प्रदेश २ बाट वाग्मती प्रदेश प्रवेश गर्ने नाका बन्द हुने
काठमाडौं । प्रदेश दुई हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको चुरियामाई नाका भोलिदेखि बन्द गरिने भएको छ । प्रदेशसँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण फैलिएपछि मकवानपुरको कमाण्ड पोष्टले चुरियामाई हुँदै हेटौँडा आवतजावत बन्द गर्ने निर्णय गरेको हो । देशमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएपछि र छिमेकी जिल्लाहरुमा समेत कोरोनाको सङ्क्रमण फैलिएपछि मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अग्रसरतामा सरोकारवालाहरुको विशेष बैठक बसेको थियो । बैठकपछि जिल्ला कमाण्ड पोष्टमार्फत लकडाउनलाई समेत कडा बनाउने निर्णय भएको प्रमुख खुलालले जानकारी दिए । कमाण्ड पोष्टको आजको बैठकले अन्य जिल्लाबाट मकवानपुर प्रवेश गर्ने नाकाहरुमा समेत कडाइ गर्ने निर्णय गरेको छ । बैठकले खाद्यान्न तथा ग्यास पसल बिहान ९ बजेसम्म, औषधि तथा भेटेरिनरी एवं मलबीउ जस्ता कृषि पसललाई दिनभरि खोल्न दिने निर्णय गरेको छ । बैठकले जेठ १ गतेबाट भने माछामासु तथा तरकारी बजार पूर्णरुपमा बन्द गर्ने, बैैंकलाई भीडभाड नहुने गरी बिहान १० देखि ३ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको छ । त्यस्तै हेटौँडाको चुरेक्षेत्रको वनजङ्गलबाट समेत तराईका जिल्लाबाट मानिसहरु आउने गरेको पाइएकाले उनीहरुलाई रोक्नका लागि त्यस क्षेत्रका वडा अध्यक्ष र स्थानीय समेतको समिति बनाएर नियन्त्रणको काम गर्ने निर्णय भएको बैठकमा सहभागी हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । हेटौँडामा कोरोना भाइरस भित्रन नदिनका लागि धेरै खालका उपाय अपनाउन लागिएको उनले बताए । रासस
रुपन्देहीका पहिलो कोरोना संक्रमित घर फिर्ता
बुटवल । रुपन्देहीमा कोरोना संक्रमण भएका पहिलो व्यक्ति आज घर फर्केका छन् । जिल्लाको कोटहीमाई गाउँपालिका पुर्निहवका २५ वर्षीय युवक कोरोनामुक्त भएर घर फर्किएका हुन् उनको तेस्रो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए । कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष अस्पतालमा वैशाख १९ गते भर्ना गरेर उपचार गरिएको थियो । “लगातार दुई पटकसम्म कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरेका हौंँ”, मेसु डा खनालले भने, “रिपोर्ट नेगेटिभ देखिए पनि तत्काललाई १२ दिन घरमै क्वारेन्टाइन बस्न सल्लाह दिएर पठाएका छौँ ।” क्वारेन्टाइनमा नाच्दै रोजगारीका लागि भारतमा गएका उनी वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल पसेका थिए । गाउँलेले उनी आएको जानकारी स्थानीय प्रशासनलाई दिएपछि स्थानीय क्वारेन्टाइनमा पठाइएको थियो । क्वारेन्टाइनमै रहेका बेला उनीलगायत ३० जनाको स्वाब परीक्षण गर्दा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा बस्दा उनले गीतसंगीतमा तथा नृत्यमा लागेर रमाइलो गर्ने गरेका थिए । रासस
पासबारे गृहकाे नयाँ रणनीति: अब यसरी पाउन सकिन्छ
काठमाडौं । गृह मन्त्रालयले लकडाउनमा कडाईं गर्ने भएको छ । त्यसका लागि मंगलबार बसेको बैठकले सबै सवारी पास रद्द गर्ने, एक जिल्लाबाट अर्को जिल्ला जानमा रोक लगाउने निर्णय गरेको छ । मन्त्रालयले मंगलबार दिउँसो यस्ताे निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिहरु कसैले पनि अब जान नपाउने भएका छन् भने सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ । गृह मन्त्रालयका शाखा अधिकृत सहदेव गाैतमले ‘बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको बताए । उनले उपत्यकाको तीन जिल्लाको हकमा भने एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने प्रावधान लागू नहुने बताए । तर उनले उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ बताए । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ । यस्ता छन् निर्णय: १ . एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी गरिएका ई – पास लगायतका सम्पूर्ण सवारी पासहरु खारेज । २ . एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था भए उपत्यका बाहिरका जिल्लाहरुको हकमा पास जारी गर्ने जिल्लाले पुग्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र पास जारी गर्ने । ३ . काठमाण्डौं उपत्यका बाहिरका जिल्लाले काठमाण्डौं उपत्यका प्रवेश गर्नका लागि पास जारी गर्नुपर्ने अत्यावश्यक भए गृह मन्त्रालयको स्वीकृतिमा मात्र पास जारी गर्ने । ४ . पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्नाको प्रयोजन र पुष्ट्याई समेत खुलाई पठाउने । ५ काठमाण्डौं उपत्यका प्रवेशका लागि पास जारी गर्दा जारी पासमा गृह मन्त्रालयको स्वीकृति नम्बर समेत उल्लेख । ६ . जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पास विना एक जिल्लाबाट अर्को जिल्ला जाने गरी सवारी आवागमन भए गरेको पाइए तत्काल शुरु जिल्लाले ने अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोकने व्यवस्था मिलाउने ।
प्रिबजेट छलफल: कोरोना नियन्त्रणदेखि गाँजा खेती प्रवद्र्धन गर्नेसम्म
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरुले आगामी बजेटमा कृषि विकास, कोरोना नियन्त्रण र रोजगारीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा भाग लिँदै उनीहरुले कोरोनाका कारण विदेशबाट ठूलो जनशक्ति स्वदेश फर्किने सम्भावना रहेको भन्दै कृषिमा अनुदान र आधुनिकीकरणका लागि बजेटमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । सांसद विरोध खतिवडाले कारोनाको महामारी नियन्त्रणका साथै गाँजा खेती प्रवद्र्धनका कार्यक्रमसमेत आगामी बजेटमा समेट्न सुझाव दिए । सांसद लालबाबु पण्डितले कोरोना नियन्त्रण, रोजगारी सिर्जना, कृषि र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नेमा बजेट केन्द्रित हुनुपर्छ भने । सांसद रामबहादुर विष्टले कृषि विकास, कोरोना नियन्त्रण र रोजगारीलाई केन्द्रमा राखेर समानुपातिक र समावेशी ढङ्गबाट बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । सांसद खेम लोहनीले निजी क्षेत्रसँग सहकार्य, स्थानीय तहको परिचालनलगायत लोक कल्याणकारी राज्यको अवधारणासहित आएको बजेटको सिद्धान्त र प्राथमिकताले मात्र मुलुकको भविष्य उज्वल हुने धारणा व्यक्त गरे । सांसद सुजाता परियारले बजेटले आवश्यक प्राथमिकता निर्धारण गर्न नसकेको जनाउँदै उद्यमशीलता बढाएर युवालाई विदेश जानबाट रोक्ने कार्यक्रम ल्याउन सुझाव दिए । बैठकमा प्रेम सुवाल, पवित्रा निरौला (खरेल), सुजिता शाक्यलगायतले आगामी बजेट कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका थिए । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल सम्पन्न भएपछि भोलि अर्थमन्त्री डा युवराज खतिवडाले छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुने कार्यक्रम छ । प्रतिनिधिसभाको अर्काे बैठक यही वैशाख ३१ गते दिउँसो १ बजे बस्नेछ । रासस
जुम्लामा क्वारेन्टाइनमा बसेका ९ सय ३० घर फिर्ता
