विकासन्युज

अब भाइबरबाटै एनएमबि बैंकमा खाता खोल्न सकिने

काठमाडाैं । एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता/मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसंगै बैंकले याे सेवा प्रस्तुत गरेको हाे । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकको लागी अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको हो । डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ बैंकले जनाएकाे छ । साथै, घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यमनिर्माण गर्ने कार्यदिशातर्फ उन्मुख रहेकाे बैंकले जनाइकाे छ । साथै, बैंकले ग्राहकलाई बैंकिङ्गअनुभवहरु प्रष्कृत भएको महसुस गर्न भाइबरकै प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको बताएकाे छ ।

महाकाली नदी र लिम्पियाधुराको प्रसङ्गमा

काठमाडौं । राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकाली नदी साझा हो, पानी आधा–आधा हो ! यो नारा नेपालको संसदमा लगातार दश घण्टाभन्दा बढी घन्किएको हो । विसं २०४८ मङ्सिर १८–१९ गते तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले भारत भ्रमणका बेला गरेको टनकपुर सन्धिलाई यो सन्धि होइन सहमति मात्र हो भनेपछि सदन र सडकमा व्यापक विरोध र आन्दोलन भई ठूलो धनजनको क्षति हुनाका साथै सो विवादबारेको रिट २०४८ पुस २ गते सर्वोच्च अदालतमा दर्ता भई २०४९ मङ्सिर ३० गते टनकपुर सहमति नभई सन्धि भएकाले नेपालको संविधान, २०४७ को धारा १६२ (२) बमोजिम संसदको दुई तिहाई बहुमतबाट अनुमोदन हुनु पर्ने फैसला भयो । सर्वोच्चको फैसलापछि पनि सन्धि ऐनलाई संशोधन गरी टनकपुर सन्धिलाई संसदको साधारण बहुमतबाट पारित गर्ने चलखेल चलिरहेको अवस्थामा नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले ‘टनकपुरमा साधारण बहुमतमा जानु मृत्युपत्रमा हस्ताक्षर गर्नु हो’ भनी २०४९ फागुन २४ गते पार्टी सभापतिको नाममा कडा पत्र (जसलाई ‘लेटर बम’ को उपमा दिइएको थियो) लेखे र नेपाली काँग्रेसभित्रबाट सरकारको चर्को विरोध भएपछि टनकपुर सन्धि संसदबाट अनुमोदन हुनु सकेन । विसं २०५१ को मध्यावधि निर्वाचनपछि नेकपा (एमाले) को अल्पमतको सरकार गठन भए पश्चात् तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले भारत भ्रमण गरी तत्कालीन भारतीय प्रधानमन्त्री पी.भी.नरसिंह रावसमक्ष महाकाली नदीको एकीकृत उपयोगसम्बन्धी महाकाली एकीकृत प्याकेज प्रस्ताव गरे । तत्पश्चात् प्रधानमन्त्री मनमोहन अधिकारीले भारत भ्रमणका क्रममा महाकाली नदीको पानीको उपयोगसम्बन्धी एकीकृत प्याकेज भारतीय समकक्षी रावसमक्ष प्रस्तुत गरेपछि महाकाली नदीको पानीको उपयोगसम्बन्धी एकीकृत प्याकेजमा सहमति भयो । महाकाली नदीको पानीको उपयोग गर्ने बारेको प्याकेजको प्रस्ताव निष्कर्षमा नपुग्दै एमालेको सरकार ढलेपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो र विस २०५२ माघ २९ गते एमालेले अघि सारेको महाकाली नदीको पानीको उपयोगसम्बन्धी प्याकेज प्रस्ताव