जाजरकोट । कोरोना भाइरसको जोखिम हुन नदिन रुकुम पश्चिमका तीनवटा स्थानीय तहले अस्पताल तथा आइसोलेशन कक्ष तयार गरेका छन् । मुसीकोट,चौरजहारी र आठबीसकोट नगरपालिकाले ती सेवा तयारी अवस्थामा राखेका हुन् ।
मुसीकोट नगरपालिकाले कोरोना विशेष अस्पताल सहित आइसोलेशन भवनको काम शनिबार सम्पन्न भएको नगर प्रमुख देवीलाल गौतमले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पतालको स्वामित्वमा रहने गरी वडा नं १ सल्लेमा आइसोलेशन कक्षको भवन निर्माण गरिएको हो ।
प्रिफाई विधिबाट निर्माण गरिएको सो पाँच कोठाको अत्याधुनिक सुविधासम्पन्न भवनमा आठवटा श्यया रहेको छ । करिब १८ दिनमा भवन निर्माण सम्पन्न भएको बताइएको छ ।
अस्पताल सहित आइसोलेशनका लागि स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने तयारी भइरहेको उनले बताए । सो आइसोलेशन कक्षमा बिरामी भर्ना गर्ने सुविधायुक्त कोठा , जनरल वार्ड तथा स्वास्थ्यकर्मीका लागि पनि छुट्टै कोठा रहेका छन् । अक्सिजन, तातोपानी, प्रत्येक कोठामा बाथरुम, मनिटर, बेड, अक्सिजन रहने जनाइएको छ ।
त्यस्तै चौरजहारी अस्पतालको स्वामित्वमा रहने गरी चौरजहारी नगरपालिका–१ मा १८ दिनमा १५ श्ययाको कोरोना अस्पताल निर्माण गरिएको छ । सात कोठाको सो भवनमा ६ कोठामा बिरामी भर्ना गरिने र एउटा कोठा स्वास्थ्यकर्मीले प्रयोग गर्ने छन् ।
कर्णाली प्रदेश सरकारले गत चैत १३ गते चौरजहारीमा कोरोना आइसोलेशन केन्द्र बनाउने निर्णय गरेको थियो । सोे अस्पतालका प्रशासक दिलबहादुर गिरीले अस्पतालमा एकैपटक ३९ जनालाई आइसोलेशनमा राखेर उपचार गर्न सकिने जानकारी दिए । अक्सिजन र नेगेटिभ प्रेसर मेसिनसहितको अस्पताल निर्माण गरिएको छ ।
अस्पतालले यसअघि २४ श्ययाको आइसोलेशन निर्माण गरेको थियो । अस्पतालका अनुसार झण्डै रु एक करोडको लगानीमा आइसोलेशन निर्माण गरिएको हो । यसअघि शीतल माध्यमिक विद्यालयको भवनमा २० र चौरजहारी अस्पतालभित्रै चार श्ययाको आइसोलेशन निर्माण गरिएको प्रशासक गिरीले जानकारी दिए । अस्पतालले तीनथरिका बिरामीलाई छुट्टाछुट्टै श्ययामा राखेर उपचार गर्ने व्यवस्था मिलाएको छ ।
शीतल माविको श्ययामा शङ्कास्पद, सङ्क्रमण भएका तर लक्षण नदेखिएका तथा आफैँ औषधि सेवन गर्न सक्नेलाई राखिनेछ । नवनिर्मित श्ययामा स्लाइन चढाउनुपर्ने, सामान्यखालको अक्सिजन दिनुपर्ने र हिँडडुलमा समस्या हुनेलाई उपचार गरिने सो अस्पतालले जनाएको छ ।
