काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।
लकडाउनका बाबजुद पनि कोरोनाको संक्रमण फैलने क्रम नियन्त्रणमा आउन नसकेपछि मङगलबारदेखि निषेधाज्ञा पनि जारी गरिएको हो।पर्सा जिल्लामा मङगलवार बेलुकी ८ बजे देखि जेठ ५ गते राति १२ बजे सम्मका लागि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।
निषेधाज्ञा अवधिभर पर्सा जिल्लामा रहेका औषधि बाहेकका अन्य सबै पसल, उद्योग कलकारखाना बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले प्रयोग गर्नेबाहेक अन्य सबै निजी तथा सार्वजनिक सवारी साधन सन्चालनमा पूर्ण रुपमा रोक लगाइएको बताइएकाे छ ।
भारतसंग सीमा जोडिएका जिल्लाका सबै मुख्य तथा खुल्ला नाकामा बन्द गरिएको आवागमन थप कडाइ गरिएको र मङगलवार देखि थप सुरक्षाकर्मी परिचालन गरिएको बस्नेतले जानकारी दिए। यस्तै अन्य जिल्लाबाट पर्सा जिल्लामा जेठ ५ गते सम्मका लागि मानिसको आवागमन बन्द गर्ने निर्णय गरिएको बस्नेतले बताए।
बैकठले कोरोनाका संक्रमीत बढि भेटिएका र संक्रमणको अति जोखीममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय पनि गरेको जानकारी उनले दिए। पर्सामा मङगलबारको ३९ संगै अहिलेसम्म संक्रमीतको संख्या ६४ पुगेको छ। ती मध्ये वीरगन्ज महानगरपालिकाको मात्रै ५० जना छन्। जिल्लाको ग्रामीण भेग छिपहरमाइ गाँउपालिकाका १४ जना छन्।