आगामी वर्ष २६ लाखलाई रोजगारी : मन्त्री पुन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरे । नेपाल उद्योग परिसङ्घले मङ्गलबार गरेको भर्चुअल अन्तक्र्रियामा उहाँले सरकारले महामारीबीचमै जीवन खोज्ने गरी उद्योग सञ्चालन, रोकिएका विकास आयोजनाका काम सञ्चालन गर्ने र उद्योगका लागि अत्यावश्यक कच्चा सामग्रीको ढुवानी गर्न सक्ने व्यवस्था मिलाएको बताए । “कोरोना महामारी कहिलेसम्म रहन्छ कसैले अनुमान गर्न सक्ने विषय होइन”, मन्त्री पुनले भने, “सङ्कटकै बीच जीवन खोज्ने काममा अभ्यस्त हुनुपर्ने भएको छ ।” महामारी लम्बिँदै गए बाह्य श्रम बजारमा रहेका १० लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्कने प्रारम्भिक प्रक्षेपण रहेको उल्लेख गर्दै उनले नेपालमा रोजगारी गुमाएका ११ लाख र हरेक वर्ष श्रम बजारमा थपिने पाँच लाखसमेत गरेर २६ लाख श्रमशक्तिको व्यवस्थापन गर्ने गरी सरकारले काम गरिरहेको बताए । महामारीका कारण धेरैको ध्यान कृषिमा गएको र कृषि क्षेत्रमा ठूलो रोजगारी सिर्जना गर्न सकिने देखिएको भन्दै उनले ऊर्जा, जलश्रोत तथा सिँचाइ र कृषि मन्त्रालय मिलेर त्यसका लागि गृहकार्य गरिरहेको जानकारी दिए । “यो सङ्कट ठूलो सङ्ख्यालाई कृषिमा आकर्षित गर्ने अवसर हो । यसलाई अवसरमा बदल्न कृषिमन्त्रीज्युसँग लगातार छलफल भइरहेको छ” उनले भने, “दुवै मन्त्रालयको साझा प्रयत्नबाट कृषिमा आकर्षित गर्ने काम गर्दैछौँ ।” कृषिका लागि सिँचाइ पहिलो आधारभूत शर्त भएकाले आगामी आर्थिक वर्षको बजेटमा सिँचाइलाई प्राथमिकतामा राखिएको मन्त्री पुनको भनाइ थियो । रासस
१० जनामा कोरोना भेटिएपछि झापाका कचनकवलका पाँच वडा सिल
भद्रपुर । झापाको कचनकवल गाउँपालिकाका–१० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार सिल गरिएको छ । दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । पालिकामा सात वडा रहेका छन् । शनिबार भारतको मुम्बइबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरी वडा नं २ स्थित पथरिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरु सबैको पिसीआर परीक्षणका लागि कोशी अञ्चल अस्पताल स्वाब सङ्कलन गरी पठाइएको थियो । उनीहरुमध्ये सोमबार साँझ एक २३ वर्षीय युवामा कोराना लागेको पुष्टि भएको थियो भने मङ्गलबार थप नौ जनामा पुष्टि भएको छ । उनीहरुलाई राखिएको क्वारेन्टिनमा समेत सिल गरिएको उनले बताए । सोही पालिकाकाको सीमा क्षेत्रबाट मात्र चार दिनभित्रमा १ सय ४६ नेपाल प्रवेश गरेका छन् । सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई सुरक्षित तरिकाले क्वारेन्टिनमा ल्याएर राखिएको हुँदा गाउँबासीमा त्रास नफैलिएको पालिकाका अध्यक्ष अञ्जार आलामले बताए । मङ्गलबार पुष्टि भएका नौ जनालाई नेपाल रेडक्रस सोसाइटी झापा र बनियानी स्वास्थ्यचौकीको एम्बुलेन्समार्फत विराटनगरस्थित कोभिड अस्पताल लगिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताए । रासस
उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न काठमाडाैं महानगरको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका प्रवेश गर्ने नाकाहरू सिल गर्न सरकारसँग आग्रह गरेको छ । काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभरी उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग आग्रह गरेको हो । महानगरपालिकाको ४६औँ विशेष नगर कार्यपालिका बैठकमा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले मङ्गलबार विज्ञप्ति जारी गर्दै सो निर्णय सार्वजनिक गरेका हुन् । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको अवधिमा उपत्यका प्रवेश गर्ने नाकाबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोगको गुनासो गर्दै यस्तो निर्णय गरिएको जनाएका छन् । कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौं यी कुरामा गम्भिरता पूर्व लाग्न महानगरले आग्रह छ ।
