विकासन्युज

थप १३ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १३४ पुग्याे

काठमाडाैँ । नेपालमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परिक्षणमा थप १३ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सहप्रवक्ता डा. समीरकुमार अधिकारी जानकारी दिएका हुन् । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का  २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । साेमबार मात्रै कपिलवस्तुमा १० जना र सप्तरीमा १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । याेसँगै नेपालमा काेराेना सैक्रमितकाे संख्या १३४ पुगेकाे छ । जसमध्ये ३३ जना निकाे भएर घर फर्किएका छन् ।

नर्भिक अस्पतालमा पुन: ओपिडी सेवा सुरु

काठमाडौं । थापाथली स्थित नर्भिक अस्पतालले ओपडिी सेवा पुन: संचालनमा ल्याएको छ । अस्पतालले आईतबारदेखि ओपिडी सेवा पुन संचालनमा ल्याएको अस्पतालका नायव महाप्रबन्धक प्रदिप बस्नेतले बताए । कोरोनाभाईरसको त्रासका कारण अस्पतालले सरकारको नियम पालन गर्दै अत्यावश्यक सेवा बाहेको सबै सेवा बन्द गरेको थियो ।    

बर्दियामा किटको अभाव हुँदा कोरोना परीक्षण प्रभावित

काठमाडौं । बर्दियामा किटको अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको छ । पर्याप्त किट नहुँदा भारत तथा विभिन्न जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण प्रभावित भएको हो । ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) तथा भाइरस ट्रान्सपोर्ट मिडियम (भिटिएम) किटसँगै स्वास्थ्य सामग्रीसमेत अभाव हुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए । स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई ), थर्मल गन, सर्जिकल मास्क, पञ्जा र स्यानिटाइजरसमेत सकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी चौधरीले आरडिटी विधिबाट परीक्षण गरिएका दुई हजार ८६६ र पिसिआर विधिबाट परीक्षण गरिएका ४१७ गरी कुल तीन हजार ७० मध्ये २३५ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । मधुवन नगरपालिकाको क्वारेन्टाइनमा ३२८, गुलरिया नगरपालिकामा २११, बाँसगढीमा १९, बारबर्दिया सामुदायिक क्वारेन्टाइनमा २१६, ठाकुरबाबामा १६, राजापुरमा ८९, गेरुवा गाउँपालिकामा ५८ र बढैयातालमा सात जनालाई राखिएको छ । जिल्लाका क्वारेन्टाइनमा ९४२ जना छन् भने बर्दिया अस्पतालको आइसोलेशनमा दुई बिरामी भर्ना भएका छन् । प्रदेश सरकारसँग किट माग गरिए पनि अहिलेसम्म नआएको सूचना अधिकारी चौधरीले बताए । रासस

४ अर्बको नागरिक बचतपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले रु चार अर्ब बराबरको नागरिक बचत पत्र २०८२ आगामी जेठ १ गतेदेखि बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले वार्षिक नौ प्रतिशत व्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो । व्याजमा कर लाग्ने बैंकले जनाएको छ । व्याजको भुक्तानी छ÷छ महिनामा हुने र बचतपत्र पाँच वर्षे अवधिको हुनेछ । घटीमा रु १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु १० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ । बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ । आगामी जेठ १ देखि २१ गतेसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्कासन मिति भने आगामी जेठ २५ गतेका लागि तोकिएको छ । बैंकले २०८२ जेठ २५ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ । बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन् । रासस

हामीले सरकारलाई अभिभावकको रुपमा खोजेका थियौं, देख्न-भेट्नै नसकिने भगवान जस्तो बन्यो

