पास रद्द गरे पनि खोल्ने भनिएका ४४ प्रकारका उद्योग प्रतिष्ठान बन्द नहुने, कसरी पाइन्छ पास ?
काठमाडौं । सरकारले २६ वैशाखदेखि ४४ प्रकारका उद्योग प्रतिष्ठान, विक्री वितरण र सेवा संचालन गर्न दिन नीतिगत निर्णय गर्यो । मंगलबार नेपालमा कोरोना संक्रमितकाे संख्या एक्कासी वृद्धि भएपछि सरकारले दिएको सबै पास रद्ध गरेको छ । सरकारले खाेल्न दिने भनेका वस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार तथा कर्मचारीलाई आवतजावतको लागि दिएको पास रद्ध भएपछि अन्योलको अवस्था सिर्जना भएको छ । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले पहिलेको मन्त्रिपरिषद्को निर्णय अनुसार नै उद्योगहरु सञ्चालन हुने बताए । पासका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले व्यवस्था गर्नेछ । सरकारले कोरोना भाइरस संक्रमण फैलनबाट रोक्न ११ चैतदेखि देशव्यापी लकडाउन गरेपछि विभिन्न बस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार तथा कर्मचारीलाई आवतजावतमा समस्या उत्पन्न भएको थियो । ‘उद्योग प्रतिष्ठान र निर्माणजन्य व्यवसायमा कामदार तथा कर्मचारीलाई कार्यस्थलमै राखेर काममा लगाउनु पर्नेछ, कार्यस्थलमै राखेर काम गराउन नसक्ने वस्तु तथा सेवा उत्पादक र विक्री वितरण गर्नेहरुका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर पासको व्यवस्था गर्नु पर्ने व्यवस्था छ, पास आवश्यक परेमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्छ,’ न्यौपानेले भने । पास दिने विषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले आफै विभिन्न विकल्प अपनाउन सक्ने पनि न्यौपानेले जानकारी दिए । सेवा उत्पादन र विक्री वितरण गर्ने उत्पादक वा सेवा प्रदायकले कामदार तथा कर्मचारी कहाँबाट कहाँसम्म लानु ल्याउनु पर्ने हो भनेर पास माग गर्नु पर्नेछ । त्यस्ता उत्पादक वा विक्री वितरकको नियामक निकाय को हो, यस्ता विषयको विश्लेषण गरेर परिचयपत्रकै आधार कामदार आउन जान दिइनेछ । सम्बन्धित नियामक निकायसँग समन्वय गरेर त्यस्ता नियामकबाट नै पास उपलब्ध गराउने व्यवस्था गर्ने कि वा आफैले पास दिने भन्ने विषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरु आफैले व्यवस्था मिलाउने छन् । उद्योग सञ्चालनको लागि केही समस्या आयो भने गृहमन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने मन्त्रालयकाे भनाइ छ । उपत्यकामा कसरी पाइन्छ पास ? काठमाडौं जिल्लाको हकमा भने सम्बन्धित नियामक निकायले र जिल्ला प्रशासन कार्यालयको सहमतिमा व्यवस्थापकले नै पास दिन सक्ने छ । अत्यावश्यक वस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने उत्पादक र विक्री वितरकलाई परिचयपत्रकै आधारमा नै समान ओसार पसार गर्न दिने व्यवस्था यसअघिदेखि नै गरिएको थियो । पछिल्लो समय खुलाइएको उद्योग प्रतिष्ठान तथा सेवा व्यवसायका कामदार तथा कर्मचारीहरुको लागि पासको व्यवस्था सम्बन्धित नियामक निकायले गर्न सक्ने छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीको पास नेपाल राष्ट्र बैंकबाट लिन सक्ने छन् । बीमा कम्पनीको कर्मचारीको पास बीमा समितिबाट, धितोपत्र बजारसँग सम्बन्धित कर्मचारीको लागि धितोपत्र बोर्डबाट तथा अन्य उद्योग प्रतिष्ठानहरुको पास