विकासन्युज

रोग र भोकसँग लड्न केही उद्योग खोल्नैपर्छ : डा‍.खतिवडा

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले केही उद्योगमा खुकुलो गर्नु पर्ने बताएका छन् । उनले राेग भोकबाटै लड्न केही उद्याेग खाेल्नु पर्ने बताएका हुन् । प्रतिनिधिसभामा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै उनले भोकबाट लड्न लकडाउनमा पनि केही उद्योग खोलिएको उल्लेख गरे । उनले भने, ‘आधारभूत स्वास्थ्य सेवा र शिक्षामा राज्यको भूमिका हुनुपर्छ त्यही आधारबाट बजेट अघि बढ्ने छ  । रोग र भोक सँग लड्नुछ यसका लागि पनि आर्थिक क्रियाकलाप अघि बढाउँनै पर्छ । आर्थिक क्षेत्र अगाडी बढाएन भने रोजगार कसरी सृजना हुन्छ ? काम लगाएर राहत दिन पनि आर्थिक कृयाकलाप बढाउँनुपर्छ ।’ खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याउन लागेको बजेट परम्परागत नभएको पनि दाबी गरे । सांसदहरुको सुझाव तथा सल्लाहको उत्तर दिँदै मन्त्री डा.खतिवडाले बजेट परम्परागत नभएर सांसदहरुको टिप्पणी गर्ने तरिका परम्परागत भएको बताए ।

काँग्रेस नेता राजेन्द्रप्रसाद त्रिपाठीको निधन

काठमाडौं । समाजसेवी एवं नेपाली काँग्रेस कास्कीका नेता पोखरा २८ झाझरमाडे निवासी राजेन्द्रप्रसाद त्रिपाठीको ८४ वर्षको उमेरमा निधन भएको छ । विसं २०१७ मा भूमिगत पार्टी सदस्यको रुपमा काम गर्नुभएका त्रिपाठी २०२८ सालमा तत्कालीन कालिका गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए । साविक कालिका गाविसमा पार्टीको संस्थापक सभापति रहुनभएका उनले राजनीतिसँगै शिक्षा र धार्मिक क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेकाे कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए । समाजमा निष्ठावान् र त्यागी व्यक्तिको पहिचान बनाउनुभएका उहाँका तीन छोरा र तीन छोरी छन् । सामाजिक क्षेत्रमा लामो समय योगदान पु¥याएका त्रिपाठीलाई ८४ पूजासँगै वैशाख २५ गते कालिकामा नागरिक अभिनन्दन र उनको जीवनसँग सम्बन्धित पुस्तक प्रकाशित गर्ने तयारी गरिए पनि बन्दाबन्दीका कारण स्थगित गरिएको नेपाली काँग्रेस कालिकाका पूर्वसभापति भानु ढकालले जानकारी दिए । स्व त्रिपाठीको पार्थिव शरीर आजै पोखरा रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, कास्की काँग्रेस सभापति कृष्ण केसी, पूर्वजिल्ला सभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

एभरेष्ट इन्स्योरेन्सको खुद नाफा २३२ प्रतिशतले बढ्यो

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको खुद नाफा २३२.४२ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९ करोड ३१ लाख रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको चैत मसान्तमा इन्स्योरेन्सले ४ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क बढेर ३३ करोड ८१ लाख रुपैयाँ पुगेको छ । कम्पनीले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट १० करोड १० लाख, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । साथै, इन्स्योरेन्सले ६९ हजार ११६ बीमालेख जारी गरी ७४ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एक अर्ब ९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २० करोड ७८ लाख रुपैयाँ र बीमा कोषमा २९ करोड ३९ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा इन्स्योरेन्सको वार्षिक प्रतिसेयर आम्दानी १६.३९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.०५ गुणा छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ३ सय जनाको पिसिआरबाट काेराेना परीक्षण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ५७ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। यस्तै नेपालमा कुल २१ हजार ३ सय ४० को पिसिआर माध्यमबाट कोरोना परीक्षण भएको छ । यस्तै कुल ६० हजार ३ सय १९ जनाको आरडिटिबाट परीक्षण भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए। बुधबारसम्म नेपालमा २ सय १९ काेराेना संक्रमित पुष्टि भएका छन् जसमा निकाे भएर घर जानेकाे संख्या ३५ पुगेकाे छ । मुलुकभर हाल १४ हजार ३ सय १३ जनालाई क्वारेन्टाइनमा राखिएकाे छ भने २ सय ४५ जना आइसोलेसनमा रहेकाे देवकाेटाले बताए ।  

