विकासन्युज

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ४४

काठमाडौं । धनकुटा, सुनसरी र झापा जिल्लामा थप १७ जना कोरोना भाइरस पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । त्यस्तै धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ४४ पुगेकाे छ ।

प्रदेश २ : प्रादेशिक क्वारेन्टिन १४ दिनका लागि सिल

धनुषा । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजीकै बनाइएको प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि सिल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नंं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनलाई बन्द गरिएको हो । उक्त क्वारेन्टिनमा बसेका कोरोना शङ्कास्पदमध्ये पटकपटक गरेर पाँच व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेपछि १४ दिनका लागि बन्द गर्ने निर्णय जिल्ला सङ्कट व्यवस्थापन समितिले बुधबार गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । नेपाली सेनाको रेखदेख तथा प्रदेश नंं २ सरकारले सञ्चालन गरेको उक्त क्वारेन्टिनमा शुरुका दिनमा प्रदेश नंं २ का विभिन्न जिल्लाका कोरोनाका आशङ्कित व्यक्तिलाई राख्ने काम हुँदै आएको छ । अहिले पनि क्वारेन्टिमा ८१ नागरिक धनुषा, महोत्तरी तथा भारतीय रहेको क्वारेन्टिनका इञ्चार्ज सन्तोषकुमार ठाकुरले जानकारी दिए । अब क्वारेन्टिनमा भएका सबैको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरेर हालका सबैलाई खाली गरिने र पुनः स्यानिटाइज गरी नयाँ शिराबाट सञ्चालन गरिने इञ्चार्ज ठाकुरले बताए । खासगरी क्वारेन्टिनमा दूरी अपनाइए पनि चेतनाको अभावले खानामा कतै लसपस भयो कि भन्ने आशङ्का भएकाले सबैको परीक्षण नगरेसम्मका लागि सिल गरिएको छ । धनुुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बसेको व्यवस्थापन समिति धनुषाको बैठकले नगराइन नगरपालिकालाई अर्को क्वारेन्टिन सञ्चालन गर्न पत्राचारसमेत गरेको छ । रासस

दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार

साेल । जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको छ । नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले मङ्गलबार रोजगार विभागमा भएको बैठकमा उक्त कुरा बताएका हुन्  । उनका अनुसार पूर्वनिर्धारित तालिकानुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ । इपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो । कोरियामा ४० हजारभन्दा बढी नेपाली इपिएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् । हरेक वर्ष लगभग सात हजार नेपाली युवाले कोरियामा प्रत्यक्षरूपमा रोजगारी पाउँदै आइरहेका छन् । यस वर्ष पनि सात हजार दरबन्दी नेपालका लागि छुट्याइएको थियो । कोरोना भाइरस महामारी रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण परीक्षा कहिले हुने भन्ने अनिश्चितता थियो । यसैबीच कोरिया सरकारको पक्षबाट यो निर्णय आएको हो । दक्षिण कोरियामा पठनपाठन कोरोना महामारीपछि बन् यहाँका विद्यालय पुनः सञ्चालन भएका छन् । कोरोना भाइरस केही साम्य हुन थालेपछि पहिलो चरणअन्तर्गत माध्यमिक तहका पठनपाठन बुधबारदेखि सञ्चालन भएका हुन् । पूर्वप्राथमिकदेखि अन्य तहका विद्यालय भने जुन ८ देखि सञ्चालन गरिने शिक्षा मन्त्रालयले बताएको छ । गत फेब्रुअरीदेखि कोरोना भाइरसले महामारीको रुप लिएपछि सम्पूर्ण तहका विद्यालय बन्द भएका थिए । पुनः सञ्चालनमा आएका हरेक विद्यालयमा शिक्षक तथा विद्यार्थीको स्वास्थ्य निगरानी तथा सेल्फ आइसोलेसनलगायत कुरालाई बढी जोड दिइने बताइएको छ । ती विद्यालयमा शिक्षा मन्त्रालयले सात चेक प्वाइन्टसमेत उपलब्ध गराएको छ । विद्यालय खुलेर पठनपाठन शुरु भए पनि कोरियामा कोरोना भाइरस भने पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन । दुई हप्ताअघि सउल नजीकैको इथेवन बजारको एक रात्रि क्लबबाट सामूहिक सङ्क्रमणपछि कोरियामा सङ्क्रमण पुनः थपिएको छ । बुधबार मात्र ३२ नयाँ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको ११ हजार १ सय १० पुगेका छन् । त्यसैगरी ९ हजारभन्दा धेरै निको भई घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुने २ सय ६३ पुगेका छन् । रासस

एकल महिला र अपाङ्गता भएका व्यक्तिको भत्ता काटिएपछि विरोध

काठमाडाैं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित गर्ने भन्दै २०७५ असोजमा पारित सामाजिक सुरक्षा ऐन र त्यसलाई लागु गर्न २०७६ चैत्रमा पारित गरिएको सामाजिक सुरक्षा नियमावली विवादमा परेको छ । हालै गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ व्यवस्थाअनुसार मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्न स्थानीय तहलाई पत्राचार गरेको छ । तर नयाँ कानुनमा ६० वर्षमुनिका एकल महिला र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ताबाट वञ्चित गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधिअनुसार ६० वर्षमुनिका एकल महिलाले मासिक २ हजार रुपैयाँ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिले मासिक १ हजार ६ सय रुपैयाँ भत्ता पाउँदै आएका थिए । तर कानुनमा ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई पूर्ण रूपमा हटाइएको छ भने ६० वर्षमुनिका एकल महिलाको हकमा सरकारले तोकेकोभन्दा न्यून आय भएकालाई मात्रै दिने प्रावधान राखिएको छ । तर न्यूनतम आय भनेको कति हो भन्ने विषयमा कानून मौन छ । पूर्ववत् भत्ता दिन अनुरोध राज्यले दिएको सुविधा बिनाकारण र बिनाऔचित्य खारेज गरिएको स्थानीय तहका जनप्रतिनिधिले दाबी गरेका छन् । नगरपालिका सङ्घका केन्द्रीय अध्यक्ष अशोक बेन्जु श्रेष्ठ भन्छन्, ‘अरूको आशामा बस्नुपर्ने मानिसलाई उनीहरूको सामान्य समस्या समाधानका लागि राज्यले व्यवस्था गरेको कुरा खारेज गरेको प्रति नगरपालीका सङ्घ असहमति जनाउँछ र पूर्ववत् अवस्थामा ल्याउनका लागि हामी सरकारलाई अनुरोध गर्छैं ।’ नयाँ कानुनका कारण ३ लाख ५० हजार एकल महिला र ‘ख’ वर्गको अपाङ्गता भएका ७० हजार व्यक्ति भत्ताबाट वञ्चित हुने बताइएको छ ।लकडाउनका बेला दैनिक जीवनयापन गर्न सरकारले सघाउनुपर्ने बेलामा यसरी भत्ता काटिँदा झनै समस्या पर्ने गाउँपालिका महासङ्घकी उपाध्यक्ष मेनुका काफ्ले बताउँछिन् । उनले भनिन्, ‘ख वर्गको अपाङ्गता भएका व्यक्तिलाई अरूको सहारा चाहिने बेला, एकल महिलालाई आफ्नै बलबुतामा बालबालिका पढाउनुपर्ने र घरखर्च चलाउनुपर्ने बेला उनीहरूले खाइपाइ आएको भत्ता हटाउनुहुँदैन । त्यसमा पनि अहिले सबै रोजगारीका अवसर नभएका बेला झनै समस्या बनाउँछ ।’ संशोधन सम्भव छ ? एकल महिला समूहले यस विषयमा सरकारका विभिन्न निकायहरूको ध्यानाकर्षण गराइएको र संशोधनको वचन पाएको बताएका छन् । एकल महिला सञ्जालकी संस्थापक अध्यक्ष लिली थापाले संशोधनको काम तत्काल भएर चालु चौमासिकदेखि नै भत्ता पाउने व्यवस्था हुनुपर्ने माग सरकारका अधिकारीहरूसँग गरिएको बताइन् । कानुनमा संशोधन नभएसम्म भत्ता दिन सकिने अवस्था नभएको र कानुन संशोधनको प्रस्ताव गरिसकिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक शिवराज जोशीले बताए । उनले भने, ‘खाइपाइ आएकाले पाउनुपर्छ भन्ने किसिमले ऐन संशोधनको प्रस्ताव हाम्रो गृह मन्त्रालयबाट अगाडि बढिसकेको छ र नियमावलीमा पनि केही खुकुलो प्रस्ताव राखेर हामीले पेस गरिसकेका छौँ । अव त्यो नीतिगत निर्णय सरकारबाट नभएसम्म अहिलेलाई भत्ता दिन सकिने अवस्था छैन ।’ (बीबीसी नेपालीबाट)

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख ८२ हजार २ सय ४४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख २९ हजार २ सय ६० जनाको मृत्यु भइसकेको छ भने २० लाख २० हजार १ सय ५१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९४ हजार ९ सय ६० जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ९१ हजार ५ सय ७५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख १२ हजार २८ पुगेको छ भने अहिलेसम्म ३ हजार ४ सय ३४ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४ सय २७ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ४५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

प्रवासी नेपालीको अवस्था बुझ्न कांग्रेसले बनायो एप

काठमाडौं । नेपाली काँग्रेसले ‘सङ्कटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ एक ‘एप’ निर्माण गरेको छ । काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेपालसहित ४३ देशबाट आज एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरेको जनाएको छ । नेपालमा काँग्रेस सभापति शेरबहादुर देउवाले ट्विटरमार्फत र पार्टीका नेपाली जनसम्पर्क समिति रहेका ३५ विभिन्न देशमा सभापति एवं संयोजकले उक्त एप सार्वजनिक गरेकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सार्वजनिक गर्ने कार्यक्रममा इजरायल, बेल्जियम, संयुक्त अधिराज्य, संयुक्तराज्य अमेरिका, हङकङ, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, पोर्चुगल, इटाली, जर्मनी, स्पेन, डेनमार्क, नेदरलेण्ड, जापान, अस्ट्रेलिया, कतार, मलेशिया, युएई, पोल्याण्ड, क्यानाडा, मकाउ, साउदी अरब, बहराईन, कुवेत, नर्वे, न्यूजिलेण्ड, भारत, चीन, रोमानिया र माल्टालगायतमा रहेको काँग्रेस जनसम्पर्क समितिका सभापति र संयोजकले भाग लिएका थिए। ‘रेस्क्यु नेपाली’ नामको सो एपको उद्देश्य नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीको हालको स्थिति विवरण सङ्कलन गर्ने रहेको छ । साथै एपले अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रुपमा तथ्याङक सङ्कलन गर्नेछ । एपले सङ्कलित तथ्याङ्क वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धार गर्न नेपाल सरकारलाई सघाउ र दबाब पु¥याउने लक्ष्य राखेको उनले बताए । एपमा व्यक्ति स्वयंले अथवा निकटस्थ कसैले पनि विवरण भर्न सकिने व्यवस्था गरिएको छ । एपमार्फत व्यक्तिको पहिचान र सम्पर्क, राहतको अवस्था, हालको अवस्थामा व्यक्तिगत या पारिवारिक योजना, नेपाल फर्कन चाहनुको कारण, नेपाल फर्कने निश्चित योजना, नेपालको ठेगाना, नेपाल फर्केर कार्य गर्न रुचि या अनुभवको क्षेत्रलगायत विषयका विवरण सङ्कलन गरिने काँग्रेसले जनाएको छ । विश्वव्यापी रूपमा गरिने तथ्याङ्क र विवरणको एक साताको सङ्कलनपश्चात् उद्धार गर्नुपर्ने नेपालीको स्थिति प्राथमिकता वर्गीकरण गरेर नेपाल सरकारसमक्ष रचनात्मक सुझाव र उद्धारको दबाबका साथ प्रस्तुत गरिने प्रवक्ता शर्माले बताउनुभयो । सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स नेपालका पूर्वमहासचिव दिपेश विष्ट नेतृत्वमा शशाङ्क श्री न्यौपाने, अशोक श्रेष्ठ, नारायण जोशी र अमित सोनार सम्मिलित टिमले सो एप निर्माण गरेको हो । रासस

