काठमाडौं । दार्चुलाको कालापानी क्षेत्रमा भारतले नेपाली भूमि मिचेर बाटो बनाएसँगै लिपुलेक नजिक नेपालले सुरक्षा पोस्ट खडा गर्ने भएको छ ।
उक्त सुरक्षा पोस्ट खडा गर्नका लागि नेपाली सेनाको हेलिकप्टरमा गृह मन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई तथा सशस्त्र प्रहरीका एआइजी नारायणबाबु थापा सहितको टोली बुधबार बिहान दार्चुलाको खलंगा गएका छन् ।
खलंगाबाट सो हेलिकप्टरमा सशस्त्र प्रहरीका निरीक्षकको नेतृत्वमा २५ सुरक्षाकर्मीसहितको टोली लिपुलेक नजिकैको छाङ्गरु जाने छ । भारतले दार्चुला हुँदै तिब्बतको मानसरोवरसम्म जाने बाटो बनाउने क्रममा नेपाली भूमि लिपुलेक–कालापानीको प्रयोग गरेको छ ।
वैशाख २६ गते भारतले ७९ किलोमिटरको बाटो उद्घाटन गरेपछि नेपालमा विरोध भइरहेको छ । सरकारले विरोध चर्किएपछि सो क्षेत्रमा सुरक्षा पोस्ट खडा गर्ने निर्णय गरेको थियो ।