अनुरुप तयार पारिएको ‘शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर आयोजनासमेत महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धि’ मा नेपालका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी रावबीच हस्ताक्षर भई विसं २०५३ असोज ३ गते संसदको संयुक्त बैठकले सङ्कल्प प्रस्ताव पारित गर्दै अनुमोदन ग¥यो । विसं २०५३ असोज २४ गते तत्कालीन सभामुख रामचन्द्र पौडेलको अध्यक्षतामा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ६५ बमोजिम ‘शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासमेत महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धि’को कार्यान्वयनको सन्दर्भमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डिपिआर) तयार गर्दा श्री ५ को सरकारबाट संयुक्त बैठकमा सन्धि उपर छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा १. विद्युत्को निर्यात र मूल्य निर्धारणको सिद्धान्त, २. महाकाली आयोगको गठन, ३. पञ्चेश्वर आयोजना पश्चात् पानीको समान बाँडफाँड र ४. महाकाली नदीको हैसियतसमेतका सवालहरूमा प्रस्तुत व्याख्या, व्यक्त गरिएका प्रतिवद्धता एवं संसदद्वारा अभिव्यक्त सङ्कल्पका आधारमा नेपालको राष्ट्रिय हित अनुरूप नेपाली पक्षलाई मार्गदर्शन तथा सो सम्बन्धमा अनुगमन गर्न संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०४८ को नियम २७ बमोजिम प्रतिनिधि सभाका सदस्य अमरराज कैनी, उर्वादत्त पन्त, झलनाथ खनाल, भक्तबहादुर बलायर, भरतमोहन अधिकारी, भीमबहादुर रावल, रामचन्द्र पौडेल, रामजनम चौधरी, सुरेन्द्रप्रसाद चौधरी, हृदयेश त्रिपाठी र राष्ट्रिय सभाका सदस्य. प्रेमबहादुर सिंह, महेश आचार्य, महेश चौधरी, रविन्द्रनाथ शर्मा,.सुवासचन्द्र नेम्वाङ्ग सदस्य रहेका ‘संसदीय अनुगमन संयुक्त समिति’ गठन भएको थियो । उक्त संसदीय अनुगमन संयुक्त समितिले लिम्पियाधुरा क्षेत्रको स्थलगत निरीक्षण एवं अध्ययन भ्रमण गरेको थियो । लिम्पियाधुरा क्षेत्रको स्थलगत भ्रमण गर्ने यो पहिलो र अन्तिम उच्चस्तरीय भ्रमण टोली हो । त्यसअघि र त्यसपछि आजसम्म त्यस क्षेत्रको कुनै पनि आधिकारिक अध्ययन एवं निरीक्षण भएको छैन । सो भ्रमण टोलीमा तत्कालीन नापी विभागका महानिर्देशक पुण्यप्रसाद ओली पनि सामेल थिए । संसदीय अनुगमन संयुक्त समितिले लिम्पियाधुरा क्षेत्रको स्थलगत भ्रमण गरी सो क्षेत्रको वस्तुगत स्थिति एवं सम्पूर्ण ऐतिहासिक तथ्यहरुको विस्तृत अध्ययन र विश्लेषण गरी प्रतिवेदन पेश गरेको थियो । संसदीय अनुगमन संयुक्त समिति अनेक बाधा व्यवधानका बाबजुद हेलिकप्टरद्वारा तल्लो कौवा, माथिल्लो कौवा, कुटी, नावी र गुञ्जीको अवलोकन गरी कालापानी भनिने भारतीय सेनाको बेसक्याम्प रहेको स्थलमा अवतरण गर्न सफल भएको थियो । वास्तवमा लिम्पियाधुराको शिर महाकाली नदी (कुटियाङ्दी) को उद्गमस्थललाई कालापानीे भनिन्छ । हाल भारतीय सेनाको बेसक्याम्प रहेको ठाउँको नाम कालापानी नभएर तुल्सी न्युरान हो । तुल्सी न्युरानस्थित पानीको खोल्सामा