
काठमाडौं । कोरोनाको कारण भएको लकडाउनले देशको यातायात क्षेत्रलाई ठूलो नोक्सान भएको छ । चैत ११ गतेदेखि निरन्तर रुपमा बढ्दै गएको लकडाउनको कारण यातायात व्यवसायीको व्यवसाय पनि ठप्प नै बनेको हो ।
चैत १० गतेदेखि थन्किएका गाडीहरु अहिले ग्यारेजमै छन् । यो डेढ महिनाको समयावधिसम्म आइपुग्दा व्यवसायीहरुले करिब ३३ अर्ब रुपैयाँ नोक्सान व्यहोर्नु परेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
यति मात्र होइन सार्वजनिक यातायातको खर्बाैं लगानी यतिबेला डुब्ने अवस्थामा छ । सरकारले अत्यावश्यक क्षेत्रमा लकडाउन केही खुकुलो बनाएपनि यातायात क्षेत्र भने कहिले सहज रुपमा चल्न थाल्नछन् अनिश्चि नै छ । लामो समयदेखि सार्वजनिक यातायातका साधन ग्यारेज तथा घरमा थन्किएका छन् । गाडी मात्र थन्किएका छैनन् । यातायात क्षेत्रमा काम गर्ने कामदारहरु पनि यतिखेर समस्यामा परेका छन् । प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिब ४०/४५ लाख मानिसहरुले यातायात क्षेत्रमा रोजगारी पाएका छन् । अहिले ती सबै मानिसहरु प्रभावित भएका छन् ।
‘एक/डेढ महिनादेखि सार्वजनिक यातायात बन्द हुँदा धेरैलाई घर खर्च चलाउन पनि समस्या भएको छ, गाडी ग्यारेजमै थन्किएका कारण बिग्रिन थालेका छन्, अब गाडीको धेरै सामान रिपेयर गर्नु पर्ने हुन्छ, त्यसले पनि अझ बढी आर्थिक भार थुपार्छ,’ सिटौलाले भने ।
गाडी ग्यारेजमा थन्किएको हुनाले इन्जिन बिग्रेर झन खर्च बढिरहेको छ । लामो समयदेखि ग्यारेजमा थन्किएकाले सवारीमा खिया लाग्ने, इन्जिन बिग्रिने टायर कुहिने गर्दा खर्च बढेको उनले गुनासो गरे । सार्वजनिक यातायात डुब्दा बैंक तथा बित्तीय संस्था पनि डुब्ने र सरकारलाई समेत ठूलो धक्का लाग्ने भन्दै उनले सरकारले सार्वजनिक यातायातका ग्राहकलाई राहात प्ययाकेजको व्यवस्था गर्नुपर्ने बताए ।
‘लकडाउनका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र सार्वजनिक यातायात हो, सरकारले किस्ताको अवधिमा सहुलियत तथा ब्याज मिनाह गरी सार्वजनिक यातायातलाई बचाउनुपर्छ,’ उनले भने । चैतको समयमा धेरै व्यवसायीहरुले घरजग्गा धितो राखेर पनि गाडी खरिद गरेका थिए । ती गाडी पनि थन्किएकै छन् । गाडीबाट आम्दानी नभएपछि अहिले व्यवसायीहरु समस्यामा परेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले ऋणको किस्ता र व्याजका लागि समय–समयमा तिर्न निर्देशन दिइरहेको बेला व्यवसायीहरु समस्यामा पर्ने गरेको उनको भनाइ छ ।
