लकडाउनको असर टेलिकममा पनि, नाफा र सेवा वापतको आम्दानी दुबै घट्यो

<p>काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष(आव)को तेस्रो त्रैमासमा ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२८ प्रतिशतले घटेको हो । टेलिकमले गत वर्ष ७ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो । गत आवको तुलनामा कम्पनीको सेवा वापतको आयमा पनि कमी आएको छ [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष(आव)को तेस्रो त्रैमासमा ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२८ प्रतिशतले घटेको हो । टेलिकमले गत वर्ष ७ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो ।

गत आवको तुलनामा कम्पनीको सेवा वापतको आयमा पनि कमी आएको छ । गत वर्ष २७ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको टेलिकमले चालु आवमा २६ अर्ब ८३ रुपैयाँ मात्रै सेवाबाट आम्दानी गरेको छ ।

‘२०७५ चैत १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको । कमिसन कूल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवा वापतको आय घटेको छ। चालु आवको तेस्रो त्रैमासिकसम्म उक्त डिस्काउन्ट रकम कूल ८५ कराेड ३३ लाख ४४ हजार २ सय ७३ रूपैयाँ रहेको छ । तसर्थ गत वर्षको आम्दानीसँग तुलना गर्दा यो रकम पनि हिसाब गर्नुपर्ने ।’ भएकोले उक्त आयमा कमी आएको कम्पनीले जनाएको छ ।

त्यस्तै, यसरी चालु आ.व. को तेस्रो त्रैमासिकसम्मको कूल आयमा माथि उल्लेखित डिस्काउन्ट पनि सम्मिलित गर्दा कूल आय गत आ.व. को सोही अवधिको तुलनामा करिब १८ करोडले बढी हुने टेलिकमले जनाएको छ ।

१५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको टेलिकमको जगेडा कोषमा ७६ अर्ब ९७ करोड रुपैयाँ जम्मा भएको छ । चैतसम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६७.२५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ६१३.१७ रुपैयाँ रहेको छ ।

लकडाउनको अवधिमा चैत २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको १०० प्रतिशत बोनस रकम कूल ५३ करोड ४ लाख रुपैयाँ बराबरको हुने छ । सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई ५ करोड ३ लाख रुपैयाँ बराबरको जिरो व्यालेन्स प्याकेज प्रदान गरिएको कम्पनीले जनाएकाे छ ।

त्यसैगरि, मोबाइल सेवाको आधारभूत दरमा २७ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । जुन ८ करोड २ लाख रुपैयाँ बराबरको हुने छ । यसरी लकडाउनको कारण कम्पनीको आयमा कूल ६६ करोड ९ लाख रुपैयाँ बराबरको नकारात्मक असर परेको कम्पनीले जनाएको छ ।

यसका साथै, कम्पनीले कोरोना राहत कोषमा १० करोड रुपैयाँ योगदान गरेको छ ।

टेलिकमका अनुसार हालको असरका अतिरिक्त समीक्षा अवधिमा विदेशी विनिमयदर (अमेरिकी डलर लगायत) मा भएको वृद्धि तथा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तार संगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको हो ।

Share News