ग्लोबल आइएमई बैंकको नाफा ४४ प्रतिशतले बढ्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ४४.३६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तेश्राे त्रैमासमा १ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ५९.११ प्रतिशतले घटेर ५७ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर १.१४ प्रतिशत पुगेको छ । जनता बैंकसँग मर्ज भएको यस बैंकको खुद ब्याज आम्दानी ६२.७८ प्रतिशत र सञ्चालन नाफा ४३.२६ प्रतिशतले बढेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी घटेर २२.१६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५०.६५ रुपैयाँ रहेको छ ।
नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीमा पनि देखियाे कोरोना
काठमाडौं । नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएकाे छ । आज देखिएका ५७ कोरोना संक्रमित मध्ये एक स्वास्थ्यकर्मी पनि रहेको पुष्टि भएको छ । उनी कपिलवस्तुकाे तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा रहेकाे बताइएकाे छ । उनी २५ बर्षीया स्टाफ नर्स रहेकाे अस्पताल श्रोतले जनाएको छ । मंगलबार कपिलवस्तुमा ८ जना संक्रमित थपिएका थिए । हालसम्म कपिलवस्तुमा २९ जनामा संक्रमण देखिएकाे छ ।
महालक्ष्मी विकास बैंकका ऋणीलाई व्याजमा १० प्रतिशत छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले चैत्र मसान्त भित्रमा किस्ता भुक्तानी गर्ने ऋणीलाई व्याजमा १० प्रतिशत छुट गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम २०७६ चैत महिनामा भुक्तानी गर्नुपर्ने किस्ताहरु मध्ये चैत मसान्त भित्रमा भुक्तानी भएका किस्ताहरुको व्याजमा उक्त छुट दिएको हो । साथै, ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै जम्मा व्याज रकमको १० प्रतिशत छुटबाट हुन आउने व्याज रकम ग्राहकको खातामा जम्मा गरी सकेको विकास बैंकले जनाएको छ । हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) का कारणले उत्पन्न असहज परिस्थितिमा ऋणीहरुलाई व्याजमा छुट प्रदान गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको थियो । बैंकले हाल १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।
सरकारका उर्जा कार्यक्रम: डेरामा बस्नेलाई छुट, एक प्रदेश एक परियोजना र जलविद्युतमा विशेष लगानी
काठमाडौं । कोरोना महामारीका कारण धेरै क्षेत्रहरु संकटमा छन् । ती उद्योगी व्यवसायीहरुले आफुहरु संकटमा पर्यौं भनेर राहतको माग पनि गरिरहेका छन् । सरकारले कोरोनाबाट ऊर्जालगायत समग्र क्षेत्रमा परेको नोक्सानीको ठोस मूल्याङ्कन गरेर राहतको प्याकेज ल्याउने बताएकाे छ । सरकारले निर्माणाधीन आयोजनाकाे राहतका लागि राहत प्याकेज ल्याउने बताएकाे हाे । निर्माणाधीन आयोजनामा झण्डै दुई खर्ब बराबरको लगानी रहेको छ भने झण्डै छ खर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको छ । कोरोनाका कारण समग्र विश्व अर्थ व्यवस्थामा नै नकारात्मक प्रभाव परेको र नेपाल समेत त्यसबाट अछुतो नरहेको स्पष्ट पार्दै सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको सरकारको भनाइ छ । उर्जा जलस्राेत तथा