भारतीय सेनाले कालीको मन्दिर बनाई सो पानीको खोल्साबाट करीव ५० मिटरसम्म पानी डो¥याई लिपुलेकबाट आउने लिपु नदीमा मिसाएको छ । त्यसैलाई हाल भारतीय पक्षले कालापानी र काली नदी भन्ने गरेको छ । नदीको लम्बाइ, पानीको मात्रा र कमाण्डिङ् एरियाको आधारमा नदीलाई मुख्य नदी र सहायक नदीको रुपमा वर्गीकरण गर्ने गरिन्छ । लिम्पियाधुराको शिरबाट निस्केको कालीनदी (कुटियाङ्दी) को लम्बाइ, पानीको मात्रा र कमाण्डिङ् एरियाको हिसाबले महाकाली नदी (काली नदी) मुख्य नदी हो भने महाकाली नदीको सहायक नदीको रूपमा लिपु नदी, टिङ्कर खोला, धौली गंगा, गोरी गंगा, सरयु, चमेलिया लगायतका नदी रहेका छन् । तर, भारतीय पक्षले कृत्रिम रुपमा खडा गरेको कालापानी र काली नदी कुनै पनि अर्थमा महाकालीको मूल नदी त के सहायक नदी हुने न्यूनतम आधार र औचित्य समेत छैन । संसदीय अनुगमन संयुक्त समितिका १५ माननीय सदस्य र तत्कालीन नापी विभागका महानिर्देशक पुण्यप्रसाद ओलीसमेत १६ जनामध्ये अहिले पनि १४ जना जीवितै छन् । भरतमोहन अधिकारी र रविन्द्रनाथ शर्माको निधन भइसकेको छ । उनीहरु सबै लिम्पियाधुरा क्षेत्रमा भएको भारतीय अतिक्रमणका जिउँदा साक्षी हुन् । नेपालको लिम्पियाधुरा क्षेत्रमा भारत–चीन युद्धपछि भारतीय सेना सो क्षेत्रमा बसिरहनु, नेपाल भूकम्प र नाकाबन्दीले आक्रान्त भएको बेला भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका बेला भारत–चीनबीच २०१५ मे १५ मा लिपुलेकलाई व्यापारिक नाकाको रुपमा खोल्न सहमत हुनु, भारतले लिम्पियाधुरालाई एकतर्फी रुपमा भारतको नक्सामा समावेश गरी सार्वजनिक गर्नु, नेपाल कोभिड–१९ को महामारीसँग जुझिरहेका बेला भारतले नेपालको भूमि भएर लिपुलेकसम्म बाटो निर्माण गरी उद्घाटन गर्नु भारतीय पक्षले नेपाली भूमिमाथि नाङ्गो रुपमा अतिक्रमण गरेका ज्वलन्त उदाहरणहरु हुन् । यता नेपाल पक्ष उच्चस्तरीय संसदीय समितिले नेपालको भूमि अतिक्रमण गरेको निष्कर्षसहित दिएको प्रतिवेदनलाई गम्भीरतापूर्वक नलिनु, भारतले लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गरी नक्सा जारी गरेपछि भएको सर्वदलीय बैठकले नेपालको भूमि फिर्ता गर्न सरकारलाई कूटनीतिक लगायतका आवश्यक कदम चाल्न दिएको सुझावपछि पनि कुनै सार्थक परिणाम प्राप्त हुन नसक्नु, भारतले नेपाललाई कुनै जानकारी नदिई नेपालको भूमि भएर लिपुलेकसम्मको बाटो उद्घाटन गर्नु जस्ता घटनाले स्थिति गम्भीर मोडमा पुगेको छ । यी घटनाको संगसंगै रक्षा मन्त्रीले कालापानी क्षेत्रको हेलिकप्टरद्वारा निरीक्षण गर्नुहुँदा भारतले निर्माण गरिरहेको बाटो नदेखेको, भूमिसुधार मन्त्रीकाे संसदीय समितिले लिम्पियाधुरा क्षेत्रलाई नेपालको नक्सामा समावेश गरी नेपालको नक्सा जारी गर्न दिएको निर्देशन बेवास्ता गरेको, गृहमन्त्रीले सीमा सुरक्षाको लागि सुरक्षा चौकी राख्नु पर्नेमा अहिलेसम्म सीमा चौकी स्थापना हुन नसकेको, भारतले एकपक्षीय रुपमा बाटो उद्घाटन गरेको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाई वक्तव्य जारी गरेको र