विकासन्युज

काली नदियताकाे भूभाग नेपालकै हाे: परराष्ट्रमन्त्री

काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लिम्पियाधुरास्थित काली नदीको मुहानयताको भूभाग नेपालकै भएको बताएका छन्। आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारकोतर्फबाट संसदलाई जवाफ दिँदै ज्ञवालीले साे कुरा बताएका हुन् । ज्ञवालीले सुगौली सन्धीपछि नेपाल–भारतबीच सीमासम्बन्धी कुनै पनि प्रकारका सम्झौता नभएको स्पष्ट पारेका छन् । भारतले नेपाली भूमि मिचेर चीनको मानसरोवर जोड्ने सडक खनेर उद्घाटन समेत गरेको विषयमा सांसदहरुले राखेको जिज्ञासाको उत्तर दिंदै संसदमा यस्तो जानकारी दिएका हुन् । मन्त्री ज्ञवालीले नेपालले सीमा अतिक्रमका विषयमा सरकारले औपचारिक धारणा राखिसकेको र भारतले नेपाली भूमिमा सडक बनाएकोप्रति गम्भिर ध्यानाकर्षण भएको दोहोर्‍याएका थिए । उनले नेपाल–भारत सीमा समस्या सन्धि, नक्सा, दस्तावेज र तथ्यका आधारमा यो समाधान गर्नुपर्ने समेत बताएका छन् । उनले भने, ‘भारतले निर्माण गरेको भूमि नेपालको लिपुलेक र लिम्पियाधुरा हो । मन्त्री ज्ञवालीले राष्ट्रियहितमा दृढतापूर्वक रहेर नेपाली भूमि अतिक्रमणको समाधान कूटनीतिक तहबाटै हुनुपर्नेमा पनि जोड दिएका छन्। ‘नेपालले पटक पटक ध्यानाकर्षण गराउँदा गराउँदै भारतले नोभेम्बर २, २०१९ मा नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको छ। यो कदम झनै बेठीक छ।’

रक्षामन्त्रीलाई गगन थापको प्रश्नः लिपुलेकमा तिर्थयात्रा गएकाे हाे ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले केही समयअगाडि रक्षामन्त्री ईश्वर पोखरेल लिपुलेक क्षेत्रमा भ्रमणमा गएपछि के काम गरे भनेर प्रश्न गरेका छन् । आइतबार संसदमा नेता थापाले प्रश्न गर्दै भने, ‘भारतको हस्तक्षेप र अतिक्रमणको घोर भर्त्सना गर्दछु, केही समयअगाडि रक्षामन्त्रीजीले यो ठाउँको अवलोकन गर्नुभएको थियो, के त्यो तिर्थयात्रा थियो ? थिएन भने उहाँले सरकारलाई के बताउनुभयो र सरकारले यो बीचमा के काम गर्‍यो ?’ नेता थापाले हाम्रो भूमिमा एक ईञ्च पनि तलमाथि भयो भने नेपालले छाड्नेवाला छैन भनेर प्रष्टसँग भन्न सरकारलाई आग्रह गरे । उनले भारतीय दादागिरीमा चीनले पनि सहयोग गरिरहेको आशंक व्यक्त गरे । ‘भारतको यो दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस, सिंगो नेपाली जनता तयार छन्,’ उनले प्रश्न गरे, ‘सरकारले हामीबाट के सहयोगको अपेक्षा गरेको छ ? हामी जान्न चाहन्छौं ।’

नियमविपरीत सञ्चालित राइस मिलको गोदाममाथि सिल

लहान । गोलबजार नगरपालिकाको अनुगमन टोलीले नियमविपरीत सञ्चालन गरेको भन्दै एक राइस मिलको गोदाम सिल गरेको छ । गोलबजार नगर उपप्रमुख रेशम थापाको नेतृत्वको सर्पपक्षीय बजार अनुगमन टोलीले पसलको स्वीकृति लिएर राइस मिल सञ्चालन गरेको भन्दै गोलबजार नगरपालिकास्थित शिवनाथ साहको राइस मिलको गोदाम सिल गरेको हो । राइस मिलले कुटानी पिसानीको स्वीकृति लिएर पिठो प्याकिङ गरी बिक्री गर्ने गरेको, प्याकिङमा मूुल्य उल्लेख नभएको, उत्पादन मिति र समाप्ती मिति उल्लेख नभएको पाइएपछि गोदाममा सिल गरिएको उद्योग व्यापार सङ्घ गोलबजारका अध्यक्ष भरत अग्रवालले जानकारी दिए । यस्तै अनुगमन टोलीले गोलबजारमा सञ्चालित विभिन्न किराना पसलमा गरेको अनुगमनको क्रममा दररेटअनुसार सामान बिक्री वितरण नभएको, म्याद गुज्रेको सामान बिक्री वितरण भइरहेको, लकडाउनको पालना, नियमानुसार व्यवसाय सञ्चालन भइरहेको पाइएको अध्यक्ष अग्रवालले बताए । त्यस्तो लापरवाही गर्ने व्यापारीलाई पहिलोपटकका लागि सचेत गराइएको र अबदेखि कमीकमजोरी पाइए कारवाही गर्ने उनको भनाइ थियो । लकडाउनको मौका छोपी व्यवसायी खुलेआम कालोबजारी गरिरहेको जनगुनासो बढेपछि अनुगमनलाई प्रभावकारी बनाउँदै त्यस्ता कालाबजारी गर्ने र अखाद्य वस्तु बिक्री वितरण गरी सोझासाझा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गर्ने जो–कोहीलाई पनि काडा कारवाही गर्ने गोलबजारका उपप्रमुख थापाले बताए।  रासस

सरकारलाई काँग्रेसी अर्थशास्त्रीको २१ बुदे सुझावः कर नबढाउ, व्याज घटाउ, २ खर्बको राहत प्याकेज ल्याउ

काठमाडौं । नेपाली काँग्रेस निकट अर्थशास्त्रीहरुले कोरोना भाइरसको कारण उत्पन्न जोखिम न्यूनिकरण गर्न सरकारले २ खर्ब रुपैयाँको आर्थिक प्याकेज ल्याउनु पर्ने सुझाव दिएका छन् । सरकारले कूल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत रकम बराबरको प्याकेज ल्याउनु पर्ने उनीहरुको भनाइ छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गरेको अध्ययनमा संलग्न अर्थशास्त्रीहरुले यस्तो सुझाव दिएका हुन् । सुझावहरुमा कोरोना भाइरस परीक्षणको दायरा बढाउनु पर्ने, स्वास्थकर्मीलाई सुरक्षा तथा प्रोत्सासहन भत्ता शतप्रतिशत बृद्धि गरेर १ करोड रुपैयाँ बराबरको बीमा गराउनु पर्ने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा स्वरोजगार र रोजगारी गुमाएका व्यक्ति तथा उनीहरुको परिवारलाई नगद तथा खाद्यान्न सहयोग गर्नुपर्ने लगायतका सुझाव दिएको छ । पूर्व उद्योग मन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्दराज जोशीको संयोजकत्वमा गठित अध्ययन समितिमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. पृथ्बीराज लिगल, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्दराज पोखरेल, डा. स्वर्णिम वाग्ले तथा आयोगकै पूर्व सदस्य प्राडा पुष्कर बज्राचार्य सदस्य थिए । समितिका अन्य सदस्यहरुमा डा. कुसुम शाक्य, डा. अर्विन्दकुमार मिश्र, महेन्द्र यादव र वशन्ती आचार्य थिए । समितिको सदस्य सचिव डा. दधी आधिकारी थिए । यस्ता छन् सुझावहरु १. परीक्षणको दायरा व्यापक गर्नेः सरकारले समुदायस्तरमा गएर व्यापक रुपमा कोरोना भाईरस संक्रमणको पीसीआर परीक्षण गर्नु आवश्यक छ । संक्रमणलाई व्यापकरुपमा गरिएको परीक्षणको माध्ययमबाट नियन्त्रण गर्न सफल राष्ट्रहरुको अनुभवको आधारमा भन्ने हो भने नेपालले कम्तिमा ३ लाख ६० हजार (करिब १.२ प्रतिशत) परीक्षण गर्नु पर्दछ । अतः परीक्षणको लागि आवश्यक पर्ने उपकरण तथा स्वास्थ्य कर्मचारीको व्यवस्था तुरन्त गर्ने । सरकारलाई यसले करिब ५ अर्बको व्ययभार थप गर्ने देखिन्छ । यसका साथै जनचेतना अभिबृद्धि गर्ने । २. स्वास्थ्यकर्मीलाई सुरक्षा तथा प्रोत्साहन भत्तामा बृद्धि गर्नेः कोरोना विरुद्धको लडाईमा स्वास्थ्यकर्मीहरु अग्रपंक्तिका योद्धाहरु हुन । अतः स्वास्थ्यकर्मीहरुकै स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हुनुपर्दछ । स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने उच्चगुणस्तरका पीपीई, मास्क र अन्य उपकरण पर्याप्त मात्रामा उपलब्ध गराउनु पर्दछ । यस बाहेक स्वास्थ्यकर्मीको भत्ता शतप्रतिशत बढाउने र १ करोडको बीमा गरिनु पर्दछ । कोरोना विरुद्धको लडाईमा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन, बीमा र भरोसाको आवश्यकता पर्दछ र यी कुराहरुको सुनिस्चितता सरकारले गर्नु पर्दछ । अहिले देशमा करिब २ हजार ३ सय गैरसरकारी स्वास्थ्य संस्थाहरु छन् । त्यस्तै नेपाल मेडिकल काउन्सीलमा २६ हजारभन्दा बढी चिकित्सकहरु र नेपाल नर्सिङ काउन्सीलमा ९५ हजारभन्दा बढी नर्सहरु दर्ता छन् । सरकारले निजी क्षेत्रका स्वास्थ्य संस्थासँग समेत समन्वय गरेर देशमा उपलब्ध भौतिक तथा मानवीय क्षमताको अधिकतम प्रयोग गर्नु आवश्यक छ । ३.अनौपचारिक क्षेत्रमा काम गर्ने तथा स्वरोजगार र रोजगारी गुमाएका व्यक्ति तथा उनीहरुको परिवारलाई नगद तथा खाद्यान्न सहयोग गर्नेः सहयोग गर्ने कार्यको संयोजन पालिकाले सर्वदलीय संयन्त्रमार्फत गर्ने । यसरी सहयोग गर्दा राज्यले तोकेको न्यूनतम ज्यालाको आधारमा भरसक उत्पादनशिल काममा लगायर पोषण भौचर दिने । बेरोजगारहरुलाई स्थानीय सडक निर्माण, भौतिक पूर्वाधार, कृषि, तथा वातावरण संरक्षण, सामाजिक सेवा जस्ता क्षेत्रमा रोजगारी दिन सकिन्छ । यसले गर्दा एकातर्फ आमनागरिकको जीवनयापनका समस्या समाधान हुनेछन् भने अर्कोतर्फ आर्थिक मन्दीको अवस्थामा पनि अर्थतन्त्र चलायमान हुने छ । उदाहरणका लागि नेपालमा स्थानीय धुले सडकको लम्बाई ४३ हजार ६६ किलोमिटर रहेको छ । यसलाई स्थानीय सामाग्री प्रयोग गरेर ग्राभेल र पिच गर्न सकिन्छ । यस्तै प्रत्येक वर्ष देशमा १२ हजारभन्दा वढि पहिरो जान्छन् । राष्ट्रिय रुपमा रोजगार व्यवस्थपन गर्न राष्ट्रिय रोजगार केन्द्र स्थापना गर्ने । ४. स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरी लकडाउन क्रमिक रुपमा खुकुलो बनाउनेः स्मरण रहोस लकडाउनले गर्दा नेपाली अर्थतन्त्रले प्रत्येक दिन करिब १० अर्ब बराबरको नोक्सान व्यहोरिराखेको छ । यसरी लकडाउन खुकुलो पार्दा पालिका, निर्माण स्थल, र औद्योगीक परिसरहरुलाई लकडाउन जोन बनाई एक लकडाउन जोनबाट अर्को लकडाउन जोनमा आवतजावत नियन्त्रण गर्ने । प्रत्येक लकडाउन जोनमा स्वास्थ्यका उच्चतम उपायहरु अबलम्बन गरेर आर्थिक गतिविधि संचालन गर्ने । आर्थिक गतिविधिको संचालनसँगै उत्पादन, बजार र खपतबीच सामान्जस्यता कायम गर्न सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आपूर्ति श्रृङखलाको व्यवस्थापन गर्ने । ५. एसईई परीक्षा सधैका लागि अन्त गर्नेः यो बर्षको एसईई परीक्षाको सट्टा विद्यालयको आन्तरिक परीक्षालाई आधार मानी बिद्यार्थीको मूल्याङ्कन गर्ने । विद्यालयले दिने खाजा बराबरको रकम विद्यार्थीको अभिभावकलाई दिने । ६. अनलाईन कक्षा संचालन गर्नेः नेपालमा आमनागरिकको प्रविधिमा पहुँच कम भएको सन्दर्भमा अनलाईन कक्षा संचालन दीर्घकालिन समाधान नहुने भए तापनि कोभिडको वर्तमान अवस्थामा विद्यार्थीहरुलाई स्कूल प्रणालीसँग जोडी राख्न यो उपयोगी छ । अतः सरकारले प्रत्येक विद्यार्थीलाई प्रतिमहिना ६० जीबी डेटा निशुल्क उपलब्ध गराउने र कक्षा संचालन गर्न लगाउने । स्मरण रहोस, हाल देशमा १७ प्रतिशत मानिससँग मात्र वायर्ड ब्रोडव्याण्ड र ५५ प्रतिशत मानिससँग मोबाईल ब्रोडव्याण्ड इन्टरनेट सुविधा छ । अनलाईन पहुँच नभएका ठाऊँमा सरकारी तथा निजी संचारमाध्यमको सहकार्यमा टिभी, रेडियो, एफ एम, र मोबाईल फोन मार्फत कक्षा संचालन गर्ने । ७. शिक्षकहरुलाई अनलाईन शिक्षाका पाठ्यक्रम तथा पाठ्य सामाग्री निर्माण गर्न लगाउने: नेपालमा आधारभूत तथा माध्यमिक शिक्षामा गरी जम्मा २ लाख २६ हजार शिक्षक कार्यरत छन् । लकडाउनको बेलामा शिक्षकहरु घरमै बस्नु पर्दा उहाँहरुको ज्ञान र शिप खेर गै राखेको छ । अतः यो बेलामा खाली बसिराखेका शिक्षकहरुलाई अनलाईन शिक्षाका पाठ्यक्रमतथा पाठ्य सामाग्री निर्माण गर्न लगाउने । ८.स्कूल जोनिङ प्रणाली लागू गर्नेः सार्वजनिक शिक्षामा क्षेत्र स्कूल जोनिङ प्रणाली अर्थात कुनै एक पालिका वा वार्डमा बस्ने विद्यार्थी त्यही वार्ड वा पालिकाको निर्धारित विद्यालयमा पढ्नु पर्ने नियम लागू गर्नेतर्फ कार्य गर्ने । त्यसका लागि सबै बिद्यालयको गुणस्तर समान बनाउने कार्यको थालनी गर्ने । ९.निजी क्षेत्रका कर्मचारीको ज्याला यथावत राख्नु पर्नेः कोभिडको कारणले संचालनमा नभएका निजी क्षेत्रका उद्योग तथा सेवा क्षेत्रका कर्मचारीको जीवनयापनको समस्यालाई मध्यनजर राख्दै उनीहरुले प्राप्त गरिराखेको ज्याला वा पारिश्रमिक अविच्छिन्न राख्नको लागि राज्यले अधिकतम जिम्मेवारी एवं लचकता प्रदर्शन गर्दै राज्य, कर्मचारी, र निजी क्षेत्रबीच छलफल र सम्झौताको आधारमा तय गरिनु पर्ने नेपालमा निजी क्षेत्रमा काम गर्ने कर्मचारी करिब २० लाख रहेको अनुमान छ । १०. बैंकहरुले ऋणमा लिने व्याजदर बृद्धि नगर्नेः राष्ट्र बैंकले मुद्राप्रदायका उपकरणहरु जस्तै पुनक्र्रय अनुबन्ध (रिपर्चेज एग्रिमेन्ट), बट्टादर (डिस्काउन्ट रेट) तथा रिजर्भ रिक्वायरमेन्ट मार्फत समग्र रुपमा व्याजदर कम गर्नेतर्फ काम गर्नु पर्दछ । ११.पालिका र जिल्ला अस्पतालको क्षमता अभिबृद्धि गर्नेः प्रत्येका पालिकाका हेल्थपोष्ट र प्राथमिक स्वास्थ्य केन्द्रमा आईसोलेसन बेड राख्ने । सबै जिल्ला अस्पताललाई तत्काल पीसीआर मेसिन उपलब्ध गराई कोभिड परीक्षण केन्द्रको रुपमा स्थापित गर्ने । १२.कृषि उत्पादनमा प्याकेजमा सहयोग दिनेः संघीय सरकारले पालिकामार्फत किसानलाई आवश्यक पर्ने मल, बीउ, कृषिऔजार, किटनाशक औषधी, निशुल्क बीमा, कम्तिमा एक वर्षको लागि निव्र्याजी ऋण तथा अनुदान, उपलब्ध गराउने । यसका साथै किसानहरुकै सहकारीहरुलाई समेत संलग्न गराई कृषि उत्पादनको बजार व्यवस्थापन गरिदिने । १३. दीर्घरोगका बिरामीलाई विशेष सहयोग गर्नेः कोभिड–१९ संक्रमण नभएका तर दैनिक औषधी सेवन गर्नुपर्ने दीर्घरोगका बिरामीको औषधी र परीक्षणको सुनिस्चितता प्रदान गर्ने । यसका साथै अकास्मिक सेवा लिनुपर्ने बिरामीहरुको लागि आकस्मिक कक्ष खुला राख्नु पर्ने । अस्पतालको ओपीडी संचालन गर्ने । अपरेसन (शल्यक्रिया) गर्न पालो कुरिरहेका विरामीहरुको अपरेसन (शल्यक्रिया) गर्ने । १४. कृषकलाई नगद अनुदान दिनेः कृषि उत्पादनमा बृद्धि तथा उत्पादित विद्युत उर्जा खपत गर्न तराई तथा पहाडमा विद्युतीकृत साना सिंचाई योजनामा (स्यालो ट्यूबवेल, डीप ट्यूववेल, सोलर पम्प) नगद अनुदान दिने । १५. कर नबढाउनेः अहिलेको समय विस्तारित वित्त नीति अबलम्बन समय हो । यो अवस्थामा करमा बृद्धि गर्नु घातक हुन सक्छ । अतः करको दायरामा बृद्धि गरे तापनि दरमा बृद्धि नगर्ने । १६. साना तथा मझ्यौला उद्योगलाई विशेष सहयोग गर्नेः साना तथा मझ्यौला उद्योगको जोखिमलाई ३५ अर्बको कोष (स्पेसल पर्पाेज भेहिकल–एसपीभी) बनाई उक्त कोषमार्फत कम गर्ने । यस्तै साना तथा मझ्यौला उद्योगमा वैदेशिक लगानी आकर्षित गर्न १ महिनाभित्र दर्ता तथा संचालन प्रक्रिया पुरा हुन सक्ने व्यवस्था गर्ने । दर्ता प्रक्रियालाई सहज बनाउन अटोमेसन प्रक्रिया संचालनमा ल्याउने । संयूक्त लगानी, बैदेशिक लगानी, यूवाहरुलाई स्वरोजगार बनाउने, उद्योग व्यवसाय दर्तालगायतका सेवाहरु अनलाईनबाट लिन सकिने, द्रुतरुपमा गर्ने आदि कुरामा आवश्यक कुराहरुलाई प्रभावकारी नीतिगत सुधार यहि मौकामा गर्ने । १७.सूचना तथा प्रविधिको क्षेत्रमा व्यापक विस्तार गर्नेः शिक्षा, स्वास्थ्य, वित्त, यातायात, कृषि, मनोरञ्जन, सेवा जस्ता क्षेत्रहरुमा ईकमर्स, ईहेल्थ, ईलर्निङ, ईव्याङ्किङ, ईलेन्डिङ, राइड सेयर, सफ्टवेयर निर्माण, एनिमेसन आदिमार्फत व्यापक रुपले डिजिटलीकरण गर्ने । सूचना प्रविधिको विकासमा व्यापक लगानी गर्ने । स्टार्टअपहरुलाई यूवाहरुलाई प्रविधि विकासमा प्रेरित गर्ने । १८. तथ्याङ्कयीय आधार तयार गर्नेः पालिकास्तरमा व्यक्तिगत तथ्याङ्क संकलन गर्ने कार्यमा तिब्रता दिने र प्रभावकारी सेवा प्रवाह तथा विकास निर्माणका कार्यमा आवश्यक पर्ने आमनागरिकका व्यक्तिगत विवरण जस्तै ठेगाना, लिङ्ग, उमेर, आम्दानी, स्वास्थ्यस्थिति, जैविक पहिचान, राष्ट्रिय पहिचान नम्बर जस्ता कुरा केन्द्रिय तथ्याङ्क प्रणलीसँग आवद्ध गर्ने कार्यको सुरुवात गर्ने । तथ्याङ्क संकलन र भण्डारण गर्दा व्यक्तिगत गोपनीयताको अधिकारलाई सुरक्षित राख्ने । १९. निरन्तर सूचना प्रवाह गर्नेः लकडाउनको बेलामा पनि शुसासन, पारदर्शिता तथा प्रेस स्वतन्त्रतालाई अक्षुण राख्ने । आमनागरिकलाई तथ्यपरक सुचना प्रवाह गर्ने । २०.सुशासन र पारदर्शिता सुनिस्चित गर्नेः कोभिड–१९ अन्तर्गत गरिएको खर्चको अनुगमन नागरिक समाजका अगुवाहरु, विश्वविद्यालयका प्राध्यापकहरु, थिङ्कट्याङ्कका प्रतिनिधि, नेपाल सरकारका सम्बन्धित कार्यालयका प्रतिनििध सम्मिलित एक स्वतन्त्र निकायले गर्ने र खर्चको लेखा परीक्षण सार्वजनिक गर्ने । २१. जीडीपीको ५ प्रतिशत अर्थात करिब २ खर्बको कोरोना केन्द्रित आर्थिक प्याकेज ल्याउनेः सरकारले जीडीपीको ५ प्रतिशत अर्थात करिब २ खर्ब बराबरको कोरोना केन्द्रित आर्थिक प्याकेज ल्याउनु पर्ने । यसको लागि आवश्यक पर्ने रकमको व्यवस्था मितव्ययिता अवलम्बन गरेर, खर्च नभएका मन्त्रायबाट खर्च नभएको रकम तानेर, गतवर्ष खर्च नभएको रकम प्रयोग गरेर, अनावश्यक समिति, आयोग, र परिषद खारेज गरेर, विदेशी दातृ संस्थाबाट अनुदान तथा सहुलियतपूर्ण ऋण लिएर गर्न सकिन्छ । आर्थिक प्याकेजको खर्च एक अनुगमन समितिमार्फत पारदर्शी रुपमा गर्ने र आवश्यक परेमा राहत प्याकेजको लागि खरिद कानून संसोधन गर्ने ।

हेटौँडा औद्योगीक क्षेत्रका उद्योगहरु खुल्न थाले

काठमाडौं । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योग सञ्चालनमा आउन थालेका छन् । औद्योगीक क्षत्रमा रहेका २५ वटा उद्योगहरु सञ्चालनमा आएका छन् । अत्यावश्यक सामग्री उत्पादन गर्ने १५ वटा र अन्य १० वटा उद्योगमा सामाजिक दूरी कायम गरि उत्पादन सुरु भएको हो । हेटौँडा औद्योगिक क्षेत्रका अनुसार कच्चा पदार्थको अभावले उद्योग न्यून क्षमतामा सञ्चालन भइरहेका छन् । उद्योगहरु सुरक्षा विधि अपनाएर सञ्चालन भइरहेका छन् । उद्योग सञ्चालनका लागि जनशक्तिको पनि अभाव रहेको छ । औद्योगिक क्षेत्रमा २५ प्रतिशत मात्र जनशक्ति मकवानपुरका रहेका र अन्य बाहिरका रहेकाले पनि उद्याग सञ्चालनमा कठिनाइ भइरेको छ । लकडाउनभन्दा अगाडी औद्योगिक क्षेत्रमा रहेका १०८ वटा चलिरहेका भए पनि अहिले २५ वटा मात्रै उद्योग सञ्चालन भएका छन् ।

दश दिनपछि सञ्चालनमा आयो भरतपुर कोभिड–१९ प्रयोगशाला

काठमाडौं ।कोरोना भाइरसको परीक्षण गर्ने पिसीआर किट अभावसँगै काम रोकिएको भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार किट उपलब्ध गराएपछि पुनः नियमित परीक्षण शुरू भएको हो । किटको अभावमा विगत १० दिनयता प्रयोगशाला सञ्चालनमा आउन सकेको थिएन । यहाँको नमूना हेटौंडा र काठमाडौं पठाइँदै आएको थियो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिलेको किटले एक हजार ३ सयभन्दा बढीको नमूना परीक्षण गर्न सकिने छ । एकैपटक यति धेरै किट पठाएको यो पहिलोपटक हो । गत चैत २४ गतेबाट परीक्षण शुरू गरेको प्रयोगशालाका लागि शुरूमा जम्मा ३ सय ८४ थान किट पठाएको थियो । त्यसपछि बीचमा १ सयथान किट पठाए पनि दुई दिनमै सकिएपछि प्रयोगशाला बन्द भएको थियो । यस प्रयोगशालामा दैनिक ४० जनाको हाराहारीमा पिसीआर परीक्षणका लागि नमूना सङ्कलन हुने गरेको छ । विगतका दिनहरुजस्तै नमूना सङ्कलन भएमा एक महिनालाई किट पुग्ने पौडेलले बताए । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले किट आएसँगै नमूना परीक्षणको समस्या हटेको बताए । यो प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालापछिको उत्कृष्ट मानिएको छ । जान चाहाने भारतीयलाई घर फर्काइँदै भारत घर भइ हाल नेपालमा रहेर भारत जान चाहने भारतीय नागरिकलाई जिल्ला प्रशासन कार्यालय चितवनले घर पठाउने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर चितवन जिल्लाभित्र रहेका घर जान चाहने भारतीयलाई परिचयपत्रसहित नाम टिपाउन आग्रह गरेको छ । भारत जान चाहनेले आफ्नो देशको परिचयपत्रको नम्बरसहित मोबाइल नम्बर, भारतको ठेगाना, हाल चितवनमा बसेको ठेगाना र नेपालको कुन नाकाबाट पार गर्नुपर्ने हो ती सबै विवरण खुलाएर आज दिनको ३ बजेसम्म प्रशासनमा सम्पर्क गर्न अनुरोध गरेको छ । भारत फर्कन चाहने व्यक्तिले जिल्ला प्रशासन कार्यालय चितवनको इमेल [email protected] वा मोबाइल नम्बर ९८५५०१७७७७, ९८५११५९५१४, ९८४१०४३६३४ र ९८४५३३१०३६ मा म्यासेज गर्न सकिने सूचनामा उल्लेख गरेको छ । जिल्लामा भारत घर भएका नागरिकको सङ्ख्या के–कति छ र कति जान चाहन्छन् भन्ने वास्तविक तथ्याङ्क स्थानीय प्रशासनसँग नभएकाले सार्वजनिक आह्वान गरिएको हो । रासस