सिचाइँ मन्त्री वर्षमान पुनले लकडाउनका कारण परेको समस्या सहजीकरणका लागि मन्त्रालयको सम्पूर्ण पदाधिकरी नै परिचालित भएको बताए । गृह प्रशासनले सहजीकरण गरे पनि केही स्थानीय निकायले नमानेका कारण केही दिन जटिलता पैदा भएपछि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आफैँ सम्पर्क गरी सहजीकरणका लागि निर्देशन दिएको मन्त्री पुनले उल्लेख गरे । डेरामा बस्नेलाई पनि छुट कोरोनाका कारण समस्यामा परेका नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले विद्युत् महसुलमा दिएको २५ प्रतिशत छुट घरधनी र डेरामा बस्ने दुवैलाई भएको मन्त्री पुनले दोहो¥याए । उनले नेपाल विद्युत् प्राधिकरणमार्फत विद्युत् लिएर थप महसुल लिने विषय गैरकानूनी भएको उनको भनाइ छ । सरकारले दिएको छुट तथा राहत सबैले पाउनुपर्छ भन्नेमा मन्त्रालय स्पष्ट रहेको मन्त्री पुनको भनाइ छ । उनले लकडाउन खुलेपछि दीर्घकालीनरूपमै घर भाडामा बस्ने नागरिकलाई कसरी छुट दिन सकिन्छ भन्ने बारेमा नीतिगत व्यवस्था गरिने तथा अुगमनको संयन्त्रलाई थप प्रभावकारी बनाइने स्पष्ट पारे । सरकारले विद्युतीय सवारी साधनको विस्तार तथा विद्युतीय चुलोको प्रयोगमा थप प्रोत्साहन गरेको जानकारी दिए । विद्युत् खपत बढाउने र आन्तरिकरूपमा विद्युत्को बजार विस्तार गर्ने लक्ष्यलाई केन्द्रमा राखेर ती काम गरिएको उनको भनाइ छ । सरकारले विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’ निर्माणको प्रक्रिया शुरु गरेको र त्यसमा निजी क्षेत्रसमेत सहभागी हुन पाउने नीतिगत प्रबन्ध गरिएको उल्लेख गरे । जेठ पहिलो सातासम्म विद्युत् महसुल तिर्दा कुनै पनि जरिवाना नलाग्ने गरी सरकारले निर्णय गरेको जानकारी दिँदै उनले प्राधिकरणको आर्थिक स्वास्थ्यलाई समेत ख्याल गरेर उपभोक्ताले विद्युतीय माध्यमबाट पनि महसुल तिर्न सक्ने व्यवस्था गरिएको बताए । एक प्रदेश एक परियोजना आगामी आर्थिक वर्षमा सरकारले एक प्रदेश एक ठूला परियोजनाको अवधारणाका साथ काम गर्ने भएको छ । भौगोलिक तथा क्षेत्रीय सन्तुलनलाई ध्यानमा राखेर एक प्रदेश एक योजनाको अवधारणा अगाडि सारिएको मन्त्री पुनले जानकारी दिए । उनका अनुसार सोही योजनाअनुसार आगामी आवमा दूधकोशी, तामाकोशी पाँचौँ आयोजना अगाडि बढाउने लक्ष्य राखिएको छ । यस्तै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनालाई समेत निर्माणमा लैजाने सरकारले तयारी गरेको छ । यस्तै भेरी बबई डाइभसर्न आयोजनाको विद्युत्गृह निर्माणलाई समेत प्रभावकारीरूपमा अगाडि बढाउन लागेको सरकारले जगदुल्ला, फुकोटलगायतका चार आयोजना पनि शुरु गर्ने भएको छ । त्यस्तै लगानी बोर्डले संयोजन गरिरहेको पश्चिम सेती र एसआर सिक्सलाई जोडेर एक हजार २०० मेगावाट क्षमताको आयोजनासमेत निर्माणमा लैजाने तयारी थालेको छ । मन्त्रालयले चैनपुर सेतीको समेत अध्ययन सम्पन्न भएको सन्दर्भमा सो आयोजनाको समेत निर्माण शुरु गर्ने लक्ष्य राखेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले सरकारले ऊर्जा क्षेत्रमा नीतिगत एवं कानूनी प्रबन्धमा कुनै कमजोरी नभए पनि कार्यान्वयन पाटोमा समस्या रहेको गुनासो गर्नुभयो । उहाँले सरकारले