रूसी प्रधानमन्त्री कोरोना निको भइ फर्किए काममा
काठमाडौं । रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोरोना भाइरस (कोभिड–१९)को उपचारपछि निको भइ काममा फर्किएका छन् । गत अपिल ३० तारिकमा कोरोना भाइरसको संक्रमण भएपछि मङ्गलबार उनी काममा फर्किएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जानकारी दिएको छ । प्रधानमन्त्री मिशुस्तिन विरामी भएका कारण अनुपस्थित रहँदा उनको जिम्मेवारी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनमा उपप्रधानमन्त्री एनड्रे बेलोउसोभले कार्यबहाक प्रधानमन्त्रीका रूपमा सम्हाल्लेका थिए । प्रधानमन्त्रीमा कोरोना पोजेटिभ देखिएपछि काममा फर्किएसँगै आफ्नो जिम्मेबारी पुन सम्हालेको क्रेमलिनले जनाएको छ । (एजेन्सी)
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख ८२ हजार ८ सय ७५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख २४ हजार ५ सय ३५ जनाको मृत्यु भइसकेको छ भने १९ लाख ५६ हजार ३ सय ६१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९३ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ७० हजार ५ सय ८३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७५ पुगेको छ भने अहिलेसम्म ३ हजार ३ सय २ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४ सय ७ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
धनकुटामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणमा उनीहरुमा संक्रमण देखिएकाे हाे । यहीसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ७ पुगेकाे छ ।
महाकाली सन्धिका चौबीस वर्ष: कार्यान्वयनमा भारतको आलटाल
काठमाडौं । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि भारतीय पक्षले सन्धि कार्यान्वयनमा आलटाल गर्दै आएको छ । सन्धि कार्यान्वयन हुनुपर्नेमा कूटनीतिक तहदेखि जनस्तरबाट पनि आवाज उठ्दै आएको भए पनि कार्यान्वयनमा ढिलासुस्ती गर्दा महाकाली सिँचाइ तेस्रो चरणको नहरमा घाँस पलाउनाका साथै महाकाली पारि दोधारा चादँनी काम किसान सिँचाइका लागि नहर आउने आशमै बसेका छन् । एकीकृत विकाससम्बन्धी गरिएको उक्त सन्धिको धारा (२) को उपधारा (२) ‘क’ मा भारतले टनकपुर बाँधबाट नेपालले पाउने पानी प्रवाहित गर्नका लागि हेड रेगुलेटर र नेपालको सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख थियो । भारतले केही समयअघि करीब १२ सय मिटर नहर निर्माणको काम शुरु गर्ने सुरसार गरे पनि गति दिएको छैन । यता महाकाली सिँचाइ आयोजना तेस्रो चरण भने १३ किलोमिटर मूल नहर निर्माण गरेर थप १५ किलोमिटर निर्माणाधीन अवस्थामा छ । तेस्रो चरणको काम आर्थिक वर्ष २०६३/६४ देखि भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रबाट थालिएको थियो । मूल नहरको मुहानमै काम नहुँदा नेपाली पक्षले पनि निर्माण भएको १३ किलोमिटर नहरमा पानी ल्याउन सक्ने अवस्था छैन । “बनेको नहरबाट शाखा नहर बनाएर केही क्षेत्रफलमा भए पनि सिँचाइ पु¥याउनुपर्ने हो”, ब्रह्मदेवका स्थानीय विक्रम नाथले भने, “तर यहाँ नहर घाँसले ढाकिने अवस्थामा पुगिसक्दा पनि प्रक्रिया थालेको देखिन्न ।” महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक प्रचण्डदेव विष्टले टनकपुर ब्यारेज नजीक नेपाली पक्षलाई सिँचाइका लागि पानी दिन नहर निर्माण अघि बढाएको बताए । टनकपुरबाट एक हजार क्युसेक पानी पाउने सहमतिअनुसार कैलालीको मालाखेतीसम्म ३३ हजार हेक्टर जमीनमा सिँचाइ पु¥याउने आयोजनाको लक्ष्य रहेको छ । त्यसैगरी सन्धिअनुसार महाकाली नगरपालिका (दोधारा चाँदनी)लाई सिँचाइका लागि दिनुपर्ने पानी दिनसमेत भारतीय पक्ष तयार छैन । “पञ्चेश्वर बनेपछि मात्रै दोधारा चाँदनीका लागि पानी दिन्छौँ भन्ने भारतीय पक्षको अनौपचारिक भनाइ छ,” महाकाली सिँचाइ तेस्रो चरणका निर्देशक विष्टले भने, “हामीले भारतलाई विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाएर दिएको पनि सात/आठ वर्ष बितिसक्यो ।” सन्धिमा दोधारा चाँदनीलाई तीन हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइका लागि पानी पु¥याउनुपर्ने भए पनि भारतीय पक्षको बेवास्ताका भइरहेको छ । “सन्धिअनुसार बनबासा पुल नजीकको शारदा नहरबाट भारतले ३५३ क्युसेक पानी दोधारा चाँदनीलाई दिनुपर्ने उल्लेख छ”, विष्टले भने । नेपाली पक्षले केही वर्षअघि दोधारा चाँदनीमा मूल नहर निर्माणका लागि रु साढे चार वर्ष लागत अनुमानसहित डिपिआर तयार गरेर दिएको छ । जलस्रोत विज्ञसहित दुवै देशका सचिवस्तरको संयुक्त बैठकले शारदा नहरबाट पानी दिने विषय छ महिनाभित्र सहमतिबाट टुङ्गो लगाउने निर्णयसमेत गरेका थिए । सो अवधि गत भदौमा (नौ महिनाअघि) सकिएको छ । शारदा नहरदेखि नेपाल–भारत सिमानासम्म करीब एक किलोमिटर नहर भारतले बनाइदिनुपर्ने हो । विसं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पिभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो । जिविस पूर्वसभापति ऋषिराज लुम्साली भारतले महाकालीबाट पानी दिनेमा आशङ्का व्यक्त गर्छन् । “सन्धि गर्दा नै भारतीयले पानी दिँदैनन् भन्ने कुरा सायद हाम्रा नेताहरुलाई पनि थाहा थियो होला ।” लुम्सालीले भने, “२४ वर्ष बित्यो खै त हामीलाई पानी दिएको ?” उनले लामो समयदेखि भारतले संरचना बनाउँछु, पानी दिन्छु भनेर आश्वासन मात्रै दिँदै आएको बताए । त्यसैगरी महाकाली नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले दोधारा चाँदनीलाई दिनुपर्ने पानीका विषयमा जनप्रतिनिधिहरुले माथिल्लो निकायसित पनि गुहार माग्दा सुनुवाइ नभएको बताए । “यहाँ आउने हरेक मन्त्रीदेखि नेतासम्मलाई सिँचाइका लागि भारतले दिनुपर्ने पानीको विषयमा कुरा गर्ने, ज्ञापन बुझाउने काम धेरै ग¥यौँ ।” उनले भने, “पञ्चेश्वर बनेपछि मात्रै पानी दिन्छु भन्नु गलत कुरा हो ।” त्यसैगरी केही वर्षअघि पञ्चेश्वर जलविद्युत् परियोजनाको काम अगाडि बढाउने तयारीका साथै भीमदत्तनगरमा केन्द्रीय कार्यालय स्थापना गरिए पनि अहिले उक्त विषय ओझेलमा परेको छ । रासस
सेलपे र भाटभटेनी मनी ट्रान्सफर बिच आन्तरिक रेमिट्यान्स सेवाको लागि सहकार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपे सेवाले भाटभटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवाहरु प्रबर्दन गर्नका लागि सहकार्य गरेको छ । नेपालभरिका आफ्ना प्रयोगकर्ताहरूलाई आन्तरिक रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य सम्झौतामा भाटभटेनी मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजन कुमार अमात्य र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । भाटभटेनी मनी ट्रान्सफर (बीएमटी) नेपालको सबैभन्दा ठूलो र बहु प्रतिष्ठित सुपरमार्केट चेन भाट्भटेनी सुपरस्टोर ग्रुपद्वारा प्रवर्धित रेमिट्यान्स कम्पनी हो । यस सहकार्य अन्तर्गत, ग्राहकवर्गहरुले सेलपे मोबाईल वा वेब एप्लीकेशनबाट सजिलै (बीएमटी) का आन्तरिक रेमिट्यान्स सेवाहरु प्रयोग गर्न सक्नेछन् । जसका लागि सेलपे एप्पमा रेमिट्यान्स बटनमा थिची आफुलाई चाहेको भाट्भटेनी मनी ट्रान्सफर (बीएमटी) रेमिट्यान्स सेवा चयन गरी आवश्यक विवरणहरू भरे पश्चात, ग्राहकले सजिलैसँग नेपालका विभिन्न भागहरूमा पैसा पठाउन सक्नेछन् । यसरी पैसा पठाईसकेपछि प्रेषकले आफ्नो सेलपे एप्पमा एउटा युनिक आईडि प्राप्त गर्नेछन् र त्यस युनिक आईडि प्रेषकले प्रापकलाई दिनु पर्नेछ । प्रापकले देशैभरी रहेका विभिन्न भाट्भटेनी मनी ट्रान्सफरका रेमिट्यान्स एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त युनिक आईडी र सरकारी आधिकारिक परिचयपत्र देखाएर सरल रुपमा पैसा प्राप्त सक्नेछन् । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ -वास्तविक समयमा भुक्तानि – बिना वालेट कारोबार गर्न सकिने – सुरक्षित – मर्चेन्ट् शुल्क नलागने – लोयाल्टि पोइन्टस यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।