डेढ महिनाभन्दा लामो समयदेखिको लकडाउनको कारणले हामी अन्योलमा रहेका थियौं । विश्वमा के हुन्छ भनेर कसैले पनि भन्न सक्ने अवस्था थिएन । विभिन्न विद्धानहरुले पनि अवस्था कस्तो हुन्छ भनेर यकिनका साथ भन्न सकेका छैनन् । यो परिवेशमा उद्योगी, व्यवसायी र मजदुर दोधारमा थियौं । हामीले ७ दिनको बन्द हुन्छ भनेर सोचेका थियौं । तर ४५ दिनसम्म उद्योग बन्द भएर विस्तारै सामान्य बन्दै गएको छ । सरकारले पनि ४५ दिनपछि उद्योगहरु सञ्चालन गर्ने भनेर निर्णय गर्यो । सरकारले उद्योग सञ्चालन गर्ने मापदण्ड पनि बनायो । सरकारले बनाएको मापदण्ड त्यति परिपक्क भएन । हामीले सरकारलाई सम्बन्धित पक्षसगँ छलफल गरेर मात्रै निर्णय गर्न भनिरहेका थियौं । तर, सरकार जहिले पनि चुकेको छ । उद्योग सञ्चालनको मापदण्ड बनाउदा उद्योगीहरुसगँ छलफल नै भएन । सरकारलाई हामीले भन्नुपर्ने वा दिनु पर्ने सुझावहरु दिरहेका थियौं । उद्योग सञ्चालनको मापदण्ड आएको छ । तर, त्यसमा स्पष्ट छैन । उद्योगीले उद्योग सञ्चालन गर्न कोसगँ कसरी समन्वय गर्ने भनेर पनि भनेको छैन । उद्योग सञ्चालको लागि स्थानीय तहसगँ केन्द्रीय सरकारको कुनै किसिमको छलफल भएको छैन । संघीय सरकारको स्थानीय सरकारसगँ छलफल गर्ने कुनै उद्देश्य पनि देखिदैन । जस्तो कि नवलपरासीमा उद्योग सञ्चालनका लागि उद्योगी, मजदुर र उद्योगको गाडी सञ्चाल गर्न जिल्ला प्रशासन जादा अनलाइनबाट पास दिने भनिरहेको छ । तर सरकारले केही समयअघि अतिआवश्यक वस्तु ओसार पसारका लागि अनलाइन पासको व्यवस्था गरेको थियो । सरकारले मलामी, मूत्यूलगायतको विषेश परिस्थितिका काममा जानका लागि अनलाइन पास दिने भनेको थियो । संघीय सरकारले उद्योग सञ्चालनको लागि लकडाउन खुकुलो बनाएको छ । तर स्थानीय तहलाई केन्दीय सरकारले गरेको निर्णयको बारेमा जानकारी नै छैन । सरकारबीच नै सहकार्य, समन्वय र सहजीकरण नभएको देखिन्छ । देशभर नै उस्तै छ समस्या । सबै उद्योगीहरुले उद्योग सञ्चालका लागि समस्या भएको भनिरहेका छन् । उद्योग सञ्चालको लागि पनि विभिन्न समस्याहरु छन् । सरकारले ४४ किसिमका उद्योग खोल्ने भनेको छ । तर, अन्य उद्योगहरुको लागि सरकाले कुनै निर्णय गरेको छैन । उद्योगहरु एक अर्काेबीच चेन सिष्टमा रहेका हुन्छन् । एउटा उद्योगको अर्काे उद्योगसगँ सम्बन्ध हुन्छ । सबै उद्योग नखुलेको कारणले पनि खोल्ने भनिएका उद्योग सञ्चालनमा समस्या भएको छ । सरकारले उद्योगीहरुसगँ प्रष्ट रुपमा छलफल गरेर ल्याएको भए राम्रो हुन्थ्यो । निर्यात गर्ने उद्योगहरुलाई पनि समस्या छ । निर्यात गर्ने देशहरुमा अहिले