सासंद विडारी भन्छन्ः नेपालमा कोरोना सार्ने मन्त्री, सांसद र नेता हुन्
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले मन्त्री, सांसद र नेताले कोरोना सारेको आरोप लगाएका छन् । सांसद विडारीले राहत बाँड्ने नाममा गाउँ गाउँमा मान्छे जम्मा गरेर मन्त्री सांसद र नेताहरुले सांसदहरुले कोरोना संक्रमण फैलाएको आरोप लगाए । राहतका कार्यक्रम स्थानीय तहबाट व्यवस्थित रुपमा वितरण हुनुपर्ने भएपनि कसैले नपएजस्तो गरी नेताहरु गएर कोरोना संक्रमण फैलाएको अरोप उनले लगाए । राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै विडारीले भने, ‘नेता हुँ भनेर राहत बाँड्न ट्रयाक सुट टाई लाएर गाउँगाउँमा गएर मान्छे जम्मा पारेर कोरोना कोरोना संक्रमित गराउने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे ।’ ‘मन्त्री, सांसद र नेताहरुले कसैले नपाएको जस्तो गरी राहत बाँडे अरे । राहत भूकम्पको बेलामा बाँड्ने हो । राहत बाढी पीडित भएको बेलामा बाँड्ने हो । अहिलेको राहत लोकल सरकारले बाँड्ने अरुले बाँड्ने होइन् । लोकल सरकारको पनि वडा अध्यक्षले बाँडने हो । वडा अध्यक्षले पनि होइन वडा सदस्यले बाँड्ने हो ।’ राहत वितरणको आधार के हुने ? कुन व्यक्तिलाई राहत दिने ? भन्ने कुरा कानून बनाएर लागु गर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए । अहिलेको अवस्थामा स्थानीय तहमा उत्पादन भएका तरकारी, दूध र अण्डा सरकारले किनेर जनताको घरमा पुर्याउनुको सट्टा गफ गरेर नहुने उनले बताए । त्यसका लागि कानून निर्माण आवश्यक रहेको उनले बताए ।
जेठ २ गते संसदका दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने भएकी छन्। मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ९५ को उपधारा २ बमोजिम जेठ २ गते संघीय संसदको दुवै सदन अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले सभामा जानकारी गराए। ‘मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ९५ को उपधारा २ बमोजिम जेठ २ गते संघीय संसदको दुवै सदन अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। राष्ट्रियसभाका सम्पूर्ण मानीयहरुलाई उक्त दिन ३:३० बजेभित्र प्रतिनिधिसभा बैठक कक्षमा प्रवेश गरी आआफ्नो आसन ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु्।’
थप एक जनामा काेराेना देखियाे, संक्रमितकाे संख्या २ सय १८ पुग्याे
काठमाडाैं । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। धुलिखेल प्रयोगशालामा गरीएको परीक्षणका क्रममा थप १ जनामा कोरोना संक्रमण देखिएको हो। धुलिखेलको प्रयोगशालामा देखिएका संक्रमित नेपालगञ्जका ३६ वर्षीय पुरुष हुन्। यो सहित संक्रमितको संख्या २१८ पुगेको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा शुरु गर्न निर्देशन
बुटबल । मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत निरीक्षण गरेका छन् । सो अवसरमा मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानको विकासको लागि सबैखाले सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले प्रतिष्ठानले कोरोना भाइरस परीक्षणका लागि प्रयोगशाला स्थापना गरेको बताउँदै प्रतिष्ठानमा चिकित्सा शिक्षा पनि शुरु गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री पोखरेलले अस्पतालको विकास र हितका लागि गुरुयोजनासहित आएमा प्रतिष्ठानलाई पर्याप्त बजेट उपलब्ध गराइने प्रतिबद्धता व्यक्तसमेत गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले आज प्रतिष्ठानको १० शय्याको आइसियुको उद्घाटनसमेत गरे । प्रतिष्ठानका उपकुलपति सङ्गीता भण्डारीले प्रतिष्ठानले हाल गरेको कोरोना नियन्त्रणसम्बन्धी कामकारवाहीबारे जानकारी दिँदै प्रतिष्ठानको विकासका लागि थप बजेट माग गरेकी छन् । बालरोग विशेषज्ञ डा किशोर खत्रीले नवजात शिशु र बाल उपचार, कक्ष र सघन उपचार कक्षबारे बताए । प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा प्रल्हाद कार्की र कामु रजिष्ट्रार कैलाश देव र डिन वसन्त लामिछानेले पनि प्रतिष्ठानका कामबारे जानकारी दिए । मुख्यमन्त्री पोखरेलले आजै तुलसीपुर उपमहानगरपालिका, बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको निरीक्षण गरेको अस्पतलाका मेसु डा सर्वेश शर्माले बताए । रासस
