स्वेच्छिक पिसिआर परीक्षणको शुल्क तोकिएकाे छैन: स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ । केही सञ्चारमाध्यमममा पिसिआर विधिबाट परीक्षण गराउँदा रु १५ हजार तोकेको भन्ने समाचार आएपछि मन्त्रालयले शुल्क नतोकिएको जानकारी गराएको हो । मन्त्रालयका आइसिएस कोर्डिनेटर डा गुणराज लोहनीले आज विज्ञप्ति जारी गर्दै कोभिड १९ को परीक्षणको दायरा बढाउन सार्वजनिक स्वास्थ्य संस्थालाई पिसिआरबाट परीक्षण गर्न दिने भएता पनि शुल्क नतोकिएको जानकारी दिए । “पिसिआर विधिबाट परीक्षणको लागि मन्त्रालयले दर तोकिदिने भएता पनि हालसम्म तोकि नसकेको व्यहोरा सर्वसाधारणमा जानकारी गराइन्छ”, उनले भनेका छन्, “अहिले परीक्षणको दायरालाई व्यापक बनाउने कार्य मात्र गरिएको मात्रै हो, के कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रवन्ध कसरी अपनाउनेलगायतका विषयमा छलफल र निर्णय हुन बाँकी नै रहेको छ ।” हिजो मन्त्रालयले स्वेच्छाले कोभिड १९ को परीक्षण गराउन चाहने स्वदेशी तथा विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने शर्त पालना गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामार्फत परीक्षण सशुल्क गराउने निर्णय गरेको थियो । उनले हिजो मङ्गलबार गरिएको उक्त निर्णयलाई केही अनलाइन मिडियाले निजी संस्थाबाट पनि परीक्षण गराउन रु १५ हजार तोकिएको भनी समाचार सम्प्रेषण गरेको र यसैलाई आधार मानी सर्वसाधारणले व्यक्त गरेका धेरै प्रतिक्रियाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका छन् । उनले सार्वजनिक अस्पतालमा लामबद्ध भएर समय खेर फाल्न नचाहने र भीडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीको अनुरोधमा नै मन्त्रालयले सःशुल्क परीक्षणको व्यवस्था गर्न लागेको जानकारी दिए । “निःशुल्क परीक्षण गराउने कि सःशुल्क परीक्षण गराउने सो व्यक्तिको इच्छामा भरपर्ने कुरा हो”, उनले भनेका छन्, “सःशुल्क परीक्षण गर्ने संस्थाले परीक्षणको लागि तोकिएको सम्पूर्ण मापदण्ड पु¥याएको हुनुपर्दछ । त्यहाँबाट भएका परीक्षणको गोपनीयता कायम गर्दै नियमित रिपोर्टिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्दछ ।”यसैगरी अहिलेसम्म ३५ हजार ४९४ को पिसिआर र ७५ हजार ७२ जनाको आरडिटीबाट परीक्षण गरिएको छ ।
कोशी अस्पतालमा उपचाररत ८ जना काेराेना संक्रमित पुरुष निको भए
काठमाडौं । कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित पुरुष निको भएका छन् । कोभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित पुरुष निको भएकाे बताएका हुन् । याेसँगै नेपालमा काेराेना निकाे भएर घर जानेकाे संख्या ४५ पुगेकाे छ ।
३६ वर्षमै शाखा अधिकृतले कमाए पौने १८ करोडकाे सम्पत्ति, मुद्दा अदालतसम्म पुग्यो
काठमाडाैं । गाविस सचिवबाट सेवा प्रवेश गरी शाखा अधिकृत रही अवकास प्राप्त एक कर्मचारीले पौने १८ करोड रुपैयाँकाे सम्पत्ति आर्जन गरेको खुलासा भएको छ । काठमाडौंको टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालले गाविस सचिवबाट सेवा प्रवेश गरी शाखा हधिकृत हुँदा सम्म १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँकाे सम्पत्ति आर्जन गरेको बुझिएको हो । उनले विभिन्न तवरले अकुत सम्पत्ति कमाएको र ठाउँ ठाउँमा घर जग्गा जोडी आफ्नो कार्यकालका कर्मचारीलाई समेत दवावमा पारी नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्द अदालतमा मुद्दा दायर गरेको छ । उनले आफ्नी श्रीमती र छोराछोरीको नाममा सो रकम जम्मा गरेको बताइएको छ । उनले लामो समय काठमाण्डौ जिल्लाका साविकको धापासी गाविस टोखा सरस्वती गाविस र भिमढुंगा गाविसमा गाविस सचिवको रुपमा कार्यरत रही टोखा नगरपालिकामा निमित्त कार्यकारी अधिकृतको रुपमा समेत कार्यरत रहेको र सोही समयमा धेरै ठाउँमा घरजग्गाहरु जोडेको अनुसन्धानबाट खुलेको छ । उनले वि.स २०३९ मा गाविस सचिवबाट सेवा प्रवेश गरेका थिए भने २०७५/ २०७६ मा शाखा अधिकृतबाट अवकास भएका थिए । अर्याललाई बिगो १७ करोड ८३ लाख ४१ हजार ५सय ७९ रुपैयाँ बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजायको माग गरिएको छ ।
नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय २७ पुग्याे
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय २७ पुगेकाे छ । पछिल्लो २४ घन्टामा २५ नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितकाे संख्या ४ सय २७ पुगेकाे हाे । कोभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २५ जनामा काेराेना देखिएकाे बताएका हुन् । नयाँ थपिएका सङ्क्रमित तीनदेखि ४८ वर्षका १८ पुरुष र सात महिला रहेका देवकाेटाले जानकारी दिए । नयाँमा तीन बालिका छन् । नयाँ सङ्क्रमितमा बाँकेका छ जना छन् । नरैनापुर गाउँपालिका ५ का १७, २०, २८, ३० र ४० वर्षका तथा खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । कपिलवस्तुमा १३ सङ्क्रमित छन् । नयाँ सङ्क्रमितमा विजयनगरको क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुष छन् । महाराजगञ्ज गाउँपालिका ३, ४ र ६ वर्षीया बालिकामासमेत सङ्क्रमण देखिएको छ । सोही गाउँपालिकाका १६, २५ र ३२ वर्षीया महिला र चार पुरुषमा १२, २०, २४ र ३४ वर्षका छन् । धनकुटाका पाँच जनामा २८, २९, ३५ र ३७ वर्षीय पुरुष र २४ वर्षीय महिला तथा नवलपरासी (पश्चिम)का सुस्ता गाउँपालिका ५ का पुरुष रहेको उनले बताए । अहिलेसम्म सङ्क्रमितमा ३५८ पुरुष र ६९ महिला छन् । अहिलेसम्म ३८ जिल्लामा सङ्क्रमण देखिएको छ । यसैगरी आज कोशी अस्पतालमा उपचाररत रहेका उदयपुरका आठ जना पूर्णरुपमा निको भई घर फर्किएका छन् । अहिलेसम्म ४५ जना घर फर्किएका छन् । क्रिमसन अस्पतालमा रहेका सङ्क्रमितको अहिले भेन्टिलेटरमा उपचार भइरहेको छ ।
लकडाउनमा पिकनिक मनाउने बढे, स्थानीयवासी त्रासमा
सांकेतिक तस्विर कैलाली । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा लकडाउन (बन्दाबन्दी) जारी छ । तर यहाँका युवा यतिखेर पिकनिक मनाउन पहाडी क्षेत्रमा जान थालेका छन् । पहाडी क्षेत्रमा प्रहरीको निगरानीमा कमी र गर्मी छल्नसमेत सजिलो हुनेभएपछि कैलालीका तराई क्षेत्रबाट युवा पिकनिक खाने बहानामा पहाडी क्षेत्रमा जाँदा स्थानीयवासीमा भने त्रास सिर्जना भएको छ । लकडाउनमा मानिस घरभित्रै बस्नुपर्ने हो तर कैलालीका पहाडी जिल्लामा अहिले दैनिक पिकनिक खानेको भीड लाग्न थालेपछि स्थानीयवासीमा त्रास बढेको हो । कैलालीको मोहन्याल गाउँपालिकाका विभिन्न ठाउँमा बाहिरबाट गएका मानिसको भीडभाड बढेपछि स्थानीयवासी त्रसित भएका मोहन्याल-२ पण्डोनका नन्दराम भण्डारीले बताए । ‘मोहन्याल गाउँपालिकाका राजकाँडा, काइजुवा, चोसेकाँडा, बजाडी, कटौजे, गर्भा दरबारलगायत ठाउँमा पिकनिक खाने, काफल खाने, घुम्ने भन्दै तराई क्षेत्रबाट मानिस भित्रिन थालेका छन्’, उनले भने, ‘यहाँका स्थानीयवासी कोरोना सङ्क्रमण फैलिन्छ कि भनी त्रसित भएका छन् ।’ यहाँ दैनिक २०/२५ मोटरसाइकलसहित मानिसको भीडभाड बढेको छ । ‘तराईका शहरबाट युवा पहाडी गाउँ पसेपछि स्थानीयवासी डराएका हुन्’, भण्डारीले भने, ‘हाम्रो गाउँका मानिस जङ्गलसमेत जान डराएका छन् । पाकेको काफल टिप्न सकेका छैनन्, तर अन्य ठाउँका मानिसले जङ्गल भरिन थालेका छन् ।’ मोहन्याल गाउँपालिकाको काइजुवाका डम्बर नाथ योगीले पनि गाउँमा बाहिरका मानिसको चहलपहल बढेपछि डर लागेको बताए । ‘यस्तो विपत्तिको समयमा मानिस आफ्नो घर फर्कन थालेका छन्, तर यहाँ त कैलालीका अन्य स्थान र अन्य जिल्लाका मानिस भित्रिन थालेका छन्’, उनले भने, ‘दुई दिनअघि कञ्चनपुरका युवा पनि काफल खान भन्दै यहाँ पुगेका थिए ।’ योगीले अपरिचित युवा गाउँमा रमाउन थालेपछि स्थानीयवासीलाई अनिवार्य काममा निस्कनसमेत जोखिम रहेको बताए । ‘बाहिरका मानिसको चहलपहल गाउँमा बढ्न थालेपछि ती मानिस आउने बाटोमा प्रहरी प्रशासनले कडाइ गर्नुपर्छ’, मोहन्याल–३ सल्लेरीका मोहन वटालाले भने, ‘नभए पहाडी जिल्लामा जोखिम बढ्छ ।’ स्थानीय पत्रकार रमेश सापकोटाले गाउँमा भीडभाड बढेपछि प्रहरीलाई खबर गरेको बताए । ‘भीडभाड बढेकाले रोक्नु पर्यो भनी प्रहरी प्रशासनलाई खबर गरेका छौँ’, उनले भने, ‘दैनिक सयौँ नागरिक यहाँ पिकनिक खान, रमाउन आउन थाले, लकडाउनको समयमा यिनीहरु कसरी आइरहेका छन् ?’ मोहन्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयानन्द जैशीले भीड बढेपछि गाउँपालिकाले पनि बाहिरबाट आउने व्यक्तिलाई रोक्ने प्रयास गरिरहेको बताए । रासस
मन्त्री अर्यालद्वारा नेपालकाे नयाँ नक्सा सार्वजनिक
काठमाडाैं । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले बुधबार एक पत्रकार सम्मेलन गर्दै नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । सरकारले जारी गरेसँगै अब यो नयाँ नक्सा प्रचलनमा आउनेछ । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको छ । मन्त्री अर्यालले अब नक्सा प्रयोग गर्ने ठाउँमा यही नयाँ नक्सालाई प्रयोग गर्न पनि अनुरोध गरेकी छन् ।
ज्योति विकास बैंकले एचएफएनलाई दियाे २ लाख रूपैयाँकाे आर्थिक सहयाेग
काठमाडाैं । ज्योति विकास बैंकले हेल्थ फाउण्डेसन नेपाल (एचएफएन) सँग बुधबार २ लाख रूपैयाँ बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत एचएफएनलाई कोरोना विरुद्धको लडाइँमा संस्थाको एन-९५ युभिजिआई डिकन्ट्यामिनेसन प्रोजेक्टको लागि सहयोग गरेको हो । एचएफएनको एन-९५ डिकन्ट्यामिनेसन प्रोजेक्ट अन्तर्गतको युभिजिआई प्रविधिले वर्तमान स्थितिमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने एन-९५ मास्क र पीपीईलाई पुन प्रयोग गर्न मिल्ने गरि जीवाणु रहित बनाउँदछ। सो प्रविधि अन्तर्गत प्राविधिक रुपमा उपयुक्त डिकन्ट्यामिनेसन तरिका अपनाइएमा अल्ट्रा भाइलेट प्रकाशको प्रयोगले एउटै एन-९५ मास्कलाई पनि कम्तिमा ५ पटकसम्म सुरक्षित तरिकाले पुन प्रयोग गर्न मिल्ने तथ्यहरुले देखाएको छ। स्वास्थ्यकर्मीहरुको प्रयोगको लागि अत्यावश्यक एन-९५ मास्क र पीपीईको सजिलो पूर्तिको लागि यो प्रविधिले उल्लेखनीय योगदान पुर्याउनेछ। एचएफएनले पहिलो चरणमा नेपाल सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरसँगको सहकार्यमा देशभरको २८ विभिन्न अस्पतालमा सो प्रविधि स्थापना गर्नेछ। डिजिटल वेबिनारमार्फत भएको उक्त सहकार्य सम्झौतामा ज्योति विकास बैंककोतर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा हेल्थ फाउण्डेसन नेपाल (एचएफएन)का कार्यकारी निर्देशक मदन राज भट्ट्ले हस्ताक्षर गरे । समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ र आगामी दिनहरुमा पनि समाजमा परिवर्तन ल्याउने खालका कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ। हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३४ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब २९ अर्ब रूपैयाँ लगानी गर्न सफल भएको छ ।
के हुँदैछ मजदुरलाई तलब दिने कुरा ? यसो भन्छन्ः निजी क्षेत्र, सरकार र ट्रेड युनियन
काठमाडौं । सरकारले लकडाउनलाई सर्वाजनिक बिदा घोषणा गरेर मजदुरको पुरै तलब दिनुपर्छ भनिरहेको छ । सरकारले केही दिन अघि लकडाउनलाई सार्वजनिक बिदा नै घोषणा गरेको थियो । तर उद्योग धन्दामा काम गर्ने कजदुर ५ देखि ३० घन्टासम्म हिडेर आफ्नो घर गए । लकडाउनका कारण उद्योग व्यवसाय बन्द भएपछि श्रम सम्बन्धमा दरार उत्पन्न हुने संकेत देखिएको छ । उद्योग व्यवसाय बन्द भएको कारण मजदुरलाई पूरै तलब खुवाउन नसकिने अवस्था आएकोले कटौति पर्नुपर्ने रोजगारदाता बताउछन् । ट्रेड युनियन भने खाइपाइ आएको तलब तथा अन्य सुविधा कटौति गर्न नहुने अडानमा छ । यही विवाद बढ्ने देखिएपछि सरकारले निजी क्षेत्र र ट्रेड युनियनलाई समेटेर त्रिपक्षीय कार्यदल गठन गरेको छ । कार्यदलमा सरकारी प्रतिनिधि पनि छन् । निजी क्षेत्रका ५ जना, सरकारको तर्फबाट ५ जना र ट्रेड युनियनबाट ५ जना गरी १५ जनाको त्रिपक्षीय कार्यदल गठन भएको छ । त्रिपक्षीय कार्यदलमा सरकारको तर्फबाट अर्थ, श्रम, उद्योग र कृषि मन्त्रालयमा प्रतिनिधिहरुको सहभागिता छ । उक्त कार्यदलमा नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, होटल एसोसिएसनका प्रतिनिधि, नेपाल उद्योग परिसंघका प्रतिनिधि र सना, मझौला तथा घरेलु उद्योग महासंघ लगायतबाट ५ जना सदस्य छन् । ट्रेड युनियनको तर्फबाट पनि ५ जना सो कार्यदलमा सदस्य छन् । लकडाउनको कारण उद्योग व्यवसाय बन्द भएको, केही क्षेत्रमा असाध्यै धेरै असर परेर व्यवसाय उठ्नै नसक्ने अवस्थामा पुगेको उद्योगीहरु बताउछन् । लकडाउनले असर परेको भन्दै उद्योगी व्यवसायले राहतका लागि सरकार गुहारिरहेका छन् । व्यवसाय नै धराशायी भएकोले मजदुरलाई साढे १२ प्रतिशत मात्रै तलब दिन सकिने होटल एसोसिएसनले भनिरहेको छ । तर, १४ वैशाखकै मन्त्रिपरिषद बैठकले सस्तो व्याजदरको पुनरकर्जा लिएर भएपनि लकडाउन अवधिभरीको तलब आधा दिन र बाँकी आधा तलब लकडाउन खुलेपछि दिन रोजगारदातालाई भनेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले सरकारले चैतको पुरै र बैशाखको ५० प्रतिशत तलब अहिले र ५० प्रतिशत उद्योग खुलेपछि दिनुपर्ने निर्णय गरेको बताए । चैत र वैशाखकको सरकारले गरेको निर्णय कायन्वयन भएपछि जेठ महिना र त्यसपछिका महिनाहरुको निर्णय हुने उनले बताए । ‘उद्योगी र मजदुरका नेता पनि यस विषयमा सकारात्मक छन, हाम्रो पहिलो बैठक हिजो बस्यो, सबै पक्षसँग छलफल गरेर उपयुक्त निर्णय निकाल्न पहल भइरको छ, कोरोना भाइरसको महामारीले विश्वभर आतंक मच्चाएको परिस्थितिसँग जुध्न सबै पक्ष एक ठाउँमा उभिनु पर्ने आवश्यकता छ,’ सहसचिव अधिकारीले भने । अधिकारीले सरकारसँगै सबै क्षेत्र एकै ठाउँमा उभिनुको विकल्प नभएको बताए । उद्योग प्रतिष्ठानको लागि सरकारले राहत कार्यक्रम ल्याउने, रोजगारदाताले सकेसम्मको पहलकदमी लिने र असंगठित क्षेत्रका मजदुर तथा श्रमिकको लागि स्थानीय तहसँगको समन्वयमा राहत वितरण गर्ने सरकारको तयारी रहेको उनको भनाइ छ । सयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष पुष्कर आचार्यले श्रम मन्त्रालय, निजी क्षेत्र र ट्रेड युनियनको नियामित छलफल भइरहेको बताए । मजदुरले चैत महिनामा ३० प्रतिशत मात्रै तलब पाएको उनको भनाइ छ । देशभर सबै क्षेत्रमा गरेर नेपालभर अहिले ४० लाख मजदुर छन् । ‘मजदुरको तलब कटौतिमा ट्रेड युनियनको सहमति छैन्, सरकारले पनि लकडाउनलाई सर्वजनिक बिदा घोषणा गरेर तलब दिनु पर्छ भन्ने निर्णय गरेको छ, सरकार आफ्नो निर्णय कायन्वय गराउनतर्फ लाग्नुपर्छ, मजदुर खाइपाइ आएको तलब पूरै पाउनु पर्छ,’ आचार्यले भने । मजदुरले पनि उद्योग, व्यापार, व्यावसायिक कम्पनी तथा प्रतिष्ठानहरूले कर्मचारी तथा कामदारको लकडाउन अवधिको न्यूनतम तलब तथा ज्याला अधिकतम ५० प्रतिशत भुक्तानी गर्ने गरी व्यवस्था गर्न माग गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रोजगारदाता परिषद्का अध्यक्ष तथा त्रिपक्षीय कार्यदलका सदस्य चन्द्र ढकालले सबै उद्योगधन्दाहरु बन्द भएकोले मजदुरलाई ५० प्रतिशतभन्दा तलब दिन नसकिने बताए । सबै पक्ष एकै ठाउँमा बसेपछि निचोडामा पुगिने उनको भनाइ छ । कोरोनाको कारणले सबै क्षेत्रको अवस्था खराब भएको भन्दै उनले उद्योग रहेन भने मजदुरले रोजगारी नपाउने र मजदुर भएन भने पनि उद्योग सञ्चालन हुन नसक्ने भएकोले यो अवस्थालाई जुझेर जानु पर्ने उनको भनाइ छ । त्रिपक्षीय कार्यदलको पहिलो बसेको हिजोको बैठकमा कोरोनाकोे संक्रमणले ल्याएको चुनौती, मुलुकको अर्थतन्त्रमा परेको प्रभाव र देशभर लकडाउन उत्पन्न समस्या र कठिनाईका साथै उद्योग व्यवसाय संचालन र श्रम क्षेत्रमा पर्न गएको प्रभावका बारेमा छलफल भएको ढकालले बताए । ‘लकडाउनको अवधि लम्बिदै गइरहेकोले छ, यस्तो असाधारण परिस्थितिमा सरकारले गरेका एकतर्फि निर्णय कार्यान्वयनमा समस्या थपिदै गएको छ, उद्योग व्यवसाय संचालनमा देखिएका कठिनाईलाई ध्यानमा राखी उद्योग, व्यवसाय र श्रमिक दुवैको वचाउ गर्न उपयुक्त निकास खोज्नु आवश्यक छ’, ढकालले भने । कार्यदलले अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन रूपमा अबलम्बन गर्नुपर्ने नीति र उपायका बारेमा सुझाव पेश गर्नेछ । कार्य क्षेत्रको पहिचान गरी सुझाव तयार गर्नु उपयुक्त हुने भएकाले मन्त्रालयले त्यसको प्रारम्भिक कार्यसूची बनाई आगामी वैठकमा छलफल गर्ने सहमति भएको ढकालले बताए ।