विकासन्युज

जाजरकोटमा कोरोना उपचार गर्न अस्पताल निर्माण

जाजरकोट । कोरोना भाइरसको जोखिम हुन नदिन रुकुम पश्चिमका तीनवटा स्थानीय तहले अस्पताल तथा आइसोलेशन कक्ष तयार गरेका छन् । मुसीकोट,चौरजहारी र आठबीसकोट नगरपालिकाले ती सेवा तयारी अवस्थामा राखेका हुन् । मुसीकोट नगरपालिकाले कोरोना विशेष अस्पताल सहित आइसोलेशन भवनको काम शनिबार सम्पन्न भएको नगर प्रमुख देवीलाल गौतमले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पतालको स्वामित्वमा रहने गरी वडा नं १ सल्लेमा आइसोलेशन कक्षको भवन निर्माण गरिएको हो । प्रिफाई विधिबाट निर्माण गरिएको सो पाँच कोठाको अत्याधुनिक सुविधासम्पन्न भवनमा आठवटा श्यया रहेको छ । करिब १८ दिनमा भवन निर्माण सम्पन्न भएको बताइएको छ । अस्पताल सहित आइसोलेशनका लागि स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने तयारी भइरहेको उनले बताए । सो आइसोलेशन कक्षमा बिरामी भर्ना गर्ने सुविधायुक्त कोठा , जनरल वार्ड तथा स्वास्थ्यकर्मीका लागि पनि छुट्टै कोठा रहेका छन् । अक्सिजन, तातोपानी, प्रत्येक कोठामा बाथरुम, मनिटर, बेड, अक्सिजन रहने जनाइएको छ । त्यस्तै चौरजहारी अस्पतालको स्वामित्वमा रहने गरी चौरजहारी नगरपालिका–१ मा १८ दिनमा १५ श्ययाको कोरोना अस्पताल निर्माण गरिएको छ । सात कोठाको सो भवनमा ६ कोठामा बिरामी भर्ना गरिने र एउटा कोठा स्वास्थ्यकर्मीले प्रयोग गर्ने छन् । कर्णाली प्रदेश सरकारले गत चैत १३ गते चौरजहारीमा कोरोना आइसोलेशन केन्द्र बनाउने निर्णय गरेको थियो । सोे अस्पतालका प्रशासक दिलबहादुर गिरीले अस्पतालमा एकैपटक ३९ जनालाई आइसोलेशनमा राखेर उपचार गर्न सकिने जानकारी दिए । अक्सिजन र नेगेटिभ प्रेसर मेसिनसहितको अस्पताल निर्माण गरिएको छ । अस्पतालले यसअघि २४ श्ययाको आइसोलेशन निर्माण गरेको थियो । अस्पतालका अनुसार झण्डै रु एक करोडको लगानीमा आइसोलेशन निर्माण गरिएको हो । यसअघि शीतल माध्यमिक विद्यालयको भवनमा २० र चौरजहारी अस्पतालभित्रै चार श्ययाको आइसोलेशन निर्माण गरिएको प्रशासक गिरीले जानकारी दिए । अस्पतालले तीनथरिका बिरामीलाई छुट्टाछुट्टै श्ययामा राखेर उपचार गर्ने व्यवस्था मिलाएको छ । शीतल माविको श्ययामा शङ्कास्पद, सङ्क्रमण भएका तर लक्षण नदेखिएका तथा आफैँ औषधि सेवन गर्न सक्नेलाई राखिनेछ । नवनिर्मित श्ययामा स्लाइन चढाउनुपर्ने, सामान्यखालको अक्सिजन दिनुपर्ने र हिँडडुलमा समस्या हुनेलाई उपचार गरिने सो अस्पतालले जनाएको छ । अस्पतालभित्रको श्ययामा भने गम्भीर अवस्थाका बिरामीलाई राख्ने तयारी भइरहेको छ । चौबीसै घण्टा चिकित्सकको रेखदेखमा रहने अअस्पतालले जनाएको छ । बिरामीको अवस्था गम्भीर भए र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा मात्रै रिफर गर्ने व्यवस्था मिलाइएको छ । अस्पतालले यसअघि दुईजना शङ्कास्पद बिरामीको उपचार गरिसकेको जनाएको छ । चौरजहारीमा अर्को आइसोलेशन भवनसमेत बन्दैछ । शीतल माध्यमिक विद्यालयको प्राङ्गणमा आठ कोठाको भवन निर्माण अन्तिम चरणमा पुगेको चौरजहारी नगरप्रमुख विशाल शर्माले जानकारी दिए । उनका अनुसार एउटा कोठामा चारजना बिरामी राख्न मिल्ने गरी ३२ श्ययाको आइसोलेशन निर्माण भइरहेको हो । नगरप्रमुख शर्माले भन्नुभयो, “फिनिसिङको काममात्र बाँकी छ । सबै ठाउँको केन्द्र भागमा रहेकाले आवश्यक पर्ला भनेर आइसोलेशन भवन निर्माण गरिरहेका हौँ ।” आइसोलेशन श्ययाका लागि प्रदेश सरकारले दिएको रु ५० लाख सामग्री खरिदमा खर्च भएको उनको भनाइ छ । यसअघि आठबीसकोट नगरपालिकाले १५ श्ययाको कोरोना अस्पताल बनाएर सेवा प्रवाह शुरु गरिसकेको छ । नगरपालिकाको केन्द्र राडीबजारमा १० दिनमै सुविधासम्पन्न कोरोना अस्पताल निर्माण भएको छ । नगरपालिकाले स्थानीयवासीको सहकार्यमा १२ श्ययाको अस्पताल बनाएको हो । नगर कार्यपालिकाले गत चैत २५ गते निर्णय गरेलगत्तै अस्पतालका लागि पक्की भवन निर्माणको काम शुरु गरिएको थियो । अस्पतालमा ६ विशेष र एक नर्मल वार्ड छन् । अस्पतालका ६ वटा कोठामा एट्याज बाथरुम, एयर कन्डिसन सुविधा, तातोपानी आउने प्रविधि र भाइटल साइन मनिटर जडान गरिएको छ । विशेष वार्डमा एक/एक र नर्मल वार्डमा ६ श्यया राखिएको केसीले जानकारी दिनुभयो । केसीका अनुसार हरेक श्ययामा अक्सिजनको व्यवस्था गरेको छ । बालबालिकालाई पनि छुट्टै उपचार गर्ने व्यवस्था गरिएको छ । कोरोना सङ्क्रमणको आशङ्का गरिएकालाई विशेषमा र पुष्टि भइसकेकालाई नर्मलमा राखेर उपचार गरिनेछ । लकडाउनकै समयमा निश्चित दूरी कायम गरी रात–दिन दुई चरणमा काम गरेर अस्पताल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । अस्पताल बनाउन ज्येष्ठ नागरिक र अपाङ्गसमेतले नगद सहयोग गरेका छन् । नगरपालिकाका अनुसार स्थानीयवासीले विभिन्न माध्यमबाट अस्पताल निर्माणमा रु १५ लाख सहयोग गरेका थिए । अस्पताल निर्माणका लागि रु ८९ लाखको डिजाइन स्टिमेट गरिएकामा रु ७५ लाखमा निर्माण सकिएको थियो । अस्पतालभित्र नर्सिङ स्टेशनसमेत छ । नगर अस्पताल परिसरमा निर्माण भएको कोरोना अस्पताललाई यसपछि सबै सरुवा रोगको उपचारमा प्रयोग गर्ने नगरपालिकाको योजना छ । बिरामी भर्नाका लागि अस्पताल तयार भएसँगै तीनवटा मेडिकल टिम तयारी अवस्थामा राखिएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी उपचारमा खटिनेछन् । रासस