निर्यात गर्ने अवस्था पनि छैन । चीन खुले पनि भारत खुलेको छैन । छिमेकी देशहरु नखुलेको कारणले पनि कच्चा पदार्थहरु आयतमा समस्या भइरहेको छ । उद्योगहरुका लागि उद्योग सञ्चालन भएको जिल्ला, बाहिरी जिल्ला र विदेशबाट समेत मजदुर ल्याउनु पर्ने अवस्था छ । हाल लकडाउनको कारणले उद्योगमा काम गर्ने मजदुरहरु घर गएका छन् । उद्योगमा काम गर्ने मजदुरहरु उद्योगमा ल्याउन पनि समस्या छ । ईटा उद्योगहरुको पनि मजदुरकै समस्या हो । नेपालमा ईटाको सिजन सकिएको छ । अर्काेतिर उद्योगमा भएको मजदुरहरुलाई कसरी घर पठाउने भन्ने समस्या छ । पर्यटन क्षेत्रमा भिजिट नेपाल २०२० मनाउने भनेर उत्साहका साथ सबैले लगानी गरेका थिए । तर, कोरोनाको कारणले भिजिट नेपाल स्थगित भयो । जतिले पर्यटन क्षेत्रमा लगानी गरेका थिए, ती लगानीकर्ताको लगानी समस्यामा परेको छ । ठूलो आशाको साथ लगानी गरेका लगानीकर्ताहरु निराशामा छन् । सरकारले पर्यटनका क्षेत्रमा केही राहात प्याकेज ल्याउन पर्ने देखिन्छ । पर्यटन क्षेत्रमा लगानी गर्नेहरुको पनि त्यही माग छ । पर्यटन क्षेत्र लयमा आउन २ वर्ष जति लाग्ने देखिन्छ । सरकारले त्यस क्षेत्रमा सहयोगको नजरले हेर्नुपर्ने देखिन्छ । निर्माण क्षेत्रका लागि अन्य जिल्लाबाट ल्याएका मजदुरहरुलाई १५ दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्ने भनिएको छ । अहिलेको परिस्थिति पनि त्यस्तै छ । यसरी क्वारेन्टाइनमा राख्नुपर्दा निर्माणमा लागत वृद्धि हुन जाने देखिन्छ । निर्माण क्षेत्रमा स्वादेशीहरुलाई नै प्राथमिकता दिनुपर्छ । निर्माण क्षेत्रका साथीहरुले पनि त्यही माग गरिरहनु भएको छ । सरकारले निर्माण क्षेत्रमा विषेश ध्यान दिनु पर्ने बेला आएको छ । कोरोनाको कारण बन्द रहेर पुन सञ्चालनमा आउन लागेका उद्योगहरुको आर्थिक क्षेत्रमा परेको प्रभावलाई हेरेर काम गर्नेे बेला पनि आएको छ । उद्योगहरु लयमा फर्कन सरकारले सहयोग गर्नुपर्छ । नगद प्रवाह, वस्तु पुन उत्पादन, श्रम व्यवस्थापन, उर्जा लगायतको व्यवस्थापनमा सरकारले सहयोग गर्नुपर्छ । निजी क्षेत्रका उद्योगीहरुले भनेका कुराहरुमा सरकारले सहयोग र छलफल गर्दै अगाडी जानु पर्नेछ । सबै उद्योगीहरुले दिएको सुझावलाई लिएर लिपिवद्ध रुपमा सरकारलाई बुझाउँ । सरकारले ल्याएको उद्योग सञ्चालनको मापदण्डमा ४/५ वटा कुरा भन्नु नै पर्छ । उद्योग सञ्चालनमा भएका समस्याहरुलाई कसरी समाधान गर्ने भनेर सोच्नु पर्नेछ । उद्योगले मजदुरलाई उद्योगमा नै कार्यव्यवस्था अनुसार राख्ने भनेको छ । केही गरी मजदुरलाई रोग लाग्यो भने के गर्ने ? रोग लागे त्यसको