विकासन्युज

कोरोना र सुत्केरीलाई फरक स्थानमा उपचारको व्यवस्था गर्न सुझाव

काठमाडौं । राष्ट्रियसभाका सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि सङ्क्रमित व्यक्ति र अन्य बिरामीलाई फरकफरक तरिकाले व्यवस्थापन गर्न माग गरे। राष्ट्रियसभाको आजको शून्य समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नन्दा चपाईंले कोरोना भाइरसका बिरामी र गर्भवती सुत्केरीको उपचार एकै ठाउँमा गरेको पाइएको हुँदा फरकफरक स्थानको व्यवस्था गर्न सरकारसँग माग गरे । ‘कतिपय अस्पतालमा कोरोना भाइरस सङ्क्रमित व्यक्तिको उपचार र गर्भवती तथा सुत्केरीको उपचार भएको देखियो’, सांसद चपाईले भने, ‘ती उपचार फरकफरक हुन जरुरी छ, जनतालाई सुविधा होस् मुख्य कुरा यही नै हो ।’ नेपाली काँग्रेस प्रकाश पन्थले सरकारले विदेशमा सङ्कटमा परेका नेपालीलाई नेपालमा ल्याउने व्यवस्था मिलाउनुपर्ने सुझाव दिए । उनले भने, ‘सबै नेपालीलाई विदेशबाट ल्याउनुपर्छ भन्ने होइन, कामविहीन र समस्यामा परेका नेपालीलाई ल्याउनुपर्छ, सरकार नेपाली नागरिकको अभिभावक हो ।’ सांसद पन्थले क्यारेन्टाइन बनाउन समस्या परेको भन्ने कुरा आइरहेको उल्लेख गर्दै नेपालमा धेरै सुविधासम्पन्न होटललाई क्वारेन्टिन प्रयोग गर्नसमेत सुझाव दिए । नेकपाका मायाप्रसाद शर्माले कोरोना भाइरसको सङ्क्रमणका कारण विपद्मा परेका नागरिकको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने सुझाव दिए । रासस

मस्को नजिक हेलिकप्टर दुर्घटनाग्रस्त

मस्को । रसियाको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ । आपतकालीन सेवाका प्रवक्ताले हेलिकप्टरमा सवार चालक दलका तीनै जनाको मृत्यु भएको पुष्टि गरेका छन् । प्रवक्ताले हेलिकप्टरका ब्लाकबक्स भेटिएको बताएका छन् । मस्कोको बाहिरी क्षेत्रमा पर्ने क्लिन शहरबाट करिब २० किलोमिटर टाढा तालिमका क्रममा हेलिकप्टर मंगलबार दुर्घटनाग्रस्त भएको थियो । रसियाली रक्षा मन्त्रालयले हेलिकप्टरमा विस्फोटक पदार्थ नरहेको जनाएको छ । प्रारम्भिक विवरणमा उक्त दुर्घटना प्राविधिक कारणबाट भएको जनाइएको छ । रासस–एएनआई