सिटिजन्स बैंकको खुद नाफा १ अर्ब बढी, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा २ करोड १६ लाख रुपैयाँ बढी हो । बैंकले गत आवको यसै अवधिमा बैंकले १ अर्ब ६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ४१ करोड ९ लाख रुपैयाँ बढी रहेको छ । समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबैमा वृद्धि गरेको छ । सो अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब ५२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । हाल ८ अर्ब ६२ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४९ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १६.८७ रुपैयाँ रहेको छ ।
यार्सापीडित राहत कोष स्थापना गर्न माग
डोल्पा । आर्थिक उपाजर्नको मुख्य स्रोत नै यार्सागुम्बा सङ्कलन भएका कर्णालीका नागरिकका लागि यार्सापीडित राहत कोष स्थापना गर्न माग गरिएको छ । कोरोना भाइरसका कारण कर्णालीमा यार्सागुम्बा सङ्कलनमा प्रतिबन्ध लगाइएपछि नागरिकलाई आर्थिक सङ्कट पर्ने भन्दै पूर्वतयारीका लागि तीनै तहको सरकारसँग सांसदले यार्सापीडित राहत कोष स्थापना गर्न माग गरेका हुन् । कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगु र रुकुमपश्चिमका नागरिकको आर्थिक उपार्जनको मुख्य स्रोत भनेकै यार्सागुम्बा सङ्कलन हो । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै देश लकडाउनमा भएकाले यार्सागुम्बा पाइने कर्णाली प्रदेशका जिल्लाले यो वर्ष यार्सा सङ्कलन पूर्णरूपमा प्रतिबन्ध लगाएका छन् । एक यार्सागुम्बा सिजनमा सङ्कलन गरिएको यार्सागुम्बा बेचेर वर्षभरिका आइपर्ने आधारभूत आवश्यकता पूरा गर्ने कर्णालीका पाँच जिल्लाका नागरिक यो वर्ष आर्थिक सङ्कटमा परेको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए । “अहिलेको विषम परिस्थितिमा यार्सागुम्बा सङ्कलनमा रोक लगाएर नागरिकलाई ठूलो जोखिमबाट बचाइएको छ, सँगसँगै कर्णालीका पाँच जिल्लाका नागरिकलाई ठूलो आर्थिक क्षतिसमेत भएको छ ।” “वर्षभरि खाद्यान्न जोहो गर्ने, बालबच्चा पढाउने, स्वास्थ्य उपचार गराउने, चाडपर्व मनाउनेलगायत कार्य गर्न आवाश्यक रकमको जोहो यार्सागुम्बा टिपेरै गर्थे, यो वर्ष यार्सागुम्बा सङ्कलन गर्न नपाएपछि कर्णालीमा आर्थिक सङ्कटको खतरा बढेको छ”, सांसद शाहीले भने । “त्यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले यार्सापीडित राहत कोष स्थापना गर्नुपर्छ, नेपाल खाद्य संस्थानले उपलब्ध गराउने खाद्यान्नमा ५० प्रतिशतसम्म छुट दिनुपर्छ, यार्सामै परनिर्भर भएका कतिपय घरधुरीका लागि निःशुल्करूपमा खाद्यान्न उपलब्ध गराउन। ” यार्सा राहत कोष स्थापना गर्ने विषयमा कर्णाली प्रदेशसभामा समेत आवाज उठाउने शाहीले बताए । त्यसैगरी डोल्पाबाटै कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ेकी प्रदेश सदस्य बद्मीकुमारी बोहोराले यार्सागुम्बा सङ्कलनमा रोक लागेपछि डोल्पा, जुम्ला, हुम्ला, मुगु र रुकुमपश्चिमका नागरिक विशेष मारमा परेको बताए । उनका अनुसार चार जिल्लामा निकट भविष्यमा आउन सक्ने खाद्यान्नलगायत सङ्कटको सामना गर्न कर्णाली प्रदेश सरकारले पनि नयाँ बजेटका लागि यार्सा राहत कोष नै खडा गरेर पूर्वतयारी गर्नुपर्ने उनको भनाइ छ । कोरोनाको सङ्क्रमण फैलने भन्दै यस वर्ष जिल्ला विपद् व्यवस्थापन समिति, डिभिजन वन र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सागुम्बा सङ्कलनमा प्रतिबन्ध लगाएपछि डोल्पाली नागरिक चिन्तित भएका छन् । यार्सागुम्बा टिप्न नपाएकाले वर्षभरिका आवश्यकता कसरी पूरा गर्ने भन्दै उनीहरु चिन्तित भएका हुन् । अघिल्लो वर्षसम्म बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि बीसौँ हजार सर्वसाधारण डोल्पाका उच्च हिमाली पाटनहरुमा पुग्ने गर्थे । रासस
लघु, घरेलु तथा साना उद्योगहरुका समस्यालाई गम्भिरतापूर्वक लिएको छु : उद्योग मन्त्री भट्ट
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पछिल्लो समय आर्थिक विकासको आधार लघु, घरेलु तथा साना उद्योगहरुका समस्यालाई गम्भिरतापूर्वक लिएको भन्दै समाधानका लागि पहल गर्ने प्रतिवद्ता व्यक्त गरे । नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले भने – ‘वर्तमान अवस्थामा साना उद्योग मर्कामा परेका छन् हामीले पनि महसुस गरेका छौं । यस्ता उद्योग केही गर्न सक्ने अवस्थामा छैन, व्यवसायीका सल्लाह सुझावलाई समेटेर बढीभन्दा बढी के कस्तो सुविधा दिन सकिन्छ छलफल भइरहेको छ ।’ कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गरिएको लकडाउनका कारण यस्ता उद्योगहरु मर्कामा परेको भन्दै मन्त्री भट्टले भने – ‘आउने बजेटमा पनि समावेश गराउन मेरो पहल र प्रयत्न रहनेछ । राहतको प्याकेजमा समावेश गराउनेलगायतका विषयमा हामी छलफल गरिरहेका छौं ।’ उनले थपे –‘साना उद्योगहरु कसरी बाँचेका छन् । समग्रमा साना व्यवसायीका समस्या के के छन पहिचान गरेर वैज्ञानिक र वस्तुवादी भएर ल्याउनुस । अनि छलफल गरौं निकास ननिस्कने कुरै छैन ।’ महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले विदेशबाट आयात हुने वस्तु भन्दा स्वदेशकै उत्पादनहरुको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा ध्यानाकर्षण गराउँदै भने, ‘यसका लागि सरकारी तथा सार्वजनिक संस्थाहरुमा स्वदेशी वस्तुको उपयोगलाई अनिवार्य गरिनु पर्दछ । सरकारले लागु गरेको सार्र्वजनिक निकायमा स्वदेशी वस्तुको उपभोग सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयन गरिनुका साथै सहजीकरण तथा अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्छ ।’ लघु, घरेलु तथा साना उद्योग विकास कोष र महिला उद्यमीहरुलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको महिला उद्यमशिलता विकास कोषको सान्दर्भिकता र महत्व अहिलेको परिस्थितिमा अझ बढ्न गएको भन्दै उनले यी कोषहरुमा कम्तिमा ५०–५० करोडको रकम विनियोजन गरिनुपर्नेमा जोड दिए । निर्यात व्यापारलाई प्रोत्साहन गर्न सरकारले दिदै आएको निर्यात सहुलियतलाई बृद्धि गरि कम्तिमा १० प्रतिशत हुनुपर्ने र सो सहुलियत रकम निर्यात गरेको सामानको भुक्तानी बैकिङ च्यानलबाट पाउने वित्तिकै सहज र सरल रुपमा सोही बैंक खातामा जम्मा हुनुपर्ने कार्यबाहक अध्यक्ष सिंहको भनाई थियो । कोरोना भाइरसको त्रासका कारणले श्रम स्वीकृत लिई रोजगारीका लागि विदेश जानबाट बन्चित भएका, विदेशबाट फर्केका वा देश भित्रैका युवाहरु समेत अहिलेको परिस्थितिमा शहर छोडी गाउँ फर्केको अवस्थालाई सदुपयोग गरी त्यस्ता युवा युवतीलाई नीजि क्षेत्रका छाता संस्था मार्फत आवश्यक सीपमूलक तालिम प्रदान गरि स्थानीय स्तरमा पाइने कच्चा पदार्थको उपयोग गरी गाउँमै लघु, घरेलु तथा साना उद्योग मार्फत स्वरोजगार बनाउन स्थानीय सरकार तथा प्रदेश सरकारले पहल गर्नुपर्ने उनले बताए । उक्त उद्योगमा कम्तिमा ती बर्षको आयकर छुट दिने व्यवस्था आर्थिक ऐनमा गरिनुपर्ने तथा लघु, घरेलु तथा साना उद्योगहरुको कारोवारमा थ्रेसहोल्डको सिमा वार्षिक एक करोडसम्मको व्यवस्था गर्नुपर्ने कार्यवाहक अध्यक्ष सिंहको भनाई थियो । लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा प्रयोग गरिने नविनतम प्रविधिका मेशिनहरु आयात गर्दा लाग्ने एक प्रतिशत भन्सार कर