जुम्लाका । जुम्लाका आठ स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसेका ९३० जना १४ दिनको अवधि पूरा गरेर घर फर्केका छन् । जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ७४७ र मंगलबार १८२ जनालाई कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएपछि घर पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए । यहाँको चन्दननाथ नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा एक, हिमा गाउँपालिकामा २७, तातोपानी गाउँपालिकामा ४८, पातारासी गाउँपालिकामा ४९ र गुठीचौर गाउँपालिकामा ५७ जना मात्र क्वारेन्टाइनमा रहेको जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए । तिला, कनकासुन्दरी र सिंजा गाउँपालिकाका क्वारेन्टाइन मंगलबारदेखि खाली भएको गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएका छन् । जिल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले कोभिड–१९ संक्रमण भएनभएको परीक्षण गर्दै आएको छ । यसबाहेक यहाँका स्थानीय तहका विभिन्न स्थानमा ¥यापिड डायग्नोष्टिक टेष्ट विधिमार्फत पनि परीक्षण भइरहेको प्रतिष्ठानका निर्देशक मंगल रावलले बताए । जिल्लाभर ५२१ शय्याको क्वारेन्टाइन, १२० शय्याको आइसोलेशन र नौ हेल्थ डेस्कमा हालसम्म १० हजार ९७० जनाले स्वास्थ्य परीक्षण गरेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए । एक हजारको पिसिआर परीक्षण प्रतिष्ठान र जनस्वास्थ्य कार्यालयले यहाँका एक हजार जनाको पिसिआर परीक्षण गर्न तयार गरेको छ । जिल्लामा कोरोना संक्रमित नभेटिएकाले स्थानीयबासीको घरदैलामै पुगेर स्वाब संकलन गरी पिसिआर परीक्षण गर्ने तयारी थालिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । आठ स्थानीय तहका ६० वडामा आइतबारदेखि स्वास्थ्यकर्मी परिचालन गरिएको छ । एक वडामा कम्तीमा १० जनाको स्वाब परीक्षण सकाएर पिसिआर विधिबाट परीक्षण गरिने जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।
नर्सको व्यावसायिक जीवनको सुरक्षाको दायित्व सरकारको हो: मुख्यमन्त्री पौडेल
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नर्सहरुको व्यावसायिक जीवनको सुरक्षाको दायित्व सरकारको भएको बता्एका छन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो दायित्व निर्वाह गर्ने स्वास्थ्यकर्मीहरुको जीवनको सुरक्षा र आइपर्ने जोखिमको सामना गर्नु सरकारको दायित्व हो भन्ने कुरामा वाग्मती प्रदेश सरकार स्पष्ट रहेको बताए । “अन्तर्राष्ट्रिय नर्सिङ दिवस तथा नर्सिङ क्षेत्रकी तारा फ्लोरेन्स नाइटिङ्गेलको २००औँ जन्मदिवसको उपलक्ष्यमा सम्पूर्ण नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मी दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, पौडेलले सन्देशमार्फत भनेका छन् । उनले सन्देशमा “कोरोना भाइरसको सन्त्रासका बीचमा पनि अहोरात्र बिरामीको सेवा र रेखदेखमा क्रियाशील तमाम नर्सहरुप्रति उच्च सम्मानसहित हार्दिक आभार व्यक्त गर्दछु”, उल्लेख गरेका छन् । मुख्यमन्त्री पौडेलले आफू जोखिममा रहेर पनि बिरामीहरुको स्वास्थ्य सेवामा समर्पित हुनु आफैँमा पेशाप्रतिको इमान्दारिता र व्यावसायिक दायित्व भएको बताएका छन् । रासस
एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास रद्द, काेही पनि जान नपाउने
काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्काे जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै आवतजावतमा कडाइ गर्न लागिएको मन्त्रालयले जनाएको छ । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो । उक्त नियम आगामी बिहीबारबाट लागू हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिहरु कसैले पनि अब जान नपाउने भएका छन् भने सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ । काठमाडौँ उपत्यकाको तीन जिल्लाका लागि भने उक्त नियम लागू हुनेछैन । यद्यपि कुनै जिल्लामा जानै पर्ने अवस्था आएमा जुन जिल्लामा जानुपर्ने हो त्यही जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य गरिने भएको छ । काठमाडौँ उपत्यका आउनुपरेमा गृह मन्त्रालयको स्वीकृति आवश्यक पर्नेछ । यद्यपि यसअघि सञ्चालन भइरहेका अत्यावश्यक मालसामान ओसारपसार गर्ने र स्वास्थ्योपचारको सिलसिलामा हुने आवागमन भने कायमै राखिएको छ । मन्त्रालयले आज पास सम्बन्धमा जारी गरेको परिपत्रअनुसार एक जिल्लाबाट अर्काे जिल्लामा जाने गरी यसअघि जारी गरिएको पास सबै रद्द गर्ने, काठमाडौँ उपत्यकामा आउनुपरेमा गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने, अत्यावश्यक कामका लागि एक जिल्लाबाट अर्काे जिल्लामा जानु पर्ने भएमा पास जारी गर्ने जिल्लाले जानुपर्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्ने छ । यस्तै पास स्वीकृतिका लागि अनुरोध गर्दा प्रयोजन र पुष्ट्याइँ समेत खुलाउनुपर्ने, उपत्यका प्रवेशका लागि पास जारी गर्दा पासमा गृह मन्त्रालयको स्वीकृति नम्बर समावेश गर्नुपर्ने तथा जारी भएको पास बिना एक जिल्लाबाट अर्काे जिल्ला जान लागेको अवस्था फेला परेमा शुरु जिल्लाले अर्काे जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र जारी गरेको छ । पछिल्लो समयमा मुलुकभर लकडाउन जारी भए पनि मानिसको आवागमन निक्कै बाक्लिएको छ । तर विभिन्न जिल्लाले भने यसअघि नै अन्तरजिल्लाको पास जारी नगर्ने निर्णय गरिसकेको छ ।
स्वास्थ्यकर्मीले ज्यान मार्ने धम्कीपछि बाँकेमा स्वास्थ्यचौकी बन्द
बाँके । खजुरा गाउँपालिका–७ सोनपुरस्थित स्वास्थ्यचौकीमा ताला लगाइएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द गरिएको हो । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि यसअघि स्वास्थ्यकर्मी र कर्मचारीले प्रहरीसँग सुरक्षा माग गरेका थिए । उनीहरुले कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्नेसम्मको धम्की दिएको र कार्यालयमा आई कर्मचारीमाथि अभद्र व्यवहार गरेको स्वास्थ्यचौकी इञ्चार्ज सुदीप पौडेलले बताए । कार्यालय परिसरमै आएर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ज्यान मार्ने धम्की दिएपछि आजदेखि स्वास्थ्यचौकी बन्द गरिएको छ । कार्यालय परिसरमै आएर ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वातावरण नभएकाले सुरक्षाको प्रत्याभूति दिलाउन धम्की दिनेमाथि कानूनी कारवाही गर्न यसअघि इलाका प्रहरी कार्यालय धनौलीमा लिखित निवेदन दिइएको थियो । चौकी इञ्चार्ज पौडेलका अनुसार स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई स्वास्थ्यचौकी मै जन्मेको प्रमाणीकरण गरिदिन दवाब दिएपछि उक्त दवाब आफूले अस्वीकार गर्दा भाटसहितका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । वैशाख २६ गते स्वास्थ्यचौकीमा प्रसूति गराउन आएकी रफी भाटकी श्रीमतीलाई स्वास्थ्यचौकीका कर्मचारीले सुत्केरी व्यथा नलागेको भन्दै घर फर्काएका थिए । घरमै सुत्केरी भए पनि स्वास्थ्यचौकीमै शिशु जन्मिएको प्रमाणीकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा उनको समूहले कार्यालयमा आएर कर्मचारीमाथि दुव्र्यवहार गर्नाका साथै ज्यान मार्ने धम्की दिएको थियो । कोरोना भाइरसको संक्रमणका आशंकामा स्वास्थ्यकर्मीले धमाधम स्वाब संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्यचौकीको सेवा प्रभावित भएको छ । इप्रका धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक प्रहरी पोषणराज थपलियाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।