शौचालयको झ्याल तोडेर भागेका थिए वीरगञ्जमा दुई जना सङ्क्रमित
काठमाठाैं । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरू शौचालयको झ्याल फोडेर भागेका अस्पतालले बताएकाे छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार हिजो सङ्क्रमण देखिएपछि उनीहरूलाई उपचारका लागि त्यहाँ ल्याइएको थियो। पर्सा जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ८२ रहेको छ। तीमध्ये केहीको हालसम्म पनि उपचारको प्रबन्ध हुन नसकेको बताइएको छ।
सर्लाहीका कोरोना सङ्क्रमित मानसिक रोगी
सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलमा एकजना मानसिक रोगीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ । धनकौलका ४५ वर्षीय एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । सङ्क्रमित व्यक्तिको २६ गते जनकपुरमा पिसिआर टेष्ट गरिएको थियो । त्यहाँ निगेटिभ आएपछि उनलाई घरमै राखिएको थियो । मङ्गलबार राति १०ः१५ बजेको समयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गरेपछि सर्लाहीमा थप एक व्यक्ति कोरोना सङ्क्रमित भएको कुरा जानकारीमा आएको थियो । काठमाडौँबाट पिसिआर टेष्ट पोजेटिभ आएपछि मङ्गलबार राति नै उनलाई खोज्न सर्लाहीका सुरक्षा निकायका प्रमुख धनकौल पुगेका थिए । सङ्क्रमित व्यक्ति मानसिक रोगी भएकाले उनलाई राति घरबाट निकाल्न करिब तीन घण्टा लागेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । क्याचिङ रडले घरबाट तानेर गाडीमा हालेर बिहान २ बजे प्रादेशिक अस्पताल जनकपुर पठाइएको उनले बताए । उनका परिवारका सदस्यलाई राति नै हरिपुर्वास्थित रहेको क्वारेन्टाइनमा पु¥याइएको हरिपुर्वा–३ धनकौलका वडाध्यक्ष धनराज महतोले जानकारी दिए । सङ्क्रमित भेटिएको ठाउँलाई अहिले सिल गरिएको उनले बताए । यसअघि सर्लाहीको धनकौल गाउँपालिका–५, हरकठवा गोठका १४ वर्षीय बालकमा कोरोना पोजेटिभ देखिएको थियो । अहिले उनको उपचार वीरगञ्जमा भइरहेको छ । रासस
लकडाउनको असर टेलिकममा पनि, नाफा र सेवा वापतको आम्दानी दुबै घट्यो
काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष(आव)को तेस्रो त्रैमासमा ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२८ प्रतिशतले घटेको हो । टेलिकमले गत वर्ष ७ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो । गत आवको तुलनामा कम्पनीको सेवा वापतको आयमा पनि कमी आएको छ । गत वर्ष २७ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको टेलिकमले चालु आवमा २६ अर्ब ८३ रुपैयाँ मात्रै सेवाबाट आम्दानी गरेको छ । ‘२०७५ चैत १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको । कमिसन कूल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवा वापतको आय घटेको छ। चालु आवको तेस्रो त्रैमासिकसम्म उक्त डिस्काउन्ट रकम कूल ८५ कराेड ३३ लाख ४४ हजार २ सय ७३ रूपैयाँ रहेको छ । तसर्थ गत वर्षको आम्दानीसँग तुलना गर्दा यो रकम पनि हिसाब गर्नुपर्ने ।’ भएकोले उक्त आयमा कमी आएको कम्पनीले जनाएको छ । त्यस्तै, यसरी चालु आ.व. को तेस्रो त्रैमासिकसम्मको कूल आयमा माथि उल्लेखित डिस्काउन्ट पनि सम्मिलित गर्दा कूल आय गत आ.