विकासन्युज

सगरमाथा इन्स्योरेन्सकाे नाफा १७ करोड ४१ लाख

काठमाडाैं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्ष(आव)को तेस्रो त्रैमास अर्थात चैत मसान्तमा १७ करोड ४१ लाख रूपैयाँ नाफा गरेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे वित्तीय वितरण अनुसार उक्त नाफा गत आवको साेही अवधिकाे तुलनामा १.२८ प्रतिशत बढी हाे । कम्पनीले गत आवको चैत मसान्तमा १७ करोड १९ लाख रुपैयाँ नाफा कमाएकाे थियाे । हाल १ अर्ब १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीकाे जगेडा कोषमा ३४ करोड ४७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बीमा कोषमा ६२ करोड १३ लाख रुपैयाँ रहेको छ भने महा विपत्ति कोषमा ११ करोड १६ लाख रुपैयाँ रहेको छ । साे अवधिमा कम्पनीले ७४ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क र पुनर्बीमा कमिशनबाट २३ करोड २ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी २३.२९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २०७.६५ रूपैयाँ रहेको छ ।

नेपालगञ्जकाे थप एक जनामा कोरोना संक्रमण

काठमाडौं । आज थप १ जना कोरोना संक्रमित थपिएका छन् । कोभिड–१९ सम्बधि नियमित बिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप १ जना कोरोना देखिएकाे बताए। भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा परीक्षण गर्दा १६ वर्षिय पुरुष काेराेना संक्रमण देखिएकाे  देवकाेटाले  बताए । कोरोना सङ्क्रमण पोजिटिभ देखिएका १६ वर्षीय वडा नम्बर ८ जोलाहनपूर्वा टोलकै भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यसअघि सोही ठाउँका २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । नेपालगञ्जमा पहिलोपटक यही वैशाख १९ गते वडा नम्बर ७ डिएसपी रोडका ६० वर्षीय पुरुषमा पहिलोपटक सङ्क्रमण देखिएको थियो । दुई दिनअघि बुधबार सङ्क्रमित क्षेत्र वरपर वडा नम्बर ८ बाट लिइएका १३६ स्वाबको परीक्षणका क्रममा एकमा पोजिटिभ देखिएको हो । श्रेष्ठका अनुसार दुई दिनअघि यही वैशाख २४ गते नेपालगञ्ज ८ का विभिन्न क्षेत्रमा गरिएको १३० जनाको स्वाबको परीक्षणका क्रममा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । एक सय २९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य ६ सहित बिहीवार सङ्कलित ४८ स्वाबको रिपोर्ट आउन बाँकी छ । एक थपिएसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । यही वैशाख १९ गते शुक्रबार पहिलोपटक नेपालगञ्जका ६० वर्षीयद्धमा कोरोना पुष्टि भएको थियो । आज भेटिएका कोरोना सङ्क्रमित युवकलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचारका लागि पठाइएको श्रेष्ठले जानकारी दिए । यहीसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या १ सय २ पुगेकाे छ जसमा २७ जना निकाे भएका छन् ।  

सरकार ! भोको पेट बस्न नपरे हुन्थ्यो..