बाहेक अन्य करहरु पूर्णरुपमा छुट दिइनुपर्ने तथा स्थानीय तहहरुले लगाउने दोहोरो तेहोरो कर खारेज गरिनुपर्ने महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । कोरोना भाइरसका कारणले पिडित लघु, घरेलु तथा साना उद्योगहरुलाई एक बर्षसम्मको व्याजदर छुट दिने र यस्ता उद्योगहरुको पुन संचालनका लागि आवश्यक पर्ने कर्जा ४ प्रतिशत ब्याजमा उपलब्ध गराउने । साथै लघु, घरेलु तथा साना उद्यमीले उद्योगमा प्रयोग गर्ने कच्चा पदार्थ लगायतका सामानहरुमा कर छुटको व्यवस्था गर्नुपर्ने सो पत्रमा उल्लेख छ । लघु, घरेलु तथा साना उद्यमीहरुको मेशिनरी लगायत स्थिर पुँजीलाई पनि धितो मानी सहुलियतपूर्ण परियोजना कर्जा दिने व्यवस्था हुनुपर्ने महासंघले ध्यानाकर्षण गराएको छ । मौद्रिक नीतिले हरेक बर्ष उल्लेख गर्ने गरेको लघु घरेलु तथा साना उद्योगी पुनरकर्जा, महिला उद्यमी पुनरकर्जा तथा निर्यात पुनरकर्जाको व्यवस्थालाई बैंक तथा बित्तिय संस्थाहरुले प्रभावकारी रुपमा अवलम्वन नगरेको हुँदा कडाइका साथ लागू गर्दै सहजीकरण तथा अनुगमन गर्ने व्यवस्था मिलाउन महासंघले आग्रह गरेको छ । सरकारले लागु गरि विभिन्न बैंकहरुबाट प्रदान गरिदै आएको सहुलियत कर्जा अन्र्तगतका महिला उद्यमशिलता कर्जा, कृषि कर्जा जस्ता कर्जाहरु प्राप्त गर्न झण्झटिलो भएकाले यसप्रति उद्यमीहरुमा वितृष्णा छाएकोले यसलाई सहज र सरल बनाइ कार्यविधिमा सुधार गर्नुपर्ने महासंघको माग छ । कृषि तथा पशुपालन कर्जा जस्तै घरेलु तथा साना उद्योगहरुलाई १ करोड रुपैयाँ सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने तथा लघु, घरेलु तथा साना उद्योगहरुले लिएको कर्जाको बैंक र राष्ट्रिय सहकारी बैंकवाट पनि ६ महिनाको ब्याज छुट गर्नुपर्ने महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा छ । सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड, उद्योग सचिव चन्द्र कुमार घिमिरे र वाणिज्य सचिव डा। बैकुण्ठ अर्यालले संयुक्त रुपमा छलफल भएको थियो । छलफलमा महासंघको तर्फबाट नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष सिंहको नेतृत्वमा निवर्तमान अध्यक्ष सुरेश प्रधान, पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार समितिका सभापति वासुदेव गिरी, उपाध्यक्षहरु अञ्जना ताम्राकार, मोहन कटुवाल, कोषाध्यक्ष सत्यनारायण प्रजापति, बागमती प्रदेशका उपाध्यक्ष राजेन्द्रमान श्रेष्ठ, केन्द्रीय सदस्य नारायण कार्की र केन्द्रीय महिला उद्यमी समितिका उपाध्यक्ष रिता अवाललगायतको सहभागिता रहेको थियो ।
एनएमबि बैंकको खुद नाफा १ अर्ब ८८ करोड, यस्ताे देखियाे अन्य सूचक
काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १४.०६ प्रतिशत बढी हो । बैंकले गत आवको यसै अवधिमा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा घटेर ५८ करोड ७७ लाख रुपैयाँ झरेको छ । जुन गत आर्थिक वर्षको सो अवधिमा ९७ करोड २१ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा १ अर्ब २० करोड रुपैयाँ बढी हो । बैंकको सञ्चालन नाफा भने घटेर १ अर्ब ८७ करोड ६४ लाख रुपैयाँमा झरेको छ । चालु आवको ९ महिनाको अवधिमा बैंकले १ खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ५६ करोड लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, गत आवको तुलनामा बैंकको खराब कर्जा अनुपात बढेर २.४८ प्रतिशतमा पुगेको छ । हाल १३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ३३ करोड रुपैयाँ सञ्चित रहेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १८.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.१७ गुणा, पुँजीकोष अनुपात १४.२६ प्रतिशत र कोषको लागत ७.०९ प्रतिशत रहेको छ । कम्पनीका अनुसार चैत मसान्तसम्ममा बैंकको आधारदर ९.९९ प्रतिशत छ भने स्प्रेडदर ४.८८ प्रतिशत रहेको छ ।