विकासन्युज

कोरोना त्रास : एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीले पाउदैन् बास

भोजपुर । विश्व नै कोरोना भाइरसबाट प्रभावित छ । मानिसहरुमा यसको क्रास बढेको छ । त्रास बढेकै कारण उनीहरुले अमानवीय व्यवहारसमेत देखाउने गरेका छन् । अहिले भोजपुरमा कोरोनाको उपचारमा खटेका चिकित्सक र एम्बुलेन्स चालकले बाससमेत पाउन छाडेका छन् । कोरोनाको आशङ्कामा बिरामीलाई बोकेर अस्पतालमा पु¥याएको थाहा पाएमा बास बस्न त के पानीसमेत खान नपाउने अवस्था बनेको एम्बुलेन्स चालकहरुको भनाइ छ । कतिपय ठाउँमा कोरोनाका बिरामी बोकेकै कारण अमानवीय व्यवहारसमेत खेप्नुपरेकोे भोजपुरमा को२च १२५६ नंको एम्बुलेन्स चलाउँदै आउनुभएका चालक मचिन्द्र राईले बताए । उनले भने, “कोरोनाका बिरामी बोकेकै कारण मैले धेरै ठाउँमा अपमान भोगेको छु, बास दिन त परको कुरा भयो, बाटोमा हामीलाई स्थानीयवासीले पानीसम्म पनि दिन मान्दैनन्, म भोजपुरबाट खाना खाएर बिरामी लिएर जान्छु र फेरि रातभर लगाएर खान र बस्न भोजपुर नै आइपुग्ने गरेको छु, यात्राका क्रममा हामीलाई असाध्यै समस्या छ ।” राईले काम गर्न पनि निकै जोखिम रहेको बताए । सम्बन्धित निकायबाट आवश्यक सुरक्षाको सामग्री नपाएको समेत उनले गुनासो गरे । मास्क, पञ्चालगायतका सामग्रीसमेत आफैंले खरिद गरेर काम चलाउने गरेको उनको भनाइ छ । “काम गर्न निकै जोखिम छ, आवश्यक सुरक्षा सामग्री छैन, बिरामी लिएर जाँदा बाटोमा पानीसम्म खान नदिने अवस्था छ, खानाको समय नमिलेकै कारण बिरामी भएर आफैं पनि अस्पताल बस्नुप¥यो, हामीलाई यो समयमा काम गर्न अत्यन्तै गाह्रो छ” चालक राईले भने । बस्नका लागि स्थानीयवासीले बास नदिएपछि दिनरात नभनी काम गरेका एम्बुलेन्स चालक जस्तोसुकै अवस्थामा पनि आफ्नै घरमा बस्न पुग्नुपर्ने अवस्था रहेको बताउँछन् । भोजपुरबाट धरान, विराटनगर बिरामी लगेर आइपुग्न १२ देखि १४ घण्टासम्म लाग्ने गरेको चालक राईले बताए । त्यस्तै ग्रामीण भेगमा क्वारेन्टाइनमा बसेका विरामीको स्वाब सङ्कलन तथा अन्य कामका लागि गएका चिकित्सकले समेत बास बस्न नपाउने गरेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले भने, “कोरोनाको त्रास बढेका कारण दैनिक काम गर्न स्वास्थ्यकर्मीलाई समेत समस्या छ, कतै स्वाब सङ्कलनका लागि गएमा बास बस्नुपर्ने भएमा स्वास्थ्यकर्मीले सहजरुपमा बास बस्ने अवस्था छैन । भोजपुरको घोडेटारमा कोरोना सङ्क्रमितको स्वाब सङ्कलन गर्न गएको चिकित्सकको टोली बास नपाएर रातको १२ बजे सदरमुकाम आएको तितो अनुभव छ, यस्तै जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीले बास नपाएर रातरात फर्केको अवस्था छ ।” स्थानीयमा चेतनाको अभावका कारण पनि काम गर्न समस्या हुने गरेको स्वास्थ्य कार्यालयको भनाइ छ । कोरोनाको विषयमा धेरैमा त्रास बढेका कारण उनीहरुले बस्न त के खानसमेत नदिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

फेरि तात्याे लिपुलेक मुद्दाः सरकारकाे बचाउमा गोकुल बास्कोटा, कुन नेताले गरे कस्तो ट्वीट ?