परराष्ट्र मन्त्रीले सीमा विवाद सम्बन्धमा कूटनीतिक पहलद्वारा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको अवस्था छ । भारतले लिम्पियाधुरा लगायत विभिन्न सीमा क्षेत्रमा अतिक्रमण गरिरहने गरेको छ । आजसम्मका कुनै पनि सरकारले लिम्पियाधुरा क्षेत्रमा भारतीय सेनाले नेपालको भू–भाग कब्जा गरी बसिरहँदा पनि उपयुक्त कदम चाली भारतीय सेनालाई हटाई नेपालको भूमि फिर्ता गर्ने कार्य गर्न नसकेको यथार्थ घाम जत्तिकै छर्लङ्गै छ । आजसम्मको इतिहास हेर्दा नेपालका राजनीतिक दल र सरकारहरूले सीमा अतिक्रमण भएका विभिन्न घटनाहरूमा सीमा विवाद कूटनीतिक पहलद्वारा समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दै वक्तव्य दिनु बाहेक कुनै ठोस कदम चालेको देखिँदैन । अहिले भारतीय पक्षले नेपालको भूमिमा सडक निर्माण गरी लिपुलेकसम्मको सडक उद्घाटन गरेको समाचार सार्वजनिक भएपछि नेपालका राजनीतिक दल र सरकारबाट पुरानै परम्परालाई पछ्याउँदै सीमा विवाद कूटनीतिक माध्यमद्वारा पहल गरी समाधान गर्ने वक्तव्य सार्वजनिक भएका छन् । अब प्रश्न उठ्छ, लिम्पियाधुरा लगायत सीमा विवादमा नेपालको पक्षमा ऐतिहासिक तथ्य र प्रमाणहरू हुँदाहँुदै भारतले बारम्बार सीमा अतिक्रमण गर्दै जाने तर नेपालले कूटनीतिक माध्यमबाट विवादको समाधान गर्ने खालका वक्तव्य मात्र सार्वजनिक गर्ने अनि चुप लागेर बस्ने गरेको आजसम्मको रवैयाले के साँच्चै विवाद समाधान हुन्छ त ? के भारतीय सेना नेपाली भूमिबाट हटाई नेपालको अतिक्रमित भूमि फिर्ता हुन्छ ? कूटनीतिक पहल भनेको के हो ? भारतले बारम्बार सीमामा अतिक्रमण गर्दै जाने अनि नेपालले टुलुटुलु हेरेर बस्ने ? यही हो कूटनीतिक पहल ? त्रिदेशीय बिन्दुको रुपमा रहेको लिम्पियाधुरा क्षेत्रमा भारत र चीन बीच सहमति हुँदा नेपाललाई किन जानकारी र सहमति गराइएन ? यतिबेला यस्ता यावत् प्रश्नहरूको चित्त बुझ्ने जवाफ खोज्ने र नेपालले आफ्नो भूमि फिर्ता लिने उपयुक्त बेला आएको छ । अब नेपालका राजनीतिक दल र सरकारले विगतका राजनीतिक दल र सरकारहरूलाई दोष दिएर ओभानो बन्ने काम बन्द गर्नुपर्छ । नेपाल राष्ट्रको सार्वभैमिकता र सरहदलाई हाम्रा पुर्खाहरूले जगेर्ना गर्दै आएका हुन् र त्यसैकारण नेपाल एक स्वतन्त्र एवं सार्वभौमसत्तासम्पन्न राष्ट्रको हैसियतमा हामीलाई प्राप्त भएको हो । विदेशीको अतिक्रमण र हस्तक्षेपबाट मुक्त भएर स्वतन्त्र राष्ट्रको स्वाभिमानी नागरिकको रुपमा विश्व मानचित्रमा जिउने नेपाली जनताको चाहनालाई पूरा गर्न देशको स्वतन्त्रता, सार्वभौमिकता र सरहदको रक्षा गर्नु राजनीतिक दलहरू र सरकारको प्रथम दायित्व हो । सत्तामा होस् वा बाहिर, कसैले पनि वक्तव्यबाजी गरेर मात्र ऐतिहासिक दायित्व पूरा हुन्छ भनी सोच्नु हुँदैन । देशको शान र मान राख्न राजनीतिक÷कूटनीतिक लगायत जुनसुकै उपयुक्त कदम चाल्न सक्नु पर्दछ । कुरा राष्ट्रवादका गर्ने, विदेशी हस्तक्षेपलाई टुलुटुलु हेर्दै बस्ने परम्पराको अन्त गरौं, नत्र भने इतिहासले हामी कसैलाई पनि माफ गर्ने छैन । रासस  

ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्यो ट्राफिक पोल

काठमाडौं । ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । बैंकले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडाैं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने उक्त पोलहरु हस्तान्तरण गरेको हाे । बुधबार आयोजित एक कार्यक्रममा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई उक्त ट्राफिक पोलहरु हस्तान्तरण गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ढकालले बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बताए । बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ । उक्त अवसरमा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ, प्रहरी निरीक्षक जितेश दाहाल र बैंक तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

भक्तपुरका सडक-पसल पूर्ण बन्द गर्ने निर्णय, नियम उल्लङ्घन गरे कडा कारवाही

काठमाडौं ।  भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ । नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकबाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, “दुईवटा मुख्य सडकलाई खुला गर्ने र अरु सबै सडक स्थानीयबाहेक नयाँ मान्छेका लागि पूर्णरुपमा बन्द गरिएको छ, ती सडकमा पानी, खाद्यान्न, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधनबाहेक अरुलाई प्रवेश निषेध गरिएको छ, बाहिरबाट आएका नयाँ मान्छेलाई मध्यपुरथिमि प्रवेशमा पूर्णरुपमा रोक लगाएको छ ।” मध्यपुरथिमि नगरपालिकाभित्रका घरधनीलाई बाहिर जिल्लाबाट आएका कोही पनि व्यक्तिलाई बस्न नदिन निर्देशन जारी गरेको बताउँदै उनले कोरोना परीक्षण नगरी बसेका व्यक्तिमा पछि कोरोना भएको पुष्टि भएमा घरधनीलाई कारवाही गर्ने नगरपालिकाले निर्णय गरेको छ । नगरप्रमुख श्रेष्ठले भने, “हामी जटिल अवस्थामा छौँ, यस्तो बेलामा सानो लापरवाहीले ठूलो नोक्सान हुनसक्छ, त्यसैले कोरोना नेगेटिभ पुष्टि भएको प्रमाण बोकेर आउनेबाहेक विभिन्न जिल्लामा गएर फर्केर आएका व्यक्तिलाई आफ्नै कोठामा पनि बस्न दिएर संक्रमण भेटिएमा घरधनी आफै कारबाहीको भागिदार हुनुपर्छ ।” नगरपालिकाले लकडाउनलाई कडा गर्ने बताउँदै बिहान ९ बजेसम्म मात्रै तरकारी बजार खोल्न पाउने, खाद्यान्न, औषधि, ग्यास, पानीजस्ता अत्यावश्यकबाहेकका सम्पूर्ण पसल बन्द गरिने बताए । मासु, भट्टी, चियाखाजा पसल, फुटपाथ पसल पनि बन्द गराइने भएको छ । अत्यावश्यकबाहेक अन्य पसल खोलेमा कारवाही गरिने भएको छ । लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गराउन प्रहरीको साथै नगरपालिकाले १२५ जना स्वयंसेवक खटाउने भएको छ । परिचालन हुने स्वयंसेवकलाई प्रशासनको समन्वयमा नगरपालिकाले उपलब्ध गराएको पोशाक लगाएर परिचालन गरिने भएको छ । नगरपालिकाका सबै जनप्रतिनिधिको स्वाब सङ्कलन गरी आफ्नै प्रयोगशालामा परीक्षण गरिएको छ । आज अपराह्न ४ बजे नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्थापना भएको ल्याबमा कोरोनाको परीक्षण गरिएको हो । रिपोर्ट भने आउँन बाँकी छ । नगरपालिकाले कोरोना परीक्षण गर्न ल्याएको ल्याबलाई सरकारले अझै सञ्चालनमा स्वीकृति नदिँदा अन्य व्यक्तिको स्वाब सङ्कलन एवं परीक्षण गर्न नपाए पनि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी एवं स्थानीय सञ्चारकर्मीको भने स्वाब सङ्कलन गरेर परीक्षण गर्ने भएको छ । यही २९ गते सुनसरीबाट आएर मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकस्थित साथीको कोठामा बसेकी एक २५ वर्षीया महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका करिब २० घरलाई प्रहरीले सिल गरेपछि नगरपालिकाले कडा निर्णय लिएको हो । ललितपुरको निदान अस्पतालमा कार्यरत नर्सलाई कोरोना सङ्क्रमण भएपछि मङ्गलबारबाटै टेकुस्थित आइसोलेन वार्डमा भर्ना गरिएको छ । थिमि शङ्खधर चोकमै बस्ने उनकी साथी शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत एक नर्सको भने भक्तपुर अस्पतालमा आज स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएर सोही अस्पतालको आइसोलेसनमा राखिएको छ । भक्तपुर कै चाँग्ुनारायण नगरपालिका–१ दुवाकोट बस्ने सशस्त्र प्रहरी बलका एक प्रहरीलाई पनि कोरोना सङ्क्रमण भएको पाइएको थियो । उनको पनि टेकु अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमित प्रहरीका छोरासहित परिवारलाई पनि परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ । शङ्खधर चोकको सिल गरिएको बस्तीका बासिन्दाको पनि भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरु गरिएको छ । त्यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत स्टाफ नर्समा कोरोना भाइरस पोजेटिभ नदेखिएको केन्द्रले दाबी गरेको छ । रासस

लकडाउनमा यातायातः चालक/सहचालक मात्र होइन लाखौंको जागिर गुम्यो

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण यातायत क्षेत्रका धेरै मानिसहरुको रोजगारी गुमेको छ । करिब २ महिनादेखि जारी लकडाउनको कारण यातायात बन्द हुँदा गाडी चालक, सहचालक र अन्य कामदारहरुले पनि रोजगारी गुमाएका हुन् । यातायात क्षेत्रमा काम गर्ने कामदारहरु पनि यतिखेर समस्यामा परेका छन् । प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिब ४०/४५ लाख मानिसहरुले यातायात क्षेत्रमा रोजगारी पाएका थिए । चैत १० गतेदेखि थन्किएका यात्रुवाहक गाडीहरु अहिले ग्यारेजमै छन् । यो डेढ महिनाको समयावधिसम्म आइपुग्दा व्यवसायीहरुले करिब ३३ अर्ब रुपैयाँ नोक्सान व्यहोर्नु परेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । यति मात्र होइन सार्वजनिक यातायातको खर्बाैं लगानी यतिबेला डुब्ने अवस्थामा छ । सरकारले अत्यावश्यक क्षेत्रमा लकडाउन केही खुकुलो बनाएपनि यातायात क्षेत्र भने कहिले सहज रुपमा चल्न थाल्नछन् अनिश्चि नै छ । लामो समयदेखि सार्वजनिक यातायातका साधन ग्यारेज तथा घरमा थन्किएका छन् । ४ लाख व्यवसायीहरु छन् । त्यसमा ६० प्रतिशत स्वरोजगार नै छन् । उनका अनुसार यातायात क्षेत्रमा १० लाख व्यक्तिले रोजगारी पाएका र उनीहरुमार्फत ४०÷४५ लाख मानिसले रोजगारी पाएको उनले बताए ।

कामना सेवा विकास बैंकले सबै कर्मचारीको गरायो कोरोना बीमा

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना सबै कर्मचारीहरुको कारोना बीमा गराएको छ । विकास बैंकले आफ्ना कर्मचारीहरुको स्वास्थ्य र आर्थिक सुरक्षालाई मध्यनजर गर्दै नेको इन्स्योरेन्स मार्फत सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको हो । विश्वभर फैलिएको महामारी र यसको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटीरहेका कर्मचारीहरुको उच्च मूल्याँकन गर्दै सेवामा थप उत्साहित र उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नको लागि बीमा गरिएको बैंकका प्रमूख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । यस अगाडि बैंकले नागरिकहरुको लागि कोरोना सुरक्षा बचत खाता समेत सञ्चालनमा ल्याई सकेको छ ।