ऋण तिर्न समस्या भइरहेको बताउँदै उनले किस्तामा सहुलियत तथा व्याज मिनाहाका लागि सबै व्यवसायीले सरकारसँग पहल गर्नुपर्ने बताए । ‘सार्वजनिक यातायातका साधनको वार्षिक कर, रुट प्रमिट, नवीकरण, जाचँपासको अवधि लकडाउन खुलेपछि स्वतः थप गर्न तथा चालक अनुमतिपत्र नवीकरण गर्दा लकडाउन खुलेको तीन महिनासम्म जरिवाना नलाग्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छौं, देशको अर्थतन्त्रमा वार्षिक १० खर्बको योगदान दिने यातायात क्षेत्रलाई सरकारले सहयोग नगरे ठूलो घाटा लाग्ने छ,’ उनले भने ।
यात्रुवाहक गाडी अनिश्चित
अहिले यातायात क्षेत्रमा १० खर्बको लगानी छ । त्यसमा ५० प्रतिशत यात्रुवाहक गाडीको लगानी छ । ४ लाख व्यवसायीहरु छन् । त्यसमा ६० प्रतिशत स्वरोजगार नै छन् । मालवाहक गाडीहरु केही मात्रामा चलिरहे पनि यात्रुवाहक गाडी चल्ने भने अनिश्चित नै छ । यो समयावधिमा यात्रुवाहक गाडी नचल्दा यातायात व्यवसायीहरुलाई समस्या नै भएको छ । कोरोना भाइरसको महामारी दिनप्रतिदिन बढ्दै गएको छ । यसले पनि यात्रुवाहक गाडीहरु चल्ने अनिश्चित नै छ ।
यसले पनि अझै खर्बौ नोक्सान हुने उनीहरुले अनमान गरेका छन् । यसका लागि पनि यातायात व्यवसायीहरुले केही विशेष प्रकारको प्याकेजको माग गरेका छन् ।
यातायात व्यवसायीको माग के हो ?
कोरोना भाइरसको कारण सबैभन्दा असर यातायात क्षेत्रलाई परेको छ । करिब १० खर्ब लगानी रहेको यातायात क्षेत्रमा अहिले धेरैको रोजागारी पनि गुमेको छ ।। उनीहरुले संकटमा परेको यातायात क्षेत्रलाई रिभाइव गर्नको लागि र रोजगारी गुमेका कामदारहरुलाई पुनः काममा फर्काउनको लागि सरकारले विशेष प्याकेज ल्याउनु पर्ने उनीहरुको भनाई छ ।
महासचिव सरोज सिटौलाका अनुसार लकडाउनका कारण ४ लाखभन्दा बढी सवारीसाधन घर, पार्किङ स्थल र ग्यारेजमा थन्किएका छन् । यातायात व्यवसायीको ८० प्रतिशत ऋण लगानी छ । अहिले गाडी सञ्चालन नहुँदा धेरै बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र व्याज तिर्न पनि समस्या भएको उनले बताए । उनका अनुसार यातायात क्षेत्रमा १० लाख व्यक्तिले रोजगारी पाएका र उनीहरुमार्फत ४०÷४५ लाख मानिसले रोजगारी पाएको उनले बताए । आगामी आर्थिक वर्षको बजेटमा सरकारले यातायात व्यवासयीलाई विशेष प्रकारको राहत प्याकेज ल्याउनु पर्ने उनले बताए ।
व्यवसायीका लागि सरकारले अल्पकालीन र दीर्घकालीन प्याकेज ल्याउनु पर्ने उनले बताए । ‘सरकारले लकडाउन अवधिको ब्याज मिनाहा गरिर्नु पर्छ, बैंकको किस्ता भुक्तानीका लागि सहजीकरण गरिनुपर्ने तथा सबै प्रकारका कागजात नवीकरण र सरकारी प्रक्रिया पूरा गर्दा जरिवाना लिन नहुने अल्पकालीन योजना सरकारले ल्याउनु पर्छ,’ उनले भने । उनले यातायात मन्त्री, गृहसचिव, बीमा समिति, बिमक संघ र यातायात व्यवस्था विभागका महानिर्देशकलगायतलाई भेटेर आफ्ना समस्याका बारेमा ध्यानाकर्षण गराइसकेको पनि बताएका छन् ।