काठमाडौंः लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमि भएर निर्माण गरेको सडकको उद्घाटन गरेपछि फेरि नेपाली राजनीतिमा तहल्का मच्चिएको छ । नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रका रुपमा रहेको लिपुलेक क्षेत्रमा निर्माण गरिएको सडकको शुक्रबार भारतका रक्षा मन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए ।
त्यस लगत्तै नेपाली राजनीति र नागरिक स्तरबाट त्यसको विरोध र आलोचना भइरहेको छ । अहिले त्यसको सर्वत्र विरोध भइरहेको छ । भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाअन्तर्गत पर्ने धार्चुलादेखि लिपुलेकसम्म ८० किलोमिटरको सडक सम्पन्न गरेको विषयमा सर्वत्र विरोध भइरहेको हो । लामो समयदेखि विवादमा रहेको विषयमा सरकारले समयमै कदम नचाल्दा अहिलेको अवस्था आएको भन्दै सरकारको विरोध भइरहेको छ ।
यसअघि भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्वजनिक गरेको थियो । त्यस विषयमा आवश्यक कदम चाल्न सकेको थिएन । नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम अहिले देखिएको भन्दै सरकारको आलोचना भइरहेको छ ।
त्यसविषयमा अबको केही समय नेपाली राजनीति तात्ने देखिएको छ । विभिन्न दलका नेताहरूले त्यसको विरोध गर्न थालेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापालगातयले शुक्रबार नै त्यसको विरोध जनाएका छन् ।
भट्टराईले भारतले एकपक्षीयरूपमा सडक निर्माण गर्नु गलत रहेको भन्दै तुरून्त कुटनीतिक तहमा हल गर्न आग्रह गरेका छन् । थापाले भारत सरकारको यस कार्यको भत्सर्ना गर्दै नेपाल सरकारको उदासिनता खेदजनक रहेको बताएका छन् । र अविलम्ब आवश्यक कदम चाल्न सरकारसंग माग गरेका छन् ।
कांगेस नेता गगन थापाले नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम रहेको आरोप लगाएका छन् । उनले प्रश्न गरेका छन्, ‘भूमि हुँदै सडक निर्माण गरेको कुरा भारतीय सञ्चार माध्यमबाट थाहा पाउने हाम्रो कस्तो राज्य संयन्त्र ?’ उनले जानकारी मागेर मात्रै बस्ने कि यो अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने भन्दै प्रश्न गरेका छन् ।
नेकपाकै नेता विरोधमा
त्यसको विरोधमा सत्तारुढ दलका नेताहरू समेत उत्रिएका छन् । नेपकपा नेता भीम रावलले भारतले सडक निर्माण गरेको विषय दुःखद रहेको बताएका छन् र त्यसबारे सरकारको धारण के हो भन्दै प्रश्न गरेका छन् । उनले मातृभूमी र जनताको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व रहेको कुरा स्मरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्विकार क्षेत्रमा सडक बनाएर उद्घाटन गरेकोप्रति आपत्ति प्रकट गरेका छन् । साथै उनले सबै कोरोनाबिरुद्व लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुद्व सरकारले तुरुन्त कदम चाल्नुपर्ने माग गरेका छन् ।
नेकपाकै नेता जनार्दन शर्मा सार्वभौमिकता र अधिकारको लागि आवाज बुलन्द पार्नुपर्ने भन्दै ट्वीट गरेका छन् ।
गोकुल बाँस्कोटा बचाउमा !
सडक निर्माणपछि सरकारको आलोचना भइरहेको छ । तर, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा भने त्यसको बचाउ गरिरहेका छन् । बाँस्कोटा प्रधानमन्त्री ओलीका विश्वास पात्र हुन् । यसअघि ७० करोड घुस प्रकरणबारे अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए ।
उनले यस प्रकरणमा सरकार र प्रधानमन्त्री ओलीको दोष नरहेको दाबी गरेका छन् ।
बाँस्कोटाले सरकार र प्रधानमन्त्री ओलीको बचाउ गर्दै लेखेका छन्, ‘कालापानी क्षेत्रमा रहेको सीमा विबाद ओलीको राष्ट्रवादी अडानको पुनःपरिक्षण होइन । ओलीअघिको हाम्रो नेतृत्वको मौकापरस्त दृष्टिकोण र भारतको मिचाहा नीतिको परिणाम हो ।’
के भन्छन् परराष्ट्रमन्त्री ?
भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्रबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ ।
नेपाल सरकार यसबारे जानकार रहे नरहेको र आगामी कदम के हुने भन्नेबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष आग्रह गरिएको बताए ।
मन्त्री ज्ञवालीले भने, ‘लिपुलेक कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले केकस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।’ यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ ।