एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास रद्द, काेही पनि जान नपाउने

<p>काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्काे जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै आवतजावतमा कडाइ गर्न लागिएको मन्त्रालयले जनाएको छ । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो । उक्त नियम आगामी बिहीबारबाट [&hellip;]</p>

काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्काे जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै आवतजावतमा कडाइ गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो । उक्त नियम आगामी बिहीबारबाट लागू हुनेछ ।

सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिहरु कसैले पनि अब जान नपाउने भएका छन् भने सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

काठमाडौँ उपत्यकाको तीन जिल्लाका लागि भने उक्त नियम लागू हुनेछैन । यद्यपि कुनै जिल्लामा जानै पर्ने अवस्था आएमा जुन जिल्लामा जानुपर्ने हो त्यही जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य गरिने भएको छ । काठमाडौँ उपत्यका आउनुपरेमा गृह मन्त्रालयको स्वीकृति आवश्यक पर्नेछ ।

यद्यपि यसअघि सञ्चालन भइरहेका अत्यावश्यक मालसामान ओसारपसार गर्ने र स्वास्थ्योपचारको सिलसिलामा हुने आवागमन भने कायमै राखिएको छ ।

मन्त्रालयले आज पास सम्बन्धमा जारी गरेको परिपत्रअनुसार एक जिल्लाबाट अर्काे जिल्लामा जाने गरी यसअघि जारी गरिएको पास सबै रद्द गर्ने, काठमाडौँ उपत्यकामा आउनुपरेमा गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने, अत्यावश्यक कामका लागि एक जिल्लाबाट अर्काे जिल्लामा जानु पर्ने भएमा पास जारी गर्ने जिल्लाले जानुपर्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्ने छ ।

यस्तै पास स्वीकृतिका लागि अनुरोध गर्दा प्रयोजन र पुष्ट्याइँ समेत खुलाउनुपर्ने, उपत्यका प्रवेशका लागि पास जारी गर्दा पासमा गृह मन्त्रालयको स्वीकृति नम्बर समावेश गर्नुपर्ने तथा जारी भएको पास बिना एक जिल्लाबाट अर्काे जिल्ला जान लागेको अवस्था फेला परेमा शुरु जिल्लाले अर्काे जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र जारी गरेको छ ।

पछिल्लो समयमा मुलुकभर लकडाउन जारी भए पनि मानिसको आवागमन निक्कै बाक्लिएको छ । तर विभिन्न जिल्लाले भने यसअघि नै अन्तरजिल्लाको पास जारी नगर्ने निर्णय गरिसकेको छ ।

 

 

Share News