जिम्मा रोजगारदाताले मात्रै लिने भन्ने छ । त्यसलाई रोजगारदाताले मात्रै जिम्मा लिन सक्दैनन् । मन्त्रीले पनि हामी जिम्मा लिन्छौं भनेका छन् । मन्त्रालयबाट लिखित रुपमा नै हामीलाई पत्र आउनु पर्छ । उद्योगमा नै मजदुरलाई खानपान र बसोबास गर्ने व्यवसथा गर्न सकिदैन । यसले उत्पादन लागत वृद्धि गर्छ । यस्तो विषयमा व्यवसायीलाई बाध्य गरिनु हुदैन । कच्चा पदार्थ आयात तथा उत्पादन भएको बस्तु सहज तरिकाले बजारमा पुर्याउनका लागि पनि सरकारले विशेष ध्यान दिनु पर्नेछ । उद्योग सञ्चालनका लागि संघीय सरकारले स्थानीय सरकारलाई स्पष्ट निर्देशन दिनुपर्छ । उत्पादन गरेको वस्तु वा कच्चा पदार्थ बजारमा लान सकिएन भने उद्योग सञ्चालन गर्ने भन्ने कुरा कथा जस्तो मात्रै हुन्छ । हालको अवस्थामा सबै मजदुरलाई काममा लगाउन सकिने अवस्था छैन । मजदुरहरुलाई उद्योगमा आंशिक रुपमा मात्रै काम दिन सकिन्छ । त्यसमा सहमति छ भने मजदुर युनियनलहरुले सहमति गर्नुपर्छ । मजदुरलाई उद्योगले दिएको पासलाई प्रशासनले मान्यता दिनुपर्छ । मजदुर घर जाने र घरबाट उद्योगसम्म काम गर्न आउने वातावरण सिर्जना गर्नुपर्छ । उद्योगको सूचना अनुसार काममा आउने मजदुरलाई मात्रै तलब दिने व्यवस्था गरिनु पर्छ । सरकारले उद्योगीहरुलाई मालिक जसरी निर्देशन दिने गरेको छ । अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुलाई सरकारले केही दिनु नपर्ने भनेर भनिरहेका छन् । जटिल अवस्थामा पनि ती व्यवसायहरु सञ्चालन भइरहेका छन् । अतिआवश्य वस्तु उत्पादन गर्ने उद्योगहरुलाई पनि सरकारले विशेष ध्यान दिनुपर्छ । उद्योगले पहिले नाफा कमाएको थियो । बैंकको व्याज तिर्नुपर्छ भन्ने किसिमको कुरा भइरहेको छ । तर, उद्योगमा ठूलो क्षति भइसकेको छ । सरकारले उद्योगलाई स्वास्थ्य राख्ने काम गर्नुपर्छ । उद्योगलाई सरकारले नै लंगडो बनायो भने देशको अर्थतन्त्रमा समस्या आउन सक्छ । सरकारले निर्देशन दिने मात्रै काम गरेर हुदैन । सरकार भगवान जस्तो हुनु भएन । भगवानसगँ मागेको कुरा सुन्न वा पाउन धेरै समय लगाउनु पर्ने हुन्छ । सरकार पनि त्यस्तै भयो । सरकारले भगवानको जस्तो रुप लिनु भएन । सरकारले अभिभावकको रुपमा भुमिका खेल्नुपर्यो भन्ने हाम्रो कुरा हो । निजी क्षेत्र कोरोनाको कारणले समस्यामा छन् । समस्या भएको बेला सरकारले सहयोग गर्नुपर्छ । (नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिले आयोजना गरेको ‘प्रोसेस एण्ड च्यालेन्जेज फर इन्डष्ट्री टू रिजुम लकडाउन’ विषयक वेबनारमा सभापति श्रेष्ठले व्यक्त गरेको धारणाको सम्पादित अंश)