कोरोना पुष्टि भएको २३ घण्टापछि उपचार शुरु

कर्णाली । कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेशनमा ल्याइएको छ । सुर्खेत लैजाने वा दैलेखको आइसोलेशनमा राख्ने भन्ने विषयमा केही समय अन्योलता उत्पन्न भएको थियो । सङ्क्रमितको अहिलेको स्वास्थ्य अवस्था समान्य भएका कारण नारायण नगरपालिका दैलेखको सरस्वती मावि तर्तागङ्मा निर्माण गरिएको आइसोलेशनमा राख्ने तयारीसँगै जिल्ला स्वास्थ्य कार्यालय दैलेख र सुरक्षा निकायको टोली मङ्गलबार दैलेखबाट आठबीस नगरपालिका हिँडेको थियो । स्वास्थ्य कार्यालय दैलेखले शनिबार ३९ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएको थियो । कोरोना सङ्क्रमणको आशङ्का गरिएका युवा ३५ दिनभन्दा धेरै समय भारतको वनवासामा बसेर दैलेख आएका थिए । उनीहरुलाई बनवासा नाकाबाट आठबीस नगरपालिकाले उद्धार गरी चैत ३१ गते दैलेखको आठबीस नगरपालिकाको सात्तला विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएका खोप तथा सूचना अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए । सङ्क्रमण भएको जानकारी पाएलगत्तै आठबीस नगरपालिकामा उच्च सतर्कता अपनाइएको नगरप्रमुख खड्गराज उपाध्यायले जानकारी दिए । अहिले सात्तलामा रहेको क्वारेन्टिनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । छिमेकी मुलुक भारतबाट दैनिक जिल्लामा भित्रिने नागरिकको सङ्ख्या बढ्दै गएपछि सुरक्षा सतर्कता बढाइएको छ । सङ्क्रमित युवासँग ४९ युवा आएका थिए कोरोना सङ्क्रमित युवा भारतको आग्रा भन्ने ठाउँमा आलु स्टोरमा काम गर्ने गरेको खुलेको छ । आग्राबाट ४९ सदस्यीय टोली गत चैत १८ गते कञ्चनपुर गड्डाचौकी नाकामा आइपुगेको थियो । उनीहरु त्यहाँ करिब ४५ दिन क्वारेन्टिनमा बसेका थिए । जेठ १ गते गड्डाचौकी नाकाबाट आठबीस नगरपालिकाका ३९, ठाँटीकाँधका आठ, दुल्लूका एक र चामुण्डाका एकसहित ४९ जनाको टोलीसँगै नेपाल आएका थिए । सबैलाई आफ्ना पालिकाको क्वारेन्टिनमा राखिएको भए पनि ठाँटीकाँध गाउँपालिकाले चार दिनसम्म क्वारेन्टिनमा राखेर पिसीआर जाँच गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाएको थियो । सत्तलाका युवामा सङ्क्रमण देखिनेबित्तिकै पुनःक्वारेन्टिनमा राखिएको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए । आठबीस नगरपालिकाका स्थानीयवासीले वडा नं १ लाई तत्काल ‘सिल’ गरी आवश्यक कदम चाल्न सुझाव दिएका छन् । क्वारेन्टिनमा रहेका व्यक्तिले पालना गर्नुपर्ने नियम गर्न नसकेको, राति समूहमा देउडा खेल्ने, दिउँसो विभिन्न खेल खेल्ने गरेको देखिएकाले यसबारे थप सचेतना अपनाउन सबैलाई आग्रह गरेको स्थानीय वीरबहादुर नेपालीले जानकारी दिए । स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले उपचारका लागि आवश्यक सबै व्यवस्थापन गरिएको बताइन् । कर्णाली प्रदेश अस्पतालमा लैजाने विषयमा पनि छलफल भएको थियो । बिरामीको अवस्थाका आधारमा मात्र सिफारिस गर्ने कुरा भएपछि अहिले दैलेखको आइसोलेशनमा राखेर उपचार गरिने छ । बिरामीको स्वास्थ्य अवस्था निरन्तर जाँच गरिनेछ । स्वास्थ्य अवस्थाको आधारमा थप उपचारको तय गरिने डा पन्तको भनाइ छ । सबैखाले सुरक्षा परिचालन गरिएको छः प्रजिअ जिल्लाभरको सबैखाले सुरक्षा परिचालन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो । क्वारेन्टिन व्यवस्थित गर्नेबारेमा जिल्ला प्रशासनले सक्रियता बढाएको छ । जिल्लाका विभिन्न नयाँ स्थानमा थप क्वारेन्टिन बनाउनुपर्ने आवश्यकता महसुस भएकाले त्यसतर्फ सुरक्षा निकायलाई खटाइएको छ । नयाँ स्थानको पहिचान गरिएको छ । सङ्क्रमितको सुरक्षा व्यवस्थापनको विषयमा ट्रेसिङ गर्ने काम शुरु भइसकेको छ । आइसोलेशनको सुविधा, जनशक्ति, भेन्टिलेटरजस्ता विषयमा पनि उच्च सतर्कतासँगै चासो बढाइएको कट्टेलले जानकारी दिए । अवस्था जटिल बन्न थालेको खण्डमा प्रदेश सरकारले समेत आवश्यक तयारी थाल्नका लागि अनुरोध गरेर पठाइएको छ । जिल्लास्तरका राजनीतिक दलका प्रमुखसँग छलफल भएर आउन सक्ने खतराबाट बच्नका लागि खेल्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिएको प्रमुख जिल्ला अधिकारी कट्टेलले जानकारी दिए । दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले आम नागरिकले घरभित्रै बसेर सहयोग गरिदिन आग्रह गरेका छन् । सङ्क्रमण दैलेखमा देखिएका कारण सबैले आ-आफ्नो क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने ओलीको भनाइ छ । रासस

चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडाैं । नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अंपुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थानमा, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै हिमाली भूभागमा हिमपातको समेत सम्भावना भएको जनाएको छ । चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले आज देशभर सामान्य बदली रही पूर्वी भूभागका धेरैजसो स्थानहरु, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए । खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ । शुरुमा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय मौसमी प्रणाली १६ मे, २०२० साँझ चक्रवातमा विकसित भएको थियो । यस चक्रवातको नाम अंपुन नामाङ्कन गरिएको छ । उक्त चक्रवात शुरुमा उत्तर–उत्तरपश्चिम दिशातर्फबाट अगाडि बढ्दै गरेकामा पछि उत्तर–उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ । यो चक्रवात अझ शक्तिशाली बन्दै भारतको पश्चिम बङ्गाल/बङ्गलादेशको तटीय क्षेत्रतर्फ अगाडि बढिरहेको छ । मौसमविद् कँडेलका अनुसार नेपालमा अंपुन चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरी पूर्वी र मध्य क्षेत्रको मौसम आगामी तीन/चार दिन प्रभावित हुनेछ । हाल देशको सुदूरपश्चिम र प्रदेश नं ५ को तराईका भूभागबाहेक अन्य सबै स्थानमा सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशको पूर्वी भूभागमा पूर्ण बदली तथा मध्य भूभागमा आंशिक बदली रही पूर्वी भूभागका धेरै स्थानमा तथा मध्य भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशको मध्य तथा पूर्वी भूभागमा पूर्ण बदली रही पश्चिमी भूभागमा आंशिक बदली भइ मध्य तथा पूर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रबार देशको पूर्वी भूभागलगायत मध्य र पश्चिमी पहाडी भूभागमा सामान्यतया बदली रही पूर्वी भूभागका केही स्थान साथै मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव चार डिग्री र अधिकतम तापक्रम २९ दशमलव छ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम सात दशमलव तीन डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३९ दशमलव छ डिग्री सेल्सियस रहेको छ । रासस

नेपाल बैंकले ब्याजदरमा २ प्रतिशत छुट दिने

काठमाडौं । नेपाल बैंकले चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दूले छुट दिने भएको छ । बैंकले बैशाख १ गतेदेखी लागू हुने गरी २०७६ चैतसम्म लगानी गरिएका कर्जाको ब्याजदरमा सो मात्राको छुट दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले बैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनि बर्गिकरण गरेका कर्जाका क्षेत्रहरु बाहेक अन्य सबै कर्जाहरुको २०७६ चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दूले कम गरी २०७६/७७ को चौथो त्रैमास (२०७७ को बैशाख, जेठ र असार) को ब्याज गणना गर्न निर्देशन दिए बमोजिम नेपाल बैंकले उक्त निर्णय गरेको हो । बैंकले २०७६ चैत मसान्तसम्म लगानी भएका कर्जाहरु जस्तैः हाईपोथिकेशन, अधिविकर्ष, चालुपुँजी, मार्जिन, डिमाण्ड, सूनचाँदी, हायर पर्चेज, व्यक्तिगत आदीको हकमा चैत मसान्तको आधारदर ७.८२ मा लगाईएको प्रिमियममा २ प्रतिशत बिन्दूले छुट दिने भएकाे छ । यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणिको हकमा २०७६ पुस मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकहरुले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत बैशाखदेखि असारसम्मको अबधिको ब्याजमा २ प्रतिशत बिन्दूले छुट पाउनेछन् । २०७७ साल बैशाखमा किस्ता तिरिसकेका ग्राहकहरुले पनि यस्तो छुट सुबिधा पाउने र सोको हिसाब मिलान बैंकद्वारा गरिनेछ । यस प्रकारको छुट सुबिधा प्रदान गर्दा कतिपय ग्राहकहरुले बैंकको आधारदर बराबरकै अर्थात ७.८२ प्रतिशत कै न्यूनतम ब्याजदर सुबिधा प्राप्त गर्न सक्नेछन् । बन्दाबन्दीको यस बिषम परिस्थितिमा पनि नेपाल बैंकले संभव भएसम्म न्यूनतम कर्मचारीको उपस्थितिमा सुरक्षाका उपायहरु अवलम्बन गरी नगद कारोबार, चेक क्लियरिङ्ग, लगायतका कारोबारहरु बिहान ११ बजेदेखी अपरान्ह २ बजेसम्म संचालन गर्दै आईरहेको छ ।

१० रुपैयाँ ७१ पैसाले घट्यो बैंकहरुको वितरणयोग्य प्रतिसेयर आम्दानी, कति भयो आरओई ?