आइएमई जनरल इन्सुरेन्सको नाफा बढ्यो, बीमा शुल्क घट्यो

काठमाडौं । आइएमई जनरल इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म १० करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ७.३६ प्रतिशत बढी हो । कम्पनीले गत वर्षको सोहि अवधिमा १० करोड २ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क ८.२१ प्रतिशतले घटेर ३६ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको बीमा कोष र खुद दावी भुक्तानी बढेर क्रमशः ३० करोड ४७ लाख र १५ करोड ४० लाख रुपैयाँ पुगेको छ । कम्पनीको अनुसार ६४ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ । १ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २१ करोड ९४ लाख रुपैयाँ छ । त्यस्तै, वार्षिक प्रतिसेयर आम्दानी १४.०२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ रहेको छ ।

धरासायी बन्यो यातायात क्षेत्र, डेढ महिना गाडी नचल्दा ३३ अर्ब घाटा

काठमाडौं । कोरोनाको कारण भएको लकडाउनले देशको यातायात क्षेत्रलाई ठूलो नोक्सान भएको छ । चैत ११ गतेदेखि निरन्तर रुपमा बढ्दै गएको लकडाउनको कारण यातायात व्यवसायीको व्यवसाय पनि ठप्प नै बनेको हो । चैत १० गतेदेखि थन्किएका  गाडीहरु अहिले ग्यारेजमै छन् ।  यो डेढ महिनाको समयावधिसम्म आइपुग्दा व्यवसायीहरुले करिब ३३ अर्ब रुपैयाँ नोक्सान व्यहोर्नु परेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । यति मात्र होइन सार्वजनिक यातायातको खर्बाैं लगानी यतिबेला डुब्ने अवस्थामा छ । सरकारले अत्यावश्यक क्षेत्रमा लकडाउन केही खुकुलो बनाएपनि यातायात क्षेत्र भने कहिले सहज रुपमा चल्न थाल्नछन् अनिश्चि नै छ । लामो समयदेखि सार्वजनिक यातायातका साधन ग्यारेज तथा घरमा थन्किएका छन् । गाडी मात्र थन्किएका छैनन् । यातायात क्षेत्रमा काम गर्ने कामदारहरु पनि यतिखेर समस्यामा परेका छन् । प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिब ४०/४५ लाख मानिसहरुले यातायात क्षेत्रमा रोजगारी पाएका छन् । अहिले ती सबै मानिसहरु प्रभावित भएका छन् । ‘एक/डेढ महिनादेखि सार्वजनिक यातायात बन्द हुँदा धेरैलाई घर खर्च चलाउन पनि समस्या भएको छ, गाडी ग्यारेजमै थन्किएका कारण बिग्रिन थालेका छन्, अब गाडीको धेरै सामान रिपेयर गर्नु पर्ने हुन्छ, त्यसले पनि अझ बढी आर्थिक भार थुपार्छ,’ सिटौलाले भने । गाडी ग्यारेजमा थन्किएको हुनाले इन्जिन बिग्रेर झन खर्च बढिरहेको छ । लामो समयदेखि ग्यारेजमा थन्किएकाले सवारीमा खिया लाग्ने, इन्जिन बिग्रिने टायर कुहिने गर्दा खर्च बढेको उनले गुनासो गरे । सार्वजनिक यातायात डुब्दा बैंक तथा बित्तीय संस्था पनि डुब्ने र सरकारलाई समेत ठूलो धक्का लाग्ने भन्दै उनले सरकारले सार्वजनिक यातायातका ग्राहकलाई राहात प्ययाकेजको व्यवस्था गर्नुपर्ने बताए । ‘लकडाउनका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र सार्वजनिक यातायात हो, सरकारले किस्ताको अवधिमा सहुलियत तथा ब्याज मिनाह गरी सार्वजनिक यातायातलाई बचाउनुपर्छ,’ उनले भने । चैतको समयमा धेरै व्यवसायीहरुले घरजग्गा धितो राखेर पनि गाडी खरिद गरेका थिए । ती गाडी पनि थन्किएकै