काठमाडौंः लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमि भएर निर्माण गरेको सडकको उद्घाटन गरेपछि फेरि नेपाली राजनीतिमा तहल्का मच्चिएको छ । नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रका रुपमा रहेको लिपुलेक क्षेत्रमा निर्माण गरिएको सडकको शुक्रबार भारतका रक्षा मन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए । त्यस लगत्तै नेपाली राजनीति र नागरिक स्तरबाट त्यसको विरोध र आलोचना भइरहेको छ । अहिले त्यसको सर्वत्र विरोध भइरहेको छ । भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाअन्तर्गत पर्ने धार्चुलादेखि लिपुलेकसम्म ८० किलोमिटरको सडक सम्पन्न गरेको विषयमा सर्वत्र विरोध भइरहेको हो । लामो समयदेखि विवादमा रहेको विषयमा सरकारले समयमै कदम नचाल्दा अहिलेको अवस्था आएको भन्दै सरकारको विरोध भइरहेको छ । यसअघि भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्वजनिक गरेको थियो । त्यस विषयमा आवश्यक कदम चाल्न सकेको थिएन । नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम अहिले देखिएको भन्दै सरकारको आलोचना भइरहेको छ । त्यसविषयमा अबको केही समय नेपाली राजनीति तात्ने देखिएको छ । विभिन्न दलका नेताहरूले त्यसको विरोध गर्न थालेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापालगातयले शुक्रबार नै त्यसको विरोध जनाएका छन् । भट्टराईले भारतले एकपक्षीयरूपमा सडक निर्माण गर्नु गलत रहेको भन्दै तुरून्त कुटनीतिक तहमा हल गर्न आग्रह गरेका छन् । थापाले भारत सरकारको यस कार्यको भत्सर्ना गर्दै नेपाल सरकारको उदासिनता खेदजनक रहेको बताएका छन् । र अविलम्ब आवश्यक कदम चाल्न सरकारसंग माग गरेका छन् । कांगेस नेता गगन थापाले नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम रहेको आरोप लगाएका छन् । उनले प्रश्न गरेका छन्, ‘भूमि हुँदै सडक निर्माण गरेको कुरा भारतीय सञ्चार माध्यमबाट थाहा पाउने हाम्रो कस्तो राज्य संयन्त्र ?’ ‪उनले जानकारी मागेर मात्रै बस्ने कि यो अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने भन्दै प्रश्न गरेका छन् । नेकपाकै नेता विरोधमा त्यसको विरोधमा सत्तारुढ दलका नेताहरू समेत उत्रिएका छन् । नेपकपा नेता भीम रावलले भारतले सडक निर्माण गरेको विषय दुःखद रहेको बताएका छन् र त्यसबारे सरकारको धारण के हो भन्दै प्रश्न गरेका छन् । उनले मातृभूमी र जनताको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व रहेको कुरा स्मरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्विकार क्षेत्रमा सडक बनाएर उद्घाटन गरेकोप्रति आपत्ति प्रकट गरेका छन् । साथै उनले सबै कोरोनाबिरुद्व लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुद्व सरकारले तुरुन्त कदम चाल्नुपर्ने माग गरेका छन् । नेकपाकै नेता जनार्दन शर्मा सार्वभौमिकता र अधिकारको लागि आवाज बुलन्द पार्नुपर्ने भन्दै ट्वीट गरेका छन् । गोकुल बाँस्कोटा बचाउमा ! सडक निर्माणपछि सरकारको आलोचना भइरहेको छ । तर, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा भने त्यसको बचाउ गरिरहेका छन् । बाँस्कोटा प्रधानमन्त्री ओलीका विश्वास पात्र हुन् । यसअघि ७० करोड घुस प्रकरणबारे अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए । उनले यस प्रकरणमा सरकार र प्रधानमन्त्री ओलीको दोष नरहेको दाबी गरेका छन् । बाँस्कोटाले सरकार र प्रधानमन्त्री ओलीको बचाउ गर्दै लेखेका छन्, ‘कालापानी क्षेत्रमा रहेको सीमा विबाद ओलीको राष्ट्रवादी अडानको पुनःपरिक्षण होइन । ओलीअघिको हाम्रो नेतृत्वको मौकापरस्त दृष्टिकोण र भारतको मिचाहा नीतिको परिणाम हो ।’ के भन्छन् परराष्ट्रमन्त्री ? भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्रबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ । नेपाल सरकार यसबारे जानकार रहे नरहेको र आगामी कदम के हुने भन्नेबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष आग्रह गरिएको बताए । मन्त्री ज्ञवालीले भने, ‘लिपुलेक कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले केकस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।’ यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ ।