उद्योग विभागबाट लिन सक्ने छन । यी हुन् सञ्चालन भइरहेका ४४ प्रकारका उद्योग प्रतिष्ठान १) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु २) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग ३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु ४) खाने पानी उत्पादन गर्ने उद्योगहरु ५) इँटा उद्योग ६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग ७) खाने तेल तथा घ्यू उद्योग ८) चिनी उद्योग ९) चिया प्रशोधन उद्योग १०) एलपीजी ग्याँस उद्योग ११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग १२) कफि उद्योग १३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग १४) नूडल्स तथा तयारी चाउचाउ उद्योग १५) मसला उद्योग १६) अलैंची र अदुवा प्रशोधन उद्योग १७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग १८) धान चामल र चिउरा उद्योग १९) दाल उद्योग २०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग २१) खानी तथा खनिजजन्य उद्योग २२) बालुवा प्रशोधन तथा क्रसर उद्योग २३) सिमेण्ट उद्योग २४) आइरन तथा स्टिलउद्योग २५) पेन्टिङ्गस (रंगरोगन) उद्योग २६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग २७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग २८) जुुस तथा हल्का पेयपदार्थ उद्योग २९) प्लाइउड र भेनिर उद्योग ३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु ३१) जस्ता पाता उद्योग ३२) हेभी मेशीनरी औजार मर्मत संभार ३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत) ३४) समिल र काष्ठ उद्योग ३५) आल्मुनियम उद्योग ३६) ग्रील उद्योग ३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग ३८) ढुवानी तथा कार्गो सेवा उद्योग ३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग ४०) मोटर ग्यारेज वर्कसप उद्योग ४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग ४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग ४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग ४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग पूर्णरुपमा बन्द रहने स्थलहरु सरकारले विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्री विरतण गर्ने व्यवसायिक मलहरु, होटल, बार, रेष्टुरन्ट स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रंगशाला, जिमसेन्टर, ब्युटी पार्लर सञ्चालन गर्न पाइदैन । १२ वर्षमुनिका बालबालिका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, गर्भवती महिलाले घुमघाम गर्न पाउने छैनन् । आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक यात्रुवाहक हवाई उडान गर्न पाईने छैन । केवलकार र रेलसेवा सञ्चालनमा पनि रोक लगाइएको छ । नेपालको कुनै पनि भूभागमा संक्रमणको जोखिम बढी देखिएमा माथि उल्लेख गरिएका व्यवस्थाहरु स्थानीय प्रशासनले निश्चित अवधिसम्म सञ्चालनमा रोक लगाउन सक्नेछ ।
नेपाल–भारत सीमा क्षेत्रमा तारबार लगाउन माग
काठमाडौं । भारतले पटक–पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सार्वभौमसत्तामाथि नै प्रश्न खडा हुने गरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन गर्ने गरी तारबार लगाउन माग गरेका छन् । कोरोनाको सङ्क्रमण फैलन नदिन लकडाउन जारी रहेको बेला पछिल्लोपटक नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेको र नेपालको अस्मितामाथि नै हमला गरेकाले सीमा क्षेत्रमा तत्काल तारबार गर्न उहाँहरुले सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सीमा अतिक्रमणविरुद्ध सरकारले कूटनीतिक पहल गर्नुपर्ने र आफ्नो भूमि एक इन्च पनि नछाड्ने गरी प्रक्रिया अगाडि बढाउन सांसदले माग गरे। केही सांसदले त सीमा क्षेत्रमा तारबार लगाउने निर्णय भएको खण्डमा आफूले पाउने पारिश्रमिक समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए । भारतले पछिल्लोपटक यही वैशाख २६ गते नेपाली भूमि अतिक्रमण गरी निर्माण भएको धार्चुला हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेको हो । भारतको उक्त कमदका विरुद्ध नेपाल सरकारले भारत सरकारलाई यहाँस्थित राजदूतमार्फत कूटनीतिक नोटसमेत उपलब्ध गराइसकेको छ । भारतले मित्रवतको व्यवहार नगरेको, नेपाली भूमिमाथि नजर लगाएको, अनाधिकृतरूपमा सडक निर्माण गरी दुःख दिएकाले सरकारले कूटनीतिक राजनीतिक दुवै प्रयासका अलावा अन्य पहल गर्नसमेत आग्रह गरे । सांसद अनिता देवकोटाले सीमा क्षेत्रमा भारतले निर्माण गरिरहेकोे सडकको बारेमा सरकारलाई जानकारी नै थिएन भनेर सरकारी पक्षबाट आएको धारणा गलत रहेको भन्दै तत्काल प्रष्ट्याउन माग गरे । सांसद इन्दु कडरियाले नेपालीको घर आँगनमा नै भारतीयले आएर दुःख दिएको र सीमा अतिक्रमण गरेर दुःख दिएकाले पूर्वदेखि पश्चिमसम्म सीमा निर्धारण गरी काँडेतार लगाउन पर्ने बताइन् । उनले सीमा व्यवस्थित गर्ने पहल सरकारले गरेको खण्डमा आफूले पाउने एक वर्षको सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाए । सांसद उदयाशर्मा पौडेलले नेपालको भूमिमाथि भारतले पटक–पटक अतिक्रमण गरेर दुःख दिएकाले कहिल्यै समस्या नबल्झने गरी निरुपण गर्नुपर्ने धारणा राखे । सांसद कविता बोगटीले हात्तीको दुई वटा दाँत हुन्छ भनेजस्तै गरेर भारतले मिचाहा प्रवृत्ति देखाएको र हामीले सधैँ सहेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरिन् । उनले भनिन्, “हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने मान्यताका साथ काम गर्नुपर्छ ।” सांसद गङ्गाकुमारी बेलवासेले कालापानी नदी हाम्रो सीमा नदी भए पनि भारतले नक्कली कालीनदी र पोखरी बनाएर नेपाली सीमा मिचेको भन्दै सिमानाको सुरक्षामा कुनै पनि सम्झौता नगर्न सरकारको ध्यानकर्षण गराएकी छन् । सांसद तारादेवी भट्टले भारततर्फ रहेका नेपालीको उचित व्यवस्थापन गर्न र खाडी मुलुकमा रहेका नेपालीसमेत खान नपाएर मर्ने अवस्था आएको भन्दै उनीहरुको तत्काल उद्धार गर्न माग गरेकी हुन् । सांसद कोमल वलीले पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण ह्वात्तै बढेकाले तत्काल लकडाउनलाई थप व्यवस्थित गर्न आग्रह गरिन् । उनले भारतको सिमानामा बसेका नेपालीलाई व्यवस्थितरूपमा घर ल्याउने प्रबन्ध गरी उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नुपर्नेमा जोड दिइन् । सांसद वलीले कोरोना सङ्क्रमण फैलिएको स्थानमा समुदाय सिल गरेर कोरोना नियन्त्रणमा लाग्नुपर्ने र अत्यावश्यक सामग्रीको प्रबन्ध गर्न समेत आग्रह गरिन् । रासस
चरित्रहत्या गरेको आरोपमा तीन पक्राउ
