विकासन्युज

कर्णालीको बजेट अधिवेशनको तयारी शुरु

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले कोरोना भाइरसबाट सुरक्षित रहन पूर्ण सावधानी अपनाएर बैठक सञ्चालन गर्ने तयारी गरेको छ । सचिवालयले प्रदेशसभा सदस्यहरुको पिसिआर विधिबाट कोरोना परीक्षण, सामाजिक दूरी कायम हुने गरी बैठक कक्षको व्यवस्थापन गर्ने भएको हो । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले जेठ ११ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरिसकेको छ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले प्रदेश प्रमुखको कार्यालयबाट पत्र प्राप्त भएपछि औपचारिक तयारीमा जुटिसकेको बताए । उनका अनुसार बैठकमा सहभागी मुख्यमन्त्री, सभामुख–उपसभामुख, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, सचिवालयका कर्मचारी, मर्यादापालक र केही पत्रकार गरी १ सय जनाको थ्रोट स्वाब सङ्कलन गरी पिसिआर विधिबाट कोरोना परीक्षण गरिनेछ । “कोरोना परीक्षणको रिपोर्ट देखाएपछि मात्र बैठक कक्षभित्र प्रवेश गर्न दिइनेछ”, सचिव बुढाथोकीले भने, “सामाजिक दूरी कायम गरी सिट व्यवस्थापनमा जुटेका छौँ, दर्शक दीर्घासम्मै माननीय बस्नुहुनेछ ।” पत्रकार, मन्त्रालयका कर्मचारी र दर्शकहरुलाई बैठकको दृश्य बाहिर भिडियोबाटै देखाइनेछ । त्यस्तै प्रदेशसभाभित्र प्रवेश गर्दा मास्क, पञ्जा अनिवार्य लगाउनुपर्नेछ । सामाजिक विकासमन्त्री दल रावलले प्रदेशसभा सचिवालयलाई कोभिड–१९ विरुद्ध अपनाउनुपर्ने सबै सावधानीमा सरकारले सहयोग गर्ने बताएका छन् । प्रदेश स्वास्थ्य निर्देशक डा रीता भण्डारी, प्रदेश अस्पतालका चिकित्सकसहित प्रदेशसभा भवनको अवलोकन गर्नुभएका मन्त्री रावलले पिसिआर परीक्षणका लागि आवश्यक जनशक्ति, स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । जेठ ७ गतेसम्म सचिवालयले तोकेका सबैको स्वास्थ्य परीक्षण गरिसक्ने उनकाे भनाइ छ । प्रदेशसभा सचिवालयले जेठ ७ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको छ । सो बैठकले कार्यसूची तय गर्नेछ । प्रदेश सरकारले असार १ गते बजेट र त्यसको एकसाताअघि वार्षिक नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । प्रदेश सरकार आर्थिक वर्ष २०७७/७८ नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटिसकेको छ । रासस

नेपालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई पनि देखियो कोरोना

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएका छ । कोरोनाको संक्रमणमा जोखिम मोलेर काम गर्ने अर्थात फ्रन्ट लाइनमा रहेकाहरुलाई पनि कोरोना संक्रमण देखिएको छ । नेपालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमा पनि कोरोना पोजेटिभ देखिएको छ । हिजो मात्र एक जना र आज एक जनामा गरी दुई जना स्वास्थकर्मी कोरोना देखिएको छ । यस्तै, आज मात्रै नेता भीम रावलका अंग रक्षकलाई कोरोना देखिएको बताइएको छ भने हिजो मात्रै दुई जना पत्रकारमा पनि कोरोना देखिएको थियो ।

लकडाउनसंगै बढ्दो कोरोना त्रास: कहाँ चुक्यौं हामी, अब के गर्ने ?