विवादमा लिपुलेक सडक, पूर्वराजा ज्ञानेन्द्र शाहले गरे यस्तो ट्वीट

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले लिपु लेकको विषयलाई लिएर ट्वीट गरेका छन् । लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमि भएर निर्माण गरेको सडकको उद्घाटन गरेपछि अहिले चातर्फि विरोध भइरहेको छ । पूर्वराजा शाहले पनि आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व भएको भन्दै यो गलत भएको बताएका छन् । उनले लेखेका छन्, ‘आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व भएको भन्दै यो गलत हुन्छ,पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो, सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरुन्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।’ अहिले यस विषयलाई लिएर चौतर्फी रुपमा विरोध गर्नेको खंख्या बढिरहेको छ। लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमि भएर निर्माण गरेको सडकको उद्घाटन गरेपछि फेरि नेपाली राजनीति तातेको छ ।

म्याग्दीमा थप २ डेङ्गु बिरामी : हालसम्म ९ जनामा संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ । म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई युवामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले जानकारी दिए । “डेङ्गुको उच्च जोखिममा छौँ, यसवर्ष हामीलाई डेङ्गुले सताउने सङ्केत देखिएको छ”, डा बस्ताकोटीले भने । गत हप्तासमेत भिरमुनि र छापाका दुई जनामा डेङ्गु पोजेटिभ देखिएको थियो । यससँगै बेनी नगरपालिकामा छ, मङ्गलामा दुई र मालिका गाउँपालिकामा एक जना डेङ्गुका बिरामी भेटिएका छन् । बिरामी जिल्ला बाहिरबाट नआएको अवस्थामा ग्रामीण क्षेत्रमै सङ्क्रमित भेटिनुले समयमै सचेत बन्नुपर्ने डा बस्ताकोटीको भनाइ छ । शुक्रबार भेटिएका दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । बिरामीमा मनोविज्ञैनिक असर पर्ने भएकाले स्वस्थ्यकर्मीले सङ्क्रमितको नाम र थरबारे जानकारी दिएका छैनन् । डेङ्गुले प्रकोपको रूप लिनसक्ने जोखिमलाई मध्यनजर गरी नगरभित्रका वडामा सचेतनामूलक कार्यक्रमसँगै डेङ्गुरोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ । गत वर्ष म्याग्दीमा १२ जनामा डेङ्गु र एक जनामा स्क्रबटाइफस देखिएको थियो । डेङ्गु ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै डेङ्गुको सङ्क्रमण फैलिने बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए । रासस

स्वास्थ्य उपकरण खरिदका लागि पश्चिमाञ्चल अस्पताललाई ६ करोड बजेट

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री खरिदका लागि सरकारले बजेट पठाएको छ । प्रदेशमा कोरोना भाइरस उपचारका लागि ‘डेडिकेटेड’ अस्पतालका रूपमा तोकिएको सो अस्पताललाई स्वास्थ्य सामग्री किन्नका लागि सरकारबाट दुई दिनअघि मात्र ६ करोड रुपैयाँ बजेट प्राप्त भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले बताए । पश्चिमाञ्चल अस्पताललाई कोभिड–१९ का लागि ‘लेबल एक’ र ‘लेबल दुई’ दुवैको अस्पताल तोकिएको थियो । कोभिडका बिरामीको उपचार व्यवस्था मिलाउनका लागि आवश्यक पूर्वाधार, उपकरण तथा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि ढिला गरी बजेट प्राप्त भएकाले अहिले स्वास्थ्य सामग्री बजारमा पाउने अवस्था भने नरहेको उनको भनाइ छ । कोरोना उपचारका लागि अस्पतालमा हाल १० श्ययाको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको छ । त्यसैगरी सघन उपचारकक्ष (आइसीयू)लाई कोभिड उपचारमैत्री बनाउनका लागि बोलपत्र आह्वान भएर आशय प्रकाशनको तयारीमा रहेको र ११ श्ययाको आइसीयूकक्ष तयार गरिने उनले जानकारी दिए । “आफ्नै स्रोतबाट आइसोलेसन वार्ड तथा कोभिडमैत्री वार्डहरु बनाएका छौं”, अस्पतालका निर्देशक आचार्यले भने । कोभिडका बिरामी आएको खण्डमा उपचार व्यवस्थापनका लागि तयारी भइरहेको बताउँदै उनले त्यस्ता बिरामी आएको खण्डमा अस्पतालका अन्य सबै प्रकारका सेवाहरु प्रभावित हुने उल्लेख गरे । लेबल एक कोभिड अस्पतालले सामान्य ‘केस’ व्यवस्थापन आफैं गर्नुपर्छ । त्यस्तै बाहिरबाट आएका र अस्पतालमा पहिचान भएका बिरामीलाई प्रोटोकलअनुसार आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने उल्लेख गरिएको छ । लेबल दुई कोभिड अस्पतालले मध्यम, जटिल र अति जटिल केस व्यवस्थापन गर्नुपर्ने हुन्छ । बाहिरबाट आएका र अस्पतालमै पहिचान भएका मध्यम र जटिल साथै अतिजटिल बिरामीलाई ‘आइसीयू केयर’ भएका तोकिएका कोभिड अस्पतालले उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा उल्लेख छ । हाल पश्चिमाञ्चल अस्पतालअन्तर्गतको प्रयोगशालामा रहेका मेसिनबाट गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणको अवस्था जाँचका लागि दैनिक पिसीआर परीक्षण गर्ने गरिएको छ । सो अस्पतालमा वर्षमा तीन लाख हाराहारी तथा दैनिक एक हजार हाराहारीमा बहिरङ्ग विभाग (ओपिडी) का बिरामी सेवा लिन आउने गरेकामा जारी लकडाउनपछि ओपिडी सेवा बन्द भएकाले आकस्मिक सेवाका बिरामी बढेको अस्पतालले जनाएको छ । गत चैत १४ गते कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले पश्चिमाञ्चल अस्पताललाई डेडिकेटेड अस्पताल तोकेको थियो । रासस