गोरखा । महिलामाथि चरित्रहत्या हुने खालका अपशब्द बोलेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन् । जिल्लाको सिरानचोक गाउँपालिका–१ केराबारी स्थायी घर भएका ६१ वर्षीय महादेव रेग्मी, २३ वर्षीय होमबहादुर रेग्मी र २७ वर्षीय दीपेन्द्र दाहाललाई मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिएको छ । पक्राउ परेकाहरुले सोही ठाउँकी १९ वर्षीया युवतीलाई यही वैशाख ५ गते सिम्पानी खेतस्थित सार्वजनिक स्थानमा चरित्रहत्या हुने खालका अपशब्द बोली बदनाम गरेको उनको भनाइ छ । उनीहरुविरुद्ध सार्वजनिक हितविरुद्धको कसुर (अभ्रद्र व्यवहार) शीर्षकमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका तीन जनामाथि जिल्ला प्रसासन कार्यालय गोरखबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
पुल्चोकको आरोग्य प्रतिष्ठानमा कर्मचारीलाई कोरोना देखिएपछि सिल
काठमाडौं । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान बुधबार बिहानदेखि सिल गरिएको छ । उक्त प्रतिष्ठानमा कार्यरत २५ वर्षिय युवतीमा मैगलबार कोरोना संक्रमण पुष्टि भएपछि सो आरोग्य प्रतिष्ठान भएको भवनमा सिल गरेको हो । संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन् । उनलाई लिन आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएको महानगरीय प्रहरी परिसर जनाएको छ । आरोग्य केन्द्रमा मिर्गौलाको डायलासिसलगायत उपचार गरिँदै आएको छ । हाल संक्रमित युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
जनकपुरका पत्रकारमा पनि कोरोना देखियो
काठमाडाैं । जनकपुरधाममा पनि एकजना पत्रकारमा काेराेना संक्रमण पुष्टि भएको छ । वीरगन्जमा दुई जना पत्रकारमा संक्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधामका अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको हाे । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । ४० वर्षीय पत्रकारसँगै जनकपुरधामका एक जना पुस्तक व्यवसायी पनि संक्रमित भेटिएका छन् । ती दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रजिअ निरौलाले बताए । ती पत्रकार मुटुको बिरामी हुन् । उनले आफू जनकपुरभन्दा बाहिर कतै नगएको बताए । उनले आफू कार्यरत संन्चार संस्थाको कार्यालय र पत्रकार महासंघको कार्यालयमात्र आउ-जाउ गर्ने गरेको बताए ।
बेलकोटगढी–२ मा स्वास्थ्य चौकी बन्दै, रामप्रसादले दिए १ रोपनी जग्गादान
नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर २ मा स्वास्थ्य चौकी बन्ने भएको छ । स्वस्थ्य चौकी निर्माणको लागि नगरपालिकाले ६७ लाख ६४ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ भने स्वास्थ्य चौकी निर्माणका लागि स्थानीयबासी एवं समाजसेवी रामप्रसाद तिमिल्सिनाले १ रोपनी जग्गादान गरेका छन् । जग्गादान गर्ने काम गत सोमबार भएको जग्गादाता रामप्रसादको छोरा उत्तम तिमल्सिनाले जानकारी दिए । हजुरबुबाले श्रमिक निमावि बनाउन ७ रोपनी जग्गा दिएको र अहिले बुबाले स्वास्थ्य चौकी बनाउन १ रोपनी जग्गा दिएको उनले बताए । स्वास्थ्य चौकी निर्माणको लागि कम्तिमा ३ रोपनी जग्गा आवश्यक हुने सरकारी मापदण्ड छ । सरकारी मापदण्ड अनुसार ३ रोपनी जग्गा पाउन नसकेको मेयर राजेन्द्ररमण खनालले बताए । ‘१ रोपनी जग्गा रामप्रसाद तिमिल्सिनाले दिनु भएको छ । उक्त जग्गासँगै जोडिएको २ रोपनी सरकारी जग्गासमेत प्रयोग गरेर ३ रोपनी क्षेत्रफलमा स्वास्थ्य चौकी बनाउँदै छौं’ मेयर खनालले विकासन्युजसँग भने । स्वास्थ्य चौकी भवन बनाउन १ करोड ६५ लाख रुपैयाँ लागत अनुमान गरिएको बेलकोटगढी वडा नम्बर २ का अध्यक्ष रमेश न्यौपानेले बताए । स्वास्थ्य चौकी निर्माणको लागि यस वर्ष ६७ लाख ६४ हजार रुपैयाँ निकासा भएको र आगामी वर्ष ९७ लाख ३६ हजार रुपैयाँ थप्ने योजना रहेको उनले जानकारी दिए । स्वास्थ्य चौकीमा नर्स, अनमी, सहित ८/९ जना कर्मचारी रहने वडा अध्यक्ष न्यौपानेले बताए । साधारण विरामीको उपचारदेखि सुत्केरी गराउने सम्मको उपचार स्वास्थ्य चौकीमा हुने उनले बताए । ‘साधारण विरामीको उपचार गर्नदेखि सुत्केरी गराउन, विभिन्न खोप लगाउन स्थानीयबासी काठमाडौं जानुको विकल्प छैन, केही महिनापछि यी स्वास्थ्य सुविधा वडामा नै पाइन्छ’ अध्यक्ष न्यौपानेले भने । आगामी कात्तिकसम्म भवन निर्माण पहिलो चरणको काम सकिने गरि टेण्डर आह्वान गर्न लागिएको उनले बताए । १३ वडा रहेको यस नगरपालिकामा वडा नम्बर २, ४, ६, १०, ९, १३ अहिलेसम्म स्वास्थ्य चौकी छैन । वडा नम्बर ५ र १२ मा दुई दुई वटा स्वास्थ्य चौकी रहेको छ । ‘पहिला सबै गाविसमा स्वास्थ्य चौकी थिए । पुर्नसंरचना पछि कुनै वडामा २ वटा छन्, कुनै वडामा एउटा पनि छैन’ मेयर खनालले भने–‘आगामी आर्थिक वर्षभित्र सबै वडामा स्वास्थ्य चौकी स्थापना हुनेछ ।’ १ नम्बर वडामा रहेको हेल्थपोष्टमा पूर्वाधार र जनशक्ति सबै कमजोर रहेकोले स्तरवृद्धि गरिने उनले बताए ।
चिनियाँ सैनिक विमान मेडिकल सामग्री लिएर काठमाडाैं
काठमाडौं । चिनियाँ एयरफोर्सको जहाजले मेडिकलका सामग्री लिएर काठमाडौं आएको छ । उक्त सैनिक विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण भएको हो । सैनिक स्रोतका अनुसार उक्त जहाजले केही मेडिकल सहायता ल्याएर आएको छ तर के के सामग्री हुन भन्ने खुलाइएको छैन । काठमाडौंस्थित चिनियाँ राजदूतावासले पनि उक्त जहाजमा सैन्य सहायताका सामग्री रहेको जनाएको छ । चिनियाँ सेनाले गरेको सहयोगका कारणा काठमाडौं आएको हो ।
रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई कोरोना पुष्टि
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि भएको छ । अप्रिल ३० तारिखमा प्रवक्ता डिमेट्रि पेस्कोभ राष्ट्रपति पुटिनसंगै देखिएका थिए । ५२ वर्षका प्रवक्ता पेस्कोभ कोरोना पुष्टि भएसँगै पुटिनलाई पनि संक्रमणको उच्च जोखिममा लिएको छ । रुसमा कोरोनाको विश्वभरिका देशका संक्रमण संख्याका आधारमा दोश्रो ठूलो संख्यामा संक्रमित देखिएका छन् । त्यहाँ हालसम्म २ लाख ३२ हजार २ सय ४३ संक्रमित छन् भने मगंलबार मात्र नयाँ १० हजार ८ सय ९९ संक्रमण पुष्टि भएको छ । हालसम्म रूसमा २ हजार १ सयभन्दा बढीकाे ज्यान गएकाे छ । सबैभन्दा धेरै संक्रमण केसहरु अमेरिकमा पाइएको छ, त्यहाँ १४ लाख भन्दा बढिमा संक्रमित छन् भने ८३ हजार भन्दा बढीकाे मृत्यु भइसकेकाे छ । रुसी राष्ट्रपतिका प्रवक्ता पेस्कोभ सन् २००८ देखि नै पुटिनका प्रवक्ताका रुपमा कार्यरत छन् । यिनीलाई अहिले अस्पतालमा भर्ना गरिएको भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।