विसं २०६७ मा सार्वजनिक गरेको ९९ बुँदे कार्ययोजना र दुई वर्ष पहिले सार्वजनिक भएको श्वेतपत्रलाई पूर्णरूपमा कार्यान्वयन गरिए कुनै समस्या नआउने स्पष्ट पारे । उनले राजनीतिक नेतृत्वले गरेको निर्णयलाई कार्यान्वयन गर्न कर्मचारी प्रशासन तयार नभएका कारण थप जटिलता पैदा भएको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरे । उहाँले भने, “ऊर्जा क्षेत्रमा नीति, कानूनमा कुनै समस्या छैन तर कार्यान्वयनको नै हो । कर्मचारी प्रशासनलाई कार्यान्वयनका लागि प्रभावकारी व्यवस्था गर्न लगाउनुपर्छ ।” कोरोनाका कारण समस्यामा परेको ऊर्जा क्षेत्रलाई राहत दिने गरी नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्न आग्रह गरे । अर्थतन्त्र जोगाएर लगानी हाल निर्माणको क्रममा तीन हजार मेगावाट रहेको जानकारी दिँदै उनले कूल छ हजार मेगावाटको विद्युत् खरिद सम्झौता भएको तथ्यलाई ध्यान दिएर स्पष्टरूपमा नीतिगत व्यवस्था गरी सहजीकरण गर्नु जरुरी रहेको अध्यक्ष गुरागाईंको भनाइ छ । यस्तै छ हजार मेगावाट बराबरका आयोजना वित्तीय व्यवस्थापन गर्ने अवस्थामा रहेको र १८ हजार मेगावाट बराबरका आयोजना सर्वेक्षणका क्रममा छन् । विद्युत् क्षेत्रमा रु छ खर्ब बराबरको प्रतिबद्धता भएको छ भने झण्डै रु दुई खर्ब बराबरको लगानी छ । सरकारले स्पष्ट नीति नल्याउने र कार्यान्वयनमा ध्यान नदिने होे भने बैंक तथा वित्तीय संस्थासमेत समस्यामा पर्ने अवस्था आउने अध्यक्ष गुरागाईंको भनाइ छ । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका बैंक तथा वित्तीय संस्थालाई समेत समस्यामा पार्न नहुने उल्लेख गर्दै उनले एकाध आयोजनालाई उद्धार गर्ने मात्रै नभइ समग्र क्षेत्रको हितमा ध्यान दिन जरुरी रहेको बताए । आगामी आवमा झण्डै एक हजार ३०० मेगावाट बराबरको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । चालू आवमा एक हजार मेगावाट विद्युत् थप हुने अवस्था रहेको भए पनि कोरोनाका कारण जलविद्युत् आयोजना निर्माण सम्पन्न हुन नसक्दा आगामी आवमा धकेलिएका हुन् । चालू आवमा सम्पन्न हुने क्रममा रहेका माथिल्लो तामाकोशीलगायत आयोजनासमेत आगामी आवमा धकेलिएका छन् । विद्यमान विद्युत् र आगामी आवको समेत थपिँदा झण्डै दुई हजार २०० मेगावाटभन्दा माथि विद्युत् क्षमता हुने भएकाले त्यसलाई आन्तरिकरूपमा खपत गर्नेतर्फ सरकार लागिपरेको छ । खपत बढाउने तयारी मन्त्री पुनले काठमाडौँ उपत्यकामा विद्युत् खपत बढाउनका लागि १३२ केभी क्षमताको थप प्रसारण प्रणाली बनाउने र अन्य भौतिक संरचनाको क्षमता अभिवृद्धिका लागि आगामी आवको बजेटमार्फत काम गरिने जानकारी दिए । उनले लकडाउनका कारण उद्योगधन्दा बन्द हुँदा विद्युत् खेर जाने अवस्था आएको भन्दै त्यसलाई समेत व्यवस्थापन गर्ने प्रयास भइरहेको बताए । वर्षा लाग्न थालेका कारण नदीमा जलसतह बढ्ने भएकाले थप विद्युत् उत्पादन हुने भएकाले त्यसलाई समेत खपत गर्नेतर्फ सरकार योजनाबद्ध प्रयासमा लागेको उनको भनाइ छ । प्रसारण प्रणालीको सुधार तथा निर्माण गर्न सकिएको खण्डमा होङ्सी सिमेन्टलाई ६० मेगावाट र कोहलपुरमा स्थापना हुने एक स्टिल उद्योगका लागि ३० मेगावाट विद्युत् दिन सकिने अवस्था छ । यस्तै औद्योगिक करिडोरमा मात्रै ४५० मेगावाट जतिको विद्युत् माग भए पनि प्रसारण प्रणाली तथा अन्य भौतिक पूर्वाधारको अभावमा पूर्ण क्षमतामा विद्युत् दिन नसकिएको जानकारी दिँदै मन्त्री पुनले त्यसको समेत व्यवस्थापन गर्ने तयारीमा सरकार रहेको बताए । नयाँ विद्युत् ऐनमार्फत ऊर्जा क्षेत्रमा थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने प्रयास थालिएको मन्त्री पुनको भनाइ छ । यस्तै सरकारले घोषणा गरेअनुसार नै भारतसँग विद्युत् व्यापारका लागि सार्थक पहल भइरहेको र निकट भविष्यमा नै सार्थक परिणाम हासिल हुने उनको भनाइ छ ।
मेगा बैंककाे नाफा साढे १९ प्रतिशतले बढ्याे, यस्ता छन् अन्य सूचक
काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मेगा बैंककाे खुद नाफा १९.५० प्रतिशतले बढेकाे छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको चैत महिनामा १ अर्ब ४५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा २३ करोड बढी हाे । बैंकले गत आवको यसै अवधिमा बैंकले १ अर्ब २१ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४५ करोड ९८ लाख ४७ हजार रुपैयाँ रहेको छ।चैत मसान्तसम्म बैंकले ८५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७४ करोड लाख रुपैयाँ कर्जा परिचालन गरेकाे छ। चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी बढेर ३ अर्ब १८ करोड ३३ लाख रुपैयाँ पुगेकाे छ । बैंकको सञ्चालन नाफा पनि बढेर २ अर्ब ७ करोड ७५ लाख पुगेको बैंकले जनाएकाे छ । चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर १.३२ प्रतिशतमा झरेकाे छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १३२.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.६७ गुणा, निक्षेप संकलन लागत ७.१८ प्रतिशत, आधारदर ९.९४ प्रतिशत, स्प्रेडदर ५.२२ प्रतिशत र पुँजीकोष अनुपात १२.५६ प्रतिशत रहेको छ।
फेरी रोकियो नेपालबाट निर्यात हुने पाम तेल, लाइसेन्स पनि खारेज
काठमाडौं । नेपालबाट निर्यात हुने पाम तेल दोस्रो पटक पनि भारतले रोक लगाएको छ । भारतले विदेशबाट पाम तेल आयात गर्ने व्यापारीलाई लाइसेन्द दिएको थियो । त्यो लाइसेन्स समेत खारेज गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले भारतले पाम तेलको आयातमा रोक लगाएको सूचना आएको जानकारी दिए । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले २९ वैशाख २९ गते सूचना जारी गर्दै नेपाल र बंगलादेशबाट निर्यात हुने पाम तेलको आयातमा रोक लगाएको हो । भारतबाट भने अधिकारिक पत्र नेपालमा आएको छैन । मन्त्रालयले सूचना भने पाएको छ । यसअघि पनि भारतले पाम तेलको आयातमा रोक लगाएको थियो । त्यसबेला नेपालका लागि मात्र नभई भारतमा पाम तेलको निर्यात गर्दै आएका सबै देशलाई लगाइएको थियो । भारतले वैदेशिक व्यापार नीति संशोधन गर्दै गत वर्षको २३ पुसदेखि पाम तेलको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसको एक महिनापछि २५ माघमा भारतले नेपाल र बंगलादेशका लागि पाम तेलको निर्यात खुलाउँदै आयात खुला गरेको थियो ।
एशियन लाइफ इन्स्योरेन्सकाे बीमाशुल्क ३ अर्ब बढी, यस्ता छन् अन्य सूचक
काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात गत चैत महिनासम्ममा ३ अर्ब ९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको साेहि अवधिको तुलनामा ४४ करोड ६८ लाख रुपैयाँ बढी हो । कम्पनीले सार्वजनिक गरेकाे तेस्रो त्रैमासकाे वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २ अर्ब ६५ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा इन्स्योरेन्सकाे खुद नाफा बढेर ७ करोड ६३ लाख रुपैयाँ पुगेकाे छ । खुद नाफामा उल्लेख्य सुधार भएसँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेर ८.६७ रूपैयाँ पुगेकाे छ । सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ४६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.८४ गुणा रहेको छ। हाल कम्पनीकाे चुक्ता पुँजी २ अर्ब १ करोड ७ लाख रुपैयाँ पुगेकाे छ । त्यस्तै, जगेडा कोषमा ४९ करोड ५९ लाख रुपैयाँ, जीवन बीमा कोषमा २० अर्ब १४ करोड ८० लाख रुपैयाँ र महा विपत्ती जगेडामा ५ करोड ६१ लाख रुपैयाँ संञ्चित रहेकाे कम्पनीले जनाएकाे छ । २ लाख ८४ हजार २५९ वटा बीमालेख कायम गरेकाे इन्स्याेरेन्सले कुल २३ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा कम्पनीले ७ हजार ८९ वटा दावी वापत १ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ८९ दावी वापत २ अर्ब ९ करोड ३९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाे इन्स्याेरेन्सले जनाएकाे छ ।
‘शहर खाली, गाउँमा मान्छेको बाढी छ’
काठमाडौं । समय बदलिएको छ । मानव सोच, अवधारणा र इच्छाहरु पनि बदलिएका छन् । हिजो शहर जान चाहने मानिस आज त्यही शहर क्षणभर छोड्न तयार छन् । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसका कारण जारी भएको लकडाउनले शहरमा बस्ने धेरैको गाँस, बास र कपास खोसिएको छ । आयआर्जनको अवसर प्राप्तिको थलो ठानेर शहर पसेकालाई अहिले यसबाट निकै सास्ती भएको छ । लकडाउनले हिजो युरोप, अमेरिका आकर्षित हुने मानव सोच आज विकर्षित भएको छ । अकालमा मृत्यु अति विकसित देशमा पनि हुँदोरहेछ भन्ने बुझाइ भएको छ । सम्पन्नताले मात्र मानव जीवन सुरक्षित हुन्नरहेछ भन्ने स्पष्ट भएको छ । अमेरिका, बेलायत, जर्मनी, इटाली, फ्रान्स, स्पेन, अष्ट्रेलिया, फिलीपिन्स पुगेका नेपालीहरु आफ्नो मातृभूमि आउन आतुर छन् । आजभोलि नै भारतबाट करिब ८० हजार मान्छे नेपाल आउने तयारीमा छन् । विभिन्न देशबाट स्वदेश फर्किन पाऊँ भन्दै प्रवासी नेपालीले राजदूतावासमार्फत नेपाल सरकारलाई आग्रह गरिरहेका छन् । खाडी मुलुक त नेपालीको झनै रोजगारीका लागि बाध्यकारी बसाइ बन्दै गएको छ । स्वदेश तथा विदेशमा जब कोरोना भाइरसका बारेमा नागरिकहरुले बुझ्दै गए तब उनीहरुको गाउँ फर्कने क्रम शुरु भयो । गाउँ नै जीवन सुरक्षाको उपयुक्त भूमि हो भन्ने उनीहरुलाई लागेको छ । शहरको जीवन बन्धकजस्तो लागेको छ, धेरैलाई । लकडाउनमा भारत तथा तेस्रो मुलुकबाटै सङ्कटपूर्ण यात्रा गरेर भए पनि गाउँ भित्रिनेको क्रम छुटेको छैन । लामो समयदेखि गाउँ छाडेर स्वदेश तथा विदेशमा रहेका नेपाली यो महामारीबाट बच्न आफ्नै गाउँठाउँ सम्झना थालेका छन् । बन्दाबन्दीको अवधि दुई महिना पुग्दैछ । विकसित देशमा उत्तम जीवन जिउने सपना बोकेर प्रवासमा गएका नेपालीहरु नेपाल फर्कने योजनामा छन् । सिङ्गो विश्व बन्दाबन्दीले गर्दा नेपाल फर्कने उनीहरुको योजना बन्धकमा परेको छ । धेरै नेपालीले सामाजिक सञ्जालमार्फत नेपाल फर्कने इच्छा व्यक्त गरेका छन् । स्वदेशमा रहेका धेरैले पनि आफ्नो गाउँ जान पाएका छैनन् । बन्दाबन्दीको समयमा घर जान हिँडेका तर अलपत्रका परेकालाई सबै तहका सरकारका सहयोगमा गाउँ पु¥याइएको छ । गाउँमा पुग्नेले यतिबेला निकै सुरक्षित भएको महसुस गरिरहेका छन् । शहरमा बस्नेहरु बन्द कोठाको बसाइलाई बन्दीगृह ठानिरहेका छन् । पट्यारलाग्दो बसाइबाट उत्पादनका धेरै कामहरु बन्द भएका छन् । नेपालको पूर्वी भेगका शहर तथा बजारमा व्यापार गर्न हिँडेका तिला गाउँपालिका–४ जुम्लाका नन्द सुनारले कोरोनाबाट बच्ने सुरक्षित ठाउँ नै गाउँ ठानेर निकै दुःखकष्टका साथ मातृभूमि फर्केको बताउनुभयो । स्वदेशका विभिन्न भूभागबाट फर्केर कर्णालीका गाउँ फर्कने क्रम निरन्तर छ । शहर विस्तारै खाली भइरहेका छन् । गाउँमा भने मान्छेको बाढी नै छ । हिँडेर वा अन्य कुनै माध्यमबाट शहरबाट गाउँ छिर्ने नागरिक कमी छैन । हजारौँको सङ्ख्यामा मानिस गाउँ पसिसकेका छन् । जसले गर्दा गाउँमा मानिसको भीड छ । यसको प्रमुख कारण नै कोरोना भाइरसको विश्वव्यापी महामारीको आतङ्क हो । विशेषगरी नेपाल गाउँ नै गाउँले बनेको देश भएका कारण यहाँ शहरभन्दा गाउँमा मान्छेको चाप बढेको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महत बताउँछन् । “यो विपत्तिले धेरैको शहर पुग्ने रहर कोरोना कहरमा परिणत भएको छ”, उनी भन्छन्, “शहरबाट फर्कनेले कोरोना भाइरसको गलत कोशेली नल्याए गाउँ सुरक्षित नै छन् ।” नेपाल सरकारले गत चैत ११ गते लकडाउन गर्नुपूर्व र त्यसभन्दा पछि नेपालका प्रमुख शहर, काठमाडौँ, पोखरा, वीरगञ्ज, विराटनगर, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेतबाट हजारौँ नागरिक गाउँघर फर्के । कर्णाली प्रदेश सरकारले चैत ८ गते नै स्वदेश तथा विदेशमा रहेका कर्णालीवासी मातृभूमि फर्कन अपिल ग¥यो । सोही अपिलअनुसार नेपालका विभिन्न शहरहरुमा काम गर्ने, भारतलगायत तेस्रो मुलुकका नागरिकको कर्णाली फर्कने क्रम ह्वात्तै बढ्यो । कोरोना भाइरसको विश्वव्यापी महामारीको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनले धेरैको रोजीरोटी खोसेको छ । दैनिकी असहज बन्दै गएको छ । स्वदेश तथा विदेशमा धेरै नागरिक अलपत्र अवस्थामा छन् । उद्योगधन्दा, कलकारखाना, विभिन्न आयोजना, होटल, पसलमा काम गर्ने नागरिकहरु रोजगारविहीन भएका छन् । सबै क्षेत्रको कामधन्दा तथा व्यापार व्यवसाय बन्द हुँदा अर्थतन्त्र चौपट बन्दै गएको छ । शहर यतिबेला दिउँसै सुतेको भान हुन्छ । अत्यावश्यक वस्तु उपभोगका लागि सरकारले तोकेको समयमा नागरिकको सामान्य आवतजावतबाहेक बाँकी पूरै समय शहर सुनसान देखिन्छ । लकडाउनपूर्व मान्छेको भीड र कोलहालपूर्ण शहर यतिबेला खाली छन् । सडकमा गाडीको घ्याँ–घ्याँ र घुँ–घँु आवाज सुन्न छाडिएको छ । यसको छेउछाउ नजिकका रुखहरुमा कोइलीको कुहुँ..