पेट्रोलियम पदार्थ खपत दोब्बर

काठमाडौं । नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ । डिपोका प्रमुख प्रदीप यादवका अनुसार आज दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेल खपत भएको छ । उनका अनुसार लकडाउन अवधिमा दैनिक ८० किलोलिटर पेट्रोल र दुई सय किलोलिटर डिलेज खपत हुँदै आएको थियो । टाइम कार्ड लागू गरेर सवारी साधन सञ्चालन गरेसँगै पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५, डिजेल ७२ र मट्टीतेल ८० प्रतिशत मौज्दात छ । तिनमा पाँच हजार ३१० किलोलिटर क्षमता रहेको पेट्रोल भण्डारणमा हाल चार हजार ५ सय किलोेलिटर पेट्रोल राखिएको छ । त्यस्तै आठ हजार चार सय किलोलिटर क्षमता रहेको डिजेलको भण्डारमा हाल सात हजार किलोलिटर र ७६० किलोलिटर क्षमता रहेको मट्टीतेलमा हाल सात सय किलोलिटर राखिएको छ । क्षमता हुँदाहँुदै पनि भरी मात्रामा तेल राख्न नमिलेका कारण ट्याङकरमै तेल राखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अुनसार हाल तीस ट्याङकरमा पेट्रोल र एक सय ट्याङकरमा डिजेल डिपोमा राखिएको छ । लकडाउनअघिसम्म काठमाडौँ उपत्यकामा मात्र दैनिक छ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेल खपत हुँदै आएको थियो । रासस

मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय घोराहील घोराही उप- महानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकको घोराही शाखाका शाखा प्रमुख युवराज भण्डारीले घोराही उप–महानगरपालिका वडा नं १५ का वडा सदस्य तथा बैंक तथा वित्तिय संस्थागत समन्वय संयोजक सनत कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । यसैगरी, बैंकले धनगढी उप–महानगरपालिका – ०४ मा पनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका धनगढी शाखाका शाखा प्रमुख श्री उमेश जोशीले धनगढी उप–महानगरपालिका – ०४ का प्रमुख श्री पदमराज सापकोटा र सुन्दर सुदुरपश्चिम यातायात प्रा.लिका प्रमुख दिपक थापालाई हस्तान्तरण गरेका थिए । साथै, बैंकले नार्गाजुन – ०४, काठमाडौंको शक्ति कुमारी टोल सुधारलाई पनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका सीतापाईला शाखाका शाखा प्रमुख विजय उप्रेतीले शक्ति कुमारी टोल सुधारका अध्यक्ष गोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । लकडाउनको कारण प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई बैंकले सहयोग गर्दै आइरहेको छ । बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

जुम्लामा क्वारेन्टाइनमा बसे वापत सम्मान !

जुम्ला । कोरोना भाइरसको जोखिम हुन नदिन गुठीचौर गाउँपालिका–१ मा तयार गरिएको क्वारेन्टाइनमा बसेर २५ जना १४ दिनपछि घर फर्किएका छन् । उनीहरुलाई सो गाउँपालिकाले खादा ओढाएर सम्मानसहित घर फर्काएको छ । क्वारेन्टाइनमा रहनेका लागि सो वडाले खाना र स्वास्थ्य व्यवस्थापन गरेको वडाध्यक्ष गणेश ऐडी जानकारी दिए । पशु सेवा केन्द्रको भवन र खडकदेवी माध्यामिक विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको थियो । स्थानीय सरकारको आग्रह र नियमलाई अनुशरण गर्दै क्वारेन्टाइनमा बसेको भन्दै वडाले सम्मानका साथ बिदाइ गरी घर पठाएको हो । वडाध्यक्ष ऐडीका अनुसार १४ दिनसम्म नियमपूर्वक बसी वडालाई सहयोग गरेकाले सम्मानका साथ बिदाइ गरिएको हो । क्वारेन्टाइनमा बसेका मध्ये सात जनाको आरडिटी परीक्षणपछि घर फर्काइएको छ । अन्य १८ जनाको पिसीआर गर्ने शर्तमा घर पठाइएको छ । क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड–२०७६ अनुसार उनीहरुलाई एक श्ययादेखि अर्को श्ययासम्मको न्यूनतम दूरी साढे तीन फिटको फरक थियो । लकडाउन अवधिमा यहाँ १० हजार ८३८ भित्रिएका छन् । ५२१ श्ययाको क्वारेन्टाइनमा २०५ जना बसेका छन् भने ९०५ जना १४ दिनपछि घर फर्केको शनिबार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी ५१६ होम क्वारेन्टाइनमा बसेका छन् । जुम्लामा ४१५ को पिसीआर र २६१ जनाको आरडिटी परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा मङ्गल रावलले बताए । यहाँ ४१५ जनाको कोरोना पिसिआर जाँच गरिएको छ । भारत, तेस्रो मुलक र नेपालका विभिन्न जिल्लाबाट आएका व्यक्तिलाई कोरोना पिसिआर जाँच गरिएको हो । यहाँबाट स्वाब सङ्कलन गरी सुर्खेत तथा काठमाडौँमा पठाएर ३३९ जनाको पिसीआर परीक्षण गरिएको थियो । सो अस्पतालले २२ वैशाखदेखि कोरोना परीक्षण पिसीआर उपकरण सञ्चालनमा ल्याएदेखि जुम्लामा ७६ गरी जम्मा ४१५ जना परीक्षण गरिएको हो । पिसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिए । रासस

धादिङकाे गङ्गा–जमुना एकेडेमीका प्रधानाध्यापकको हत्या

धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । गङ्गा–जमुना एकेडेमीका प्रधानाध्यापक ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई आज गिरफ्तार गरेको छ । विद्यालय बिदा भएकाले गुरुङ घरमै थिए । शनिबार भारी बोकेर घरबाट मिलमा जान लागेको बेला उनलाई बुढाथोकीले खुकुरी प्रहार गरेका थिए । बुढाथोकीको प्रहारले गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि धादिङबेँसी लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए । आरोपित बुढाथोकी प्रहरीको हिरासतमा छन् । उनलाई कर्तव्य ज्यान मुद्दा लगाइएको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल धादिङमा राखिएको छ । रासस

चीनियाँ मिडिया व्याक, सगरमाथा चीनमा पर्छ भन्ने सन्देश हटायाे

काठमाडाैं ।  विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने भन्दै सामाजिक सञ्जालमा पाेष्ट गर्ने चीनको सरकारी सञ्चार माध्यमले हटाएको छ । चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले आफ्नो ट्वीटर ह्यान्डलबाट साे सन्देश हटाएकाे हाे । सगरमाथा क्षेत्रमा असाधार सूर्यको प्रकाशको घेरा देखिएको भन्दै ४ वटा तस्वीर पोस्ट गरेको सीजीटीएनले ट्वीटर सन्देशमा लेखेको थियो, ‘चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमथाको रुपमा चिनिएको कोमोलोङ्‌मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।’ तर, आइतबार बिहान सीजीटीएनले उक्त ट्वीटर सन्देश हटाएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सगरमाथा आफ्नो देशमा पर्ने भन्दै सन्देश जारी गरेपछि नेपालमा त्यसको विरोध भएको थियो ।

लिपुलेकमा सडक बनाएको विरोधमा नेमकिपाद्वारा विरोध प्रदर्शन

काठमाडौं । नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक निर्माण गरेको विरोधमा नेपाल मजदुर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको छ । आज नेमकिपाको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा भक्तपुरको कमलविनायकबाट विरोध जुलुस प्रदर्शन शुरु भएको थियो । नेमकिपाका युवा नेता एवं वाग्मती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंको अगुवाइमा भएको विरोध प्रदर्शन कमलविनायकबाट शुरु भई दत्तात्रय, सुकुलढोका, टौमढी हुँदै सूर्यविनायक पुगेर सम्पन्न भएको थियो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका क्रममा प्रदर्शन गरेको विरोध ¥यालीमा भारतको विस्तारवादविरुद्ध र नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहितको नारा लगाएका थिए । नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसार्इंले बारम्बार नेपालको भूमिमाथि हस्तक्षेप गर्दै आएको भारतीय विस्तारवादको नीति र लिपुलेकको सडक निर्माण रोकेर नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सेना हटाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन भएको बताए । सरकारले यो समस्यालाई कूटनीतिक पहलबाट मात्र समाधान गर्न नसक्ने भन्दै तत्काल यसलाई अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालत जानुपर्ने उनले बताए । नेक्राविसङ्घका अध्यक्ष सुदिन ख्याजू र समापनका क्रममा सूर्यविनायकमा नेक्रायुसङ्घका अध्यक्ष मीनबहादुर बाटाले नेपाली भूमिमाथिको भारतीय हस्तक्षेप कुनै हालतमा सह्य नहुने बताए । यसअघि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले भारतले नेपालको भूमि लिपुलेक अतिक्रमण गरी लिपुलेक भञ्ज्याङसम्म सडक निर्माण गरेकामा विरोध एवं भत्र्सना गरेको थियो । बैठकपछि पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले वैशाख २६ गते भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाको धार्चुलादेखि नेपालको भूमि लिपुलेक भञ्ज्याङसम्म ८० किमी सडक भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेकोप्रति आपत्ति जनाउँदै नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएको ठहर गरेको थियो । भारतले सन् २०१९ नोभेम्बर २ मा नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय नक्सामा गाभेर प्रकाशित गरेको नक्सा खारेजीको माग गर्दै विज्ञप्तिमा सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएकाले यहाँ तैनाथ भारतीय सेना तत्काल हटाउनसमेत माग गरिएको छ । नेमकिपाका सचिव प्रेम सुवालको हस्ताक्षरमा जारी विज्ञप्तिमार्फत नेपाली भूमि लिपुलेक अतिक्रमण गरी धार्चुला–लिपुलेक भञ्ज्याङ सडक सन् २००८ देखि निर्माण शुरु गरी गत महिना सम्पन्न गर्दासमेत नेपाल सरकारले थाहा नपाएकोप्रति विरोध जनाउँदै आफ्नो भूमि रक्षाका लागि यो विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्नेमा जोड दिइएको छ । रासस

