काठमाडाैं । विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने भन्दै सामाजिक सञ्जालमा पाेष्ट गर्ने चीनको सरकारी सञ्चार माध्यमले हटाएको छ । चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले आफ्नो ट्वीटर ह्यान्डलबाट साे सन्देश हटाएकाे हाे ।
सगरमाथा क्षेत्रमा असाधार सूर्यको प्रकाशको घेरा देखिएको भन्दै ४ वटा तस्वीर पोस्ट गरेको सीजीटीएनले ट्वीटर सन्देशमा लेखेको थियो, ‘चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमथाको रुपमा चिनिएको कोमोलोङ्मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।’
तर, आइतबार बिहान सीजीटीएनले उक्त ट्वीटर सन्देश हटाएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सगरमाथा आफ्नो देशमा पर्ने भन्दै सन्देश जारी गरेपछि नेपालमा त्यसको विरोध भएको थियो ।
