कालिमाटीबाट फलफूल र तरकारी ल्याउन निषेध
काठमाडौं । गोदावरी नगरपालिका क्षेत्रमा कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका फलफूल तथा तरकारी प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको हो । नगरप्रमुख गजेन्द्र महर्जनद्वारा जारी गर्नुभएको सूचनामा कालिमाटी, बल्खु र बानेश्वरबाट आउने फलफूल तथा तरकारी ल्याइ व्यापारीले बिक्री वितरण गरेको पाइएमा कडाभन्दा कडा कारवाही गरिने उल्लेख गरिएको छ । यसैगरी सूचनामा नगरपालिकाका सबै वडामा अत्यावश्यक खाद्यवस्तु बिक्री वितरणका लागि बिहान ५ देखि ११ बजेसम्मका लागि मात्र पसल खुला गर्नसमेत व्यवसायीमा अपिल गरिएको छ । रासस
भारतबाट एकै दिनमा एक हजार २ सय कर्णालीवासी आइपुगे
सुर्खेत । कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५ बबईमा एक हजार २ सय ७ नागरिक आइपुगेका छन् । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरु सो स्थानमा आइपुगेका हुन् । प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार दैलेखका ५ सय, सुर्खेतका ३ सय २०, सल्यानका २ सय ६६, जाजरकोटका ७७ र कालिकोटका ४४ नागरिक रहेको छन् । उहाँले भारतबाट सयौँको सङ्ख्यामा कर्णालीवासी नागरिक भित्रिदै गरेको यस परिवेशमा प्रदेश सरकारले सबैको आरडिटी गर्ने यद्यपि स्थानीय सरकारसहित नागरिक सबैलाई उच्च सतर्कताका अपनाएर आफ्नो दायित्व पूरा गर्न अनुरोध गरे । उनले भने, “यतिमात्र होइन भारतबाट आउने सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । नागरिकको स्वास्थ्य र सुरक्षामा सरकार संवेदनशील भएर लागेको छ । सीमामा आरडिटी भएकाले पनि जिल्लामा अनिवार्य क्वारेन्टिनमा बस्ने गरिएको छ । प्रदेश सरकारले तत्काल आरडिटीका लागि आवश्यक किटसहित स्वास्थ्य जनशक्ति त्यहाँ पुगेको सामजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो । “त्यहाँ पुगेका सबैको आरडिटी परीक्षण गर्छौं र पोजेटिभ देखिएमा प्रदेशको क्वारेन्टिनमा राख्छौं । उनीहरुको पिसीआर गरेर सङ्क्रमण देखिएमा आइसोलेसनको पनि तयारी भइरहेको छ”, उनले भने । स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतनिधि वाग्लेले अहिले तत्काल ७ सय किटसहित १६ जना आरडिटीका लागि कर्मचारी त्यहाँ परिचालन भएको बताए । आवश्यकतामा अन्य थप किट पठाउने र परीक्षणकार्यलाई तीव्र बनाउने उनले जनाए । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले भारतबाट आउने नागरिकको शान्ति सुरक्षार्थ प्रहरी तयारी अवस्थामा राखिएको जानकारी दिए । केही जनशक्ति सीमा निर्वाध रहेको र केही जनशक्ति यहाँबाट पठाइएको उनले बताए । यो डेढ साताभित्र प्रदेशमा १५–२० हजार नागरिक भित्रीसकेको अनुमान छ । रासस
बैंकका ३०% कर्मचारीको रोजगारी धरापमा, के भन्छन् जिम्मेवार निकाय ?
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९) का कारण सबै क्षेत्रहरु प्रभावित भएका छन् । यो समस्या अहिले बैंक तथा वित्तीय संस्थामा पनि देखिएको छ । अहिले धेरै बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी कतौटी गर्ने, कर्मचारीहरुलाई बेतलबी घर बसाल्ने र तलब काट्नेलगायतका समस्याहरु देखा परेका छन् । कोरोना भाइरसको कारण उत्पन्न भएको लकडाउनकै समयमा बैंकका धेरै कर्मचारीहरुले रोजगारी गुमाइसकेका छन् भने अझै धेरैले राेजगारी गुमाउन सक्ने सम्भावना पनि छ । लकडाउनको कारण आर्थिक गतिविधि सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरुले पनि खर्च कमको एउटा विकल्प कर्मचारी कतौतीका रुपमा लिइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरु यो अवस्थामा बैंक नोक्सानमा जाने निश्चित भएपछि कर्मचारी कटाैतीमा लागिरहेका छन् । अहिले बैंकिङ क्षेत्रमा सबैभन्दा बढी असर करारका कर्मचारीहरुलाई परेको छ । बैंक तथा वित्तीय संस्थाहरुले