
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि. केन्द्रीय कार्यालय धादिङबेसीले अनाथ तथा असहाय बालबालिकाहरुलाई खाद्यान्न वितरण गरेको छ । संस्थाले धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नं ४ बैकुण्ठपुरी स्थित आमाको माया छात्राबासमा रहेको २३ जना अनाथ तथा असहाय बालबालिकाहरुलाई खाद्यान्न समाग्री वितरण गरेको हो ।
लकडाउनको कारण बाहय सहयोग नभई खाद्यान्न समाग्रीको अभाव रहेको बालबालिकाहरुलाई संस्थाको संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत राहत स्वरुप खाद्यान्न वितरण गरेको जानकारी गराएको छ ।
छात्रावासको संचालक समितिका अध्यक्ष डा. नविनबन्धु पहडीलाई संस्थाको केन्द्रीय कार्यालयको वरिष्ठ प्रबन्धक बिजय कुमारले संस्थाको तर्फबाट चामल ५ बोरा, भुजा ३ बोरा, चना १० किलो र दाल १० किलो बितरण गरिएको कुरा संस्थाको विभागीय प्रमुख सिताराम पंडितले जानकारी गराएका छन् ।
आमाको माया छात्राबासमा रहेको अनाथ तथा असहाय बालबालिकाहरुलाई संस्थाको खाद्यान्न समाग्री सहयोगले बालबालिकाहरुलाई १५ दिनसम्म खान पुग्ने तथा यस किसिमको सहयोगको लागि अध्यक्ष डा. नविनबन्धु पहाडीले नेशनल माइक्रोफाइनान्स संस्थालाई धन्यवाद दिएका छन् ।