आर्थिक सम्वृद्धिको नारा सफल पार्न पूर्ण बजेट नै ल्याउने होः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सम्वृद्धिको नारा सफल पार्न पूर्ण बजेट नै ल्याउने बताएका छन् । बुधबार बजेटका सिद्धान्त र प्राथमिकतामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सरकारले लिएको आर्थिक सम्वृद्धिको नारा सफल पार्नका लागि अहिले पूर्ण बजेटको नै आवश्यकता रहेका बताएका हुन् । आर्थिक वर्षको सुरुमै सरकारले पुरक वा अर्धबजेट ल्याउने संभावना नरहेको उनले बताए । सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउने र त्यो पूर्ण बजेट हुने उनको भनाइ छ । उनले आर्थिक पुनरोत्थानलाई सरकारले ध्यान दिएको र बजेट निर्माणका क्रममा प्राथमिकतामा राख्ने पनि बताए । ‘सरकारले आर्थिक संमृद्धिको नारालाई यथार्थमा उतार्ने गरी बजेट तयार गर्नेछ, मानव जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य पूर्वाधारमा जोड दिने गरी सरकार अघि बढ्छ,’ उनले भने । उनले आधारभूत स्वास्थ्य सेवा र माध्यमिक तहसम्मको शिक्षालाई बलियो बनाउँदै लैजान सरकारको भूमिका बढाउने पनि उल्लेख गरे । रोजगारीको क्षेत्रमा लगानी नबढाउने हो भने पैसा मात्रै बाँडेर नपुग्ने उनले उल्लेख गरे । खतिवडाले गत जनवरीसम्ममा नेपालको उच्च आर्थिक वृद्धिदरका विषयमा अन्तर्रा्ष्ट्रिय निकायहरु पनि सहमत रहेको बताए। अर्थमन्त्री खतिवडाले राष्ट्रिय गौरवका आयोजनाहरु सन्तोषजनक ढंगबाट अघि बढाउन नसकिएको सेवीका गरेका छन्। सं‌सदमा धेरै सांसदहरुले पुरक बजेटकाे पनि कुरा राखेका थिए ।

कालापानी नजिक सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौं । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो । गत मंसिर महिनामा नेपाल सरकारले गरेको निर्णयअनुसार व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो । बीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल लगायत सुरक्षा अधिकारीहरू, बीओपीमा खटिने २५ जना सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी र सञ्चारकर्मी छाङरु गएका थिए ।

यी हुन् नेपालमा धेरैमा कोरोनाभाइरसको लक्षण नदेखिनुको कारण

काठमाडाैं । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दुई सय नाघेपछि चिन्ता र त्रास बढेको पाइन्छ। तर अहिलेसम्म कसैको मृत्यु भएको छैन। अधिकांश सङ्क्रमितहरूमा लक्षण पनि नदेखिएको खबर आउने गरेका छन्। नेपालमा सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिनुको कारणबारे कतिपयले अनौठो मानिरहेको पाइन्छ। कोभिड-१९ को निम्ति विश्व स्वास्थ्य सङ्गठनले बनाएको जिनिभास्थित विज्ञसमूहमा आवद्ध प्राध्यापक डा. प्रकाश घिमिरेका अनुसार यो नयाँ भाइरस हो र यसका लक्षणहरू दिनप्रतिदिन परिवर्तन हुनसक्छन्। नेपालमा अहिलेसम्म गरिएको परीक्षण धेरै नै कम भएको र अहिलेसम्म गम्भीर लक्षण भएर अस्पताल पुगेका भन्दा पनि सम्भावित सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिकै परीक्षण गरिएको बताइएको छ। ‘आफूलाई बलियो नठानौँ’ राष्ट्रिय शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा. अनुप बास्तोलाको धारणा पनि मिल्दोजुल्दो छ। उनका अनुसार अहिलेसम्म अधिकांश अन्य देशबाट फर्किएका युवामा सङ्क्रमण देखिएको छ। सुरुमै सक्रिय निगरानी गरिएका देशमा समुदायमा फैलिन पाएको छैन। जहाँ एक्कासी प्रकोप देखियो त्यहाँ दीर्घरोगी र वृद्धवृद्धमा सरिसकेको देखिन्छ। तर नेपालमा बाहिरबाट आएका मानिसहरूलाई क्वारन्टीन हुँदै आइशोलेसनमा राखिएकाले समुदायमा सर्न नपाएको उनको ठम्याइ छ। प्राध्यापक घिमिरे भन्छन्, “ठूलो सङ्ख्यामा लक्षण नदेखिएको भए अनुसन्धानको विषय हुनसक्थ्यो। त्यसैले अहिले नै हामी बलिया छौँ भन्ने भएन। “लक्षण आएन, हामी फरक छौँ भन्नु वैज्ञानिक रूपमा उपयुक्त हो जस्तो लाग्दैन।” अहिलेसम्म सङ्क्रमण पुष्टि भएका २१९ जनाकै भरमा तीन करोड जनसङ्ख्यालाई केही हुँदैन भनेर भन्न नसकिने उनको भनाइ छ। ‘गम्भीर लक्षण देखिन सक्छ’ कतिपय सङ्क्रमितले आफूलाई कुनै लक्षण नदेखिएको भन्दै पुन: परीक्षणको हुनुपर्ने माग गरेको पाइन्छ। तर डा. बास्तोला पीसीआर विधिको परीक्षणले कोभिड-१९ कै भाइरस पहिचान गर्छ। उनी भन्छन्, “भोलि समुदायमा फैलिएर दीर्घरोगी र वृद्धवृद्धमा सरेमा निमोनिया वा जटिल खालको लक्षण देखिन सक्ने सम्भावना रहन्छ।” कतिपय सङ्क्रमित त लक्षण नदेखिएरै वा कुनै औषधी नखाएरै अस्पतालबाट निको भएर फर्किएको बताइन्छ। प्राध्यापक घिमिरेका अनुसार यो नयाँ भाइरस हो र यसका लक्षणहरू दिन प्रतिदिन परिवर्तन हुनसक्छन्। अहिलेसम्मको प्रमाण अनुसार करिब ८० प्रतिशतमा लक्षण देखिँदैन। चिकित्सकको परामर्श आवश्यक हुने बाँकी बिरामीमध्ये पाँच प्रतिशतलाई स्वासप्रश्वाससम्बन्धी सहायता यन्त्रको खाँचो पर्न सक्छ। बीबीसी नेपाली

नारायणी अस्पतालबाट भागेका एक संक्रमित सम्पर्कमा

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका दुईजना कोरोना संक्रमितमध्ये एकजना सम्पर्कमा आएका छन्। भागेका दुईजनामध्ये  एकजना अस्पतालका कर्माचारीको सम्पर्कमा आइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेड मदनकुमार उपाध्यायले बताए। अर्काे व्यक्तिकाे खाेजी भइरहेकाे उनी बताउँछन् । उनीहरु अस्पतालकाे शाैचालयकाे झ्याल फोडेर भागेका थिए ।