विकासन्युज

माछापुच्छ्रे बैंकको नाफा एक अर्ब बढी, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले एक अर्ब १६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५.९६ प्रतिशतले घटी हो । गत आवको सोही अवधिमा बैंकले एक अर्ब २४ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासिकको वित्तीय विवरण अनुसार कम्पनीको वितरण योग्य नाफा पनि ८०.८२ प्रतिशतले घटेर १८ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीको वितरण योग्य नाफा ९८ करोड १८ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेर क्रमशः एक अर्ब ७८ करोड र ३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । ८ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ७९ करोड ९९ लाख रुपैयाँ सञ्चित छ । कम्पनीका अनुसार समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १.१७ रुपैयाँले घटेर १५.३९ रुपैयाँमा झरेको छ ।

भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवान पनि कोरोना संक्रमित

काठमाडौं । पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । २७ वर्षीय प्रहरी जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा बस्दै आएको भन्ने खुलेको छ । ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । भक्तपुरमा कोरोना संक्रमण देखिएका अर्की २५ वर्षीया महिला भक्तपुर सल्लाघारी बस्ने गरेकोमा पछिल्लो पटक नयाँ थिमीस्थित प्रजिना रेग्मीको घरमा बस्दै आएको खुलेकाे छ । ती महिलाको घर सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का भएको बताइएको छ । हाल तीनै जना टेकु अस्पतालमा भर्ना भएका छन् ।

उत्तरगंगा विद्युत् आयोजना सञ्चालन हुने

रूकुम । पुथाउत्तरगंगा गाउँपालिकाले एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं ११ तल्लो सेरामा एक मेगावाट क्षमताको उत्तरगंगा विद्युत् आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र बोलपत्र आह्वान गरिसकिएको जनाइएको छ । जिल्लामा निर्माण भएका अन्य साना जलविद्युत् आयोजना धेरै छन् । जिल्लामा निर्माण हुँदै गरेको पाँच मेगावाटपछिको यो दोस्रो ठूलो क्षमताको आयोजना रहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताए । कुल ५२ करोड रूपैयाँ लगानीमा उक्त आयोजना निर्माण हुने जनाइएको छ । उपाध्यक्ष शाहीका अनुसार २८ करोड रूपैयाँ एडिबीको सहयोग तथा कृषि विकास बैंक र गाउँपालिकाको ५ करोड रूपैयाँको लगानी हुने छ । बाँकी १४ करोड रूपैयाँ गाउँपालिकावासीले सेयरमार्फत लगानी गर्ने छन् । जम्मा १७ हजार ९ सय ३४ जनसंख्या रहेको गाउँपालिकामा ५ हजार आठ घरधुरी छ । उत्तरगंगा हाइड्रोपावर निर्माणको काम अगाडि बढाउनका लागि गत माघ पहिलो साता बोलपत्र आह्वान गरिएको थियो । चैतदेखि काम शुरु गर्ने भनिए पनि कोरोना महामारीको कारण आयोजनाको काम अगाडि बढ्न नसकेको उपाध्यक्ष शाहीले बताए । सम्झौता भएको १८ महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने छ । एक मेगावाट क्षमताको विद्युत् आयोजनाले गाउँपालिका नै झिलीमिली बनाउनाका साथै बाहिर निर्यात गर्ने बताइएको छ । अहिलेसम्म गाउँपालिकामा साना विद्युत् आयोजनाले उज्यालो दिइरहेका छन् भने कतिपय ठाउँमा विद्युत पुर्याउने काम भइरहेको छ । एक मेगावाटको विद्युत् आयोजना निर्माण भएमा सबै साना आयोजनालाई ग्रीडमा जोडेर बाहिर निर्यात गर्ने बताइएको छ । रासस

सीमामा सक्रिय बन्यो सशस्त्र प्रहरी

दार्चुला । महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ । लकडाउनले सीमा नाका बन्द भएपछि दार्चुलासँग सीमा जोडिएका भारतका विभिन्न ठाउँबाट नेपाली स्वदेश फर्कने क्रम जारी छ । सीमानाका बन्द हुँदा सशस्त्र प्रहरीको आँखा छलेर रातिको समयमा स्वदेश फर्कने क्रम जारी रहेपछि पछिल्लो समय निगरानी बढाएको हो । भारतमा लकडाउन खुुकुलो भएसँगै दिल्ली र पिथौरागढबाट धमाधम नेपाली सीमा पुगेर महाकाली तर्न थालेका छन् । भारतले नै नेपाली सीमासम्म गाडीमार्फत पुर्याउने गरेको मजदुरहरु बताउँछन् । महाकाली नदीमा ट्युब र पौडी खेलेर नेपाल फर्कने लेकम र लाली क्षेत्रबाट मङ्गलरबार ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाले जनाएको छ । लेकममा नदी तरेर आएका सात जनालाई कृष्ण स्नातक क्याम्पस लालीको क्वारेन्टाइनमा राखिएको छ । बैतडी पुच्र्यौडीका स्थानीय भारतको पिथौरागढबाट आएका हुन् भने लेकमका स्थानीय दिल्ली हरियानी क्षेत्रबाट फर्किएका हुन् । यसैगरी मालिकार्जुन गाउँपालिकाको उकु क्षेत्रमा महाकालीमा पौडी खेलेर आएका चार जनालाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न लगाएको छ । चैत ११ गतेदेखि लकडाउन शुरु भएसँगै भारतसँग सीमा जोडिएका क्षेत्रमा २४सै घण्टा सशस्त्र प्रहरी खटाएको छ । वैशाख १८ गते भारतीय क्वारेन्टाइनमा बसेका नेपाली स्वदेश फर्काए पनि अवैधरूपमा स्वदेश फर्कने क्रम नरोकिएको सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले बताउनुभयो । सीमामा सशस्त्र खटिएसँगै दुईवटा ट्युब पनि नियन्त्रणमा लिएको छ । अहिले लेकमको लालीबाट व्याससम्मका १० ठाउँमा सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । ट्युबमार्फत नेपाल आउने व्यक्तिले १ हजार ६ सय देखि १ हजार ५ सयसम्म तिर्ने गरेका छन् । भारतले लकडाउन खुकुलो गरेर गाडी चल्न दिएपछि दैनिक सयौँ व्यक्ति दार्चुलाका सीमापारि आउन थालेका छन् । अर्काको देशमा रोग र भोक दुवैको समस्या भएपछि जोखिम मोलेर स्वदेश फर्किएको मालिकार्जुनका खिमसिंह धामीले बताए । अझै नदी तर्न नसकेर पारिपट्टि थुप्रै मान्छे रोकिएको उनले बताए । अझै पनि सीमावर्ती क्षेत्रमा थुप्रै नेपाली स्वदेश फर्कने तयारीमा छन् । दार्चुलाको लाली, जौलजीवि, धार्चुला आसपासका क्षेत्रमा पनि स्वदेश फर्कनका लागि नेपाली सीमामा पुगेको र उनीहरुको रातिको समयमा स्वदेश फर्किने तयारी गरिरहेका छन् । सशस्त्र र नेपाल प्रहरी व्यासको छाङ्गरु जाँदै कालापानी हुँदै लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएर गत शुक्रबार उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र र नेपाली प्रहरीको टोली जाने भएको छ । बुधबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु गागामा सीमा निगरानीका लागि सशस्त्र प्रहरी जान लागेको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाले जनाएको छ । सशस्त्र प्रहरीको टोलीलाई सेनाको हेलिकोप्टरले छाङ्गरु पुर्याउने छ । चार दिनअघि शुक्रबार भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुलेकसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ । दार्चुलाको व्यास गाउँपालिकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्न सशस्त्र प्रहरी निरीक्षकको कमाण्डरमा २५ सशस्त्र प्रहरी खटाइने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोली पठाउने तयारी गरिएको छ । टोलीका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामग्री तयारीमा गुल्मका टोली खटिएको उनले बताए । स्थानीय व्यक्तिको घर भाडामा लिएर बिओपी बस्ने तयारी छ । छाङ्गरुमा १ सय १० घरधुरी रहेको छ । सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको थियो । सशस्त्र प्रहरीले रिर्जभ गरेको हेलिकोप्टरमा नेपाल प्रहरी पनि सँगै पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो । नेपाल प्रहरी विगतमा पनि छाङ्गरुको गागामा बस्दै आएको छ । सशस्त्र प्रहरीलाई व्यासमा बाह्रैमास राख्ने गरी बिओपी स्थापना गर्न लागिएको हो । हेलिकोप्टरमार्फत मेडिकल उपकरण, हातहतियार र जनशक्तिलाई पठाउने तयारी छ । समुद्री सतहबाट ३ हजार ६ सय मिटर उचाइमा रहेको छाङ्गरुमा बाह्रैमास सशस्त्र प्रहरीको उपस्थिति गराउने सरकारको तयारी छ । कालापानी ४ हजार २ सयमिटर उचाइ र त्यसभन्दा माथि लिपुलेक, लिम्पियाधुरा करिब ५ हजार मिटरको उचाइमा पर्छ । भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय पटक–पटक उठे पनि भारतीय सीमाको सबैभन्दा नजिकको विन्दुमा नेपाली सुरक्षाकर्मी तैनाथ गर्न लागेको हो । छाङ्गरुबाट कालापानी १२ किलोमिटरको दूरीमा छ भने कौवाक्षेत्र छाङ्गरुदेखि झण्डै ५ किलोमिटरको दूरीमा पर्छ । यस्तै छाङ्गरुबाट लिपुलेक १७ किलोमिटरको दूरीमा छ । गत फागुन पहिलो साता नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सशस्त्र प्रहरीको बिओपीस्थलको हवाई निरीक्षण गरे भने गत चैत पहिलो साता सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टर दार्चुलाका प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्ट नेतृत्वको टोली स्थलगत निरीक्षण गरेका हुन् । सशस्त्र प्रहरीको छाङ्गरुको गागामा रहे पनि अहिले नेपालीको पहुँच रहेको कौवा क्षेत्रसम्म नियमित एलआरपी गस्ती हुन सक्नेछ । व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमिनसमेत उपलब्ध गराएका छन् । स्थानीयले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्र प्रहरीलाई दिइसकेको छ भने सरकारले व्यासमा बिओपी स्थापना र निर्माणका लागि  ११ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै सशस्त्र प्रहरी पुर्याउने हेलिकोप्टरमा नौ जना नेपाल प्रहरी पनि जाने भएका छन् । छाङ्गरुमा रहने नेपाल प्रहरीलाई हेलिकोप्टरमार्फत पठाइन लागेको हो । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) हर्कसिंह महताको नेतृत्वमा टोली खटाउन लागिएको हो । अहिले व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा रहेका प्रहरी व्यास गाउँपालिका–२ दुम्लिङमा सारिएको छ । सशस्त्र प्रहरी हेलिकोप्टरमार्फत जाने भएपछि गागामै रहेको नेपाल प्रहरीलाई सशस्त्रसँगै पठाइन लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो । तिङ्कर क्षेत्रको प्रहरी भने बाटो खुलेपछि पठाउने तयारीमा रहेको बताइएको छ । रासस