प्रवासीको शव विदेशमै अन्त्यष्टि गर्नदिने परिवारलाई सरकारले ५० हजार दिने

काठमाडौं । सरकारले विदेशमा मृत्यु भएका नेपाली कामदारको अन्त्यष्टि विदेशमै गर्न अनुमति दिन आग्रह गरेको छ । सरकारले कामदारकाे परिवारसँग विदेशमै शवको अन्त्यष्टि गर्ने अनुमति दिन आग्रह गरेको हाे । त्यस्तो अनुमति दिए सम्बन्धित परिवारलाई सान्तवना/राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय पनि सरकारले गरेको छ । वैदेशिक रोजगर बोर्डको सचिवालयले उनीहरुको शब विदशेमै अन्त्यष्टि गर्ने अनुमति दिन परिवारलाई बारम्बार आग्रह गर्दै आएको छ । बोर्डले सोमबार एक सूचना निकालेर विदेशमै रहेका आफ्ना नजिकका हकदारबाट अन्त्यष्टीका लागि सहमतिपत्र दिन आग्रह गरेको हाे । 

प्रवासीलाई सम्बन्धित देशलेनै नेपालमा छाड्ने, सरकार भन्छ: उनीहरुले भनेकै मितिमा आउन दिइन्न

काठमाडाैं । विदेशमा रहेका नेपालीलाई नेपाल छाड्नका लागि सम्बन्धित देशनै सकारात्मक भएका छन् । नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका हुन्। यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै पठाएको छ । संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुई वटा विमान आउने जानकारीसहित पत्र आएको बताए । तर,  तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था नभएकाे उनले बताए । उनकाअनुसार श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८७१ जना तुरुन्तै फर्काउनुपर्ने अवस्था छ । विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांकअनुसार भारत बाहेकका मुलुकबाट ३ लाख २५ हजार ५३० नेपाली स्वदेश फर्किन चाहेका छन् । भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेका छन् । ‘साँच्चै संकटमा परेकालाई नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा तयारी अघि बढेको छ,’ उनले भने । भारतले मंगलबारदेखि रेल्वे सेवा सञ्चालन गरेपछि नेपालको सीमामा आउने संख्या बढ्ने उनले बताए । ‘त्यसले अहिलेको अवस्थामा उलटफेर ल्याइदिन्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसको लागि नेपालले थप तयारी गर्नुपर्ने छ ।’ उनले अहिले विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता सरकारसँग नभएको बताए । ‘भारतमा रहेका सबै नेपाली आउनुभयो भने गाह्रो हुन्छ,’ उनले भने ।  

कोरोनाः फ्रन्टलाइनमा खट्नेहरुलाई सहयोग गर्न किस्ट मेडिकल कलेजकाे आग्रह

काठमाडौं । किस्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालले कोरोनासँग लड्न फ्रन्टलाइनमा काम गर्ने योद्धाहरुलाई समर्पित गर्दै एक भिडियो बनाएको छ । अस्पतालले कोरोनासँग लड्न फ्रन्टलाइनका योद्धाहरुलाई सहयोग गने आग्रह गर्दै एउटा भिडियो बनाएको हो । अस्पतालले भिडियो मार्फत सबैलाई मिलेर यो रोगसँग सामना गर्ने आगह गरेको छ । कोरोना भाईरसले लाग्ने कोभिड-१९ ले हाल महामारीको रुप लिएको छ । संसारमा लाखौं मानिसले यसबाट ज्यान गुमाईसकेका छन् । आफुहरु कोरोनासँग लड्न तयार भएको र सर्वसाधरणलाई पनि तयार रहन अस्पतालले आग्रह गरेको छ । कारोनासँग लड्न पहिलो योद्धा मानिस आफै भएको किस्ट अस्पतालकी डा. तृष्णा श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, ‘रोगको मिलेर सामना गरौं । हामी पछाडी हट्ने छैनौं । हामी तयार छौं । ’ यो समयबाट राम्रोसँग बाहिर निस्कनको लागि सबैले आफ्नो समय तालिका बनाउन अस्पतालका मनोचिकित्सक डा. प्रभाकार पोखरेल बताउँछन् । यो समयमा धेरैलाई केही कुराको लत लाग्ने हुनले एउटा नियमित तालिका बनाएर त्यसलाई अप्नाउन सल्लाह दिन्छन् । आफुहरु र आफ्ना परिवारको स्याहार गर्ने, राम्रा कुराहरुको बारेमा मात्र छलफल गने उनी सल्लाह दिन्छन् । यस्तै विश्वासिलो संचारमाध्यमहरुको समाचारहरु मात्र पढ्न र सेयर गर्न अस्पतालले आग्रह गरेको छ । यो महामारीको बेला अस्पतालले सबैलाई फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरुलाई सहयोग गने आग्रह गरेको छ । https://www.youtube.com/watch?v=rNLRCxM_TdM&feature=emb_logo