काठमाडौं । काठमाडौँको जोरपाटीस्थित चामुन्डा माध्यामिक विद्यालय अगाडिको सडकमा शुक्रबार बिहान ११ बजे मजदुरहरुको लामो लाइन थियो । स्वयंसेवकहरु एक मिटरको दूरी कायम गराएर लाइन मिलाउँदै थिए । कोही मजदुरका व्यक्तिगत विवरण भर्दै त कोही ज्वरो नाप्नमा व्यस्त । स्कूल परिसरमा रहेका अन्य युवा खाना खुवाउने काममा सक्रिय थिए । नारायणटार युवा क्लबको अगुवाइमा यहाँ झण्डै एक हजार मजदुरका लागि सामूहिक भोजन (मेस) चलाएको १९ दिन भयो । स्थानीय गोकर्णेश्वर नगरपालिकाको निर्देशनपछि उक्त मेस भोलिदेखि बन्द हुँदैछ । अनि यहाँका मजदुरले पेट भर्न फेरि कतै अन्तै भौतारिनुपर्ने अबस्था आउने त होइन ? भन्ने चिन्ता बढेको छ । कोभिड–१९ को जोखिम हुन नदिन सरकारले गत चैत ११ गतेबाट शुरु गरेको लकडाउन आगामी जेठ ५ गतेसम्म जारी छ । जसका कारण मजदुर समस्यामा परेका हुन् । असङ्गठित क्षेत्रका मजदुरलाई रोजगारी दिने निर्णय यही बैशाख १४ गतेको मन्त्रिपरिषद्ले गरेको थियो । कलकारखाना तथा उद्योगधन्दा चलाउन दिने सरकारको वैशाख २४ को निर्णय छ । त्यसैलाई आधार मानेर नगरपालिकाले मेस बन्द गर्ने निर्णय गरेको हो । तर मजदुरलाई रोजगारी दिने विषयमा नगरपालिकाले आवश्यक तयारी गर्न सकेको छैन । मेस बन्द भएपछि भोलिदेखि दैनिकीमा समस्या पर्ने एक मजदुर रञ्जित रायले बताP । युवाले मेस बन्द हुने खबर सुनाएपछि लाइनमा बस्ने मजदुर निरास भएका थिए आजसम्म त बिहान बेलुकाको छाक टार्न समस्या थिएन, भोलिदेखि मेस नचले पेट कसरी भर्ने भन्नेमा उनीहरुको चिन्ता छ । मजदुर रायले गुनासो गर्दै भने, “जे हुन्छ हामी काम गर्छाैँ, तर सरकारलाई अनुरोध ! भोको पेट बस्नु नपरे हुन्थ्यो ।” बालुवा, मसला (सिमेन्ट) घोलेर जीवन गुजारा गर्ने अर्जुन तामाङ लकडाउनपछि बेकामे भएका छन् । उनले यहाँ १९ दिनदेखि नै खाना खाँदै आएका छन् । सरकारले काम दिने भन्दा उनी अच्चम्म मान्छन् । “खै हामी जस्तो गरिबलाई कसले काम देला”, उनले थपे, “मेस चलेन भने हामी भोकभोकै बस्नुपर्ने हो कि ।” उदयपुरकी दीना चन्द जोरपाटीमा मकै पोलेर आएको कमाइले तीन जनाको परिवारको गुजारा चलाउँथिन् । मकै पोल्ने काम ठप्प भएको डेढ महिना नाघ्यो । मेसकै कारण आफू र बालबालिकालाई खाना खुवाउन उहाँलाई समस्या थिएन । मेस बन्द हुने थाहा पाएपछि भने उनी पनि चिन्तित छिन् । स्थानीय गोकर्णेश्वर नगरपालिकाले मेस बन्द गर्न भनेपछि यहाँका युवाहरु भोलिदेखि मेस बन्द गर्दैछन् । उक्त खबरले मजदुर खिन्न छन् । स्थानीय नारायणटार युवा क्लबको नेतृत्वमा लकडाउनका कारण कुनै पेशा अपनाउन नसकेपछि भोकभोकै सडकमा पुगेका ती मानिसलाई खाना खुवाउन थालिएको थियो । यसमा झण्डै ८० युवा सक्रिय छन् । अझै लकडाउन लम्ब्याउँदा पनि खाना खुवाउन सहयोगीको साथ पाएकाले समस्या थिएन । तर स्थानीय तहको