विश्वमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्याे
काठमाडौं । विश्वमा ५० लाखभन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । नेपाली समयअनुसार बुधबार दिउँसो २ बजेसम्म विश्वमा भरी ५० लाख ६ सय जना मानिसमा कोरोना भाइरस पुष्टि भएको छ । चीनको वुहानमा उत्पत्ति भएको कोरोनाले हाल भयावह रुपमा संसारभरी फैलिएको छ । २ सय १५ देशमा फैलिएको कोरोनाबाट ३ लाख २५ हजार १ सय ५६ जनाको मृत्यु भइसकेको छ भने १९ लाख ७० हजार ९ सय १८ जना उपचार पछि निको भएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका तथा युरोपियन मुलुकहरु रहेको छन् । १५ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा ९३ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै साढे ३ लाख उपचारपछि निको भएका छन् । पछिल्ला दिनमा ब्राजिलमा कोरोना संक्रमणबाट उच्च संख्यामा मृत्यु भइरहेकाे छ । त्यस्तै रसिया, स्पेन, बेलायत, इटाली, फ्रान्स, जर्मनी, टर्की, इरान, भारतमा संक्रमितको संख्या उच्च रहेको छ । त्यस्तै मध्यपूर्वी देशहरु तथा दक्षिण एसियाली मुलुकमा पनि पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै आएको छ । कोरोना बढ्दै गएसँगै संसारमा बेरोजगारीको संख्या बढ्दै आएको छ । कोरोना फैलिएसँगै विश्वमा ६ करोड बढी मानिस गरिबीको चपेटामा पर्ने सम्भावना रहेकाे विश्व बैंकले जनाएको छ । (तथ्यांक साभार : वल्डोमिटर)
जीवन बीमा कम्पनीहरुले संकलन गरे ६२ अर्ब बीमा शुल्क, गत वर्षकोभन्दा १७ अर्ब बढी
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६२ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ४५ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १७ अर्ब रुपैयाँको वृद्धि भएको हो । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क २१ अर्ब २२ करोड रुपैयाँ तथा नविकरण बीमाशुल्क ४१ अर्ब ३ करोड रुपैयाँ रहेको छ । यस्तै, बैदेशिक रोजगारी बीमाशुल्क मार्फत चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बैदेशिक रोजगारमा जाने श्रमिकहरुको बीमाशुल्क बीमा कम्पनीहरुको पुल मार्फत हुँदै आएको छ । कोरोना महामारीका कारण हाल देशभर भइरहेको लकडाउनको कारण जीवन बीमातर्फ अभिकर्ताहरुको नविकरण शुल्क बुझाउँने म्याद थप गर्न बीमा समितिले निर्देशन दिएको थियो । लकडाउनकै कारण अभिकर्ताहरुले नविकरणकालागि बुझाउँने शुल्क भने बीमा कम्पनीहरुले उठाउन बाँकी छ । बीमालेख जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७५ लाख १२ हजार ६ सय ३० वटा बीमालेख बिक्री गरेका छन् । कर्मचारी संख्या चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको संख्या ५ हजार ५ सय ३४ रहेको छ । यस्तै, चैत मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या १ हजार ८ सय ४७ रहेको छ । कुन कम्पनीले संकलन गरे कति बीमाशुल्क ? सरकारको स्वामित्वसमेत रहेको राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षकोे चैत मसान्तसम्ममा ६ अर्ब ५० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब ६४ करोड, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले १८ अर्ब ७० करोड र एलआईसी नेपालले १० अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । मेट लाइफले १ अर्ब ५४ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब १० करोड, सूर्या लाइफले १ अर्ब ८५ करोड रुपैयाँ तथा गुराँश लाइफले १ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, प्राईम लाईफले २ अर्ब २१ करोड, आईएमई लाईफ ८८ करोड रुपैयाँ, युनियन लाइफले ३ अर्ब १९ करोड रुपैयाँ, ज्योति लाईफले १ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुुुसार सन नेपाल लाइफले ८५ करोड रुपैयाँ, रिलायन्स लाइफले ७३ करोड रुपैयाँ, रिलायबल लाइफले १ अर्ब २५ करोड रुपैयाँ र सिटिजन लाइफले १ अर्ब २७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सानिमा लाइफले ५७ करोड, प्रभु लाइफले ५२ करोड तथा महालक्ष्मी लाईफले ४० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
अम्फान आँधीबाट सुरक्षित राख्न ओडिसामा डेढ लाख मानिसको उद्धार
भुवनेश्वर । भारतको पूर्वी तटीय इलाकामा सक्रिय अम्फान आँधीबाट स्थानीय मानिसलाई सुरक्षित राख्न ओडिसा राज्यका १ लाख ३७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरुले बताएका छन् । ओडिसाका विशेष राहत आयुक्तले पश्चिम बंगालको सुन्दरवन नजिक बुधबार अम्फान आँधीले ठूलै समस्या निम्त्याउने खतरा रहेको बताएका छन् । आयुक्त पिके जेनाले अम्फान आँधी पारादिपबाट दक्षिण–पूर्व ११० किलोमिटर टाढा देखिएको बताउँदै भने, “यो आँधी प्रतिघण्टा १८–१९ किलोमिटरको गतिमा छ । पश्चिम बंगालमा बुधबार साँझसम्म यो आँधी आइपुग्ने देखिएको छ । यहाँ आगामी ६–८ घण्टा निकै चुनौतीपूर्ण हुनेछ ।” उनले एक लाख ३७ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिँदै बालासोर र मयुरभान्ज जिल्लाका केही क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सार्ने योजना बनिरहेको बताए । पारादिपमा बुधबार बिहान आँधीको गति १०२ किलोमिटर प्रतिघण्टा देखिएको पनि उनले बताए। भारतीय जलविज्ञान विभागले अम्फान आँधी पश्चिम बंगाल–बंगलादेशको तटीय इलाका हुँदै अघि बढ्ने पूर्वानुमान गरेको छ । रासस–एएनआई
दुई जनामा काेराेना देखिएपछि कालीमाटीका सबै प्रहरी क्वारेन्टाइनमा
काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि उक्त स्थानका सबै प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालीमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका गरी करिब २ सय ५० जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो । सबै प्रहरी अधिकृत क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली कालिमाटी पठाएको स्रोतले जनाएकाे छ । मंगलबार साँझ प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी कार्यालय पनि सिल गरिएको छ ।
नेपालको नयाँ नक्सा आज सार्वजनिक गरिँदै
काठमाडौं । लिम्पियाधुरासमेत समेटिएको नेपालको नक्सा औपचारिक रुपमा आज सार्वजनिक हुने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको प्रस्तावमा मन्त्रिपरिषदले सोमबार लिम्पियाधुरासहित राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेका थियो । मन्त्रीको सार्वजनिक गरेसँगै निसान छाप, पाठ्यक्रममा पहिलो पटक लिम्पियाधुरासहितको नक्सा समेटिने छ । सो नक्सा नापी विभागका महानिर्देशक प्रकाश जोशीसहितको प्राविधिक टोलीले बनाएको हो । यो नक्सामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै ७ प्रदेश, ७५३ स्थानीय तह, ७७ जिल्ला समेटिएको छ ।
नेपाल विशेष सेवा विधेयक सर्वसम्मतिले पारित
काठमाडाैं । राष्ट्रियसभाको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ र ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले प्रतिनिधिसभाबाट सन्देशसहित उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा विधायन व्यवस्थापन समितिमा सभापति परशुराम मेघी गुरुङले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरे । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ लार्य प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियो’ भन्ने प्रस्ताव पेश गरे । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १२ गते ११ः०० बजे बस्नेछ ।
गोकर्णेश्वरमा भेटिए पहिलो कोरोना सङ्क्रमित
काठमाडौं । गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी चलाएर भैरहवाबाट काठमाडौँ आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानले बताए । मङ्गलबार राति प्राप्त पिसिआरको प्रतिवेदनमा उनलाई सङ्क्रमणको पुष्टि भएको थियो । सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न किसिगाल क्षेत्रलाई सिल गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा पहिलोपटक कोरोना सङ्क्रमण प्रमाणित भएको हो । नगर स्वास्थ्य समितिको बैठक बसी सङ्क्रमितको परिवारका सदस्यलाई पिसिआर परीक्षण गर्ने तयारी भएको नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए । सङ्क्रमितको सम्पर्कमा आएका परिवार बाहिरकाको भने आरडिटी परीक्षण गरिने जनाइएको छ । नगरपालिकामा सङ्क्रमण फेला परेसँगै यो क्षेत्र सुनसान बनेको छ । कोरोना सर्ने त्रासले मानिस बाहिर निस्किएका छैनन् । नगरपालिकाका सबै वडाले विज्ञप्ति प्रकाशित गरी अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आह्वान गरेका छन् । रासस
देश रोइरहेको छ …
विगत ५७ दिनदेखिको लामो लकडाउनले हामी सबैलाई आफ्नो देशको माया र चिन्ताले सताएको छ । हालसम्म स्वास्थ्य मन्त्रालयको विवरणअनुसार कोरोना भाइरस (कोभिड-१९) महामारीले गर्दा ४०२ जनामा सङ्क्रमित देखिएको छ भने दुई सङ्क्रमितको मृत्यु समेत भइसकेको छ । धेरै लामो समय भइसक्यो हामी घर बसेको, त्यही भएर अनेकाैं किसिमका दोषारोपण गर्न भ्याएका छौँ । लामो समयदेखि कलकारखाना, स्कुल, अस्पताल, सरकारी अड्डाहरू, बैंंक, इन्सुरेन्स, यातायात तथा बजार पूर्णरुपले बन्द अवस्थामा छन् । धेरैले रोजगारी गुमाऐका छन् भने धेरैलाई छाक टार्न हम्यहम्य भएको अवस्था छ । हामीले कहिल्यै बिर्सनुहुन्न कि हामी दुई ठूला शक्तिशाली राष्ट्रको बीचमा रहेका राष्ट्र हौं भनेर, यो यथार्थता बिर्सन हुँदैन कि ठूला माछाले साना माछालाई पक्कै खान्छ वा यसो भनाैं कहिल्यै राम्ररी बस्न दिन्न । यथार्थ पनि यही नै हो कि दुई ठूला राष्ट्रले नेपाललाई जहिले पनि हेपेर, अस्थित्व नै मेट्ने गरी काम गरेको छ र हामी सबै मुकदर्शक भएर टोलाएर हेर्न बाध्य भयौं र हुन्छौं । अहिले पनि लिम्याधुरा, लिपुलेक, कालापानीजस्ता नेपालको भूभागमा सडक खन्नु र उद्घाटनसम्म गर्न भ्याउनु तथा हाम्रो देशको उच्च शिखर सागरमाथा हम्रो देशमा पर्छ भनेर चीनले आफ्नो राष्ट्रिय दैनिक पत्रिकामा छाप्नु त्यो पनि यस्तो कोरोना भाइरस (कोभिड-१९) माहामारीको अवस्थामा तथा संसार रोइरहेको बेलामा । यस हिसाबले हेर्दा हामीमध्ये कसैलाई थाहा छैन भोलि हाम्रो अस्तित्व रहन्छ कि रहँदैन । दुई ठूला राष्ट्रले अरुको भूमि र मातृत्वलाई सखाप पार्ने गरी हामीलाई हाम्रै मुलुकमा बन्दीको जीवन बाच्न बाध्य बनाउन खोजेका छन् । लेखक सबैलाई थाहा छ, हामीलाई हाम्रो परिवारले राम्रो र नराम्रो खाले बानीको लागि हामीलाई सचेत तथा गाली गर्नु हुन्छ । झन्डै ३० लाख (भारत बाहेक) नेपाली संसारभरी छरिएर बसेका छन् र हाम्रै नेपाली छोराछोरीले पठाएको रेमिटेन्सले गर्दा देश आर्थिक संकटबाट जोगिएको यथार्थ सबैलाई अवगत नै छ । विदेशी भूमिमा बसेर काम गर्नसक्ने अवस्था नभएकाले आज खाडी मुलुकबाट झन्डै पाँच लाख नेपाली आफ्नै देशमा फर्किन खोजेको र गुहार गरेको अवस्था छ । हामीले उनीहरुलाई फर्किने व्यवस्था मिलाउन सकेका छैनौं । हिजो हाम्रो नेपाली दाजुभाइ, दिदीबहिनीले आफू ४५०/५०० तापक्रममा १४/१४ घण्टा काम गरेर आफ्नो परिवारलाई पाले, त्यसबेला हामीले उहाँहरुकै पैसाले हाम्रो अर्थतन्त्र धानेको छ भनेर भन्न हामी कन्जुस्याइँ गरेनाैं तर उनै नेपाली दाजुभाइ, दिदीबहिनी आज हामीसँग सहारा मागेका छन् तर हामी सहारा दिनसकिरहेका छैनौं । यो हाम्रो देशको लागि किन पनि आवश्यक छ भने देशको कुल रेमिटेन्समा खाडी मुलुकबाट भित्रिने रेमिटेन्सको ठूलै भूमिका छ । हामीले हाम्रो नागरिकको व्यवस्थापन जसरी भए पनि गर्नै पर्छ, अरु राष्ट्रले पनि आफ्नो नागरिकको व्यवस्थापन गरिरहेको यथार्थ हामीमाझ छ । प्रधानमन्त्रीले केही दिनअघि एक प्रसङगमा भन्नुभएको थियो-पहिले हामी मानव रहे पो अर्थतन्त्र जोगिन्छ, नरहे केको लगि अर्थतन्त्र चाहियो । प्रधानमन्त्रीको यो कुराले धेरैको मनलाई भावबिव्हल बनायो । देशको प्रधानमन्त्रीले नै यसरी निष्ठुरी कुरा गरेपछि विदेशमा कतिबेला स्वदेश फर्किन पाइएला भनेर आशा गरेका नेपालीको मनमा कस्तो चोट पुर्याउला ? अब एकछिन छिमेकी राष्ट्र भारत र खुल्ला सिमानाको प्रसङ्गलाई जोडौं, प्रायःजसो सधैँ झै हामीले आज यति भित्रियो आज उति भित्रियो तर हाम्रो तीन दिशाका सिमाना खुल्ला छन् हामीमध्ये जो कोही पनि खुल्ला सिमानामा आवतजावत गर्न सक्छन् र जसरी पनि भित्रीहाल्छन् किनकी हाम्रो सरकारसँग यसलाई रोक्ने कुनै संयन्त्र नै छैन् । यस सङ्कटको घडीमा वा भनौं कोरोना भाइरस (कोभिड-१९) महामारीको समयमा नेपाल सरकारले सबैको नागरिकता तथा मतदाता परिचयपत्र चेकजाँच गर्ने ब्यवस्था मिलाउन सक्नु पर्दथ्यो, छरछिमेकी तथा घरमुलीले पनि कुनै हालतमा पनि गैरनेपाली नागरिकलाई आफ्नो घरभित्र पस्न दिनु भएन । ससँगसँगै सरकारको आज्ञा पालना नगर्ने जो कोहीलाई पनि कडाभन्दा कडा कारवाही, दण्ड तथा सजाय को ब्यवस्था गर्नुपर्थ्याे । भएभरको नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र बलजस्ता सुरक्षा निकायलाई तीनवटै नाकामा उचित ब्यवस्थाका साथ बस्ने तथा देशको अस्थित्व बचाउने जिम्मा दिनु पर्थ्याे । भित्री जिल्लाहरु तथा शहरहरुलाई सुरक्षा चाहिन्छ ? संसार नै मानव स्वास्थ्यको समस्याले जुधिरहेको बेला र रोइरहेका बेलामा पनि हामी एकजुट भएर सामना गर्ने प्रयत्नसम्म गरेनौं ? एउटा सानो उदाहरण लिऔँ, जस्तो कि घरमा कोइ मर्न थाल्यो भने हामी आफैं त्यसको ब्यवस्थापन गर्छौं, न की छिमेकीले गर्छन्, हाम्रो घरमा कसैलाई सरुवा रोग लाग्यो भने त्यसको ब्यवस्थापन पनि आफै गर्छौं तर सावधानीका साथ । आज हाम्रो देशलाई पनि पुनः सोच्नु पर्ने बाध्यता आइपरेको छ । संसारभरि छरिएर बसेका नेपाली दाजुभाइ, दिदीबहिनीले आफ्नै देशमा आउन पाउँ भनी गुहार गर्दैछन् हामीले हाम्रा नागरिकलाई आफ्नै देशभित्र बस्न दिनै पर्छ तर कडाईका साथ चेकजाँच गरी । हामी आफ्नो तर्फबाट सम्पूर्ण सावधानी राखी यो संकटसँग सबै मिली जुधौँ । देशभित्र तथा घरभित्र बसेर सरकारलाई सहयोग गरौँ । सरकारले पनि गरीब वा गरीबमुनि भएका नागरिकको पारदर्शी रूपले राहतको उचित ब्यबस्थापन मिलाउनै पर्छ, राहतमा कुनै सानो भूलचुक भयो भने हदैसम्मको कारवाही दिनुपर्छ । साथै, राहतका सम्पूर्ण काम बैंक/डिजिटल प्राविधिमार्फत गरिनुपर्छ, डिजिटल पूर्वाधार तथा २४ सै घण्टा विद्युत/बैकल्पिक ऊर्जाको ब्यवस्था मिलाउनै पर्छ, हरेक क्षेत्रलाई मध्यनजर राख्दै विकासका खाका कोर्नै पर्छ । आफ्नै देशभित्र रहेका दक्ष जनशक्ति/विशेषज्ञलाई राखी कोरोना भाइरस (कोभिड-१९) माहामारी पछिको खाका बनाउनु पर्छ, । सबै मजदुरलाई समेट्ने गरी कृषि आधुनीकरण, हाइड्रो पावर तथा पूर्वाधार विकासका मोडेलहरू सिर्जना गरिनु पर्छ । संसारभरिका संघसंस्था तथा दातृ निकायलाई कोरोना भाइरस (कोभिड-१९) माहामारीबाट जोगिन आर्थिक तथा प्राविधिक सहयोग गर्न विनम्र अनुरोध गरिनुपर्छ् । यस्तो अवस्थामा एकले अर्कालाई आरोप लगाउनुभन्दा कसरी यो महामारीबाट बच्न सकिन्छ र देशलाई विकासको बाटोमा अविचलित अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई नै मूलमन्त्र बनाउनु पर्दछ । यस संकटको घडीमा देशलाई माया गर्न सिकौं, किनकी आज देश रोइ रहेछ ……..! लेखक- ऊर्जा बिज्ञ