हिमालय एयरलाइन्सले चीनबाट ल्यायो स्वास्थ्य सामग्री

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु कार्गो जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त कार्गो जहाजले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण ९पिपिइ०, मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको एयरलाइन्सले जनाएको छ । यी स्वास्थ्य सामग्री चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको हो । उक्त जहाजबाट ६ हजार ८ सय ९२ केजी स्वास्थ्य सामग्री ल्याइएको विमानस्थलले जनाएको छ । कार्गो उडानका चालकदलले सरकारी मापदण्डअनुरुप आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अवलम्बन गरेको पनि कम्पनीले उल्लेख गरेको छ । हिमालय एयरलाइन्सको कार्गो जहाज बिहान काठमाडौं अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार आजै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले ग्वान्जाओमा चार्टर्ड उडान गर्दैछ । ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याउनका लागि नेपाल एयरलाइन्स त्यसतर्फ जान लागेको हो । सो जहाज नेपाली सेनाले चार्टर्ड गरेको बताइएको छ । त्यसैगरी हिमालय एयरलाइन्सको न्यारोबडी जहाज पनि आजै छोङछिङ उड्नेछ । यी दुवै जहाज कार्गो चार्टर्ड उडान हुन् । लकडाउनको अवधिमा हिमालयको चीनमा यो पाचौँ कार्गो उडान हो । यसअघि चीनको ग्वान्जाओ र चाङशामा चारवटा कार्गो उडान गरेको थियो । यी उडानले कोभिड–१९ रोगको नियन्त्रण र रोकथाममा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामग्री ढुवानी गरेका हुन् । बेइजिङमा नियमित यात्रु उडान सञ्चालनपश्चात हिमालय एयरलाइन्सले २३ जनवरी २०२० मा छोङछिङलाई चीनको पाँचौं गन्तव्य बनाइ प्रतिहप्ता एक सिधा उडानमार्फत नियमित हवाई सम्पर्क स्थापना गरेको थियो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कोभिडका बिरामी बढेसँगै अनिवार्य स्वास्थ्य सामम्रीको आवश्यकता बढ्दै गएको सन्दर्भमा कार्गो चार्टर्ड उडानको माग वृद्धि भएकाले कम्पनीले चीनका विभिन्न गन्तव्यमा कार्गो उडान गरिरहेको बताए । उनले लकडाउनको अवधिमा चीनका विभिन्न शहरहरुमा थप चार्टड उडानको सम्झौता गर्न सफल भएकामा खुशी व्यक्त गर्दै छोङछिङ कम्पनीका लागि चीनको प्रमुख गन्तव्यमध्ये एक भएको बताए । रासस

बैंकका कर्मचारीले ९ देखि साढे ११ र साढे ३ देखि ५ बजेसम्म हिड्न पाउने

काठमाडौं । बैंक तथा बित्तीय संस्थाका कर्मचारी ९ देखि साढे ११ र साढे ३ देखि ५ बजेसम्म मात्र हिड्न पाउने भएको छ । सरकारले लकडाउनको समयमा पनि संचालन गर्ने ४४  प्रकार उद्योग तथा सेवा भित्र पर्ने बैंकिङ सेवालाई सिमित कर्मचारी राखेर सूचारु गर्न यस्तो निर्णय गरिएकाे हो । साे निर्णयमा जम्मा कमर्चारीकाे एक तिहाइ मात्र  कर्मचारी कार्यालयमा उपस्थित हुन पाउने व्यवस्था रहेकाे छ । कर्मचारीका लागि कार्यालय जान र फर्किनका लागि उक्त समय छुट्याइएकाे महानगरीय प्रहरी महाशाखाले जनाएकाे छ । त्यस्तै विकास निर्माण सम्बन्धि सामग्री बोक्ने ठूलो सवारी राती ८ देखि विहान ६ बजेसम्म चल्न पाउने भएको छ । उपत्यकाका तीन जिल्लामा चल्ने सवारी साधनको कार्ययोजना सहित सहजीकरण गर्ने टुङ्गो भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । सरकारले उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने निर्णय गरेसँगैसम्बन्धित सवारी आवागमनका लागि आवश्यक तयारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । सरकारले उपत्यकाको सबै नाकामा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ भने सभासमारोह, सार्वजनिकस्थल, धार्मिकस्थल, खेलकुद, होटल, सवारी साधन सञ्चालनमा रोक लगाएको छ । सम्बन्धित समाचार : खोल्ने भनिएका ४४ प्रकारका उद्योग प्रतिष्ठानका कर्मचारीले यहाँ र यसरी पाउँछन् पास

थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण भएकाे पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडाैंकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरकाे काेशी अस्पतालमा गरिएको परीक्षण अनुसार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । जसमध्ये उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुषहरु र पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा काेराेना देखिएकाे स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार संक्रमितहरूकाे हालकाे अवस्था सामान्य रहेकाे छ । यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय ९ पुगेकाे छ ।