व. को सोही अवधिको तुलनामा करिब १८ करोडले बढी हुने टेलिकमले जनाएको छ । १५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको टेलिकमको जगेडा कोषमा ७६ अर्ब ९७ करोड रुपैयाँ जम्मा भएको छ । चैतसम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६७.२५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ६१३.१७ रुपैयाँ रहेको छ । लकडाउनको अवधिमा चैत २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको १०० प्रतिशत बोनस रकम कूल ५३ करोड ४ लाख रुपैयाँ बराबरको हुने छ । सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई ५ करोड ३ लाख रुपैयाँ बराबरको जिरो व्यालेन्स प्याकेज प्रदान गरिएको कम्पनीले जनाएकाे छ । त्यसैगरि, मोबाइल सेवाको आधारभूत दरमा २७ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । जुन ८ करोड २ लाख रुपैयाँ बराबरको हुने छ । यसरी लकडाउनको कारण कम्पनीको आयमा कूल ६६ करोड ९ लाख रुपैयाँ बराबरको नकारात्मक असर परेको कम्पनीले जनाएको छ । यसका साथै, कम्पनीले कोरोना राहत कोषमा १० करोड रुपैयाँ योगदान गरेको छ । टेलिकमका अनुसार हालको असरका अतिरिक्त समीक्षा अवधिमा विदेशी विनिमयदर (अमेरिकी डलर लगायत) मा भएको वृद्धि तथा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तार संगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको हो ।
नारायणी अस्पतालबाट भागे दुई जना कोरोना संक्रमित
काठमाडाैं । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको जानकारी दिइन् ।
दुई जना संक्रमित निकाे भएर घर फर्किए
काठमाडौं । थप दुई जना काेराेना भाइरस (काेभिड-१९) संक्रमित निकाे भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले थप दुई जना संक्रमित निकाे भएर घर फर्किएकाे जानकारी दिए । बुटवलका २४ वर्षिय पुरुष ११ दिनपछि र चितवनकाे ६३ वर्षिय महिला २६ दिन पछि निकाे भएर घर गएकाे देवकाेटाले बताए । बुधबारसम्म नेपालमा २ सय १९ काेराेना संक्रमित पुष्टि भएका छन् जसमा निकाे भएर घर जानेकाे संख्या ३५ पुगेकाे छ ।
काेराेना संक्रमितकाे गुहारः मर्नु अगाडि जन्मेको माटोमा खुट्टा टेक्न मन छ
काठमाडौं । मान्छे जिउन जन्मन्छ वा मर्न ? केही अपवादबाहेक मान्छे यसमा अनुत्तरित बन्छ । एउटा मानिसलाई बाँच्ने सामथ्र्य र प्रेरणा स–साना खुसीले दिन्छ । कहिले काहिँ अपवादबाट गुज्रिँदा उसले मृत्युको बाटो पनि रोज्छ । जव मानिस खुसी मुद्रामा हुन्छ । उसले हरेक कुराहरु बिर्सन्छ अर्थात उसको त्यो ओठको खुसी नै सब थोक बन्छ । अनि रोदनमा ? जब मानिस पिडा अर्थात दु.खमा हुन्छ । उसले सब थोक सम्झन्छ । दु.ख केहो ? सुख के हो ? आफ्ना को हुन् ? बिराना को हुन् ?यी सबै कुरा मनमा खेलाएर बस्छ । तर, त्यति हुँदा हुँदै पनि जव उसको अगाडि कुनै विकल्प नै हुँदैन । उसले के गर्छ होला ? कसरी आफुलाई सम्हाल्छ होला ? सायद उसले आफु जन्मनुलाई संयोग मान्छ होला । तर, मर्ने निश्चित ठान्छ । निश्चित हुने कुरासँग मान्छे यति बिघ्न आखिर किन डराउँछ ? गीतकार तथा लेखक प्रा.डा. कृष्णहरि बरालले गीतमार्फत भनेका छन् , ‘मर्ने कसैको रहर हुँदैन, तर नमरेको शहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने शहर हुँदैन ।’ बरालको यी शब्दहरुले हरेक मानिसको रोदन दु.ख र पिडा बोलेको छ । यस्तै अवस्था अहिले काेराेनाले सिर्जना गरेकाे छ । केही दिन अगाडि सामाजिक सञ्जाल फेसबुकमा नियाँल्दै थिएँ । यी आँखा एक्कासी एउटा स्टाटसमा अडिए । जहाँ लेखिएको थियो, ‘म दुवईमा छु । कोरोना भाइरस पोजेटिभ भएर कोठामा बसेको आज २४ दिन भैसक्यो । कम्पनीले खुलेआम छोडेको छ । एउटै फ्ल्याटमा सय जनाभन्दा बढी छौं । हामीलाई निको हुन्छ भन्ने आश त खासै छैन । तर, मर्नु अगाडि एक पटक जन्मेको माटोमा खुट्टा टेक्न चाहन्छु । कसरी होला ?’ यो पीडा र विलौना मिश्रीत स्टाटस थियो कैलालीका बिपन खनालको । उनकाे त्याे स्टाटसबाट म भावुक बने । ती युवाले पठाएको रेमिट्यान्समा रजाइँ गर्ने, त्यही रेमिट्यान्सलाई आधार मानेर देशको आर्थिक वृद्धिदर प्रक्षेपण गर्ने नेपाल सरकारले अहिले उनीहरुको पिडा र दु.खलाई किन बुझ्न सक्दैन ? यो प्रश्न मेरो मनमा खेलिरह्याे । अझ आफैलाई प्रश्न गरेँ । ती युवालाई ल्याएर देशमा जोखिम बढ्छ नी ? अहँ, फेरि मनले मानेन । अन्य देशले पनि त आफ्ना नागरिक स्वदेश लिनै रहेको छ । नेपाल सरकारले त्यस्तो व्यवस्था किन गर्न नसकेको ? यी विविध प्रश्नहरु मेरो मनमा उब्जिए । तर, सोचेर कहाँ हुँदो रहेछ र सोच्नेले नसोदिएपछि । ती युवकलाई सामाजिक सञ्जालमा नियाँल्दै गएँ । उनीसँग केही बोल्ने मनासाय बनाएँ । मेसेज गरेँ । रिप्लाई आयो । मैले मेरो परिचय दिइसकेपछि उनले आफुले भोग्दै आएका दु.ख पिडा र यथार्थपरक वृतान्त सुनाए । उनको बोलीमा रोदन थियो, आक्रोश थियो र देशमै पाइला टेक्ने ठूलो तृष्णा थियो । सुदूरपश्चिमको पहाडी जिल्ला अछामको रामारोशन गाँउपालिका जन्मिएका बिपन सानै छँदा गाँउकै अध्ययन गरे । आजभन्दा ४ वर्ष अगाडि वैदेशिक रोजगारीको शिलसिलामा दुवई हानिएका उनको जीवन यतिसम्म त जसोतसो चलेकै थियो । तर, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले भने उनको जीविका मात्र होइन जीवननै दोधारसम्मको अवस्था बनायो । दुवईमा कोरोनाको महामारी फैलनुभन्दा अगाडि उनको नेपाल आउने योजना नै थियो । त्यतिखेर खासै असर परेको थिएन दुवईमा । उनले अप्रिल २ तारिकमा नेपाल फर्किनको लागि टिकट पनि लिइसकेका थिए । तर पछि कोरोनाको संक्रमण उच्च भएपछि उनको योजना विफल मात्र भएन आफुनै कोरोनाको भागेदार बने । आज उनी कोरोना संक्रमण भएर घरभित्रै बसेको २२ दिन भयो । अहँ, तर निको हुने छाँटकाट छैन । उनी भन्छन्, ‘निको हुन्छु भन्ने आशा त छैन तर मर्नुभन्दा पहिले एक पटक जन्मेको माटोमा खुट्टा टेक्ने ठूलो चाहना छ ।’ उनी त्यो भावुक भनाइसँगै आक्रोश पनि पोख्छन्, ‘संसारनै कोरोनासँग लडिरहेको छ, अरु देशले आफ्ना नागरिकलाई आ–आफ्नो देश फिर्ता लिइरहेका छन्, तर हाम्रो सरकार भने वास्तै गर्दैन, ल्याउँछु–ल्याउँछु भन्छ, त्यतिमै सिमित, काेराेना लागेकालाई नभएपनि अन्यलाई स्वदेश लिनु पर्थ्याे ।’ १९ वर्ष नपुग्दै दुवई हानिएका बिपनले दुवईमै बसेर जिम्मेवार बोध गरे । उनले कैलालीको लम्कि चुहा नगरपालिकामा जग्गा पनि किने अहिले उनको परिवार लुम्बीचुहामै बस्दै आएको छ । दुवईको मेकानिकल कम्पनीमा कार्यरत उनी लगायत ४ जना अन्य नेपालीमा कोरोना पुष्टि भएको उनले जानकारी दिए । उनी र अहिले दुवईस्थित जम्लाली कम्पनीको कोठामा बस्दै आएका छन् । उक्त कम्पनीमा करिब ६० जना नेपाली कार्यरत रहेको उनले जानकारी दिए । २०६९ सालमा एसएलसी पास गरेका खनालले आईएड र कृषि जेटिए पास गरे । नेपालमा कतै काम नपाएपछि उनले विदेश जाने मनासाय बनाइ विदेशिए । हुन त कमाई गरिरहेकै थिए । आफ्नो कमाइले नै जग्गा किने । घर बनाए । तर, अहिलेको कोरोनाको महामारीले भने उनलाई निकै चिन्तित बनाएको छ । कोरोना संक्रमित हुनुपर्ला भन्ने सोचेको थिएन, कोरोना संक्रमण भइसकेपछि पनि लक्षण केही देखिएको छैन, स्वास्थ्य अवस्था सामान्य नै छ, तर परीक्षण रिपोर्ट पोजेटिभ नै देखाएको छ,’ उनले भने । उनी भन्छन्,‘मेरा सबै आफन्त र शुभेच्छुकहरुले दिएको हौसला, माया प्रेम र सद्भावले यो कठिन समयमा मलाई हौसला मिलेको छ, आफुलाई बलियो पनि बनाएको छु, कोरोनालाई जितेको बिजय पथमा रमाउने मन छ । म त्यो जितको पर्खामा छु, अझै पनि घर परिवार र देशको चिन्ता लाग्न भने छोडेको छैन ।’
उन्नति लघुवित्तको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी साढे ५० रुपैयाँ
काठमाडौं । उन्नति लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको तुलनामा ५ प्रतिशतले बढी हो । संस्थाले गत वर्षको सोहि अवधिमा ३ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा लघुवित्तले १० करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, सञ्चालन नाफा पनि बढेर ५ करोड ११ लाख रुपैयाँ पुगेको छ । ६७ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिमा संस्थाको खराब कर्जा सामान्य बढेर १.८७ प्रतिशत पुगेको छ । ८ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा ८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी ५०.५६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९७.३७ रुपैयाँ रहेको छ ।
नियमित स्वास्थ्य सेवा अवरुद्ध भइरहे नेपालमा प्रतिदिन थप २२ बालबालिकाको मृत्यु हुने
काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले कोभिड–१९ को महामारीका कारण नियमित स्वास्थ्य सेवा अवरुद्ध भइरहे नेपालमा प्रतिदिन थप २२ बालबालिकाको मृत्यु हुन सक्ने प्रक्षेपण गरेको छ । युनिसेफले ‘द ल्याण्डसेट ग्लोबल हेल्थ’ मा हालै प्रकाशित जोन्स हप्किन्स ब्लुमबर्ग जनस्वास्थ्य शिक्षालयका शोधकर्ताले गरेको अध्ययनलाई उल्लेख गर्दै नेपालमा आगामी ६ महिनासम्म प्रतिमहिना थप ६७० जनासम्म बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएको हो । पहिल्यै कमजोर अवस्थामा रहेका स्वास्थ्य प्रणालीलाई कोभिड–१९ ले ध्वस्त पारेको हालको अवस्थामा रोकथाम गर्न तत्काल पहल गर्न नसकिए विभिन्न रोगबाट दक्षिण एशियामा प्रतिदिन थप दुई हजार ४०० बालबालिकाको मुत्यु हुन सक्ने चेतावनी दिइएको छ । प्रक्षेपणले नियमित स्वास्थ्य सेवामा आएको अवरोध र ख्याउटेपनका कारण बालबालिकामा त्यस प्रकारको असर पर्ने जनाइएको छ । युनिसेफका दक्षिण एबियाका क्षेत्रीय स्वास्थ्य सल्लाहकार डा पल रटरले कोभिड–१९ को समयमा पनि सुत्केरी सेवा, बाल स्वास्थ्य तथा पोषण सेवाको उपलब्धता सुनिश्चित गर्नु अत्यन्तै महत्वपूर्ण भएको बताए । रासस