फेसबुकमा अश्लिल भिडियो पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा कैलालीका युवक पक्राउ

काठमाडौं । कैलालीमा आफन्त तथा साथिहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको गौरिगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुर बस्ने बर्ष १९ कि लक्ष्मी देउवाको फेसबुक आईडीबाट उनका आफन्त तथा साथिहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाई चरित्र हत्या गरेको आरोपमा कैलाली प्रहरीले उनलाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालीका वडा नम्बर ६ जाली स्थित सुकुटी नालामा झुण्डी आत्महत्या गरेको भन्ने सूचनाको आधारमा घटनाको अनुसन्धानका लागि जिल्लारी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न जिल्ला कन्चनपुर बेलौरी नगरपालीका वडा नम्बर ७ बस्ने वर्ष २३ को सन्तराम चौधरीलाई उक्त अश्लिल भिडियो, फोटा, र फेसबुक आईडी लगईन अवस्थामा फेलापारी सो मोबाईल बरामद तथा निजलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको बताएको छ ।

टमाटर नबिकेर कुहिएपछि किसानलाई भोक न निद्रा

भद्रपुर । लगानीको दोब्बर मुनाफा हुने आशाले १५ कठ्ठा जमीनमा टमाटरको व्यावसायिक खेती गर्नुभएका मेचीनगर–२ का रमेश दङ्गाल अहिले नबिकेर कुहिन लागेका टमाटर हेर्दै पुर्पुरोमा हात राख्छन् । कोभिड–१९ को सङ्क्रमण रोक्न लगाइएको बन्दाबन्दीका कारण व्यापारीहरु आउन छाडेपछि टमाटर बारीमै खेर गएको छ । “बारीभरि टमाटर पाकेर राताम्य छन्, बिक्री छैन”, बन्दाबन्दीको मार खेपिरहनुभएका दङ्गाल भने, “सबै लगानी डुब्यो, भोक न निद्राको स्थिति सिर्जना भयो ।” उनले ४ लाख रुपैयाँ खर्चेर हुर्काएका ११ हजार बोटमा यतिबेला लटरम्म टमाटर पाकेका छन् । कोराना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीको प्रत्यक्ष मार किसानमा परेको छ । लाखौं खर्च गरेर लगाएको बाली पाके पनि बजारसम्म लगेर बिक्री वितरण गर्न नसक्दा उनीहरु ऋणमा डुबेका हुन् । “यस्तो अवस्था आउँछ भन्ने सोचिएको थिएन”, उनले भने, “टमाटर राम्रो फलेको थियो दोब्बर आम्दानी हुने भयो भनेको त लगानी नै पो डुब्यो ।” उनका बारीमा यतिबेला १ हजार क्विन्टलभन्दा बढी टमाटर पाकेका छन् । भतिजा दिपेश दङ्गालले बर्सेनि टमाटरबाट राम्रो आम्दानी गरेको देखेर उनले पनि यस वर्षदेखि टमाटर खेती शुरु गरेको बताए । टमाटर खेतीमा होमिनुभएका मेचीनगर–१४ का राजु राईको अवस्था पनि उस्तै दर्दनाक छ । उनले दुई वर्षअघिदेखि दुई बिघा जग्गा लिजमा लिएर टमाटर, बन्दाकोभी र मकैलगायतको खेती गरिरहेका छन् । महेन्द्र राजमार्गको धाइजनमोडबाट एक किलोमिटर दक्षिणमा एक बिघा जमीनमा रोप्नुभएको १८ हजार टमाटरको बिरुवाबाट ५० क्विन्टल टमाटर फलेको अनुमान छ । बन्दाबन्दीका कारण उनले उत्पादन गरेका सबै टमाटर बारीमै कुहिएको छ । अरु बेला व्यापारी तथा बिचौलिया बारीमा नै तरकारी लिन आउने गरेका भए पनि यसपालि कोही नआएको उनको भनाइ छ । “वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुन्थ्यो”, उनले भने, “यसपटक ५० केजी बिक्यो होला, अरु सबै बारीमै कुहिएर गयो ।” उत्पादन गर्न हौसला दिने सरकारले उत्पादित वस्तुलाई बजारीकरण गर्न भने कुनै चासो नदिएको किसानहरुको आरोप छ । “हामी दुःख गरेर उत्पादन गछौँ”, राईले भने, “गाउँ डुलाएर बेच्ने आफूसँग कुनै साधन थिएन, यत्रो उत्पादन खेर जाँदा स्थानीय सरकारले चासो नदिएकामा दुःख लागेको छ ।” मेचीनगर नगरपालिकाको १, २ र ३ नं वडाका किसानले २० बिघाभन्दा बढी जमीनमा व्यावसायिकरूपमा टमाटर खेती गर्दै आएको मेची मूल कृषक समूह मेचीनगरका अध्यक्ष पूर्णबहादुर कटुवाल बताए । उनका अनुसार अधिकांश किसानले जग्गा लिजमा लिएर टमाटर खेती गर्दै आएका छन् । प्रत्येक किसानले पाँच कठ्ठादेखि दुई बिघासम्ममा टमाटर लगाएका छन् । उनीहरु सबैको लगानी यसपालि बन्दाबन्दीले गर्दा डुबेको छ । “वर्षौदेखि व्यावसायिक खेती गर्दै आएका किसान बन्दाबन्दीको मारमा परे”, उनले थपे, “शुरुमा भारततिरबाट खुला र लुकीछिपी भित्रिने टमाटरले स्थानीय उत्पादनलाई बजार पुग्नै दिएन, नाका बन्द भएपछि बोलाउँदा बजार सबै बन्द छ भन्दै खरिदेहरु आउन मानेनन् ।” टमाटर बिक्री नहुँदा किसानलाई ऋणको चिन्तामाथि बिहान बेलुकाको छाक टार्नसमेत समस्या हुन थालेको बताए । हिउँदमा पाकेको टमाटर लामो समयसम्म बोटमा टिक्दैन । गर्मीमा दुई–तीन दिनपछि बोटमै कुहिने उनले बताए । गत वर्ष प्रतिकेजी ४० मा बिक्री हुँदै आएको टमाटर यस वर्ष भने प्रतिकिलो रु सात दिँदासमेत बिक्री नभएको किसान बताउँछन् । विगतमा विर्तामोड, धरान, विराटनगरका व्यापारी आफैं आएर राम्रै दाम दिएर लैजाने गरेको टमाटर यस वर्ष किसानले कयौँपटक बोलाउँदासमेत कोही नआएको गुनासो छ । “विर्तामोडको कृषि थोकसम्म पुर्याउँदा प्रतिक्यारेट २ सय ५० देखि ३ सयसम्म दिन्छन्”, उनले भने, “त्यसमा पनि व्यापारीलाई १० प्रतिशत कमिसन दिँदा प्रतिकेजी ७ रुपैयाँ पनि किसानको भागमा पर्दैन ।” यसपालि कृषि थोक बजारसम्म उत्पादनलाई पुर्याउन नपाउँदै नोक्सानी भएको किसानहरुको गुनासो छ । एक क्यारेटमा २३ केजी हुने किसानको भनाइ छ । बजारमा यतिबेला व्यापारीले मूल्य ३५ देखि ४० रुपैयाँ सम्ममा टमाटर बिक्री गर्दैै आएका छन् । दुःख गरेर किसानले गरेको खेतीको फाइदा बिचौलियाले लिने गरेको उनीहरुको आरोप छ । स्थानीय सरकार र कृषि ज्ञान केन्द्र झापालाई समेत किसानहरुले टमाटर बिक्रीका लागि पहल गरिदिन आग्रह गरेका छन् । रासस