निर्देशनपछि मेस बन्द गर्न लागिएको युवाहरुले बताए । शुरुमा स्थानीय तहबाट राहत बाँडिएको थियो । त्यो राहत वास्तविक मजदुर र सडकमा पुगेकाले नपाएपछि युवाले तत्कालै खाना खुवाउने निर्णय गरेका थिए । होटल तथा चिया पसलमा काम गर्नेदेखि सङ्गठित र असङ्गठित मजदुर, शिक्षक, विद्यार्थीसमेत मेसमा खान आएका छन् । “यो अवधिमा हामीले झण्डै २६ हजारलाई खाना खुवाइसकेका छौँ”, नारायणटार युवा क्लबका अध्यक्ष धर्म थिङ लामाले भने, “मेस नचल्ने भएपछि भोलिदेखि असङ्गठित मजदुर छनोट गरेर उनीहरुलाई आयआर्जनमा कसरी सहयोग गर्न सक्छौँ, त्यो अभियानमा लाग्छौँ ।” शुरुमा ५०÷६० जनालाई खाना खुवाए पुग्छ भन्ने युवा क्लबलाई लागेको थियो । बैठकमा त्यही निर्णय गरेर काम थालिएको थियो । तर मानिसको भीड अप्रत्यासित बढ्दा दैनिक झण्डै एक हजारलाई खाना खुवाउनु परे पनि वडा कार्यालय, स्थानीय संस्था र व्यवसायीले सहयोग गर्दा युवाहरु सफल भएका थिए । क्लबका सल्लाहकार तथा नयाँ जीवन नेपालका अध्यक्ष राजन खनाल यसरी मेस चलाएका संस्थासँग छलफल गरेर मजदुरको समस्या समाधानमा सरकार तथा स्थानीय तहले ध्यान दिनुपर्ने सुझाव दिन्छन् । “मेस बन्द भएपछि भोलिबाटै पेट भर्ने समस्या हुन्छ, अनि मजदुर कहाँ जाने”, प्रतिप्रश्न गर्दै उनले भने, “यो अवस्थामा सरकारसँग पनि काम छैन, मजदुर अलपत्र हुनुपर्छ ।” मजदुरको समस्यातर्फ बेलैमा ध्यान दिन जरुरी रहेको उनले बताए । सरकारले कलकारखाना, उद्योगधन्दा सञ्चालनमा ल्याइ श्रम क्षेत्रलाई खुकुलो पार्दै लैजाने निर्णय गरेको भन्दै गोकर्णेश्वर नगरपालिकाले यही २७ गतेदेखि निःशुल्क खाना सेवा बन्द गर्ने सार्वजनिक सूचना नै निकालेको छ । नगरप्रमुख सन्तोष चालिसे नगरपालिकाको विकास निर्माणका काममा मजदुरलाई प्राथमिकता दिएर काममा लगाइने प्रतिबद्धता जनाए । उनका अनुसार नगरपालिका क्षेत्रमा दिनको १४ हजार बढीलाई खाना खुवाउनुपरेको छ । अब सरकारले निर्णय नै गरिसकेकाले कामतर्फ जोड दिन लागिएको उनले बताए । तर स्थानीय तहको भने काम लगाउनेबारे खासै तयारी देखिँदैन । यसरी मेस बन्द भए भोलिदेखि नै पेट भर्ने समस्या शुरु हुन्छ । मुलुकका अन्य स्थानीय तहमा पनि सामाजिक संस्था तथा स्थानीय तहले नै खाना खुवाउने गरेका थिए । यसले देशभर नै समस्या निम्तिने खतरा छ । पेशा नपाएर दैनिकीको जोहो गर्न नसकेका मजदुरलाई राहत दिने निर्णय गरेकामा त्यसलाई स्वरुप बदलेर सरकारले वैशाख १४ गतेको निर्णयअनुसार काममा लगाउने तयारी छ । तीनै तहका सरकारी कार्यालयबाट सम्पादन हुने सार्वजनिक निर्माणका काममा उनीहरुलाई लगाउने उल्लेख छ । काममा नजानेलाई त्यसको २५ प्रतिशत हुन आउने रकम बराबरको खाद्यान्न दिइने छ । तर राहत वितरणमा सकस भएको स्थानीय तहलाई यसरी असङ्गठित क्षेत्रका मजदुरलाई काम दिने कुरा चुनौतीपूर्ण छ । रासस