छन् । गाडीबाट आम्दानी नभएपछि अहिले व्यवसायीहरु समस्यामा परेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले ऋणको किस्ता र व्याजका लागि समय–समयमा तिर्न निर्देशन दिइरहेको बेला व्यवसायीहरु समस्यामा पर्ने गरेको उनको भनाइ छ । ऋण तिर्न समस्या भइरहेको बताउँदै उनले किस्तामा सहुलियत तथा व्याज मिनाहाका लागि सबै व्यवसायीले सरकारसँग पहल गर्नुपर्ने बताए । ‘सार्वजनिक यातायातका साधनको वार्षिक कर, रुट प्रमिट, नवीकरण, जाचँपासको अवधि लकडाउन खुलेपछि स्वतः थप गर्न तथा चालक अनुमतिपत्र नवीकरण गर्दा लकडाउन खुलेको तीन महिनासम्म जरिवाना नलाग्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छौं, देशको अर्थतन्त्रमा वार्षिक १० खर्बको योगदान दिने यातायात क्षेत्रलाई सरकारले सहयोग नगरे ठूलो घाटा लाग्ने छ,’ उनले भने । यात्रुवाहक गाडी अनिश्चित अहिले यातायात क्षेत्रमा १० खर्बको लगानी छ । त्यसमा ५० प्रतिशत यात्रुवाहक गाडीको लगानी छ । ४ लाख व्यवसायीहरु छन् । त्यसमा ६० प्रतिशत स्वरोजगार नै छन् । मालवाहक गाडीहरु केही मात्रामा चलिरहे पनि यात्रुवाहक गाडी चल्ने भने अनिश्चित नै छ । यो समयावधिमा यात्रुवाहक गाडी नचल्दा यातायात व्यवसायीहरुलाई समस्या नै भएको छ । कोरोना भाइरसको महामारी दिनप्रतिदिन बढ्दै गएको छ । यसले पनि यात्रुवाहक गाडीहरु चल्ने अनिश्चित नै छ । यसले पनि अझै खर्बौ नोक्सान हुने उनीहरुले अनमान गरेका छन् । यसका लागि पनि यातायात व्यवसायीहरुले केही विशेष प्रकारको प्याकेजको माग गरेका छन् । यातायात व्यवसायीको माग के हो ? कोरोना भाइरसको कारण सबैभन्दा असर यातायात क्षेत्रलाई परेको छ । करिब १० खर्ब लगानी रहेको यातायात क्षेत्रमा अहिले धेरैको रोजागारी पनि गुमेको छ ।। उनीहरुले संकटमा परेको यातायात क्षेत्रलाई रिभाइव गर्नको लागि र रोजगारी गुमेका कामदारहरुलाई पुनः काममा फर्काउनको लागि सरकारले विशेष प्याकेज ल्याउनु पर्ने उनीहरुको भनाई छ । महासचिव सरोज सिटौलाका अनुसार लकडाउनका कारण ४ लाखभन्दा बढी सवारीसाधन घर, पार्किङ स्थल र ग्यारेजमा थन्किएका छन् । यातायात व्यवसायीको ८० प्रतिशत ऋण लगानी छ । अहिले गाडी सञ्चालन नहुँदा धेरै बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र व्याज तिर्न पनि समस्या भएको उनले बताए । उनका अनुसार यातायात क्षेत्रमा १० लाख व्यक्तिले रोजगारी पाएका र उनीहरुमार्फत ४०÷४५ लाख मानिसले रोजगारी पाएको उनले बताए । आगामी आर्थिक वर्षको बजेटमा सरकारले यातायात व्यवासयीलाई विशेष प्रकारको राहत प्याकेज ल्याउनु पर्ने उनले बताए । व्यवसायीका लागि सरकारले अल्पकालीन र दीर्घकालीन प्याकेज ल्याउनु पर्ने उनले बताए । ‘सरकारले लकडाउन अवधिको ब्याज मिनाहा गरिर्नु पर्छ, बैंकको किस्ता भुक्तानीका लागि सहजीकरण गरिनुपर्ने तथा सबै प्रकारका कागजात नवीकरण र सरकारी प्रक्रिया पूरा गर्दा जरिवाना लिन नहुने अल्पकालीन योजना सरकारले ल्याउनु पर्छ,’ उनले भने । उनले यातायात मन्त्री, गृहसचिव, बीमा समिति, बिमक संघ र यातायात व्यवस्था विभागका महानिर्देशकलगायतलाई भेटेर आफ्ना समस्याका बारेमा ध्यानाकर्षण गराइसकेको पनि बताएका छन् ।