नेपालले जारी गरेको नयाँ नक्सामा भारतकाे आपत्ति

काठमाडौं । भारतले नेपालको नयाँ राजनीतिक नक्सामा आपत्ति जनाएकाे छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेकाे नयाँ नक्सामा आपत्ति जनाउँदै स्विकार्य नहुने जनाएकाे हाे । भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ । ‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ ।’, विज्ञप्तीमा उल्लेख छ ।

सँधै रात हुँदैन, भाेलि उज्यालो अवश्य हुनेछ

मानव इतिहासमा यो नै पहिलो पटक हुन सक्छ कि अधिकांश देशहरु एकै चोटि एउटै समस्याबाट गुज्रिरहनु परेको । हुन त पहिलाको इतिहास पल्टाएर हेर्यौं भने कोरोना भन्दा डरलाग्दो र करोडौं मानवजनको क्षति पुर्याई सकेको भाइरसहरुको बारेमा हामीले विभिन्न माध्यमबाट देख्न, सुन्न र पढ्न पाउन सक्छौं । प्लेग, फ्लु, ऐड्स् लगायत अन्य रोगहरुले पनि करोडौं मानवहरुलाई घाटको बाटो देखाएको थियो । फरक यति मात्र हो कि यो समयसम्म आइ पुग्दा प्राय जसो मनिसहरु शिक्षित र वैज्ञानिक, स्वास्थ्य अनि टेक्नोलोजी क्षेत्रमा पनि धेरै नै परिवर्तन आइसकेका छन् । अहिलेको सञ्चार माध्यम नभएको भए सोचौं त हाम्रो स्थिति कस्तो हुन्थ्यो भनेर । अवश्य निकै नै नाजुक र भयाभह हुन्थ्यो होला । हामीलाई रोगको बारेमा थाहा पनि नभई, सतर्कता पनि नअपनाई हाम्रो ज्यान जान्थ्याे होला । त्यति मात्र नभएर हामी आफु त मर्थ्याैं मर्थ्याैं अरुलाई पनि मार्थ्याैं  होला । धन्न अहिले यो युगसम्म आइपुग्दा हामीमा धेरै नै परिवर्तन आइसकेका छन् । यिनै स्वास्थ्य, टेक्नोलोजी र वैज्ञानिक क्षेत्रमा हामीले मार्न सकेको फड्कोको कारणहरुले गर्दा नै होला हामीमा अझै पनि विश्वास छ, हामी अवश्य पनि भोली आउने सुन्दर उज्यालो दिनहरुमा खुलेर रम्न बच्न पाउँछौ भनेर । चीनको वुहान शहरबाट शुरु भएको यो कोरोना भाइरस अहिले प्राय जसो देशहरुमा फैलिएर आफ्नो दब्दबा कायम गरिरहेको पाइन्छ । पहिले चीन हुँदै र अहिले ठूला र सक्षम कहलिएका देशहरु, इटाली, अमेरिका, स्पेन, फ्रान्स आदिमा कोरोना भाइरसले निकै नै क्षति पुर्याउँदै गइरहेको पाइन्छ । चौविसै घण्टा नसुत्ने भनिएको देशहरु आज त्यस्को विपरित स्थितिमा पुगेका छन् । सायद यो स्थितिमा यी देशहरु नपुग्थे होला, यदि उनीहरुले अलि अगाडिनै सतर्कता अपनाउन सकेको भए । कतिपय देशका प्रमुखहरुले कोरोना भाइरसलाई मामुली भाइरसको स्वरुप लिएका हुनाले नै यो भाइरसले आफु फैलिने मौका पायो । थाहा थियो यसकाे कुनै खालकाे औषधीहरु बनेको थिएन भनेर र यदि त्यतिखेर नै आ-आफ्ना देशहरुमा बाह्य लकडाउन गरेको भए अहिले मानव जनको यति धेरै क्षति हुने थिएन होला अनि नागरिकहरु पिजडामा राखेको चरा जस्तै पनि नहुनु पर्थ्याे होला सायद । बिडम्बना, जे गर्नु पर्ने थियो त्यो गरिएन र अहिले प्राय जसो देशले यसैको नतिजा भोग्दै छन् । लेखक आजको दिनसम्म आइपुग्दा विश्वमा हजारौं मनिसहरुले आफ्नो ज्यान गुमाई सकेका छन् । अनि विस्तारै विस्तारै गर्दै हाम्रो घर दैलोमा पनि कोरोना भाइरसको आगमन बढ्दै गईरहेको पाईन्छ । अहिले नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ पुगेको छ, निको हुने संख्या २ र मृत्यु संख्या शून्य नै छ । अझै पनि प्राथना गर्छु कि यो संख्या नबढाेस् भनेर । म लगायत अधिकांश नेपालीले पनि यहि चाहन्छन् । यो हाम्रो चाहाना साथसाथै हाम्रो वाध्यता पनि हामी सबैलाई थाहा नै भएको कुरा हो हाम्रो देश कत्तिको सक्षम छ भनेर । कथम कदाचित् यो संख्या बढ्यो भने हे प्रभु र कठै बर भन्ने शिवाय हामी अरु केहि पनि गर्न सक्दैनौ । न त हामीसँग प्रयाप्त दक्ष जनसंख्या छ न त उपचार गर्ने साधन नै । धन्न जति छन् त्यतिले हाम्रो सुरक्षा र उपचार सीमित साधन हुँदाहुँदै पनि आफ्नो स्वास्थ्यको ख्याल नगरी हाम्रो सेवा गर्न दिन रात खटिरहेका छन् । सलाम छ उहाँहरुलाई । चीनबाट शुरु भएको कोरोना भाईरस, नेपाल त पहिलेदेखि नै उच्च जोखिममा रहेको राष्ट्र थियो र पहिलो संक्रमित व्यक्ति पनि चीनबाट नै नेपाल प्रवेश गरेका थिए । सतर्कता अपनाएको हुनाले छिट्टै र बिना कसैलाई संक्रमित परेर निको पनि हुन सके । त्यसैगरी, फ्रान्सबाट नेपाल आएकी १९ वर्ष युवती पनि रोगबाट मुक्त भएकी छिन् । आफै, सेल्फ आसोलसनमा बसेको र सतर्कता अपनाएको हुनाले दुबै जनाले रोगलाई आफुमा मात्रै सीमित राख्न सफल भएका छन् । अनि यो प्रशंसा र उदाहरणीय जनक छ । यसबाट धेरै कुराहरु सिक्न र जान्न सकिन्छ । कथम कदाचित् आफु बिरामी भईयो भने पनि सतर्कता अपनाएर रोगलाई नफैलाईकन अस्पातल जानु नै एउटा मुल उद्देश्य हुनु पर्छ । रोगबाट ग्रसित हुनुभन्दा रोग लग्न नदिनु नै धेरै उत्तम हो । त्यसको लागि धेरै केहि गर्नु पनि पर्दैन, मात्र आफुलाई माया र समय दिनु पर्छ । यसको अर्थ सरकारले गरेको लकडाउनलाई राम्ररी पालना गर्ने, अत्यावश्यक परेको खण्डमा मात्र बाहिर निस्कने त्यो पनि पुरै सतर्कता अपनाएर, अनि घर फर्केपछि आफुले लगाएको लुगाहरु राम्ररी सफा गर्ने, हात नियमित रुपमा साबुन पानीले धुने घरमा बस्दा होस् या बाहिरबाट फर्किदा, जथाभावी जतासुकै नछुने र हातले बारम्बार आफ्नो नाक, मुख, र आँखा तिर पनि नछुने । छुन परे पनि कि त स्यानिटाइजर कि त हात मज्जाले धाेएपछि मात्र छुने । यदी रुगा खोकी, ज्वराे, सास फेर्न गाह्रो र पेट दुख्ने समस्याहरु देखिन थाल्यो भने तुरुन्तै अस्पतालमा मास्क लगाएर जाने । एकचोटि निश्चित हुनको लागि कुनै पनि अस्पतालमा कल पनि गर्दा राम्रो हुन्छ । अनि यदि लक्षण देखिएको खण्डमा बिरामीलाई एम्बुलेन्स मार्फत अस्पतालमा ल्याइन्छ अनि उपचार गरिन्छ । यो सुन्दा त सजिलो र गर्न सकिहालिन्छ नि जस्तो लाग्छ तर मान्छेको बानी नै भई सक्यो कि जे नगर भन्या हुन्छ त्यहि गर्ने त्यसैले अलि बढी नै ख्याल गर्नु होला यस विषयमा चाहि । यो बानीहरु अहिलेको समयलाई मात्र नभएर जीवन भरको लागि काम लग्ने कुरा हो । यहि बानीहरुलाई राम्ररी पालना गर्न जान्याैं भने सबै जसो सर्ने रोगहरुबाट हामी बच्न सक्छौं । नेपाली संस्कार आज विश्व सामु नै सुपरिचित भईरहेको छ । जब हामी हाम्रो आफन्तजन अथवा मित्र वा आफु भन्दा ठुला व्यक्तिहरुलाई भेट्ने गर्छौ हामी हाम्रो दुई हात जोडेर सम्बोधन गर्ने गर्छौ । यही हाम्रो संस्कृति आज संसारमै पालना गरिँदै छ । पश्चिमी संस्कृतिमा जब दुई व्यक्तिको भेट हुन्छ उनीहरु आफ्नो हात मिलाएर एक अर्कालाई सम्बोधन गर्छन् । पहिलेसम्म त ठिकै नै मान्निथियो तर जब कोरोनाको दब्दबा सुरु हुन थल्यो । अनि हात मिलाउँदा पनि कोरोनाबाट संक्रमित भईन्छ भनेर मानिसले थाहा पाउन थाले तब हाम्रो सम्बोधन गर्ने शैलीले हात मिलाउँ संस्कारलाई प्रतिस्थापन गर्न थल्यो । यो हाम्रो संस्कृतिको प्रचार प्रसार जस्तै हो । यदि हामी नेपालीहरुले कतै आफ्नो संस्कारलाई भुलेर पश्चिमी संस्कृतिलाई पालना गर्दै आइ रहेका छौं भने आफ्नै संस्कृतिलाई फेरी पालना गर्ने यो भन्दा राम्रो समय कहिले पनि आउँदैन र कथम कदाचित् त्यहि हात मिलाउ सम्बोधन नै गर्न थाल्यौं भने पछि हामी कोरोना संक्रमण तथा कुनै सरुवा रोगको शिकार नहोलौं भन्न सक्दैनौं । विगत दुई दशकलाई नियालेर हेर्याैं भने नेपालमा धेरै नै परिवर्तन आएका छन् । जनआन्दोलन २ ले शताब्दीदेखि चलिआइरहेको राजशासन नै हटाएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालम ल्यायो ।अब चाहि देशमा विकासको बाटोले नयाँ मोड लिन्छ होला भनेर नेपालीहरु खुशी देखिन्थे । समय बित्दै गयो परिवर्तन आयो तर मात्र प्रधानमन्त्री  र मन्त्रीहरुको अनुहारमा मात्र, देशमा भने देखिएन । देखियो होला तर जति देखिनु पर्थ्यो त्यति देखिएन । वर्षौं लाग्यो देशको संविधान बन्न पनि । कतिले लेख्ने कलमको मसी सिद्धियाे भने कतिले कपी नै छैन पनि भने । आखिर भ्रष्टचारको चपेटामा परेको देश त हो मसी र कपी किन्नको लागि बजेट कहाँ पुग्थ्याे र । आफ्नो गोजी बढ्दैमा देशको ढुकुटी रितिन्नथ्याे । अन्त्यमा जसो तसो भए पनि महाभूकम्प पश्चात देशलाई चाहिएको संविधानको जन्म भयो । दुःखको समयमा भए पनि यो एतिहासिक क्षणले नेपाली नागरिकहरुको मनमा खुसीकाे लहर ल्याएको थियो । खै किन हो ? भारतलाई यो खुसी नपचेर होला नेपालीहरु नाकबन्दीको चपेटा पनि परे । विस्तारै दिनहरु बित्दै गए भात्किएको नेपाल पनि बन्दै गयो । आर्थिक अवस्था पनि विस्तारै सुदृढ हुँदै आईरहेको थियो र खुसीको खबर राजनितिक क्षेत्रमा पनि स्थीरता पनि हुन थालि रहेको थियो । अब चाहि भ्रष्टचारलाई हटाउन