मोटर बीमाका बीमितलाई राहात, लकडाउन अवधिभर प्रिमियममा छुट
काठमाडौं । बीमा समितिले मोटर बीमाकाे बीमाशुल्क घटाउन बीमकहरुलाई निर्देशन दिएकाे छ । समितिले लकडाउनको अवधिभर थन्किएका मोटहरुमा मोटर बीमाको बीमाशुल्क घटाउन बीमकलाई निर्देशन दिएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण जारी रहेकाे लकडाउनका कारण थन्किएका सवारी साधनमा जोखिम न्यून हुन गएकाले बीमितलाई बीमाशुल्कमा राहात दिन खोजिएको हो । ‘अब मोटर बीमा तर्फका बीमितले राहात महशुस गर्नेछन्, लकडाउनको प्रभाव महशुस गर्दै यस्तो निर्णय भएको हो’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । ‘सवारी साधन प्रयोगमा नरहेको सूचना सम्बन्धमा नेपाल सरकारले लक डाउन घोषणा गरेको मिति २०७६ चैत्र ११ गतेदेखि लकडाउन हटेको अवधिसम्मलाई लागू हुने बताईएको छ । तर अत्यावश्यक सेवाका सवारीहरुको हकमा नेपाल सरकारले सूचना जारी गरी सवारी साधन संचालन गर्न अनुमति दिएको अवधिसम्मको लागि थन्किएको अविधिले अप पिरीयड गणना हुनेछ ।’- समितिले जारी गरेकाे परिपत्रमा भनिएकाे छ । यस्तै, लकडाउनदेखि नचलेका सवारी साधनहरुमा भने लकडाउनको अवधि सुरु भएदेखि लकडाउन अन्त्यसम्मको अवधि गणना हुनेछ । यस बीमा अवधिमा दाबी परिसकेको सवारी साधनहरुले थन्किएको अवधिको छुट पाउँदैनन् । साथै, निर्देशिकामा थन्किएको अवधिले अप पिरीयडको बीमाशुल्क छुटको गणना तोकिएको छ । [pdf id=216016]
बैंकको व्याज घट्दा जीबन बीमा कम्पनीको नाफा खुम्चिदै, भन्छन्ः दीर्घकालिन ऋणपत्र चाहियो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मुद्दति निक्षेपको व्याज घटाएको भन्दै जीवन बीमा कम्पनीहरुले आफ्नो आम्दानी घट्ने चिन्ता गरेका छन् । आफूहरुको आम्दानीको प्रमुख स्रोत नै बैंकमा राखिएको बीमा शुल्कको व्याज भएकोले आम्दानी घट्दा नाफा प्रभावित हुने उनीहरुको भनाइ छ । बैंकको व्याज घटेकोले कम्पनीहरु सरकारको दीर्घकालिन ऋणपत्रको माग गर्न थालेका छन् । सरकारले दीर्घकालिन ऋणपत्र जारी गरेमा आफूहरु त्यसमा लगानी गर्न तयार रहेको उनीहरुको भनाइ छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिवेक झाले दिएको जानकारी अनुसार बैकको व्याजदर घट्दा त्यसको असर बीमा कम्पनीहरुलाई प्रत्यक्ष रुपमा पर्छ । ‘बैकको व्याजदर कम हुँदा बीमा कम्पनीहरुको आम्दानी घट्छ, बीमा कम्पनीहरुमा निश्चित दरको बोनस ग्यारेन्टी गरेका पोलिसीहरु पनि रहेका कारण कम्पनीहरुले मार खाने अवस्था आउँछ’, प्रमुख कार्यकारी अधिकृत झाले भने । नेपाली बीमा कम्पनीहरुको ठूलो हिस्सा मुद्दति निक्षेपमा लगानी रहेको र यस्तो लगानीको व्याज दर पनि संस्थागत निक्षेपकर्ताले कम पाउने भएकोले समस्या परेको उनको भनाइ छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार बीमा कम्पनीहरुले लगानी गर्ने धेरै क्षेत्रहरु खुलाइएको छैन । लगानी क्षेत्र सिमित हुँदा बीमा कम्पनीहरुलाई समस्या भएको प्रमुख कार्यकारी अधिकृत अर्यालको भनाइ छ । ‘अहिले बीमा क्षेत्रले लगानी गर्ने धेरै क्षेत्रहरु खुल्ला गर्न बाँकी छ, सरकारका दीर्घकालिन ऋणपत्र आउने र त्यसमा लगानी गर्न पाउने हो भने केही हदसम्म सहज हुने थियो, लगानीयोग्य पूँजीबाट प्राप्त हुने प्रतिफल नै जीवन बीमाको आम्दानी हो, त्यसमा बैकको व्याजदर पर्छ, बीमा समितिले तोकेको लगानीको क्षेत्र उपलब्ध छैन’, प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कको ९० प्रतिशत जति रकम बैक तथा वित्तीय संस्थामा निक्षेपको रुपमा राख्ने गरेका छन् । सोही कारण बैकको व्याज घट्दा बीमा कम्पनीहरुले ठुलो नोक्सान व्यहोर्नु पर्छ । जीवन बीमाले संकलन गरेको बीमा शुल्क ३ खर्ब रुपैयाँभन्दा धेरै हुन्छ । सो रकमबाट २ प्रतिशत मात्र घट्दा ६ अर्ब रुपैयाँ घट्छ । यसरी घट्ने रकमले बीमा क्षेत्रमा ठूलो प्रभाव पार्ने सरोकारवालाको भनाइ छ । व्याजदरको असर बीमा कम्पनीहरुका अनुसार बैकको व्याजदरसँग बीमा क्षेत्रको आम्दानीको हिस्सा जोडिने भएकाले त्यसको प्रत्यक्ष असर जीवन बीमालाई पर्छ । बिमितले पाउँने शुल्क, कम्पनीको सल्भेन्सी मार्जिन, अभिकर्ताले पाउँने बोनस, कम्पनीको नाफाघाटा लगायत हरेक क्षेत्रमा आर्थिक नोक्सानी हुन्छ । नेपाल टेलिकम लगायतका संस्थाहरुले संस्थागत निक्षेप राख्दा नाफा वा बचत राख्ने तर जीवन बीमा उद्योगले लगानी नै राख्ने भएकाले संस्थागत व्याजदर घट्नुको असर बीमा क्षेत्रमा बढी पर्छ । जीवन बीमा कम्पनीका एक प्रमुख कार्यकारी अधिकृतले दिएको जानकारी अनुसार बैकको मुद्दती निक्षेपको व्याजदरको असर बिमितलाई पनि पर्छ । यसको असर बोनस दरसम्ममा पुग्ने भएकाले बीमा समितिले बीमा क्षेत्रको लगानीको दायरालाई वृद्धि गर्नु पर्ने कम्पनीहरुको भनाइ छ । यस्तो छ लगानी निर्देशिका बीमा समितिले बीमकले लगानी गर्नुपर्ने रकमको न्यूनतम सीमा तोकेको छ । बीमकको लगानी निर्देशिका २०७५ अनुसार लगानीको क्षेत्र नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचत वा ऋणपत्र वा नेपाल सरकारको जामानत प्राप्त वचतपत्र वा ऋणपत्रमा कूल टेक्निकल रिजर्भको ५ प्रतिशतलाई लगानीको न्यूनतम सीमा तोकिएको छ । टेक्निकल रिजर्भ भन्नाले कम्पनीको दायित्वलाई थाम्न पुग्ने बीमा शुल्कबाट आउँने रकम र टेक्निकल्ली मूल्याङ्कन गरिएको दायित्व रकम हो । यस्तै, वाणिज्य बैक तथा नेपाल पूर्वाधार बैकको मुद्दती निक्षेपमा कुल टेक्निकल रिजर्भको ४० प्रतिशत रकम लगानी गर्न पाइने व्यवस्था निर्देशिकामा छ । टेक्निकल रिजर्भको प्रयोजनको लागि गणनायोग्य सम्पत्तिको अधिकतम सीमा समेत तोकिएको छ । उक्त सीमाअनुसार घरजग्गाा व्यवसायमा कूल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा कूल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म तथा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको अग्राधिकार सेयरमा (सधारण सेयरमा परिणत नहुने) र ऋणपत्रमा कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानीको सीमा तोकिएको छ । नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सुरक्षित डिवेन्चरमा कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानी सीमा तोकिएको छ । कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा गरिएको लगानी कुल टेक्निकल रिजर्भको २० प्रतिसम्म लगानी गर्न मिल्ने व्यवस्था निर्देशिकामा छ । यसरी नै नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा कूल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, विकास बैंकमा मुद्दती निक्षेपमा कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा कूल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म लगानी गर्न मिल्ने व्यवस्था निर्देशिकामा छ । कूल टेक्निकल रिजर्भ समितिबाट स्वीकृत भएको पछिल्लो वित्तीय विवरण बमोजिम हुनु पर्नेछ । समितिले बीमा कम्पनीहरुलाई लगानीको केही शर्त तथा कैफियत समेत तोकेको छ ।
कोरोना कोषमा घरेलु लघुवित्तको आर्थिक सहयोग
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरसको संक्रमण विरुद्घ लड्न स्थानीय निकायलाई आर्थिक सहयोग गरेको छ । संस्थाले विभिन्न तीन वटा गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस(कोभिड-१९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० हजार रुपैयाँ बराबरको आर्थिक सहयोगको चेक हस्तान्तरण गरेको हो । यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ । घरेलु लघुवित्तको शाखा कार्यालयहरु धनुषाधाम, धनुषा, आर्दश कोलवाल, बारा र कोल्हुवा, नवलपुरका शाखा प्रबन्धकहरु क्रमशः ज्ञानेन्द्र कुमार यादवले धनुषाधाम नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीलाई, कुन्दन प्रसाद कुशवाहले आदर्शकोलवाल गाउँपालिकाको प्रशासकिय अधिकृत मो.मुस्तुफा अन्सारीलाई र शिवराज उपाध्यायले मध्यविन्दु नगरपालिकाको मेयर चन्द्र बहादुर रानालाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
युनाईटेड इन्स्योरेन्सबाट आर्थिक पत्रकारको कोरोना बीमा
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना बीमा गरिएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो । सेजनले आफ्ना प्रत्येक सदस्यहरुको ५० हजार रुपैयाँ बराबरको वीमाङ्ग रकमको कोरोना बीमा गराएको छ । बीमापछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखिम हुनेछ । युनाईटेड इन्स्योरेन्सले यस बन्दाबन्दीको अवधिमा डिजिटल प्रविधिको माध्यमबाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ । कम्पनीले हाल २९ वटै शाखा कार्यालयमार्फत मोटर, बीमा अग्नी बीमा, इन्जिनियरिङ्ग बीमा, कृषि तथा पशुपन्छी बीमा लगाएतका बीमा लेखहरु जारी गर्दै आएको जानकारी दिएको छ ।
यसकारण जेठ १५ गतेदेखि प्रभु बैंकको सम्पूर्ण सेवा बन्द
काठमाडौं । प्रभु बैंकको आगामी जेठ १५ गते साँझदेखि सम्पूर्ण सेवाहरु बन्द हुने भएको छ । बैंकले हाल प्रयोग गर्दै आएको बैंकिङ् सफट्वेयर प्रतिस्थापन(कोर बैंकिङ्ग सिष्टम माईग्रेसन) गर्नको लागि आफ्ना सेवाहरु सञ्चालन नगर्ने जानकारी दिएको हो । बैंकका अनुसार कम्पनीले दिँदै आएको सबै सेवाहरु जेठ १५ गते बिहीबार अपरान्ह ५ बजेदेखि जेठ १८ गते आइतबार बिहान ९ बजेसम्म सञ्चालन नहुने भएको छ ।
गुणस्तरीय क्वारेन्टाइन निर्माण र परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण तत्काल स्वदेश फर्कने नागरिकको सङ्ख्या यकिन गरी आवश्यक गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिएका छन् । छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)बाट महामारी नियन्त्रणका लागि हालसम्म भइरहेको एकीकृत प्रयासबारे जानकारी लिएपछि उनले कोरोना परीक्षणको दायरासमेत बढाउन निर्देशन दिएका हुन् । एकीकृतरुपमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सूचना प्राप्त गर्न र जोखिम नियन्त्रणका प्रयासमा आवश्यक कदम चाल्न सहज तुल्याउने उद्देश्यले उक्त केन्द्र स्थापना गरिएको हो । ठीक समयमा लकडाउन भएको र नागरिकबाट त्यसको पालनामा सहयोग प्राप्त भएकाले महामारी नियन्त्रणमा हालसम्मको प्रगति सन्तोषजनक रहेको समीक्षा गरिएको थियो । कोभिड १९ सङ्क्रमणको स्थिति, आगामी दिनमा चाल्नुपर्ने कदम, हालसम्म प्राप्त सूचनाका बारेमा प्रधानमन्त्रीले विस्तृत जानकारी लिनुभएको केन्द्रका संयोजक महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । लकडाउन हटेलगत्तै बाहिरबाट आउने सङ्ख्या ठूलो हुनसक्ने र त्यसको व्यवस्थापनका लागि आवश्यक साधन स्रंोतको व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएकाे उनले बताए । कोरोना जोखिम नियन्त्रणका सन्दर्भमा निजी क्षेत्रका चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताका आधारमा प्रयोग गरिने केन्द्रको भनाइ रहेको छ । हालसम्म अपनाइँदै आएको रणनीतिमा परिवर्तन गरी क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वास्थ्य स्थिति बिग्रन नदिन खानपान, सरसफाइ, शौचालयलगायतको उचित व्यवस्थापन गर्न केन्द्रलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए । बन्दाबन्दी भए पनि केही व्यक्ति विभिन्न गाउँमा पुगेका कारण सङ्क्रमण फैलिएको सूचना प्राप्त भएकाले त्यस्ता सङ्क्रमित व्यक्तिको पहिचान गर्न पनि उनले निर्देशन दिएका थिए । कोरोनाको रोकथामका लागि हालसम्म कुनै औषधि यकिन नभएको अवस्थामा सामाजिक दूरी कायम गर्ने, खानपान र नियमित शारीरिक अभ्यासबारे सर्वसाधारणलाई जानकारी गराउन प्रचारप्रसारमा जोड दिनुपर्ने आवश्यकता आँैल्याइएको छ । सङ्क्रमित व्यक्ति आवतजावत र सम्पर्क भएको क्षेत्रलाई प्राथमिकीकरण गरी परीक्षणको दायरा बढाइएको केन्द्रले जनाएको छ । योजनाबद्धरुपमा परीक्षणको दायरा बढाउन आवश्यक रहेको निष्कर्ष निकालिएको छ । रोजगारीलगायतका कारण विदेशमा रहेका र कोरोनाका कारण स्वदेश फिर्ता हुन चाहने व्यक्तिको पहिचान गर्न परराष्ट्र मन्त्रालयबाट तत् देशमा रहेको कूटनीतिक नियोगलाई निर्देशन भइसकेको छ । विदेशबाट फर्कने नागरिकलाई कसरी व्यवस्थापन गर्नेबारेमा केन्द्रले प्रारम्भिक गृहकार्य गरिरहेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले क्वारेन्टाइनको क्षमता र गुणस्तर एवं परीक्षणको दायरा बढाउन निर्देशन भएको जानकारी दिए । उनले भने, “पृतनाबाट कोरोना रोकथाम र उपचारका लागि प्रस्तुत गरिएको प्रारम्भिक योजनामाथि छलफल भएको छ । त्यसलाई परिमार्जन गरेर अघि बढ्ने भएको छ ।” प्रधानमन्त्रीका साथ उपप्रधान तथा रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलगायत उक्त केन्द्रमा पुगेर कोभिड नियन्त्रणमा भइरहेको प्रयासबारे जानकारी लिएकाे हाे । रासस
कृषि सामग्री र बीउमा ५० प्रतिशत अनुदान दिने
कास्की । विश्वव्यापी फैलिएको कोभिड–१९ को महामारीबाट उत्पन्न हुने सम्भावित खाद्य सङ्कटसँग जुध्न यहाँको एक गाउँपालिकाले सबैलाई कृषि कर्ममा संलग्न गराउने लक्ष्य राखेको छ । कृषिमा आत्मनिर्भर बन्दै व्यावसायिक उत्पादनको योजनाअनुसार धेरै जनसङ्ख्यालाई कृषिमा आबद्ध हुने वातावरण बनाउन जिल्लाको मादी गाउँपालिकाले किसानलाई कृषि सामग्री, मल र बीउबिजन खरिदमा ५० प्रतिशत अनुदान दिने भएको छ । कोभिड–१९ का कारणले रोजगारी गुमाएर स्वदेश फर्किने युवा–युवतीलाई कृषि कर्ममा लाग्न उत्प्रेरित गर्ने तथा गाउँपालिकालाई उत्पादनमा आत्मनिर्भर बनाउनका लागि अनुदान दिन लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको तल्लो कृषियोग्य जमिनमा किसानलाई उत्पादनमा लगाइने र माथिल्लो क्षेत्रमा पशुपालनमा जोड दिने नीतिअनुसार हालै सम्पन्न कार्यपालिका बैठकले कृषि कर्म गर्न चाहना भएकाले अनुदानको दुरुपयोग नहुने स्पष्टताका साथ आवश्यक प्रक्रिया पूरा गरेपछि सो अनुदान उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले बताए । उनले भने, “कृषिमा यसअघि निश्चित कोटाअनुसार अनुदान दिने गरेका थियौँ, अहिले त्यसलाई खारेज गरेर कृषिमा काम गर्न चाहने सबैलाई मागअनुसार दिन थालेका छौँ । आगामी वर्षको नीति कार्यक्रममा यसलाई अझ व्यवस्थित गर्छौं ।” बीउबिजन, फलफूल बेर्ना, प्लास्टिक टनेल, असिना नेट, प्लास्टिक पोखरी, खेत जोत्ने ट्र्याक्टर, मौरी घारलगायत उत्पादन सामग्रीमा मागअनुसार सो अनुदान उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पर्यटन र कृषिलाई समृद्धिको प्रमुख आधारका रुपमा तय गरेको थियो । हालको विषम् अवस्थाले पर्यटन क्षेत्र प्रभावित बनेको छ । नयाँ वर्षको अवसर पारेर आयोजना गर्ने तयारी गरेको पर्यटन महोत्सवसमेत कोभिड–१९ का कारणले स्थगन गरेको थियो । पर्यटन क्षेत्रका लागि चालू आवमा विनियोजित सबै बजेटसमेत कृषि र विपद् व्यवस्थापनमा रकमान्तरण गरिएको अध्यक्ष गुरुङले बताए । “कृषिबाट नै समृद्धि गर्ने लक्ष्यअनुसार कृषिलाई अब प्रमुख प्राथमिकतामा राखेका छौँ । यो वर्ष पर्यटन र अन्य खर्च हुन नसकेका योजनाको बजेटसमेत रकमान्तरण गरेर कृषिमा खर्च गरिने छ”, उनले भने । त्यसैगरी गाउँपालिकाले चालू वर्षको पशु विकास कार्यक्रमअन्तर्गत पाँचजना तथा कृषि विकास कार्यक्रमअन्तर्गत नौजना पशुपालक र तरकारीखेतीमा आबद्ध किसानलाई जनही रु दुई लाखका दरले अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गत वर्षबाट शुरु गरेको अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ८७ जना कृषक तथा कृषि उद्यमीलाई यस वर्ष रु ५० हजारका दरले अनुदान उपलब्ध गराउने गरी छनोट गरेको छ । गाउँपालिकाको १२ वटै वडाबाट युवा स्वरोजगार कार्यक्रमअन्तर्गत प्राप्त आवेदनबाट किसानलाई छनोट गरिएको वडा नं ७ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता लालबहादुर गुरुङले जानकारी दिए । छनोट भएकासँग कार्यक्रम कार्यविधिअनुसार केहीदिनभित्रमा नै सम्झौता गरिने र शुरुमा ५० प्रतिशत र बाँकी रकम कार्यक्रम सम्पन्न गरेपछि गाउँपालिकाबाट गरिने अनुगमन निरीक्षणको प्रतिवेदनको आधारमा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । रासस
सरकारले उद्योग चला भनेर मात्रै हुँदैन, वातावरण पनि निर्माण गर्नुपर्यो: हरिभक्त शर्मा
काठमाडौं । नेपाल उद्याेग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले सरकारले ४४ प्रकार उद्योग सञ्चालन गर भने पनि उद्योग सञ्चालन गर्ने वातावरण नभएको बताएका छन् । काम गर्न मजदुर नै नभएको र भएका मजदुरलाई पनि उद्योगमा राखेर काम गराउने ठाउँ नभएको उनकाे भनाइ छ । सरकारले ४४ प्रकारको उद्योग सञ्चालन गर भनिरहेको छ । तर उद्योग सञ्चालन गर्न पास नै पाउन गाह्राे भएको र यससम्बन्धी गुनासाे उद्याेगमन्त्री लेखराज भट्टसँग गर्दा पनि समस्याकाे समाधान नभएकाे शर्माले बताए । ‘लामो समयदेखि हामी समस्यामा परेका छौं, हामीले राम्रोसगँ उद्योग सञ्चालन गर्न सकेका छैनौं, हाम्रो अर्थतन्त्रमा पनि यसले प्रभाव पर्छ, उद्योग सञ्चालनका लागि पुँजीको पनि अभाव छ । यसका लागि सरकार, उद्योगी र बैंक मिलेर सहज बनाउनु पर्यो । अतिआवश्यक बस्तु उत्पादन गर्ने उद्योगहरुलाई सहज बनाउनु पर्यो,’ उनले भने । बन्द रहेका उद्योगहरु कहिले देखि सञ्चालन हुन्छ भन्ने प्रश्न गर्दै उनले बन्द रहेको उद्योगहरुले कसरी मजदुरलाई तलब दिने भन्ने समस्या रहेकाे बताए । सरकारले काम नगर्ने मजदुरलाई पनि बराबरी तलब देउ भनिरहेको भन्दै उनले काम गर्ने र बिदामा बसेको बराबरी तलब पाउने भए पछि मजदुरहरु पनि काम नै नगरी तलब पाइन्छ भने किन काम गर्ने भन्ने अवस्थामा पुग्ने शर्माकाे भनाइ छ । उद्योगीले उद्योग नै बन्द गर्ने वा उद्योगलाई सानो बनाएर सञ्चालन गर्न सकिने नीति सरकारले ल्याउनु पर्ने उनकाे भनाइ छ नेपान उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले श्रम ऐनलाई परिर्माजनकाे माग गरे । ‘यो सहि समय पनि हो, सरकार र निजी क्षेत्र मिलेर ऐनलाई परिवर्तन गरौं’, शर्माले भने ।