काठमाडौं । सरकारले ४४ प्रकारका उद्योग प्रतिष्ठान खुल्ने निर्णय गरेसँगै विद्युत खपत बढेको छ । लकडाउनमा उद्योग प्रतिष्ठान र व्यापारिक केन्द्रहरु बन्द भएसँगै विद्युतको खपद कम भएर उत्पादित विजुली खेर जान थालेको थियो ।
सरकारले २६ वैशाखदेखि ४४ प्रकारका उद्योग प्रतिष्ठान र सेवा व्यवसाय खुल्ने निर्णय गरेको थियो । सरकारले उद्योग खोल्न दिने निर्णय गरेसँगै विद्युतको खपत बढेको नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले जानकारी दिए ।
केही दिनअघिसम्म रातीको समयमा विद्युत सबै खपत हुदैनथ्यो तर ३ दिनयता विद्युतको खपत बढेको छ, अहिले खेर जाने अवस्था छैन,’ भट्टराईले भने ।
प्राधिकरणले दिएको जानकारी अनुसार रातको १२ बजेदेखि ५ बजेसम्मको समयमा विद्युत खेर जाने गरेको थियो । सो समयमा प्रतिघण्टा ५० मेगावाटदेखि १ सय ५० मेगावाटसम्म विद्युत खेर जाने गरेको थियो ।
नेपालमा अहिले दैनिक औषतमा हजार मेगावाट विद्युत उत्पादन भइरहेको र केही दिनयता सोही परिमाणको विद्युत खपत भइरहेको भट्टराईले जानकारी दिए । नेपालमा उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुले दैनिक ३ सय मेगावाटसम्म विद्युत खपत गर्ने गरेका छन् ।