आपद विपद नै नपरे सम्म नआत्तिने र ठूलो छाती भएका हामी गोर्खालीहरु हिजो कोरोना संक्रमित स्वाट्टै बढेर २१७ पुगेपछि बल्ल अली तर्सेका छौं । शुरुवाती देशहरुमा र लकडाउनको पचासौं दिन काटिसक्दा पनि हामीले निम्न गल्ती गरिरह्यौं । पहिलाे, शुरुवाती दिनहरुमै हामी होशियार भएर अन्तराष्ट्रीय उडान बन्द गरी नाकाहरुमा कडाई गर्नु पर्ने बेला उल्टै भिजिट नेपाल २०२० को प्रचार गरिरह्यौं । दाेश्राे, देशमा लकडाउन गर्यो तर भारतबाट जमातका जमात मानिसहरु र धार्मिक गुरु चेलाहरु नेपाल भित्रिने क्रम रोक्न सकेनौं । तेश्राे, पासहरु वितरण भए र कतिपय पेशाकर्मीहरुको परिचय पत्र नै पास बन्यो । पास या पास जस्तै परिचय पत्र हुने पेशाकर्मी काम होस् नहोस् लखर लखर बाहिर निस्केर भिड बढाउन थाले । २ दिन अघि त काठमाडाैंमा कति ठाउँमा सवारी जामका तस्वीरहरु पत्र पत्रिका तथा समाजिक सञ्जालमा देखिए । चाैथाे, बैकिङलाई अत्यावश्यक सेवा भन्दै शुरुमा अलि अलि खाेलियो भने पछि त कसले बढि शाखा खोलेर बढि कर्मचारी कार्यालय बोलाउनु होडबाजी नै चल्यो । ग्राहकको जरुरत भन्दा बैंकहरुको घर मै राखेर कर्मचारीलाई तलब दिनु भन्दा कि जबरजस्ती बिदा लिन लगाउने की बोलाउने मानसिकता हावी भयो । औषधी लिन जाँदासम्म पुलिसले लठ्ठी हान्ने बेलामा ग्राहकलाई बैंकीङ सेवा लिन जान छुट थिएन, तर खै कसको लागि हो हामीले बैंकिङ खोल्यौं । पाँचाैं, प्रभावित क्षेत्र मै पर्याप्त जाँच भएको छैन हामीहरु संक्रमित संख्या कम छ भनेर बढि ढुक्क भयौं र सोहि अनुसार लकडाउन बिस्तारै खुकुलो पारेर अघि बढ्ने निर्णयमा पुग्यौं । छैटाैं, भारतबाट आउने नाकामा कडाई गर्यो तर खुला सिमाका हजारौं चोर बाटोबाट हजारौं मानिस नेपाल लुकिछिपी प्रवेश गरेको न रेकर्ड न जानकारी रह्यो । साताैं, शहर तिर अलि सावधानी र कडाई भएपनि बाहिर तिर एकदम लापरवाही भएको छ चाहे सुरक्षा अपनाउने कुरामा होस् या मान्छेहरु अनावश्यक भेट्ने कुरामा होस् । आठाैं, लकडाउन जनसाधारणलाई भयो तर अलिकति मात्रै राजनैतिक या प्रशासनिक सम्बन्ध भएका राजनैतिक या धार्मिक नेता वा उनका आसेपासेहरु भारत भरी घुमेर पनि नेपाल पुरै घुम्न भ्याए । नवाैं, पत्रकार, प्रदर्शनकारी तथा बैंकरहरु कोरोनाप्रूफ छन् जस्तै उचित सावधानी बिना आ-आफ्नो काममा जुटे । यसको असर अझै देखिने बाँकी छ । दशाैं, सरकारको ध्यान पूर्णतया कोरोना नियन्त्रण भन्दा अध्यादेश बनाउने र खारिज गर्ने, सरकार परिवर्तन गर्ने र बचाउने, डाक्टरको सरुवा गर्ने, कस्लाई कहाँको हस्ताक्षर संकलन गर्ने अनि अनावश्यक काममा बढि गयो । प्रभावित ठाउँमा टेस्ट किट जैन, कुनै लक्षण देखिएको सबै सासंदको पीसीआर विधि मै परिक्षण गरी किट सकियो । हामी नागरिकको चेतनाको त कुरा गर्नु परेन । यसरी एउटा मान्छे नि मरेको छैन । जावो रुघाखोकी त हो भनेर हामीले कोरोनाले हेप्यौ कति जनाले । संक्रमित बढ्दै छन् र कति संक्रमित त संक्रमण छ भन्ने थाहा नपाई अरुलाई सार्दै हिडिरहेका छन् । हामीलाई हाम्रो स्वास्थ्य सेवाको सीमा र भोली यसै गरी संक्रमित बढेमा बाटैमा ज्यान जान्छ थाहा छ तर पनी संवेदनशीलतामा कमी भयो । रोजनामा कमी भयो । यसलाइ न्युनिकरण गर्न अब निम्न काम गरौं । एक, प्रभावित जिल्ला र स्थान बिशेषलाई पुरै सिल गरौं । बढी प्रभावित स्थानको सबै स्वास्थ्य स्थितीलाई चेक जाँचलाई कुनै बिलम्ब नगरी रातारात बढाऔं । दाेश्राे, भारतले नेपालीहरु फर्कीन खोजेमा लुखुर लुखुर छोड्ने अबस्था छ। उनीहरुलाई चोर बाटो छिरेर गांउ गांउमा संक्रमण फैलाउन दिनु भन्दा आधिकारिक डाटा राखि सिमा क्षेत्र कै होटल, स्कुल, पार्टी प्यालेसलाई क्वारेन्टाईन बनाऔं । क्वारेटाईनको शर्तहरु कडाई बनाउन र उल्लंघन गर्नेलाई जेलकै व्यवस्था गरौं । तेश्राे, अत्यावश्यक सेवाको नाममा धेरै संघ संस्था खोल्ने काम बन्द गरौं । जीविकोपार्जनका लागी चाहिने न्युनतम सेवा दिने संस्था, स्वास्थ उपचार गर्ने र हिडडुल गर्ने पर्ने वाहेकलाई आवतजावत बन्द गरौं । यस्तै, आवश्यक संस्थाका कर्मचारी पनि आवश्यक परेमा बोलाईने शर्तमा घर मै राखौं । चाैथाे, कम्प्युटरबाटै, फोनबाटै सम्पन्न हुन सक्ने र अनलाइन मिटिङबाटै सम्पन्न हुन सक्ने कामको लागी पनि लखर लखर गर्दै आउ भनेर अफीस मै बोलाउने प्रवृति बन्द गरौं । पाचाैं, भारतमा बढ्दो संक्रमण हामीलाई सबैभन्दा बढी खतरा हो । बढी प्रभावित क्षेत्रका नाका र चोर बाटोहरुमा कडाई गरौं । छैटाैं, अत्यावश्यक काम पारेर निस्किनै पर्ने अवस्था बाहेक बाहिर ननिस्किउ । साताैं, कोरोना राहतको नाममा जहाँ पर्याे त्यही जाने गरी कुनै कोष र संस्थाको पैसा वितरण गर्ने गरी राज्य र नियामकले निर्दैशन नदेओस् । जति हुनसक्छ रकम एउटा कोषमा राखौं, पहिला स्वास्थ्य र गासबासको लागी जोहो गरिने रकम अनुमानीत छुट्याई, प्रभावित व्यक्ति र प्रभावित क्षेत्रको सहि तथ्याङ्क संकलन गरी बचाउने कुरालाई प्राथमिकतामा राखी राहत नगद मै दिउँ। आठाैं, प्रभावित क्षेत्र या स्थानमा भेटघाट गरी प्रभाव नभएको ठाउँमा आउने नागरिकले स्थानीय निकायमा अनिवार्य सूचीकरण गराउनु पर्ने र स्वक्वारेन्टाईनमा बस्नु पर्ने । यतिमात्र सावधानी नअपनाएर कोरोना संक्रमणको कारक बन्ने नागरिकलाई अपराध कायम गरी सजाय घोषणा गरौं । यति नगरेसम्म हामी यस्तै त हो नी..। नवाैं, स्वास्थ मन्त्रालयले स्वास्थ्य सम्बन्धी उपकरणहरु, टेस्ट किन र अन्य व्यवस्थाको सही तथ्याङ्क राखि अनि सार्वजनिक पनि गरोस् । दशाैं, एकला अर्कोको जिम्मेवारी देखाउँदै पन्छिने र गाली गर्ने होईन । हरेक परिवार र हरेक नागरिक जिम्मेवार होऔं । कोरोनालाई नहेपौं । कोरोनाको संख्या यसरी नै बढ्यो भने घर मै मर्नुको विकल्प हुने छैन । भेन्टिलेटर होईन अस्पतालमा बेड पाईनेवाला छैन । अहिले बाच्नु र बचाउनु पहिलो प्राथमिकता हो । संवेदनशील, संयमित र दूरदर्शी होऔं ।