सके विकासको बाटोले नयाँ मोड अवश्य पनि लिन सक्थ्याे । यो चुनौती त आफ्नो ठाउँमा छँदै छ अहिले फेरी नयाँ चुनौतिको सामना गर्नु पर्ने अवस्थामा पुगेकाे छ । भुकम्पले दिएको पीडा अझै नि आलै छ र अहिले नयाँ पीडा नेपालीहरुको माझ थपिँदै छ, कोरोनाको पीडा । यो रोगलाई नियन्त्रणमा ल्याउन सरकारले अलिक ढिलो त गरिएन कि जस्तो लाग्छ । छिमेकी देशबाट नै सुरु भएको थाहा हुँदाहुँदै पनि आजसम्म आउँदा हाम्रोमा लकडाउन भएको दुइ महिना हुन लागेकाे छ । बाह्य लकडाउन दुईदेखि तीन महिना अघि नै भएको भए, सायद आज पुरै देश ठप्प हुन नि पर्दैन थियो होला । लकडाउन नगरे तापनि हरेक विदेशबाट आएका यात्रुहरुलाई नेपाल प्रस्थान गर्ने बखत राम्ररी जाँच गरेर फिल्टर गरिएको भए पनि धेरै नै राम्रो हुन जान्थ्याे होला सबै क्षेत्रमा । यो त निश्चित नै छ कि लकडाउनले देशको अर्थतन्त्रमा नकारात्मक परिणाम ल्याउँछ भनेर । अझ हाम्रो जस्तो देशमा त झन बढि नै आउन सक्ला । जुन देशको आयात, निर्यात भन्दा धेरै कम छ त्यस देशलाई त झन बढि नै हुन्छ भन्दा नि फरक चाहिँ पर्दैन । हामीलाई भुकम्पले त मज्जाले सिकाएको थियो । जब आफ्नो देशमा उत्पादन हुँदैन देशलाई कत्तिको कठिन हुन्छ भनेर । यसबाट हामीहरुले अलिकति मात्र सिकेको भए हामीलाई आउने दिनहरुमा धेरै गह्रो हुने थिएन होला । सरकारलाई यसमा पनि ध्यान जाओस् कि देशमा बेरोजगार युवाहरुको संख्या ११.४ प्रतिशत छ र गरिबी संख्या २१ प्रतिशत छ भनेर । रोगलाई त सरकार र नगरिकहरु मिलेर जसो तसो बेअसर गर्लान तर आउने दिनहरु परिस्थितिले बेग्लै मोड लिन सक्छ । डर छ कि कति जना नेपालीहरु भोकभोकै मर्ने हुन आउने दिनहरुमा । यदि सरकारले राम्रो चाल चलेन भने अवश्य त्यो दिन नआउला चाहि भन्न सकिन्न । आउने दिनहरुमा नेपाल जस्तो अल्पविकसित देशलाई चाहि धेरै नै कठिनाई भोगेर अगाडी जानु पर्ने हुन सक्छ । यो भन्न चाहेको चाहि पक्कै पनि होइन कि विकसित देशहरुलाई चाहि कोरोना नियन्त्रणमा आए पछि कुनै कठिनाई भोग्नु पर्दैन भनेर । विकसित देशहरुलाई पनि त्यतिकै समस्या आउन सक्छ यदि त्यहाँको नेताहरुले राम्रो निर्णय लिन सकेनन् भने । यो त संसार सामू एउटा नयाँ चुनौती हो । जुन देश धेरैसम्म टिक्न र चुनौतीसँग जुध्न सक्छन् त्यही देशहरु अगाडि बढ्न सफल हुन्छन् । अहिलेको स्थिती हेर्ने हो भने चीन आउने दिनहरुमा झन शक्तिशाली हुन सक्छ । कोभिड-१९ को दब्दबा नभएको भए अहिले नेपाल ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाइरहेको हुन्थ्याे । बिडम्बना कोभिड-१९ ले गर्दा हाम्रो देशको योजनालाई असफल पारिदिएको छ र हालको लागि रद्द गरिदिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई प्रचार प्रसार गर्दा खेरी लागेको खर्च पनि नेपालले यो वर्ष उठाउन नसक्ने भएको छ र आउने वर्षमा पनि विदेशिक पर्यटकहरुको संख्या निकै कम हुनेछ यदि भाइरस संक्रमण अझै फैलिरह्यो भने । यसले नेपालको पर्यटकीय क्षेत्रलाई मात्र नभएर विश्वकै पर्यटकीय क्षेत्रलाई तछाड मछाड पारी दिईएको छ र यसबाट माथि उठ्न अधिकांश देशको होटेलहरुलाई निकै गाह्रो हुने स्थिती पनि देखिएको छ । कोभिड-१९ माहामारीले विश्वलाई नै ठुलो पाठ सिकाएको छ । यदि चाह्याैं भने हामी मानव जातिले पृथ्वीलाई बस्न योग्य बनाउन सक्दो रहेछौं । हेर्ने नै भए अहिलेको हाम्रो वरिपरिको वातावरण निकै नै सफा हुँदै गई रहेको छ र यसलाई हामीले निरन्तर्ता  दियौं भने पक्कै पनि हाम्रो आफ्नै स्वास्थ्य र अन्य पशुपन्छिको जीवनमा पनि सकरात्मक परिणाम ल्याउन मद्दत हुनेछ । यो महामारीले सिकाएको अर्को ठुलो पाठ के हो भने हामीले अन्य पशुपन्छीहरुलाई धेरै नै अन्याय गरेका रहेछौं । हामी एक दुई महिना घरमा बस्दा हामी कसरी दिन बिताउने भनेर सोच्छौं । यता पल्ट्यो, उता पल्ट्यो दिन ढल्ने नाम नै लिँदैन । एकछिन सोचौं त ती पशुपन्छीहरु हाम्रो मनोरञ्जनको लागि जीवन भर त्यो सानो पिँजडामा बस्दा उनीहरुको हालत कस्तो हुन्छ होला भनेर । सोच्दा नै ठुलो पाप भई रहेको जस्तो लाग्छ । यसमा नि सबै सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण होस् भन्न चाहन्छु । अर्को पाठ हामीले सिक्ने भनेको अनलाईन माध्यमबाट गरेको व्यापार, पढाई, समाचार हेराई, सुनाई आदि क्रियाकलापहरुले मानव जनलाई मात्र नभएर यसले प्रकृतिलाई पनि फाइदा पुर्याउन सक्दो रहेछ भनेर हो । प्रकृतिमा थोरै असर त पर्ला । अनलाईन माध्यमहरुको प्रयोग गर्याैं भने दैनिक पत्रपत्रिकाको लागि चाहिने रुख बिरुवा काटिनबाट बञ्चित चाहिं अवश्य हुन्छ । विस्तारै विस्तारै यहि माध्यमहरु प्रयोगमा आई रह्यो भने आउने दिनहरुमा कपी, पैसा र किताबहरु बनाउनको लागि चाहिने रुख बिरुवा पनि काटिन छोडिन्छ र प्रकृतिको लागि पनि राम्रो हुनेछ । अनि अर्को पाठ जुन सँधै सुन्दै आएको तर व्यवहारमा कमैले मात्र उतारेको ‘रोकथाम उपचार भन्दा राम्रो हुन्छ’ भन्ने हो । कोरोनाले हामीलाई फेरी मनन गर्न सिकाएको छ कि यदि हामीले राम्ररी हात धुएर खानपिन, बेला बखतमा नुहाई, जन्क फुड अथवा बाहिरको खाना खान छोड्याैं भने हामीलाई रोग कमै मात्रामा लाग्ला या लाग्दै नलाग्ला पनि । रोगी भएर जिउनु भन्दा निरोगी भएर बाच्नु नै धेरै राम्रो हुन्छ । त्यसैले, सधै राम्रो बानीको पालना गर्नु पर्छ । आजको दिनसम्म आईपुग्दा विश्वको हरेक कुनाकुनामा कथाहरु कोरिरहेका छन् । कति कथाहरु त दुःखद क्षणमा परिवर्तन पनि भइसके होलान् तर हामीले हार खानु हुन्न सबै मिलेर यो महामारीको सामना गरेर हल गर्नुपर्छ । मनलाई दरो बनाएर र अगाडी बढ्नु पर्छ । सधै रात त पक्कै पनि हुँदैन, भोलि उज्यालो दिन त अवश्य नै आउने छ ।