अब घरबाटै डिम्याट खाता र मेरो सेयरको नविकरण शुल्क बुझाउन सकिने

काठमाडाैं । एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकमा हितग्राही खाता खोलेका ग्राहकहरुले घरमै बसी अनलाइन मार्फत डिम्याट खाता र मेरो सेयरको नविकरण शुल्क बुझाउन सक्ने भएका छन् । यससँगै एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकका हितग्राही खाताधारकहरुले इसेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत नविकरण शुल्क भुक्तानी गर्न सक्नेछन् । यसका साथै, एनआईसी एशिया बैंक को अनलाईन बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले यस क्यापिटलको नाममा एनआईसी एशिया बैंकमा रहेको बैंक खाता नं. ५४४४४५१०२५५२४०१७ मा उक्त नविकरण शुल्क सोझै भुक्तानी गर्न सकिनेछ । साथै, खाताधारकहरुले उक्त नविकरण शुल्क भुक्तानी गर्दा आफ्नो हितग्राही खाता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ ।

किट अभावले सुदूरपश्चिम प्रदेशमा २ दिनदेखि कोराना परीक्षण प्रभावित

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि प्रभावित बनेको छ । पिसिआर विधिबाट परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षण रोकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट परीक्षणका लागि आवश्यक किट पठाउने कुरो छ”, उनले भने, “आज रातिसम्म आइपुग्ने अनुमान छ ।” किट अभावकै कारण धनगढीस्थित पशुपक्षी अन्वेषण प्रयोगशालामा केही समयअघि स्थापना गरिएको आरटी–पिसिआर मेशिनबाट कोरोना परीक्षण हुँदै आएको थियो । “किट अभावका कारण प्रयोगशालामा ल्याइएका ५५ वटा स्वाबको नमूना जाँचसमेत हुन सकेको छैन”, सम्पर्क व्यक्ति जोशीले रासससँग भने, “हाल सुदूरपश्चिम प्रदेशमा पिसिआर प्रविधिबाट धनगढीमा मात्रै परीक्षण हुँदै आएको छ ।” सुदूरपश्चिम प्रदेश सरकारले यहाँको पहाडी जिल्ला बैतडी र डोटीमा समेत पिसिआर मेशिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको थियो । “पहाडका ती दुई जिल्लामा सम्भाव्यता अध्ययनको काम सकिएको छ”, उनले भने, “प्रदेश सरकारले त्यहाँबाट पनि जाँच गर्ने गृहकार्य गरेको छ ।” बिहीबारसम्म सुदूरपश्चिममा दुई हजार ९२३ जनाको स्वाब परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । तीमध्ये पाँचजनाको नतिजा पोजेटिभ र बाँकी सबैको नतिजा नेगेटिभ आएको थियो । सङ्क्रमित पाँचमध्ये चारजना निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ । “परीक्षणका लागि यसअघि सुदूरपश्चिमा एक हजार किट केन्द्रबाट आएको थियो”, जोशीले भने, “अहिले अरु स्वास्थ्य सामग्रीको अभाव छैन ।” उहाँले मास्क, पिपिइलगायत स्वास्थ्य सामग्री मौज्दात रहेको बताउनुभयो । “१४ दिनपछि क्वारेन्टाइन बसेपछि कोरोना जाँच गर्ने निर्देशिकामा भनिएको छ”, उनले भने, “किट नहुँदा समस्या भएको छ ।” किट अभाव हुँदा परीक्षणदेखि नमूना सङकलनको कामसमेत प्रभावित बन्न पुगेको छ । पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पिसिआर किट र आरएनए एक्पेक्सन किट आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी पिसिआर र ¥यापिट टेष्टबाट हालसम्म १७ हजार ५२४ जनाको कोरोना परीक्षण गरिएको छ । सुदूरपश्चिमका नौवटै जिल्लामा स्थानीय तहले सञ्चालनमा ल्याएका ३९१ क्वारेन्टाइनमा बिहीबारसम्म तीन हजार ३७४ जना बसिरहेको निर्देशनालयले जनाएको छ । “क्वारेन्टाइनमा बसेकाको स्वाब लिएर परीक्षण गर्न बाँकी छ”, जोशीले भने, “पहाडी जिल्लामा क्वारेन्टाइनमा थपिने क्रम बढिरहेको छ ।” रासस

गभर्नर अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीच आगामी बजेटका बारेमा छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरुबीच आगामी आर्थिक वर्ष २०७७ ७८ बजेट तथा कार्यक्रमका बारेमा छलफल भएको छ । आगामी आर्थिक वर्ष २०७७ ७८को बजेट तथा कार्यक्रम तर्जुमाको निम्ति सुझाव संकलन गर्ने उद्देश्यका साथ वेबीनार मार्फत शुक्रबार विभिन्न निजी क्षेत्रका व्यवसायीहरु बीच पूर्वबजेटकालीन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बैंक तथा वित्तीय संस्था, पुँजी बजार, उद्योग, वाणिज्य, कृषि, पर्यटन, निर्यात व्यवसायी, सहकारी, घरेलु तथा साना उद्योगलगायत आर्थिक क्षेत्रसँग सम्बद्ध संस्थाका प्रतिनिधिहरू एवम् अर्थविज्ञसँग बैंकले पूर्वबजेटकालीन प्रतिवेदनका सुझावहरू संकलन गरेको हो । कार्यक्रममा एसोसिएसन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्स, नेपाल पोल्ट्री व्यवसायी महासंघ, नेपाल निर्यात परिषद्, नेपाल बैंकर्स एसोसियन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल इन्भेष्टमेन्ट फोरम, नेपाल सुनचाँदी व्यवसायी संघलगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उनीहरूले आ-आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राख्दै कोभिड-१९ को विषम परिस्थितिका कारण आफ्नो क्षेत्रमा परेको असर न्यूनीकरणका लागि आगामी आर्थिक वर्ष २०७७/७८ बजेटले समेट्नुपर्ने आवश्यक नीतिगत सुझावहरू प्रस्तुत गरेका थिए । गभर्नर महा प्रसाद अधिकारीले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरणको निम्ति नेपाल राष्ट्र बैंक केन्द्रित रहेको उल्लेख गर्दै सहभागीहरूबाट प्राप्त सुझावहरूसमेतको आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ को उपदफा (४) बमोजिम नेपाल सरकारसमक्ष पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन पेश गरिने जानकारी दिए । उक्त अन्तरक्रिया कार्यक्रममा बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिबराज श्रेष्ठका साथै बैंकका विभिन्न विभागका विभागीय प्रमुखहरूको समेत उपस्थिति थियो ।  

बारबर्दियाका दीर्घरोगीलाई घरमै स्वास्थ्य सेवा

राजापुर । बारबर्दिया नगरपालिकाले दीर्घरोगीलाई घरमै स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण शुरु गरेको छ । बन्दाबन्दीका कारण नियमित स्वास्थ्य जाँच गर्न जान नसकेका ज्येष्ठ दीर्घरोगीलाई आजदेखि घरमै पुगेर सेवा प्रदान गरिएको नगर प्रमुख दुर्गबहादुर थारु कबिरले जानकारी दिए। उहाँका अनुसार ८४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको घरमै गएर स्वास्थ्य सेवा प्रदान गरिने छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले लकडाउनको समय थपिएसँगै नियमित औषधि सेवन गर्नेलाई असहज भएका कारण मधुमेह, रक्तचाप, बाथरोग, सिकलसेल, मिर्गौला र मुटुका बिरामीलाई स्वास्थ्य परीक्षण गरी प्राथमिक स्वास्थ्य केन्द्र मगरागढीमार्फत औषधि वितरण शुरु गरिएको बताए । आठ स्थानीय तहका दीर्घरोगीका लागि नगरले अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा समेत दिँदै आएको जनाइएको छ ।

नेपालमा कोरोना निको भएर २७ जना फर्किए घर

काठमाडौं । नेपालमा कोरोना निको भएर घर फर्कनेको संख्या २७ पुगेको छ । शुक्रबार कोरोना संक्रमण भएर विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएका मध्ये थप ८ जना उपचर पछि निको भएर डिस्चार्ज भएसंगै नेपालमा कोरोना निको हुनेको संख्या २७ पुगेको हो । कोरोना निको भएर घर फर्कने ८ जनामा ७ नेपाली र एक जना भारतीय नागरिक रहेको छन् । योसँगै देशभर जम्मा संक्रमित १ सय १ जना मध्ये निको भएर घर फर्कनेको संख्या २७ पुगेको छ । तीन जना निको भएका व्यक्तिमा पुन संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए ।