
काठमाडौं । कैलाश विकास बैंकलाई प्राप्ती (एक्विजिसन) गरेको प्राइम कर्मशियल बैंकले २ अर्ब ३ करोड रुपैयाँ बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको चैत मसान्तसम्ममा सो मात्राको नाफा कमाएको हो ।
जुन गत आर्थिक वर्ष(आव) को तुलनामा ४८ करोड २७ लाख रुपैयाँ बढी हो । बैंकले गत आवको सो अवधिमा एक अर्ब ५४ करोड रुपैयाँ कमाएको थियो ।
बैंकले एक खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ११ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको निष्क्रिय कर्जा ०.९७ प्रतिशत, कष्ट अफ फण्ड ८.०३ प्रतिशत, सीडी रेसियो ७६.५५ प्रतिशत, आधार दर ९.८५ र स्प्रेडदर ४.६४ प्रतिशत रहेको छ ।
समिक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी र सञ्चालन मुनाफा दुबैमा वृद्धि भएको छ । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद व्याज आम्दानी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सञ्चालन मुनाफा २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको वितरण योग्य नाफा ६४ करोड १२ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १९.३६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४.६२ रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ५ अर्ब ४५ करोड र सेयरधनी कोषमा ७८ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
प्राइम बैंकले कैलास विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरी आगामी फागुन २९ गतेदेखि एकीकृत कारोबार शुरु गरेकाे थियाे ।