प्रदेश नं २ मा सिरहाबाहेक सबै जिल्लामा सङ्क्रमण पुष्टि

महोत्तरी । प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई/दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ । कूल सङ्क्रमितमा अब तीन भारतीयसहित पर्सामा मात्रै ८२ सङ्क्रमित पुगेका छन् । त्यसैगरी बारा र रौतहटमा तीन÷तीन, महोत्तरी र धनुषामा दुई/दुई र सर्लाही र सप्तरीमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो । प्रदेशका आठ जिल्लामध्ये अब सिरहामा भने अहिलेसम्मको जाँचमा सङ्क्रमण देखिएको छैन । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा मङ्लबार मात्र २११ जनाको पिसिआर जाँचका लागि स्वाब सङ्कलन गरिएको छ । प्रदेशमा जम्मा मङ्गलबारसम्म तीन हजार ९३६ जनाको स्वाब सङ्कलन भएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए । प्रदेशको पर्सा जिल्लामा सङ्क्रमण बढ्दै गएपछि त्यहाँ स्वाब सङ्कलन सघन बनाइएको छ । त्यसैगरी सङ्क्रमित धेरै पुष्टि भएका उदयपुरसँग सीमा जोडिएका सप्तरी र सिरहामा पनि अभियानकै रूपमा स्वाब सङ्कलन भइरहेको वरिष्ठ स्वास्थ्य अधिकृत झाले बताए । अन्य जिल्लामा पनि दक्ष स्वास्थ्यकर्मीले स्वाब सङ्कलन गरिरहेका निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म स्वाब सङ्कलन गरिएका २ हजार ९ सय ३६ मध्ये २ हजार ७ सय ५० जनाको नतिजा प्राप्त भएको छ । जसमा ९४ जनाको पोजेटिभ र २ हजार ६ सय ५६ जनाको नेगेटिभ आएको छ । स्वाब लिइएकामध्ये १ हजार १ सय ८६ को नतिजा आज साँझसम्म प्राप्त हुने झाको भनाइ छ । पछिल्लोपटक ह्वात्तै सङ्क्रमित बढेपछि यहाँका अस्पतालमा सङ्क्रमितको उपचारका श्ययाको अभाव खट्किँदैछ । जनकपुरको प्रादेशिक अस्पतालमा ४२ र नारायणीमा यस्ता बिरामी ५० जना राख्न सकिने श्यया छन् । पर्साको पोखरियामा थप आठ श्ययाको व्यवस्था छ । पर्सामा मात्रै ८२ सङ्क्रमित भएपछि श्यया अभाव भएकाे हो । महोत्तरीको जलेश्वर अस्पताल र बाराको कलैया अस्पतालमा उपचारका लागि थप श्यया व्यवस्था गर्न लागिएको झाले बताए । सङ्क्रमितमध्ये निको भएर घर फर्केका तीन भारतीय र एक रौतहटका व्यक्तिमा स्वास्थ्य समस्या बल्झिएपछि फेरि अस्पतालमा ल्याइएको छ । प्रदेशको जनकपुरस्थित प्रादेशिक अस्पताल र वीरगञ्जस्थित नारायणी अस्पतालमा स्वाब परीक्षण र सङ्क्रमितको उपचार गरिने व्यवस्था छ । प्रदेशभरिका १ सय ७९ क्वारेन्टाइन केन्द्रमा १ हजार ४ सय ६८ जना र स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी घरमै क्वारेन्टाइनमा रहनेको सङ्ख्या ४ हजार ५ सय २२ रहेको निर्देशनालयले जनाएको छ । रासस

नेकपा स्थायी कमिटी वैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकाे  बुधबारका लागि बाेलाइएकाे  स्थायी कमिटी वैठक स्थगित भएकाे छ  । देशमा काेराेना भाइरसकाे संक्रमण बढ्दै जादा नेकपाकाे बैठक पनि स्थगित गरिएकाे बताइएकाे हाे । आज पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक नेकपाले बोलाएको थियाे । नेकपा भित्र एक व्यक्ति एक पद भन्ने विषय पहिले देखि नै उठ्दै अएको छ ।

बालबालिकालाई प्रकृतिप्रेमी र माटोप्रेमी बनाऔं

एकैछिन सोच्नुहोस्, कल्पना गर्नुहोस्ः एउटा घरको । अझ झनै राम्रो आफ्नै भए त । आत्मीयपन र सद्भाव राखेर केही पाहुनालाई घरमा बोलाउनु भयो । आदर सम्मान दिनुभयो । आफुसँग जे छ त्यो सकेको खान दिनुभयो । आखाँ बन्द गरेर विश्वास गर्नुभयो । घरका सबै कोठाहरु खोलिदिनु भयो । कुनै रोकतोक, बन्देज लगाउनुभएन । हजुर त पूर्ण विश्वत हुनुहुन्थ्यो पाहुनाको आचरण माथि । हजुर जस्तै गरेर त्यो घर पनि पाहुनाले आफ्नै ठान्नेछ भनेर । तर बिडम्बना त्यसो हुन सकेन । हजुरको अतिथि सत्कारलाई हजुरको कमजोरि सम्झियो । आत्मीयपन र सद्भावलाई हजुरको दायित्व सम्झियो । जस्तोकी बच्चा जन्माएपछि आमाले हुर्काउनै पर्छ बिना सर्त । जुन विश्वास र स्वतन्त्रता दिनुभएको थियो त्यस्को कत्ति पनि सदूपयोग गर्न सकेन । उल्टै उन्मुक्त बन्यो, उदण्ड मच्चायो । घरको भान्सा, भण्डार छिर्यो । सकेको खायो अनि नसकेको फालिदियो तर कहिल्यै बाँडेन । बिस्तारै सारा घर मेरो हो भन्दै मनपरि गर्न थाल्यो । सुरु-सुरुमा त हजुर पनि नदेखेझैँ मौन बसिदिनु भयो । हजुरको मौनताको नाजायज फाईदा पहुनाले उठाउन थाल्यो । अब हजुरको धैर्यतालाई, मौनतालाई पाहुनाको दुस्कर्म, दुरव्यवहारले चुनौति दिन थालेपछि हजुर के गर्नु हुन्छ भन्नुहोस् त ? हो यस्तै हुँदैछ । हामीले हामीहरु पृथ्वीका, सृष्टिका, प्रकृतिका पाहुना हौं भन्ने बुझ्न नसक्दा, आत्मसात गर्न नसक्दा अनि मान्छे भएरै पनि सभ्य हुन नसक्दा दूर्दशा भोग्नु परेको छ । यहि रिति यस्तै अझ चलिरहे र सबै मिलेर बिचार नगरे बिकराल परिस्थितिहरुको सामना बारम्बार गरिरहनु पर्नेछ । सर्वाेत्कृष्ट, चेतनशील प्राणी भन्दै हामीले प्रमुख प्रकृति अनि यसका अरु सृष्टि, सन्तति माथि अत्याचार गरिरह्यौ । आज हाम्रै व्यवहारको फल पाउदैछौं । पृथ्वीलाई यति तातो र आक्रोशित बनाइदियौ कि आमा भएर पनि आफ्नै सन्तान विरुद्ध संघर्ष गर्नुपरेको छ । सन्तानले त घर सजाउँछ, श्रृङ्गार्छ, बलियो पार्छ तर हामी कस्ता सन्तान भयौ भनेर कहिले सोच्ने ? सबैले आत्म मूल्यांकन गर्नुपर्छ । जसरी सबै सन्तान आमाका प्यारा हुन्छन्, आशाका पात्र हुन्छन्, महत्वपूर्ण हुन्छन् । त्यसरी नै हरेक जीवजीवात्मा प्रकृतिका प्यारा अनि महत्वपूर्ण हुन्छन् र हरेक सँग गाँसिएको छ । धरतीको खुशीयाली, भविष्य, सम्पन्नता । एकले गरे के हुन्छ होइन, एकबाटै सुरु हुन्छ भन्ने सोच्ने की ? अब वर्तमान नियालौं । सन् २०१९ डिसेम्वरमा चीनको वुहान शहरमा पहिलो पटक कोरोना संक्रमित बिरामीहरु भेटिएका थिए । त्यसपछि विस्तारै चीनबाट अरु राष्ट्र हुँदै फैलिएको यस महामारिले विश्व सारा आक्रान्त पारेको छ । कतिले आफ्ना मान्छे गुमाए भने कति अझै अस्पतालका शैय्याहरुमा जीवन-मृत्युबीच लडिरहेका छन् । कति रोगभन्दा पनि बढि फैलिनै हल्लाहरु सुनेर डराइरहेका छन् । यस्तो परिस्थितिमा कतिभने अबुझ जस्तै परिस्थितिको गम्भीरतालाई हल्लाको संज्ञा दिईरहेका छन् । खैरः मान्छेका प्रवृत्तिहरु, जे भएपनि मान्छेहरु पिडामा छन् । जीन्दगी रोकिएको छ । आफ्नोले आफ्नै भेट्न, देख्न र छुन पाएका छैनन् । समय यस्तो पनि आउला भनेर पूर्व तयारी कसैले पनि गरेको पाइएन । नत्र भविष्यको तेश्रो विश्वयुद्ध अनुमान गर्दै सैनिक र हतियार तयार गरिरहेका शक्तिशाली राष्ट्रहरु आज मास्क र पञ्जाभन्दै गुहार मागिरहेको देख्नु सुन्नु पर्ने थिएन । दैनिक काेराेना संक्रमितकाे संख्या बढ्दाे छ । मृत्यु हुनेकाे संख्या पनि बढ्दाे छ  । प्रयाप्त जाँच हुन सकेकाे छैन । कोरोना भाइरस विरुद्ध आजसम्म पनि कुनै प्रभावकारी उपचार नभेटिएको हुँदा संक्रमित संख्याहरु र यस्का नकारात्मक प्रभावहरु अझै बढ्ने अनुमान सजिलै गर्न सकिन्छ । संसारमा सम्पन्न र गुणस्तरीय जीवन बाँच्ने भनेर प्रख्यात भई रहेका राष्ट्रहरु नै आज यस भाइरसको चपेटामा परेको देखिन्छ । अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मन, ब्रिटेन आदि देशहरुले अहिले ठूलो धनजनको क्षति व्यहोरिरहेका छन् । यद्यपि कोरोना भाइरस चीनमा सुरु भएको थियो । चीनको सरकार र जनताको आपसी अथक प्रयासले भने आजको मितिसम्म तथ्यांक हेरेर मूल्यांकन गर्दा अकल्पनिय नियन्त्रण पाउन सकेको देखिन्छ । यस्तै दक्षिण कोरिया, ताइवान जस्ता देशहरुले पनि समयमै उच्च सर्तकता अपनाएको कारण ठूलो मात्रामा पर्ने क्षतिबाट देश र देशबासीहरुलाई बचाएका छन् । समय यस्तो पनि आउला भनेर पूर्व तयारी कसैले पनि गरेको पाइएन । नत्र भविष्यको तेश्रो विश्वयुद्ध अनुमान गर्दै सैनिक र हतियार तयार गरिरहेका शक्तिशाली राष्ट्रहरु आज मास्क र पञ्जाभन्दै गुहार मागिरहेको देख्नु सुन्नु पर्ने थिएन । नेपालमा पनि संक्रमितकाे संख्या दिन प्रतिदिन बढ्दाे छ । भलै अहिलेसम्म नेपाल भित्र काेराेनाकाे कारण नेपालीकाे मृत्यु भएकाे खवर सुन्नु परेकाे छैन ।   साथसाथै हाल सरकारले गरेको स्वतन्त्र हिडँडुल अनि भेटभाटमा रोकले पनि कोरोना संक्रमण केहि हदसम्म कम हुने आशा गर्न सकिन्छ । हरेक स्थानीय स्तरहरु पनि यस संक्रमण र यसले पार्ने असरप्रति सचेत भई केहि पूर्व तयारीहरु गरिरहेको देखिन्छ । समस्याको बखत् सरकार एक्लैले सबै नागरिकहरुको जीन्दगी छुन नसक्ने, हेरचाह गर्न नसक्ने हुँदा सम्पूर्ण नेपालीहरुले एकआपसमा हातेमालो र साथ सहयोग गर्दै अघि बढ्नु जरुरी छ । अझ नेपालजस्तो देशमा जहाँ जनसंख्याको ठूलो हिस्सा दैनिक ज्याला मजदूरीमा निर्भर रहेको छ, त्यहाँ सहयोग गर्ने हैसियत भएकाले कुनै प्रसिद्धीको लोभमा नपरी मानवियताको आधारमा एकअर्कालाई आफू सक्दो सहयोग गर्नुपर्ने देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसका कारण लाग्ने कोभिड-१९ एक सरुवा रोग हो । कोभिड–१९ संक्रमितमा ज्वरो, थकान र सुख्खा खोकी देखिनुका साथै केहिमा शरिर दुख्ने, नाक बन्द हुने, रुघा लाग्ने, घाँटी सुन्निने अनि पखला लाग्ने जस्ता लक्षणहरु देखिएका छन् । करिब ८० प्रतिशत संक्रमितहरु कुनै विशेष उपचार बिना नै सामान्य सर्तकताकै भरमा पनि स्वस्थ हुन सक्ने बताउँछन् चिकित्सकहरु । यस भाइरसबाट संक्रमित करिब ६ जनामध्ये एक जनालाई भने गम्भीर बनाउने, श्वासप्रश्वासमा असहज बनाउने गर्दछ । विशेषत बृद्धवृद्धा अनि उच्च रक्तचाप, मधुमेह र मुटुका रोगीहरुलाई कोभिड–१९ ले धेरै असर गर्ने गर्दछ । कोभिड–१९ एक सरुवा रोग भएकाले अनि एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वास प्रणालीको मार्फत सर्ने भएकाले हामीले हाम्रो दैनिक जीन्दगीमा उच्चतम सर्तकता अपनाउनु अत्यन्त जरुरी छ । सर्तक रहेर, सचेत रहेर नै हरेक नागरिकले यो विषम परिस्थितिमा सरकार तथा स्थानीय निकायलाई यो रोेग नियन्त्रणमा योगदान दिन सक्दछन् । एक आपसमा सकेको दूरी कायम गर्ने करिब १.५ मिटर गरे झनै राम्रो, समय समयमा राम्रोसँग करिव २० सेकेन्ड वा बढी साबुन पानीले हात धुने, सन्तुलित भोजन गर्ने, करिब ८ घण्टा सुत्ने अनि केहि आफूसक्दो शारीरिक कसरतहरु गर्ने गर्नाले यस रोगको जोखिमबाट बच्न सकिन्छ । यस परिस्थितिमा एक व्यक्ति बच्नु भनेको अरुलाई बचाउनु पनि हो भन्ने बुझनु एकदम जरुरी छ । स्वस्थ व्यक्तिमा मात्रै स्वस्थ सोचको विकास हुने भएकाले कोरोना भाइसले घरमै रोकिदिएको हाम्रो जीन्दगीलाई कीन नयाँ सुरुवात नदिने त ? रोगलाई समस्याको रुपमा मात्रै हेर्नु भयाे भने रोगले भन्दा पहिले डर, त्रास अनि मानसिक चिन्ताले कमजोर परिने हुँदा सकारात्मक सोच राख्नु पनि अत्यन्त जरुरी छ । कोभिड-१९ रोगका कारण कति निर्दोष मानिसले असामायिक रुपमै आफ्नो ज्यान त गुमाउनु पर्यो र आजसम्म पनि गुमाइरहनु परेको छ । जो एक बिडम्बना हो तर यहि संक्रमणका कारण आज हामीमा दबिरहेको मानवियता पनि जगाइदिएको महशुस हुन्छ । नेपाल लगायत संसारैभरि धेरै मानिसहरुले व्यक्तिगत तवरबाटै आफूसक्दो दिनरात मानवसेवा गरिरहेको पढ्न, देख्न पाउनु पक्कै पनि आशा लाग्दो भविष्यको शुरुवात हो । तर केहि मानिस भने महामारीको गलत फाइदा उठाउँदै मंहगी बढाउने, क्षणिक प्रसिद्धिका लागि सेवा गरेजस्तो गर्ने गरिरहेका छन् । तिनले एकपटक आत्मबोध गर्ने की ? कसैले भनेको सम्झिन्छु, “पृथ्वी पनि शरिर जस्तै हो । शरिरको कुनै एक अंगमा भाउ खटिरा भयो भने पूरै शरिर दुख्छ, ज्वरो आउँछ ।” हो आजको विश्वले, यसका राजनीतिज्ञले अब समस्त नागरिकहरुले यो बुझ्नु जरुरी छ । अब आफ्नो देश, सीमा, भूगोलबाट माथि उठेर सोच्ने समय आएको छ । रोग, संक्रमण र दैवी प्रकोपहरु आज विश्व धुर्विकरणतर्फ अघि बढेका समस्त राष्ट्रहरुलाई एक चुनौति हो । चुनौति यस अर्थमाकी महामारीको नियन्त्रण गर्नु, निवारण गर्नु निक्कै नै जटिल काम हो । तर चुनौतिले अवसर दिन्छ भनेझैं यदि सबै राष्ट्रहरु मिलेर हातेमालो गर्ने हो भन्ने असम्भव पक्कै छैन । सबै राष्ट्र मिल्नु, सबै विश्व नै आफ्नो हो भन्ने अपनत्वको भावना बढ्नु, भाइचारा बढ्नु पक्कै पनि सकारात्मक परिवर्तन हो । सुनसान न्यूयाेर्क शहर चुनौतिकै कुरा गरिरहँदा अब एकछिन कोरोना भाइरसले विश्वलाई दिईरहेको र दिने चुनौतिहरु हेराैं  । हाल विश्व समूदायका एकदमै व्यस्त र व्यापारिक केन्द्र मानिएका प्रायः सबै शहरहरु उद्योग, कलकारखानाहरु साथै स-साना घरेलु व्यवसाय या व्यक्तिकै पनि आफ्नो निजी जीन्दगीहरु ठप्प छन् । विश्व समूदायको ध्यान अहिले कोरोना भाइरस, यसको संक्रमित र यसको संक्रमणको जोखिम नियन्त्रणमा गएपनि उचित तयारीको अभावमा प्रायः धेरै मुलुकहरुकलाई निकै समस्या परेको छ । संसारका धेरै देश तथा विश्वविद्यालय अन्तरगतका विज्ञहरुले कोरोना भाइरस विरुद्धको औषधी उपचार, खोप आदि खोजिरहे पनि अझै ठोस् नतिजासम्म पुग्न सकेका छैनन् । यसले संक्रमितको उपचारमा त समस्या भयो नै अझ नयाँ संक्रमण रोक्न पनि असमर्थ बनाएको छ । दैनिक बढिरहने संक्रमितकोे संख्या स्वास्थ्यकर्मी तथा अस्पतालले थेग्न सक्ने भन्दा अत्याधिक भएकाले बिरामीले उचित, अति आवश्यक हेरचाह पाइरहेका छैनन् । अवस्था यस्तो पनि छ, उचित उपकरण र प्रविधिको अभावमा स्वयम् चिकित्सक तथा अन्य स्वास्थ्य कार्यकर्ताहरुले समेत आफ्नो जीन्दगी गुमाइरहेका छन् । यहि क्रम कहिलेसम्म चल्ने हो भन्नेमा पनि प्रायः सबै अनविज्ञ छन् । आजको विश्वमा आर्थिक पाटो हाम्रो जीन्दगीको अभिन्न अंग बनिसकेको छ । महामारीको नियन्त्रणका लागि चलिरहेको बन्द रोकले प्रायः सबै देशको अर्थव्यवस्थालाई विक्षिप्त पारेको छ । अनि अझै दूर भविष्यसम्म पारिरहने देखिन्छ । नेपाल लगायत विश्वका सबै मुलुकमा करोडौं मान्छेले आफ्नो रोजगार गुमाएका छन् । व्यापार व्यवसाय बन्द गरेर बस्नु परेको छ । यस्ले वर्तमान जीन्दगीमा त असर पारेको छ नै अब कस्तो भविष्य हुने हो भन्नेमा प्रश्न खडा गरिदिएको छ । सम्पन्न मुलुकहरुले त आफ्ना नागरिकहरुलाई केहि सजिलो होस् भन्नका लागि केहि रुपैयाँ पैसा ऋण तथा अनुदान स्वरुप दिने प्रतिबद्धता जनाइसकेका छन् । तर जो विपन्न मूलुक छन् तिनीहरुलाई अझै पनि आवश्यक स्वास्थ्य सामाग्री पनि जुटाउन हम्मेहम्मे छ, अरु नै मुलुकहरुको भर पर्नु परेको छ । विज्ञहरु कोरोना भाइरसले खडा गरिदिएको समस्या र यसले पार्ने असर प्रति आ-आफ्नो विचारहरु दिइरहेका छन् । सबैका विचार बुझ्ने हो भने अब आर्थिक कारणले गर्दा नै विश्वको शक्ति सन्तुलनमा पारम्पारिक भन्दा केहि नयाँ परिवर्तन देखिनेछ । जसरी चीनले कोरोना महामारिलाई आफ्नो देशमा नियन्त्रणमा लिदैछ । साथसाथै विपन्न र सम्पन्न मुलुकहरुलाई पनि नियन्त्रणमा आवश्यक सामाग्री तथा चिकित्सक उपलब्ध गराइरहेको छ । यसले अन्तर्राष्ट्रिय जगतमा चीनको शासन प्रणाली र यसले लिन चाहेको अभिभावकत्वमा पक्कै पनि सकारात्मक प्रभाव पार्नेछ । अमेरिका, यूरोप, जति पनि शक्तिकेन्द्र मानिएका मुलुकहरु आज कोरोना संक्रमणले हालबेहाल भइरहदाँ चीनले देखाइरहेको उदारता राजनीतिक दृष्टिले नहेरि मानवियताका आधारमा हेर्ने हो भने त पक्कै पनि प्रशंसनीय छ । अब नेपाल नियालौ । उसो त कोरोना संक्रमण भन्दा पहिले नै हाम्रो देशको आर्थिक प्रणाली, अर्थ व्यवस्थाले निकै चुनौतिहरु भोग्दै आएको छ । देशको ठूलो हिस्सा निजी व्यापार, व्यवसाय, पर्यटन र दैनिक ज्याला मजदूरीमा निर्भर रहेको हुँदा अझै अहिलेको विषम परिस्थितिले पक्कै पनि ठूलो नोक्शान पुर्याउने छ । पर्यटन व्यवसाय जो हाम्रो अर्थतन्त्रको एउटा मुख्य आधार स्तम्भ थियो आज त्यहि शून्य सरह छ । अब अझै देशमा आर्थिक संकट पर्नुका साथै विदेशीएका नेपालीको कमाइमा निर्भर रहनु पर्ने अवस्था देखिन्छ । त्यसैले संकटको समयमा र संकट पछि पनि नेपालीहरु एकजुट भएर सरकारमात्र नभनी स्थानिय स्तरमै आ–आफ्नो सीप र क्षमताले जानेका घरेलु व्यवसाय, पशुपालन र आधुनिक कृषितिर अग्रसर हुन जरुरी छ । महामारीको डर त्रासले जनसंख्याको ठूलो हिस्सा घरमै बसेको हुँदा पहिले जस्तो खाद्यान्न उत्पादन नहुने तर उपभोग भने निकै बढ्ने हुन्छ । अझै केहि समय यस्तै रोकावट र संक्रमण चलिरहे खाद्यान्न अभाव हुने र मान्छे रोगले भन्दा छिटो भोकले मर्ने अनुमान जो कोहिले पनि सजिलै लगाउन सक्दछ । त्यसैले हुनेले नहुनेलाई निःश्वार्थ सहयोग गर्नु, बाडेँर खानु अनि शरिरलाई चाहिने जति मात्र खानु खाद्यान्न संकटबाट बच्ने उपाय हुन् । विश्व बजार नै ठप्प हुँदा अर्थ, रोजगार, औषधि उपचार भन्दा पनि ठूलो चुनौति खाद्यान्नको हुनेछ । महामारीको डर त्रासले जनसंख्याको ठूलो हिस्सा घरमै बसेको हुँदा पहिले जस्तो खाद्यान्न उत्पादन नहुने तर उपभोग भने निकै बढ्ने हुन्छ । अझै केहि समय यस्तै रोकावट र संक्रमण चलिरहे खाद्यान्न अभाव हुने र मान्छे रोगले भन्दा छिटो भोकले मर्ने अनुमान जो कोहिले पनि सजिलै लगाउन सक्दछ । त्यसैले हुनेले नहुनेलाई निःश्वार्थ सहयोग गर्नु, बाडेँर खानु अनि शरिरलाई चाहिने जति मात्र खानु खाद्यान्न संकटबाट बच्ने उपाय हुन् । युवापुस्ताहरुले आफू वरिपरिका असाहय, अशक्त, बृद्ध, विरामीहरुलाई आजको यस संकटको बखत् हेरचाह गर्नुपर्दछ । सम्पन्न वर्गहरुले आफू र आफ्नो परिवार मात्रै सोचेर आवश्यक भन्दा धैरै खाद्यान्न भण्डार गरिदिए बजारमा पक्कै अभाव सिर्जना हुन्छ, मँहगी बढ्छ । त्यसैले थोरै मानविय संवेदना देखाउनु पनि जरुरी छ । आफ्नो लागि जोहा त जनावरले पनि गर्छ । मान्छे भएर संवेदनशील हृदय भएन भने त ? हृदय पनि विशाल हुनुपर्यो आफ्ना पराई सबै अट्ने, एकै देख्ने । बन्दको जीन्दगी प्रविधिले भने केहि सहज अवश्य बनाएको छ । दिनभर भागदौड, कामकाजको व्यस्त जीन्दगीबाट अचानक एकै ठाउँमा असामाजिक जीवन जीउनु पक्कै पनि मान्छेको स्वभाव विपरित छ, सजिलो छैन । समयको माग नै यस्तै छ । तर प्रविधिहरु पनि आवश्यक भन्दा धेरै प्रयोग गरे फेरि यसले पार्ने नकारात्मक असरहरु नकार्न सकिन्न । यस्तो महामारी र संत्रासको अवस्थामा सरकारलाई सहयोग गर्नुपनि हाम्रो कर्तव्य हुन आउँछ । महामारीले डर, त्रास फैलाउने हुँदा डराएको अवस्थामा सुनेका सबै खबरहरु झुठै भएपनि हामी सजिलै विश्वास गरिदिन्छौ । तसर्थ विश्वासिलाे संचार माध्यमले दिएका समाचार, खबरहरु हेर्ने, पढ्ने गरेर डर त्रास नियन्त्रणमा मद्दत गर्न सकिन्छ । स्वास्थ विशेषकहरुले बताएका रोकथामका उपायहरु गम्भिर रुपले पालना गर्ने, अरुमा सचेतना फैलाउने, यदि कोभिड–१९ सँग मिल्ने लक्षण आफूमा देखिए सम्बन्धित स्वास्थ्य निकायमा सम्पर्क गर्ने, संक्रमणका जोखिम नागरिकहरु कम्तिमा पनि १४ दिनसम्म लगातार स्वास्थ्यकर्मीको निरक्षणमा रहने आदि गर्नुपर्दछ । घरमा बस्दा एक व्यक्तिले कसरी आफू र आफ्नो परिवारको उचित ख्याल गर्नेबारे केही बताउन मन लाग्यो । मानिस शारिरीक र मानसिक दुवै तवरले स्वास्थ्य हुन जरुरी छ । तसर्थ दैनिक स्वास्थ दिनचर्या अपनाउने गर्नुपर्दछ । खाद्य संकट नजिकिदै गर्दा खाद्यान्नको उचित प्रयोग गर्नु, थोरै तर सन्तुलित भोजन खानु एकदम महत्वपूर्ण छ । त्यस्तै बिजुलीबत्ती, पानी जस्ता अत्यावश्यक बस्तु तथा सेवाहरू सकेसम्म बचत गर्नु राम्राे हुन्छ । हिजो प्रायः घरबाहिर व्यस्त जीन्दगीलाई आज परिस्थितिले घर परिवारसँग बस्ने अवसर दिएको छ । त्यसैले यो समयलाई आत्मीय बनाउने, एकअर्कालाई अझ राम्रोसंग चिन्ने, बुझ्ने गरेर सदुपयोग गरौ । परिवार हुनेले परिवारसँग वा एक्लै हुनेले एक्लै आफ्नो शारिरको ख्याल गर्ने गराैं । व्यक्तिका आ-आफ्ना पनि व्यक्तिगत चाहना हुन्छन् । जस्तै कि किताब पढ्ने, गीत सुन्ने, गाउँने आदि । यस्ता चाहनाहरु पनि यहि बन्दको समयमा पूरा गरेर खुशीले बाँच्न सकिन्छ । यस्ले व्यक्तिलाई आफू र आफ्नो परिवारलाई खुशी राख्न मद्दत गर्नुका साथै महामारीले दिने मानसिक डर त्रास पनि बिर्सन सहयोग गर्छ । वनजंगल फडानीकाे विकराल रूप प्रकृति विद्हरुका अनुसार कोरोना महामारी प्रकृतिको पुकार पनि हो भनेर बुझ्ने समय भएको छ । हामीले मान्छे भएकै आधारमा हाम्रो जीन्दगी मात्रै महत्वपूर्ण सम्झियौं । अरु सबै जीवजीवात्मा, बोटविरुवा हाम्रै खातिर हुन्, हाम्रा भोगचालनका लागि भनेर मनोमानी गरिरह्यौ । प्रकृतिक स्रोत साधनहरुको धेरै नै दुरुपयोग गर्यौ । अझ प्रकृतिले, धरतिले दैनिक दिने नयाँ जीन्दगी भन्दा धेरै हामीले नष्ट गरिदियौं । प्रकृतिको सन्तुलन नै बिगारिदियौं । अझैपनि अन्जान बनेर वा अरुलाई दोष दिएर बसिरहे फेरि यस्तै माहामारी अरु अन्य पनि सामाना गर्नुपर्ने छ । हाम्रो पुरै अस्तित्व नै संकटमा पर्ने देखिन्छ । अब हरेक नागरिकले जिम्मेवार बनेर प्राकृतिक स्रोत साधनको प्रयोग गर्नु जरुरी छ । जस्तो कि हामी खोलाबाट, नदिबाट ढुङ्गा, बालुवा झिकेर बलिया घर त बनाउँछौं । तर नदिलाई बाँध बनाउदैनौ अनि पछि त्यहि नदि आएर हाम्रो घर बगाइदिन्छ । हामीले कहिल्यै दुरदृष्टि राखेनौ, कहिल्यै प्रकृति, धरतीको सोचेनौं । सधैँ प्रकृतिबाट एकोहोरो लुटिरह्यौ, बिना सोच बिचार । कतै परिजीवि हामी त होइनौ ? अब केहि प्रकृतिलाई दिने पनि कि ? देश, सरकारका साथै अन्तर्राष्ट्रिय संघसंस्था त अग्रसर हुन जरुरी नै छ । तर अब हरेक नागरिक व्यक्तिगत स्तरबाट आफू पनि सृष्टिको एक अभिन्न अंग हो र मैले पनि प्रकृतिकै भोगचालन गरिरहेको छु भन्ने बुझ्नु अनि सोहि अनुसारको वातावरणमैत्री आचरण गर्नु जरुरी छ । अब हरेक घरले अर्थप्रेमी सन्तान होइन, प्रकृतिप्रेमी, माटोप्रेमी, बालबालिका हुर्काउनु पर्दछ । हरेक विद्यालयले ‘क, ख’ अघि माटो पढाउनु पर्दछ । बच्चाले आमा बा पछि माटो भन्न जानोस् । माटोलाई माया गरोस, आफ्नै बाआमा जत्तिकै । हरेक बिहान सूर्य नमस्कार गरे जस्तै धरती, प्रकृति, माटो नमस्कार पनि अब हाम्रो नित्यकर्ममा जोडिनु पर्यो । हरेक मान्छेमा मान्छे मात्र नभई अरु जीन्दगीहरु, पशुपंक्षी, वनस्पति सबैको समान महत्व छ भन्ने चेतना जगाउनु पर्यो । अन्त्यमा अरुको आश गर्न र अरुलाई दोष देखाउन धेरै सजिलो छ । अब आफै भित्रबाट उठ्नु पर्यो । आफ्नो आचरण, व्यवहार सुधार गर्नुपर्यो । हामी कस्तो कसरी धरतीको, प्रकृतिको भोगचलन गर्ने, अनि कस्तो धरती हस्तान्तरण गर्ने भावी पुस्तालाई सबै हाम्रै हातमा छ । पृथ्वी हाम्रो समयको लागि मात्र होइन । यो त अरबौ वर्ष देखि छ र रहिरहनेछ, जस्तो अवस्थामा भएपनि । तर अब पृथ्वी बस्न योग्य र हरियाली बनाउने कि अझै यहि व्यवहार दोहोर्याएर प्रदूषित बनाउने ? हाम्रो आजको व्यवहारले निर्धारण गर्दछ भोलिको प्रकृति र धरतिको भविष्य । वातवरण मैत्री व्यवहार गरौं, गर्ने चेतना फैलाऔं । जे प्रकृतिले दिएको छ उचित प्रयोग र सम्मान गरौं, आभारि बनौं । अरु जीवजीवात्माहरु पनि हाम्रै सृष्टि र प्रकृतिको अभिन्न अंग हुन भन्ने बुझौं, सोहि अनुरुप व्यवहार गरौं । हामी प्रकृतिले, सुष्टिले झैं कसैलाई जीन्दगी, प्राण त दिन सक्दैनौ तर हाम्रो आचरण र व्यवहारले प्रकृति र यस्को सृष्टिमा बस्ने हरेकको जीन्दगी भने अवश्य सहज अनि आनन्दित बनाउन सक्दछौं । फेरिपनि एक स्वस्थ व्यक्तिले एक स्वस्थ घरपरिवार र समाज निर्माण गर्न सक्दछ । स्वस्थ जीन्दगी र जीवनशैली यो कोरोना भाइरस संक्रमणको महामारिमा मात्र नभई अरुपनि हजारौँ रोगसँग लड्ने हतियार भएको हुँदा स्वस्थ जीवनयापन गरौँ । स्वस्थ आचरण, स्वस्थ सोच अनि सन्तुष्ट मनले नै मान्छेलाई मान्छे हुनुको सार्थकता प्रदान गर्दछ । यस्तो महामारीमा लापरवाही गरेर, संक्रमणबाट बच्ने उपायहरुको बेवास्ता गरेर फेरि अर्को कोरोना संक्रमित भई किन सरकार र स्वास्थ्यकर्मीहरुको लागि भार बन्ने त ? आखिर हामी मान्छे हौ, चेतनशील प्राणी, चेतनशील बनौँ । सहयोग सामाग्रीः केहि तथ्याङ्कहरु Worldometers.info र WHO को आधिकारीक वेवसाइटबाट लिएको छु । नवलपुर, नेपाल हालः जर्मनी

काेराेना संक्रमण भएका रावलका सुरक्षाकर्मी एक महिनादेखि घरमै, कसरी लाग्याे काेराेना ?

काठमाडाैं । नेकपाका नेता डा. भीम रावलको सुरक्षामा खटिएका शसस्त्रका जवान एक महिनादेखि नै घरमै रहेको बुझिएको छ । रावलकाे  निजी सचिवालयका अनुसार उनी एक महिनादेखि बिदामा बसेकाे छन् । उनी एक महिना अगाडिदेखि लामो समयदेखि घरमा श्रीमती बिरामी भएको कारणले घर बिदामा बसको उनकाे  निजी सचिवालयले जानकारी  दिएकाे छ । उनी करिब एक महिनादेखि श्रीमतीको उपचारमा रहेको बताइएको छ । उनी हाल रावलको सुरक्षामा नरहेको पनि स्पष्ट पारिएकाे छ । उनी घरमै हुँदाखेरि नै संक्रमण भएकाे बुझिएकाे  छ। उनी घरमै बसेर कहाँ गएका थिए त्याे भने खुलाइएकाे छैन । संघीय संसदले कोरोना परिक्षण गर्दा सम्पूर्ण सांसदहरूमा कोरोना नरहेको रिपोर्ट दिएको छ । डा. रावल र हाल उनको सुरक्षामा रहेका कसैलाई पनि कोरोना नरहेको स्पष्ट पारिएको छ ।

लिपुलेक नजिक सुरक्षा पोस्ट राख्न गृहमन्त्रालयको टोली प्रस्तान

काठमाडौं । दार्चुलाको कालापानी क्षेत्रमा भारतले नेपाली भूमि मिचेर बाटो बनाएसँगै लिपुलेक नजिक नेपालले सुरक्षा पोस्ट खडा गर्ने भएको छ । उक्त सुरक्षा पोस्ट खडा गर्नका लागि नेपाली सेनाको हेलिकप्टरमा गृह मन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई तथा सशस्त्र प्रहरीका एआइजी नारायणबाबु थापा सहितको टोली बुधबार बिहान दार्चुलाको खलंगा गएका छन् । खलंगाबाट सो हेलिकप्टरमा सशस्त्र प्रहरीका निरीक्षकको नेतृत्वमा २५ सुरक्षाकर्मीसहितको टोली लिपुलेक नजिकैको छाङ्गरु जाने छ । भारतले दार्चुला हुँदै तिब्बतको मानसरोवरसम्म जाने बाटो बनाउने क्रममा नेपाली भूमि लिपुलेक–कालापानीको प्रयोग गरेको छ । वैशाख २६ गते भारतले ७९ किलोमिटरको बाटो उद्घाटन गरेपछि नेपालमा विरोध भइरहेको छ । सरकारले विरोध चर्किएपछि सो क्षेत्रमा सुरक्षा पोस्ट खडा गर्ने निर्णय गरेको थियो ।