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७६/०७७ को तेस्रो त्रैमासमा वाणिज्य बैंकको बेसिक प्रतिसेयर आम्दानी गत आवकाे साेही अवधिकाे तुलनामा  घटेको छ । संचालनमा रहेका सबै बाणिज्य बैंकहरूकाे प्रतिसेयर आम्दानी गत आवकाे साेही अवधिकाे तुलनामा २ रूपैयाँ ३७ पैसाले घटेकाे हाे । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण चालु आवकाे चैत मसान्तमा उनीहरुको बेसिक प्रतिसेयर आम्दानी २२.३४ रुपैयाँ छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकको बेसिक प्रतिसेयर आम्दानी २४.७१ रुपैयाँ थियो । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार अधिकांशको प्रतिसेयर आम्दानी घटेको छ । प्रतिसेयर बढाउने बैंकमा सेञ्चुरी, एभरेष्ट, हिमालयन, मेगा र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल रहेका छन् । प्रतिसेयर आम्दानीका हिसाबले सबैभन्दा अगाडि पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक छ । सर्वसाधारण सेयर जारी नगरेको यो बैंककाे प्रतिसेयर आम्दानी ४४.९६ रुपैयाँ छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.८५ रुपैयाँले घटी हो । अघिल्लो आवको चैत मसान्तमा बैंकको प्रतिसेयर आम्दानी ५१.८१ रुपैयाँ रहेको थियो । यस्तै, नबिल बैंक ४१ रुपैयाँ, एभरेष्ट बैंक ३७, एनआईसी एसिया बैंककाे ३४, हिमालयन बैंक ३२ र स्ट्यान्डर्ड चार्टर्ड बैंक ३० रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । बाँकी अरु बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँभन्दा तल छ । सबैभन्दा कम सिभिल बैंकको ६ रुपैयाँ रहेको छ । त्यस्तै, समीक्षा अवधिमा बैंकहरूकाे वितरणयोग्य प्रतिसेयर आम्दानी पनि १०.७१ रुपैयाँले घटेको छ । गत आवको चैत मसान्तसम्ममा १६.५८ रुपैयाँ रहेको बैंकहरूको औषत वितरणयोग्य प्रतिसेयर आम्दानी ५.८७ रुपैयाँमा सीमित भएकाे छ । जसमध्ये नबिल बैंकको सबैभन्दा बढी वितरणयोग्य प्रतिसेयर आम्दानी छ । नविल बैंकको चालु आवको चैत मसान्तसम्ममा २७.६७ रुपैयाँ वितरणयोग्य प्रतिसेयर आम्दानी रहेको छ । जुन गत आवको सोही अवधिमा ३४.३९ रुपैयाँ थियो । त्यसैगरी, समीक्षा अवधिमा बैंकहरुको रिटर्न अन इक्विटी(आरओई) हेर्ने हो भने अधिकांश बैंकको घटेको छ । एक वर्षको अवधिमा बैंकहरुबाट लगानीकर्ताले पाउने प्रतिफल, आरओई घटेर १३.७६ रुपैयाँमा झरेको छ । जुन गत आवको सोही अवधिमा १५.६३ रुपैयाँ रहेको थियो । जसमध्ये एनआईसी एशिया बैंकको आरओई सबैभन्दा बढी अर्थात २३.९२ रुपैयाँ रहेको छ । सबैभन्दा घटी सिभिल बैंकको ५ रुपैयाँ रहेको छ ।

रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा देखियो कोरोना, संक्रमितको संख्या ४ सय २० पुग्यो

काठमाडौं । बुधबार विहान रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमितको विवरण आउन बाँकी रहेको छ । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् । रुपन्देहीको बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको स्रोतको भनाइ छ ।स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन । योसँगै नेपालमा कुल काेराेना संक्रमितको संख्या ४ सय २० पुगेको छ ।

कालिमाटी वृत्तमा प्रहरीमा कोरोना देखिएसँगै पुरै वृत्त सिल तथा ड्युटी बन्द

काठमाडौं । कालिमाटी प्रहरीमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ । पिसिआर रिपोर्टमा दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको पुरै प्रहरी वृत्त सिल तथा ड्युटी बन्द गरिएको एक स्रोतले बताएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सई र प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि मङ्गलबार रातिदेखि प्रहरी वृत्त पूरै सिल गरिएको छ । वृत्तभित्र ट्राफिक प्रहरीको कार्यालय तथा महिला ब्यारेक समेत रहेको थियो । वृत्तमा २ सयभन्दा बढी प्रहरी कार्यरत रहेको र  सबै प्रहरीको स्वाबको नमुना संकलन गर्न लागिएको जानकारी दिए । कोरोना संक्रमण पुष्टी भएका सई र जवान पनि प्रहरी ब्यारेकमै बस्ने तथा उनीहरुको परिवारको सदस्यको पनि नमुना सङ्कलन गर्न लागिएको प्रहरीले जनाएको छ । सम्बन्धित समाचार : काठमाडौंमा ड्युटीमा खटिएका २ जना प्रहरीमा कोरोना पुष्टि