काठमाडौंमा देखिए ३ जना नयाँ काेराेना संक्रमित
काठमाडौं । काठमाडौंका ३ जनामा काेराेना पुष्टि भएकाे छ । भक्तपुरकाे २५ वर्षिय महिला र २७ वर्षिय पुरुष र काठमाडौंकाे ३३ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३ जनामा काेराेना पुष्टि भएकाे जनाएकाे छ । यहीसँगै काठमाडौंमा काेराेना संक्रमितकाे संख्या ४ पुगेकाे छ ।
साउदीमा ६ सय ७४ नेपाली कोरोना संक्रमित, १ जनाको मृत्यु
काठमाडौं । साउदीमा हालसम्म ६ सय ७४ नेपाली कोरोना संक्रमित भएकाे साउदीस्थित नेपाली दूतावासले जनाएकाे। यस्तै दुतावासले कोरोनाका कारण हालसम्म साउदीमा १ जनाको ज्यान गएको पनि बताएकाे छ। दूतावासले साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ नेपालीमा कोरोना भेटिएको र पश्चिम मक्का, मदिना, जेद्धा र जनानलगायत क्षेत्रमा १ सय ४८ जना रियाद क्षेत्रमा १७५ जना कसिम क्षेत्रमा ३, हायल क्षेत्रमा ३ र अन्य स्थानमा ९ नेपालीमा कोरोना संक्रमण भेटिएको छ। कोरोना संक्रमण सुरु भएदेखि विभिन्न कारणले मृत्यु भएका नेपालीको संख्या ३० रहेको पनि बताइएकाे छ । कोरोनाका कारण मृत्यू भएका १ जना नेपाली गरेर ३१ वटा नेपालीका शव अहिले साउदीमा छ ।
थप २६ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिनमा ८३ जनामा संक्रमण
काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ जनामा कोरोना पुष्टि भएको जनाएकाे हाे । स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा, महोत्तरी,धनुषा, भक्तपुर, काठमाडौं र सर्लाहीमा संक्रमित भेटिएका हुन्। जसमध्ये महोत्तरीमा २, धनुषामा २, भक्तपुरमा २, काठमाडौंमा १ जना, पर्सामा १८ र सर्लाहीमा एक जन नयाँ संक्रमित भेटिएका हुन्। मंगलबार बिहान मात्रै नेपालमा ५७ जनामा कोरोना पुष्टि भएकाे थियाे । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन्।
रुपन्देहीको दक्षिण भेगमा आवतजावतमा रोक
लुम्बिनी । कोरोना सङक्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हुलाकी मार्गको दक्षिण भेगको आवतजावतमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार हुलाकी सडकको दक्षिण क्षेत्रमा बुधबारदेखि लागू हुने गरी आवतजावत गर्न नपाइने र कार्यालयबाट जारी भएको पास रद्द गरिएको जानकारी दिए । कपिलवस्तुदेखि नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सिमानासम्मको हुलाकी सडकको दक्षिणतर्फ लुम्बिनी सांस्कृतिक नगरपालिका तथा समरीमाई गाउँपालिका, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकाका केही क्षेत्र, सिद्धार्थनगरका केही क्षेत्र, ओमसतिया गाउँपालिकाका केही क्षेत्र र रोहिणी गाउँपालिका पर्छन् । रुपन्देहीको हुलाकी सडकको दक्षिण क्षेत्रमा एउटा वडाबाट अर्को वडामा आवतजावतमा समेत रोक लगाइएको प्रजिअ पन्थले बताए । मंगलबार अपराह्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रकाशन गरेको विवरणनुसार रुपन्देहीमा नौ जना कोरोना सङ्क्रमित पुष्टि भएको थियो । कोरोना सङ्क्रमित लुम्बिनीस्थित श्रीलंकाली गेष्टहाउसको क्वारेन्टाइनमा बसेकाहरु रहेको उहाँले जानकारी दिए । यसअघि सोमबार मात्रै लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासस्थित क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको थियो । मर्चवारको समरीमाईको भैसागाहनस्थित मदरसाको क्वारेन्टाइनमा रहेका चार जनामा कोरोना पुष्टि भएको थियो । रुपन्देहीमा यसअघि दुई हप्ता अगाडि कोटहीमाईको मर्चवार आदर्श माविको क्वारेन्टाइनमा बसेका एक युवकमा कोरोना पुष्टि भएको थियो । रुपन्देहीमा कोरोना पोजिटिभ देखिएका सबै भारतबाट लकडाउनकै अवधिमा लुकिछिपी आएकाहरु हुन् । रासस
जोखिमलाई अवसर ठान्दै यी वडाध्यक्ष
काठमाडाैं । विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण परेको सङ्कटबाट नेपाल पनि अछुतो रहन सकेन । देश डेढ महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ । बन्दाबन्दीको बाबजुद पनि यस रोगको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । यो महामारीको सम्भावित सङ्क्रमणको रोकथाममा राज्यका सबै निकाय आ–आफ्नो जिम्मेवारी र प्रयासमा सक्रिय छन् । अहिले विश्व नै कोरोना प्रकोप संग जुधिरहेको छ अनि यसको अग्रिम मोर्चामा रहेका छन स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी , संचारकर्मी र त्यस मोर्चाको कमान्डर बनेर सक्रिय बनेका छन जनताका प्रतिनिधि।धेरै देशका राष्ट्र प्रमुखहरु नै संक्रमित बने पनि यस प्रकोपलाई परास्त गर्नका लागि डटिरहेका छन। अदृश्य शत्रु संगको लडाईमा जनताको सेवामा नेपालका जनप्रतिनिधिहरु पनि सक्रिय रहेका छन। न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरा गर्न लागिरहेका जनप्रतिनिधि मध्ये एक सक्रिय जनप्रतिनिधि हुन् मेलम्ची नगरपालिका वडा नं ८ का वडा अध्यक्ष ठंकराज गिरी । जहाँ कठिनाइ छ, त्यहाँ जनप्रतिनिधि भन्ने बिचारलाइ आत्मसाथ गर्दै स्थानीयको सहयोगमा कोरोना जोखिम न्यूनीकरणका लागि आफ्ना सहयात्री वडा सदस्य सहित स्थानीय संग अहोरात्र खटिरहेका उनले राहत वितरण ,औषधि वितरण,हात धुने सामग्री व्यवस्थापन ,सामाजिक दुरी कायम गराउने ,स्वास्थ्य जांच संग संगै नगर तथा वडावासी जनतालाई आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका छन । विपदमा जनताको सेवा गर्ने गहन दायित्व बोकेको उनले संकटको बेलामा आ आफ्नो ठाउ बाट जे सकिन्छ त्यो गर्न अनुरोध गर्दै सामाजिक दायित्व बाट नभाग्न सबैलाई अनुरोध गरेका छन ।केन्द्र सरकारले कोरोना भाइरस विरुद्ध कार्य सुरु गरे देखि आफु र आफ्ना सहकर्मी जनप्रतिनिधीहरु सधै सगैं वडा बासीहरुलाइ पर्न सक्ने समस्या अफ्ठ्यारोलाइ समाधान गर्नको लागि नियमित सम्पर्कमा रहेको बताउने उनले वडा बासीलाई सामजिक दुरी कायम गर्न अनुरोध गरेका छन । कोरोना सङ्क्रमणको शुरुमा स्वास्थ्य विज्ञले कोरोना भाइरसबाट बच्न साबुनपानीले हात धुने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाड नगर्ने, सामाजिक दूरी कायम गर्न सुझाए पनि त्यो बेला नागरिकमा चेतना आइनसकेको बताउदै त्यसको लागि ब्यापक जनचेतना जगाउने काममा सबैको सहयोग प्राप्त भएको बताए। आफ्नो वडाबाट अस्थायी रूपमा काठमाडौँ बसोबास गर्दै आएका जनताहरुको समस्यालाई मध्य नजर गर्दै अध्यक्ष गिरीले आफ्नै पहलमा गाउँ आउन चाहनेलाई आफै काठमाडौ गएर ५० जना भन्दा बढी आफ्ना वडाबासीहरु लाई काठमाडौ देखि गाउँसम्म ल्याउने काम गरे । त्यति मात्रै होइन लामो समयसम्म लकडाउनका कारण १०० जना भन्दा बढी दिर्घ रोगिहरु कोरोना भाईरस रोगको कारणले भन्दा पनि नियमित रूपमा सेवन गर्दै आएको औसधि खान नपाउदा समस्या आउने भएपछी अध्यक्ष गिरीले पहिलो चरणमा तत्कालै १५ दिनको स:शुल्क औषधि ल्याएर वितरण गरे । त्यसको केही समय पछी नगरपालिका सङ समन्वय गरेर आफै काठमाडौ गई एक महिनाको लागि नि:शुल्क औसधि ल्याई वितरण गरे । वितरण गर्ने क्रममा एउटै ब्यक्तिले २२ हजारसम्म पर्ने औसधि नि: शुल्क प्राप्त गरे ।औषधि वितरणको क्रममा मेलम्चीनगर प्रमुख श्री डम्बरबहादुर अर्यालले समेत सहभागी जनाउनु भएको थियो । जनप्रतिनिधिहरुको रोबरमा बन्दाबन्दी पालना गराउन माइकिंग गर्ने देखि राहत वितरणमा समेत खटिएका उनले लकडाउनका कारण प्रभावित बिपन्न दैनिक ज्यालादारी गर्ने श्रमिकहरुको पहिचान गरि राहत उपलब्ध गराएको बताए । उनले वडा नं ८ मा विदेसबाट आएको ४ जनाको स्वास्थ्य परिक्षण गरिएको जानकारी दिदै अध्यक्ष गिरीले कसैको पनि पोजेटिभ नदेखिएको बताए । अहिले सम्म वडा बाट ५१ घरका करिव १००जना भन्दा बढीलाई राहत वितरण गरिएको जानकारी गराउदै त्यसमा पनि सहयोगी दाता बाट प्राप्त सहयोगको आधारमा राहत कुपन वितरण गरिएको बताए । कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन लागू गरे सँगै बाहिरी जिल्लाबाट आई काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्ने २० जना भन्दा बढी नागरिकलाई राहत उपलब्ध गराएको बताए । उनले विषम परिस्थितिमा आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी वडालाइ निस्वार्थ रुपमा सहयोग गरेका स्वयं सेवकहरु, जन प्रतिनिधि, कर्मचारी सुरक्षाकर्मी स्वास्थ्यकर्मी, विपद व्यवस्थापन टोलि, स्थानीय संघ सस्था तथा सहयोगी दाता सहित स्थानीयहरुले गरेको सहयोग प्रति आभार ब्यक्त गर्दै भबिष्यमा पनि त्यस्तै सहयोगको अपेक्षा गरेका छन ।
मोदीद्वारा २० लाख करोड भारुको आर्थिक प्याकेज घोषणा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार २० लाख करोड भारतीय रुपैयाँको विशेष आर्थिक प्याकेज घोषणा गरेका छन् । उनले मंगलबार ८ बजे देशबासीका नाममा सम्बोधन गर्दै २० लाख करोड भारतीय रुपैयाँको विशेष आर्थिक प्याकेज घोषणा गरेका हुन् । उनले यस आर्थिक प्याकेजले आत्मनिर्भर भारत अभियानका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले यो रकम भनेको भारतको कुल जीडीपीको १० प्रतिशत भएकोसमेत जानकारी दिए । भारतको कुल गार्हस्थ उत्पादन २.९ ट्रिलियन डलरबराबर छ। ‘२० लाख करोड रुपैयाँको प्याकेज २०२० मा देशको विकास यात्राको नयाँ गतिशिलता प्रदान गर्नेछ । आत्मनिर्भर भारत अभियानको संकल्प सिद्द गर्नका लागि ल्यान्ड, लेबर लिक्विडीटी र ल मा बल दिइएको छ, यसले कुटिर उद्योग, साना उद्योग र मझौला उद्योगलाई विशेष सहयोग पुग्ने छ,’ उनले भने । यो आर्थिक प्याकेजले भारतीय उद्योग जगतका लागिसमेत विशेष भूमिका निर्वाह गर्ने मोदीले जानकारी दिए । मोदीले भारतमा लकडाउन अझै लम्ब्याइने तर त्यो बिल्कुल फरक स्वरुपको हुने बताए। उनले भारत २१ औँ शताब्दीको शक्ति बन्ने हो भने आत्मनिर्भर बन्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।
पर्सामा निशेधाज्ञा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो । लकडाउनका बाबजुद पनि कोरोनाको संक्रमण फैलने क्रम नियन्त्रणमा आउन नसकेपछि मङगलबारदेखि निषेधाज्ञा पनि जारी गरिएको हो।पर्सा जिल्लामा मङगलवार बेलुकी ८ बजे देखि जेठ ५ गते राति १२ बजे सम्मका लागि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। निषेधाज्ञा अवधिभर पर्सा जिल्लामा रहेका औषधि बाहेकका अन्य सबै पसल, उद्योग कलकारखाना बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले प्रयोग गर्नेबाहेक अन्य सबै निजी तथा सार्वजनिक सवारी साधन सन्चालनमा पूर्ण रुपमा रोक लगाइएको बताइएकाे छ । भारतसंग सीमा जोडिएका जिल्लाका सबै मुख्य तथा खुल्ला नाकामा बन्द गरिएको आवागमन थप कडाइ गरिएको र मङगलवार देखि थप सुरक्षाकर्मी परिचालन गरिएको बस्नेतले जानकारी दिए। यस्तै अन्य जिल्लाबाट पर्सा जिल्लामा जेठ ५ गते सम्मका लागि मानिसको आवागमन बन्द गर्ने निर्णय गरिएको बस्नेतले बताए। बैकठले कोरोनाका संक्रमीत बढि भेटिएका र संक्रमणको अति जोखीममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय पनि गरेको जानकारी उनले दिए। पर्सामा मङगलबारको ३९ संगै अहिलेसम्म संक्रमीतको संख्या ६४ पुगेको छ। ती मध्ये वीरगन्ज महानगरपालिकाको मात्रै ५० जना छन्। जिल्लाको ग्रामीण भेग छिपहरमाइ गाँउपालिकाका १४ जना छन्।
वाग्मती प्रदेश सरकारद्धारा अध्यादेश ल्याउन स्वीकृति
हेटौँडा । वाग्मती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशको मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्ने अध्यादेश ल्याउन स्वीकृति प्रदान गरेको बताएका छन् । बैठकले प्रदेश सरकारको आर्थिक आव २०७७/७८ का लागि नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्नेतर्फ कृषि उत्पादन, राष्ट्रिय गौरवको आयोजना, हेटौँडाबाट काठमाडौँ जोड्ने पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग, उद्योग, पर्यटन तथा प्रत्यक्ष रोजगारका लागि जनसहभागिता कार्यक्रम, सुशासन ल्याउनको निमित आवश्यक ऐन कानून तर्जुमा थप गर्नुपर्ने विषयमा समावेश गर्न स्थानीय निकाय र सरोकारवालाहरुसँग छलफल गर्नेसमेत निर्णय गरिएको सरकारका प्रवक्त ढुङ्गेलले जानकारी दिए । प्रवक्ता ढुङ्गेलले सरकारको आगामी वर्ष ल्याइने बजेटका लागि प्रथम चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको गत आवको नीति कार्यक्रममा समावेश भएका योजको कार्य प्रगति र आगामी वर्षका लागि समावेश गर्नुपर्ने विभिन्न राष्ट्रिय गैरवको आयोजना र कृषि उत्पादको विषयमा क्रमशः समीक्षा गरिरहेको पनि बताए । रासस