काठमाडौं । गृह मन्त्रालयले लकडाउनमा कडाईं गर्ने भएको छ । त्यसका लागि मंगलबार बसेको बैठकले सबै सवारी पास रद्द गर्ने, एक जिल्लाबाट अर्को जिल्ला जानमा रोक लगाउने निर्णय गरेको छ ।
मन्त्रालयले मंगलबार दिउँसो यस्ताे निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।
सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिहरु कसैले पनि अब जान नपाउने भएका छन् भने सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।
गृह मन्त्रालयका शाखा अधिकृत सहदेव गाैतमले ‘बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको बताए । उनले उपत्यकाको तीन जिल्लाको हकमा भने एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने प्रावधान लागू नहुने बताए । तर उनले उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ बताए ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।
यस्ता छन् निर्णय:
१ . एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी गरिएका ई – पास लगायतका सम्पूर्ण सवारी पासहरु खारेज ।
२ . एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था भए उपत्यका बाहिरका जिल्लाहरुको हकमा पास जारी गर्ने जिल्लाले पुग्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र पास जारी गर्ने ।
३ . काठमाण्डौं उपत्यका बाहिरका जिल्लाले काठमाण्डौं उपत्यका प्रवेश गर्नका लागि पास जारी गर्नुपर्ने अत्यावश्यक भए गृह मन्त्रालयको स्वीकृतिमा मात्र पास जारी गर्ने ।
४ . पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्नाको प्रयोजन र पुष्ट्याई समेत खुलाई पठाउने ।
५ काठमाण्डौं उपत्यका प्रवेशका लागि पास जारी गर्दा जारी पासमा गृह मन्त्रालयको स्वीकृति नम्बर समेत उल्लेख ।
६ . जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पास विना एक जिल्लाबाट अर्को जिल्ला जाने गरी सवारी आवागमन भए गरेको पाइए तत्काल शुरु जिल्लाले ने अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोकने व्यवस्था मिलाउने ।