बेलकोटगढी–२ मा स्वास्थ्य चौकी बन्दै, रामप्रसादले दिए १ रोपनी जग्गादान

<p>नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर २ मा स्वास्थ्य चौकी बन्ने भएको छ । स्वस्थ्य चौकी निर्माणको लागि नगरपालिकाले ६७ लाख ६४ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ भने स्वास्थ्य चौकी निर्माणका लागि स्थानीयबासी एवं समाजसेवी रामप्रसाद तिमिल्सिनाले १ रोपनी जग्गादान गरेका छन् । जग्गादान गर्ने काम गत सोमबार भएको जग्गादाता रामप्रसादको छोरा उत्तम तिमल्सिनाले [&hellip;]</p>

नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर २ मा स्वास्थ्य चौकी बन्ने भएको छ । स्वस्थ्य चौकी निर्माणको लागि नगरपालिकाले ६७ लाख ६४ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ भने स्वास्थ्य चौकी निर्माणका लागि स्थानीयबासी एवं समाजसेवी रामप्रसाद तिमिल्सिनाले १ रोपनी जग्गादान गरेका छन् ।

जग्गादान गर्ने काम गत सोमबार भएको जग्गादाता रामप्रसादको छोरा उत्तम तिमल्सिनाले जानकारी दिए । हजुरबुबाले श्रमिक निमावि बनाउन ७ रोपनी जग्गा दिएको र अहिले बुबाले स्वास्थ्य चौकी बनाउन १ रोपनी जग्गा दिएको उनले बताए ।

स्वास्थ्य चौकी निर्माणको लागि कम्तिमा ३ रोपनी जग्गा आवश्यक हुने सरकारी मापदण्ड छ । सरकारी मापदण्ड अनुसार ३ रोपनी जग्गा पाउन नसकेको मेयर राजेन्द्ररमण खनालले बताए । ‘१ रोपनी जग्गा रामप्रसाद तिमिल्सिनाले दिनु भएको छ । उक्त जग्गासँगै जोडिएको २ रोपनी सरकारी जग्गासमेत प्रयोग गरेर ३ रोपनी क्षेत्रफलमा स्वास्थ्य चौकी बनाउँदै छौं’ मेयर खनालले विकासन्युजसँग भने ।

स्वास्थ्य चौकी भवन बनाउन १ करोड ६५ लाख रुपैयाँ लागत अनुमान गरिएको बेलकोटगढी वडा नम्बर २ का अध्यक्ष रमेश न्यौपानेले बताए । स्वास्थ्य चौकी निर्माणको लागि यस वर्ष ६७ लाख ६४ हजार रुपैयाँ निकासा भएको र आगामी वर्ष ९७ लाख ३६ हजार रुपैयाँ थप्ने योजना रहेको उनले जानकारी दिए ।

स्वास्थ्य चौकीमा नर्स, अनमी, सहित ८/९ जना कर्मचारी रहने वडा अध्यक्ष न्यौपानेले बताए । साधारण विरामीको उपचारदेखि सुत्केरी गराउने सम्मको उपचार स्वास्थ्य चौकीमा हुने उनले बताए । ‘साधारण विरामीको उपचार गर्नदेखि सुत्केरी गराउन, विभिन्न खोप लगाउन स्थानीयबासी काठमाडौं जानुको विकल्प छैन, केही महिनापछि यी स्वास्थ्य सुविधा वडामा नै पाइन्छ’ अध्यक्ष न्यौपानेले भने ।

आगामी कात्तिकसम्म भवन निर्माण पहिलो चरणको काम सकिने गरि टेण्डर आह्वान गर्न लागिएको उनले बताए ।

१३ वडा रहेको यस नगरपालिकामा वडा नम्बर २, ४, ६, १०, ९, १३ अहिलेसम्म स्वास्थ्य चौकी छैन । वडा नम्बर ५ र १२ मा दुई दुई वटा स्वास्थ्य चौकी रहेको छ ।

‘पहिला सबै गाविसमा स्वास्थ्य चौकी थिए । पुर्नसंरचना पछि कुनै वडामा २ वटा छन्, कुनै वडामा एउटा पनि छैन’ मेयर खनालले भने–‘आगामी आर्थिक वर्षभित्र सबै वडामा स्वास्थ्य चौकी स्थापना हुनेछ ।’ १ नम्बर वडामा रहेको हेल्थपोष्टमा पूर्वाधार र जनशक्ति सबै कमजोर रहेकोले स्तरवृद्धि गरिने उनले बताए ।

Share News