी निकट स्रोतको भनाइ छ । उनी केही ढिलो भएका कारण नै प्रधानमन्त्रीको सचिवालयले पठाएको फोटामा उनी नदेखिएको हुन सक्ने बताइएको छ ।

नेपाल लाईफले कमायो ३ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १८ अर्ब ४१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । लाईफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १५ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको चैत मसान्तकै तुलनामा कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो । यस्तै, नेपाल लाईफले खुद नाफा भने चालु आर्थिक वर्षको चैत मसान्तमा ४६ करोड ७५ लाख रुपैयाँ कमाएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

दक्षिण एशियामा कोरोना संक्रमित १ लाख २५ हजारबढी, कुन देशमा कति ?

काठमाडौं । दक्षिण एशियाका सबै देशमा कोरोना भाइरस संक्रमण फैलिएको छ । मंगलबार दिउँसाे १:४५सम्मकाे तथ्यांक हेर्दा दक्षिण एसियामा काेराेना संक्रमितकाे कुल संख्या १ लाख २५ हजार १ सय ९६ पुगेकाे छ । त्यस्तै ३ हजार ३ सय ७३ जनाकाे मृत्यु भएकाे छ । दक्षिण एसियाका ८ देशमध्य नेपाल र भुटानमा बाहेक सबै देशमा कोरोना भाइरसका मानिसहरुको मृत्यु भएको छ । नेपालीमा कुल कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ भने भुटानमा सबैभन्दा कम ९ जना कोरोना संक्रमित रहेका छन् । भारतमा कोरोना भाइरसकाे संक्रमण पछिल्लो समय तिव्र रूपमा बढ्दै गएको छ । यहाँ ७० हजार ७सय ६८ जना कोरोना संक्रमित छन् भने २ हजार २ सय ९४ जनाको मृत्यु भइसकेकाे छ । पाकिस्तानमा कोरोना संक्रमितको ३२ हजार ८१ पुगेको छ, ७ सय ६ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा १५ हजार ७ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २ सय ३९ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा कोरोना भाइरसबाट १ सय २२ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ६ सय ८७ जना संक्रमित रहेका छन् । माल्दिभ्समा कोरोना भाइरस संक्रमितको संख्या ८ सय ९७ पुगेको छ भने ३ जनाको मृत्यु भइसकेको छ । श्रीलङ्कामा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ८ सय ६३ जना संक्रमित रहेका छन् ।

को हुन आज देखिएका ५७ जना कोरोना संक्रमित ?

काठमाडौं । नेपालमा आज अर्थात एकैदिन ५७ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म १ सय ३४ जनामा मात्र कोारेना देखिएको हो । तर, अब भने नेपालमा कोरोनाको संक्रमितको संख्या १ सय ९१ जना पुगेको छ । अब भने नेपालमा कोरोनाको भयाभव रुप लिन सक्ने धेरैले अनुमान गरेका छन् । आज देखिएका कोरोना संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । उनीहरु अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

नेपालमा एकैदिन ५७ जनामा देखियाे कोरोना, संक्रमितकाे संख्या १ सय ९१ पुग्याे

काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ सय ९१ पुगेको छ ।

बजेटको नीति र सिद्दान्तकाे छलफलमा अर्थमन्त्रीनै गायब, सांसदले गरे खाेजी

काठमाडौं । प्रतिनिधि सभाको संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाको खोजी भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद सांसद् राजेन्द्र लिङ्देनले संसदमा अर्थमन्त्री उपस्थित नभएकोमा आपत्ति जनाउँदै उनको उपस्थिति नभएसम्म आफूले नबोल्ने अडान लिएपछि सभामुख अग्नी सापकोटालाई आच्छु आच्छु परेको छ । सभामुख अग्नि सापकोटाले अर्थमन्त्री आउने र संसदमा बोलेको कुरा रेकर्ड हुने भन्दै लिङ्देनलाई बोल्न आग्रह गरे । भावी बजेटको नीति र सिद्दान्तबारे बोल्न पालो आएपछि रोष्ट्रममा उभिएका सांसद् लिङ्देनले अर्थमन्त्रीको उपस्थिति माग गरे । अनि केहीबेर बोलेनन् । त्यसपछि सभामुखले ‘मन्त्रीजी यतै हुनुहुन्थ्यो अहिले आइहाल्नुहुन्छ, सदनमा अरु मन्त्री हुनुहुन्छ बोल्नोस् माननीयज्यू’ भनेपछि लिङ्देनले आफ्ना भनाई राखेका थिए । ‘म प्रतिपक्षी दलको सांसद् मात्रै होइन दलको नेता पनि हूँ, अर्थमन्त्रीजी र म एकै जिल्ला झापाका प्रतिनिधि हौं, वितरणमा पक्षपात भएको छ, म पनि राजनीतिमा लामो रेसको घोडा हूँ, मन्त्रीजीले आगामी बजेट बनाउँदा यस कुरालाई ध्यान दिनुहुनेछ भन्ने विश्वास गर्दछु,’ उनले भने । सांसद् लिङ्देनले चन्द्रगढीको मोमेन्टो गार्मेन्ट बन्द हुँदा धेरै रोजगारी गुमेको र लगानी समेत डुबेर दक्षिण एशियाकै ठूलो उद्योग धराशायी भएको चर्चा गरेका थिए ।

नबिल बैंकको खुद नाफा ३ अर्ब बढी, निष्कृय कर्जा ०.६३ प्रतिशतमा सीमित

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को चैत मसान्तसम्ममा कूल ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४ करोड रुपैयाँ कम हो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले गत आवको सोहि अवधिमा ३ अर्ब १९ करोड खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ९ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकले एक खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । ३ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । १० अर्ब ९ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ७६ करोड रहेको छ । त्यस्तै, सेयरधनी कोषमा २ अर्ब ९५ करोड र सेयर प्रिमियममा ७४ हजार रुपैयाँ रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ । त्यस्तै, बैंकको निष्क्रिय कर्जा घटेर ०.६३ प्रतिशतमा सीमित भएको छ । बैंकको प्रतिसेयर आम्दानी ४१.७१ रुपैयाँमा झरेको छ ।