कुहँु… र केही चराका चिरबिर आवाज भने राम्रैसँग सुन्न पाइन्छ । फाँटहरु हरियाली बन्दै गएका छन् । लकडाउनले फोहरमा कमी आउँदा नदी तथा खोलानाला कञ्चन भएर बगेका छन् । न यहाँ ध्वनि प्रदूषण छ न त वायु प्रदूषण नै । ध्वनि, वायु, जल, जमिनलगायतका वातावरणीय प्रदूषण ७५ प्रतिशतभन्दा बढी घटेको मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्काय, वातावरण विज्ञानका उपप्रध्यापक खगेन्द्र रावलले राससलाई जानकारी दिए । रासससँग कुरा गर्दै उपप्रध्यापक रावलले भने, “यो दुई महिनाको लकडाउनमा कार्बन तथा अन्य प्रदूषण उत्सर्जन शून्यजस्तै छ । औसतमा एक जनाले १०० चुरोट खाएजत्तिकै सबैभन्दा बढी प्रदूषण हुने चीनसहित विश्वकै तापक्रम घट्दो अवस्थामा छ । सुर्खेत तथा काठमाडौँको तापक्रम र प्रदूषण निकै घटिरहेको छ । जलवायु सफा छ । पानी परेको छ । हराएको जैविक विविधतामा सुधार आएको छ । नेपालमा मात्र हैन, भारतकै नदीनाला पनि सफा भएका छन् ।” कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले मान्छेको चापले बढ्ने तापक्रम र मान्छेको सघन आवातजावतले कोरोना भाइरससहित सबैखाले सर्ने रोगको जोखिम बढ्ने बताए । “यो समस्याबाट बच्नका लागि पहिलो लकडाउन, दोस्रो सामाजिक सचेतना र तेस्रो अस्पतालको शीघ्र तयारी हुनुपर्दछ”, निर्देशक रावलले भने, “यसलाई मध्यनजरगरी कोरोना भाइरसको व्यापक परीक्षण आवश्यक छ ।” यता कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिना दैनिकरुपमा घटिरहने सडक दुर्घटनाहरु लकडाउनमा कर्णाली प्रदेशमा अत्यन्तै न्यून अवस्थमा पुगेको बताउँछन् । रासससँग कुरा गर्दै सूचना अधिकारी तिम्सिनाले भने, “शहरबजारमा अहिल ह्वात्तै अपराध घटेको छ । शान्ति सुरक्षाको अवस्थामा सुदृढीकरण भएको छ । लकडाउन अवधिभर ४० हजारभन्दा बढी नागरिक कर्णाली भित्रिँदा गाउँमा मान्छेको चाप भने बढेको छ ।” गाउँमा मान्छेको चाप बढ्दै गएकाले कोभिड–१९ को प्रतिकार्य तथा रोकथामका साथै प्रदेशको शान्ति सुरक्षाका लागि तीन हजार ६५५ सुरक्षा जनशक्ति परिचालन गरेको उनले बताउनुभयो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले गाउँमा मान्छेको चाप बढ्दै गएकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउन प्रदेश सरकारले यही वैशाख २८ गते यो प्रदेशका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली एकैसाथ परिचालन गरेको बताउनुभयो । “हामीले ७९ स्थानीय तहका ७१८ वडापालिकामा प्रतिवडाबाट १० जनाको नमूना स्वाब सङ्कलन गरी जतिसक्दो छिटो परीक्षण गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो । मन्त्री रावलले ७१८ वडापालिकामा विदेश, विशेषतः प्रभावित देश तथा जिल्लाबाट आएका र क्वारेन्टाइनमा रहेकालाई प्राथमिकतामा राखेर १० दिनभित्र १० हजारको नमूना सङ्कलन गर्ने र तीनभित्र परीक्षण गरिसक्ने बताउनुभयो । उहाँका अनुसार आरडिटी तथा पिसीआर परीक्षण, आइसोलेसनको श्यया सङ्ख्या, स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सामग्रीलगायतका क्षेत्रमा कर्णाली औसतमा कमजोर नरहेको र अहिलेसम्म कोराना प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा सक्षम रहेको छ । रासस