अस्पतालभित्रको श्ययामा भने गम्भीर अवस्थाका बिरामीलाई राख्ने तयारी भइरहेको छ । चौबीसै घण्टा चिकित्सकको रेखदेखमा रहने अअस्पतालले जनाएको छ । बिरामीको अवस्था गम्भीर भए र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा मात्रै रिफर गर्ने व्यवस्था मिलाइएको छ । अस्पतालले यसअघि दुईजना शङ्कास्पद बिरामीको उपचार गरिसकेको जनाएको छ । चौरजहारीमा अर्को आइसोलेशन भवनसमेत बन्दैछ । शीतल माध्यमिक विद्यालयको प्राङ्गणमा आठ कोठाको भवन निर्माण अन्तिम चरणमा पुगेको चौरजहारी नगरप्रमुख विशाल शर्माले जानकारी दिए । उनका अनुसार एउटा कोठामा चारजना बिरामी राख्न मिल्ने गरी ३२ श्ययाको आइसोलेशन निर्माण भइरहेको हो ।
नगरप्रमुख शर्माले भन्नुभयो, “फिनिसिङको काममात्र बाँकी छ । सबै ठाउँको केन्द्र भागमा रहेकाले आवश्यक पर्ला भनेर आइसोलेशन भवन निर्माण गरिरहेका हौँ ।” आइसोलेशन श्ययाका लागि प्रदेश सरकारले दिएको रु ५० लाख सामग्री खरिदमा खर्च भएको उनको भनाइ छ ।
यसअघि आठबीसकोट नगरपालिकाले १५ श्ययाको कोरोना अस्पताल बनाएर सेवा प्रवाह शुरु गरिसकेको छ । नगरपालिकाको केन्द्र राडीबजारमा १० दिनमै सुविधासम्पन्न कोरोना अस्पताल निर्माण भएको छ । नगरपालिकाले स्थानीयवासीको सहकार्यमा १२ श्ययाको अस्पताल बनाएको हो ।
नगर कार्यपालिकाले गत चैत २५ गते निर्णय गरेलगत्तै अस्पतालका लागि पक्की भवन निर्माणको काम शुरु गरिएको थियो ।
अस्पतालमा ६ विशेष र एक नर्मल वार्ड छन् । अस्पतालका ६ वटा कोठामा एट्याज बाथरुम, एयर कन्डिसन सुविधा, तातोपानी आउने प्रविधि र भाइटल साइन मनिटर जडान गरिएको छ । विशेष वार्डमा एक/एक र नर्मल वार्डमा ६ श्यया राखिएको केसीले जानकारी दिनुभयो । केसीका अनुसार हरेक श्ययामा अक्सिजनको व्यवस्था गरेको छ । बालबालिकालाई पनि छुट्टै उपचार गर्ने व्यवस्था गरिएको छ । कोरोना सङ्क्रमणको आशङ्का गरिएकालाई विशेषमा र पुष्टि भइसकेकालाई नर्मलमा राखेर उपचार गरिनेछ ।
लकडाउनकै समयमा निश्चित दूरी कायम गरी रात–दिन दुई चरणमा काम गरेर अस्पताल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । अस्पताल बनाउन ज्येष्ठ नागरिक र अपाङ्गसमेतले नगद सहयोग गरेका छन् । नगरपालिकाका अनुसार स्थानीयवासीले विभिन्न माध्यमबाट अस्पताल निर्माणमा रु १५ लाख सहयोग गरेका थिए ।
अस्पताल निर्माणका लागि रु ८९ लाखको डिजाइन स्टिमेट गरिएकामा रु ७५ लाखमा निर्माण सकिएको थियो । अस्पतालभित्र नर्सिङ स्टेशनसमेत छ । नगर अस्पताल परिसरमा निर्माण भएको कोरोना अस्पताललाई यसपछि सबै सरुवा रोगको उपचारमा प्रयोग गर्ने नगरपालिकाको योजना छ । बिरामी भर्नाका लागि अस्पताल तयार भएसँगै तीनवटा मेडिकल टिम तयारी अवस्थामा राखिएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी उपचारमा खटिनेछन् । रासस