भारतको महाराष्ट्रमा १ हजार भन्दाबढी प्रहरी कोरोना संक्रमित

दिल्ली । भारतको सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा १ हजार बढी प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । मङ्गलबार मात्र थप २ सय २१ प्रहरी संक्रमण भएको प्रमाणित भएसँगै संक्रमित प्रहरीको संख्या १ हजार ७ पुगेको महाराष्ट्र प्रहरीले जनाएको छ । त्यस्तै ७ जना प्रहरीको कोरोनाबाट मृत्यु भएको छ । भने १ सय १३ जना उपचारपछि निको भइ घर फर्किएका छन् । चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८ सय ८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७ सय ९६ जना प्रहरी जवान रहेका छन् । मङ्गलबारसम्ममा भारत भर ७१ हजार ४ सय ४१ व्यक्ति सङ्क्रमित रहेकोमा सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४ सय १ व्यक्ति सङ्क्रमित रहेका छन् भने यीमध्ये २ हजार ३ सय १० व्यक्तिको मृत्यु भईसकेको छ । भारतमा कोरोना भाइरसको उपचार पछि मङ्गलबारसम्म देशभर २३ हजार ४९ व्यक्ति निको भई घर फर्किएका छन् ।

उपत्यकाका ३ कोरोना संक्रमित टेकुमा भर्ना, भक्तपुरमा भेटिएकी महिला सुनसरीबाट आएकी

काठमाडौं । काठमाडाैं उपत्यका काेराेना संक्रमण पुष्टि भएका ३ जनालाई नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।  मंगलबार मात्र काठमाडौं उपत्यकामा कोरोना पुष्टि भएका २ महिला र १ पुरुषमा अस्पतालमा भर्ना भएका हुन् । भक्तपुरमा देखिएको कोरोना संक्रमित २५ वर्षिय महिला सुनसरीबाट आएकी खुलासा भएको छ ।  त्यस्तै भक्तपुरमा भेटिएका अर्काे संक्रमित २७ वर्षिय पुरुष दुवाकोटको रहेको तर उनीमा कसरी कोरोना भाइरस सर्याे भन्ने विषय स्पष्ट जानकारी आउन सकेको छैन । उनले आफू परिवारसँगै रहेको कतै बाहिर नगएको भनेसँगै परिवारका सबै सदस्यलाई सिल गरिएको हो । त्यस्तै मंगलबार स्वास्थ्यकर्मी तथा पत्रकारमा नि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ३३ वर्षकी महिला वैशाख २९ गते महेन्द्रनगरबाट निजी गाडीमा काठमाडौँ आएकी हुन् । ती महिला चन्द्रागिरी नगरपालिकाको बस्दै आएकाे खुलेकाे छ । उपत्यकामा मंगलबार तीन जनाका कोरोना देखिएसँगै नेपालभरीमा ८३ जनामा पुष्टि भएको हो ।  हाल नेपाल २ सय १७ जनामा कोरोना पुष्टि भइसकेको छ भने ३४ जना उपचार पछि घर फर्किएका छन् ।

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयानुसार आज विहान ६ बजेसम्म विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ४३ लाख ३७ हजार १ सय ४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ९२ हजार ४ सय ३ जनाले ज्यान गुमाइसकेका छन् भने १५ लाख ९६ हजार ८ सय ८२ जना उपचारपछि निको भइ घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसले भयावह स्थिति निम्ताएको छ । त्यहाँ १४ लाख ८ हजार १ सय ५५ जना संक्रमित छन् । ८३ हजार ३ सय ७७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय दक्षिण एसियामा पनि कोरोना फैलिने क्रम बढेको छ । छिमेकी राष्ट्रमा ७४ हजार २ सय ९२ जना कोरोना संक्रमित रहेका छन् भने २ हजार ४ सय १५ जनाको मृत्यु भईसकेको छ । त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । हालसम्म ३३ जना उपचार पछि निको भएका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

भक्तपुरमा पहिलो पटक देखियो कोरोना संक्रमण

काठमाडौं । भक्तपुरमा पहिलो पटक काेराेना संक्रमण देखिएकाे छ । भक्तपुरकाे २५ वर्षिय महिला र २७ वर्षिय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरकाे २ जनामा काेराेना पुष्टि भएकाे जनाएकाे हाे ।