काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लिम्पियाधुरास्थित काली नदीको मुहानयताको भूभाग नेपालकै भएको बताएका छन्। आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारकोतर्फबाट संसदलाई जवाफ दिँदै ज्ञवालीले साे कुरा बताएका हुन् ।
ज्ञवालीले सुगौली सन्धीपछि नेपाल–भारतबीच सीमासम्बन्धी कुनै पनि प्रकारका सम्झौता नभएको स्पष्ट पारेका छन् । भारतले नेपाली भूमि मिचेर चीनको मानसरोवर जोड्ने सडक खनेर उद्घाटन समेत गरेको विषयमा सांसदहरुले राखेको जिज्ञासाको उत्तर दिंदै संसदमा यस्तो जानकारी दिएका हुन् ।
मन्त्री ज्ञवालीले नेपालले सीमा अतिक्रमका विषयमा सरकारले औपचारिक धारणा राखिसकेको र भारतले नेपाली भूमिमा सडक बनाएकोप्रति गम्भिर ध्यानाकर्षण भएको दोहोर्याएका थिए ।
उनले नेपाल–भारत सीमा समस्या सन्धि, नक्सा, दस्तावेज र तथ्यका आधारमा यो समाधान गर्नुपर्ने समेत बताएका छन् । उनले भने, ‘भारतले निर्माण गरेको भूमि नेपालको लिपुलेक र लिम्पियाधुरा हो ।
मन्त्री ज्ञवालीले राष्ट्रियहितमा दृढतापूर्वक रहेर नेपाली भूमि अतिक्रमणको समाधान कूटनीतिक तहबाटै हुनुपर्नेमा पनि जोड दिएका छन्। ‘नेपालले पटक पटक ध्यानाकर्षण गराउँदा गराउँदै भारतले नोभेम्बर २, २०१९ मा नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको छ। यो कदम झनै बेठीक छ।’