चालु आर्थिक वर्षमा लक्ष्यभन्दा आधा सडक र पुल निर्माण सकिने

काठमाडौं । चालु आर्थिक वर्षमा लक्ष्यभन्दा झण्डै आधामात्रै सडक र पुल सम्पन्न हुने भएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ न्यूनीकरण र रोकथामका लागि सरकारले जारी राखेको ‘लकडाउन’ का कारण लक्ष्यभन्दा ५० प्रतिशत मात्रै सकिने अनुमान गरिएको हो । चालु आवमा १ हजार २ सयकिमी सडक कालोपत्र र ३ सय पुल निर्माण गरिने लक्ष्य राखिएको थियो । गत महिनासम्म ६ सय ३० किमी सडक कालोपत्र र १ सय ३२ पुल सम्पन्न भएको छ । अहिले देशभरमा २ सय ५० स्थानमा निर्माणको काम भइरहेको सडक विभागले जनाएको छ । अहिले निर्माणका लागि आवश्यक सामग्रीको उत्पादन र ढुवानी सहज भएसँगै अझै केही स्थानमा निर्माणले गति लिने सम्भावना रहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । मौसम अनुकूल भएमा केही सडक र पुल निर्माण सम्पन्न हुन सक्छ । विभागले दुई साता पहिले नै विभिन्न आयोजनामा निर्माण शुरु गरे पनि आवश्यक सामग्रीको अभावले अपेक्षाअनुसार काम हुन सकिरहेको थिएन । सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । तर, त्यो निर्णय कार्यान्वयन हुन अझै एक सातासम्म लाग्न सक्ने उनले बताए । उनले भने, “त्यहाँ काम शुरु भएर निर्माण नियमित आउन थालेपछि निर्माण अघि बढ्नेछ ।” पूर्वाधार निर्माणका लागि मौसम अनुकूल हुँदामात्रै काम गर्न सकिन्छ । यो महिनाको शुरुदेखि नै भइरहेको नियमित वर्षाका कारण काममा सहज नभएको महानिर्देशक शर्माले बताए । त्यस्तै लकडाउन कहिलेसम्म जारी हुन्छ भन्नेमा पनि चालू आवमा कति निर्माण सकिन्छ भन्ने निर्धारण हुने उनले भने । सरकारले लकडाउन हटाउँदा पनि आमनागरिकमा भय नहट्दासम्म काम गर्न नसकिने बताए । उनले भने, “सरकारले काम गर्न खुलाएरमात्रै हुँदैन, जनजीवन सामान्य अवस्थामा आउन अझै समय लाग्नसक्छ ।” विभागले अहिले उपलब्ध जनशक्ति र उपकरणबाटै निर्माण अघि बढाइरहेको महानिर्देशक शर्माले बताउनुभयो । मान्छेको स्वास्थ्यलाई ध्यानमा राखेर जनशक्तिभन्दा उपकरणको प्रयोगमा जोड दिइएको छ । कुनै एउटाखालको जनशक्ति घर फर्किएर गएको छ र ऊ सङ्क्रमण फैलिएको जिल्लाबाटै आउनुपर्ने भएमा तत्काल अर्को ठाउँमा लगेर काम गर्ने सम्भावना छैन । उनले भने, “त्यसैले सकेसम्म भएकै जनशक्तिबाट थोरै काम भइरहेको छ ।” हिजोआज नियमित वर्षा भइरहेकाले पनि लक्ष्यभन्दा कममात्रै निर्माण सम्पन्न हुने देखिएको विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताए । अहिले विभागले वर्षा पहिले सम्पन्न नहुँदा वर्षाले क्षति पु¥याउने स्थानमा निर्माण अघि बढाएको छ । निर्माणाधीन पुलमा ढलानमात्रै गर्न बाँकी छ र वर्षामा त्यहाँ भएका सामग्री नै बगाउने अवस्था छ भने तिनलाई प्राथमिकता दिइएको छ । उनले भने, “अहिले मानव स्वास्थ्य महत्वपूर्ण भएकाले सम्भव भएका ठाउँमा काम भइरहेको छ ।” निर्माणाधीन कतिपय आयोजनामा कार्यरतमध्ये कतिपय भारतीय कामदार भए पनि अहिले उनीहरु आफ्नो देश फर्किसकेका छन् । अहिले तत्काल उनीहरुलाई फर्काउने सम्भावना छैन । देशभित्रै पनि सङ्क्रमित जिल्लाका कामदार फर्काउन नसकिएको उपमहानिर्देशक सापकोटाले बताए । प्रशासन कार्यालयले पनि सवारी पास सहज उपलब्ध गराइरहेको छैन । विभागले अहिले त्रिभुवन राजपथ, कोशी राजमार्ग र महेन्द्र राजमार्ग, कर्णाली राजमार्ग र हुलाकी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढिरहेको छ । त्रिभुवन राजपथको हेटौँडा–भैसे–लामीडाँडा सडकखण्ड, कोशी राजमार्गको देउराली–मुढे खण्ड र महेन्द्र राजमार्गको लम्की–अत्तरिया खण्डमा निर्माणको काम अघि बढेको हो । महेन्द्र राजमार्गको चुरे हेटौँडा खण्ड आवधिक मर्मतको काम भइरहेको छ । पृथ्वी राजमार्ग फिस्लिङ–जोगीमारा खण्ड पटके मर्मत अघि बढेको छ । दमकस्थित डिभिजन सडक कार्यालयले झापामा पुल र सडक निर्माण गरिरहेको छ । जुम्ला डिभिजन कार्यालयले गमगढी सडक स्तरोन्नति गरिरहेको छ । कोशी राजमार्गको विराटनगर–इटहरी सडक खण्डमा निर्माण अघि बढेको छ । विभिन्न आयोजनामा सडकसँगै पुलको समेत निर्माण अघि बढेको छ । त्रिशूली पुलमा ठिमुरा निर्माणको काम भइरहेको छ । बूढी खोला पुल निर्माणको काम अहिले अघि बढिरहेको छ । कर्णाली राजमार्ग कालीकोट खण्डमा सडक मर्मत र नवलपरासीमा तुरिया खोला पुल निर्माण अघि बढिरहेको छ । डिभिजन सडक कार्यालय दाङले पुलको फुटपाथ निर्माण गरिरहेको छ । सरकारले निर्माणाधीन आयोजनाको काम स्वास्थ्यमा सावधानी अपनाउँदै अघि बढाएको छ । निर्माणस्थलमा सामाजिक दूरी कायम गरेर निर्माण अघि बढिरहेको छ । ती स्थानमा भीडभाड नगर्ने, कामदारलाई त्यही ‘क्लोज क्याम्प’ मा राख्ने, मास्क र सेनिटाइजर प्रयोग गरेर काम भइरहेको विभागले जनाएको छ । आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले लकडाउनको अवधि थप गर्दा भौतिक पूर्वाधारको अलपत्र योजनामध्ये थोरै अघि बढिरहेका छन् । रासस