अहिले करार अर्थात अस्थायी र आउट सोर्सिङमा काम गर्ने कर्मचारीलाई कटौती गरिरहेका छन् । अहिले बैंक तथा वित्तीय संस्थामा काम गर्ने करिब १ लाख कर्मचारीहरुमा ३० प्रतिशत कर्मचारी करार अर्थात अस्थायी र आउट सोर्सिङमा छन् । त्यो ३० प्रतिशत भनेको ३० हजार हो । अहिले ती ३० हजार करार र आउट सोर्सिङ कर्मचारीको रोजगारी धरापमा छ । बैंक तथा वित्तीय संस्थामा काम गर्ने करिब १ लाख कर्मचारीहरुमा ३० प्रतिशत कर्मचारी करार अर्थात अस्थायी र आउट सोर्सिङमा छन् । त्यो ३० प्रतिशत भनेको ३० हजार हो । अहिले ती ३० हजार करार र आउट सोर्सिङ कर्मचारीको रोजगारी धरापमा छ । राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा रहेका १ सय ६२ बैंक तथा वित्तीय संस्थाहरुमा करिब ७० हजार कर्मचारी छन् । ती विभिन्न शाखाहरुमा बैंक करारका कर्मचारी पनि राखेको हुन्छ । त्यसको संख्या साढे ३ हजार छ । त्यससँगै अन्य आउट सोर्सिङका कर्मचारी पनि राखेको हुन्छ । एक बैंकले न्युनतम ३/४ जना जति आउट सोर्सिङका कामदार पनि राखेको हुन्छ । आर्थिक वर्ष २०७७/७८ सुरु हुन पनि दुई महिना मात्र बाँकी छ । कोरोना भाइरसकै कारण समस्यामा परेका बैंक तथा वित्तीय संस्थाहरुले अब करारमा रहेका ती ३० हजार कर्मचारीहरुको नयाँ सम्झौता नविकरण गर्न सक्ने सम्भावना न्युन छ । किनकि बैंक तथा वित्रीय संस्थाहरुको अहिलेको ध्यान कसरी खर्च कटौती गर्ने भन्ने तर्फ छ । त्यसले पनि अझ धेरैको रोजगारी गुम्ने सम्भावना धेरै छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले करारका कर्मचारीहरुलाई करिब १ वर्षसम्मको सम्झौता गरेर काम लगाउने गरेका छन् । अब आर्थिक वर्ष २०७७/७८ सुरू हुने लगत्तै तिनीहरूकाे राेजगारी गुम्ने निश्चित छ । सहकार्य गरेर बढ्ने समयमा कसैले जागिरबाट निकाल्नु हुन्नः प्रवक्ता भट्ट नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले यो संकटको समयमा सबैले एक आपसमा सहकार्य गरेर जानु पर्ने समयमा कसैले पनि जागिरबाट निकाल्नु उचित नभएको बताए । ‘हिजो बैंकिङ क्षेत्रमा करिअर बनाउँछौ, बैकिङ क्षेत्रलाई भविश्यका रुपमा हेरेकाहरूकाे समस्या बुझिदिनु पर्छ, समस्या परेकाे समयमा जागिरबाट निकाल्नु हुँदैन, भट्टले भने । बैंक तथा वित्तीय संस्थाहरु समाजको जिम्मेवार अंग भएकोले कर्मचारी कटौतीको समस्या यो क्षेत्रमा उचित नभएको उनको भनाइ छ । ‘सरकारले अरु क्षेत्रलाई पनि कसरी राहत दिने भन्ने कुरा सोचिरहेको छ, जागिर खाइरहेका मान्छेहरुलाई अहिले घर जाउ भन्ने कुरा राम्रो होइन, कुनै पनि संस्थाले त्यस्तो गरिहाल्यो भने राष्ट्र बैंकले आवश्यकता अनुसार जुनसुकै कदम पनि चाल्छ,’ उनले विकास न्युजसँग भने । कर्मचारीलाई जागिरबाट निकाल्ने बित्तिकै अब के गर्ने भन्ने समस्या उब्जिने हुनाले बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी बेरोजगार बनाउने तर्फ सोच्न नहुने उनकाे धारणा छ । अहिले सम्म कर्मचारी कटौतीको तयारी छैनः भुवन दाहाल नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी कतौती सम्बन्धि कुनै निर्णय तथा तयारी नगरेको बताएका छन् । अन्य बैंकमा पनि यस्तो समस्या भएको आफुले नसुनेको उनको धारणा छ । बैंकहरुलाई करार तथा आउट सोर्सिङ कर्मचारी नहटाउन बैंकर्स संघले एड्भाइजरी जारी गरेको उनले बताए । त्यस्तो भएपनि कर्मचारी कटौती नगर्न संघले सबै बैंकहरुलाई भनिसकेको उनले बताए । वित्तीय संस्थामा कर्मचारी कटौतीको समस्या आउन दिन्नौंः सरोजकाजी तुलाधार नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले पनि वित्तीय संस्थाहरुमा कर्मचारी कटौतीको समस्या आउन नदिने बताएका छन् । आफुहरुले कर्मचारी कटौती नगर्ने भन्ने निर्णय अगाडि नै गरिसकेको उनले बताए । ‘राष्ट्र बैंक पनि यो विषयमा गम्भीर छ, यो समयमा कसैले पनि कर्मचारी कटौती गर्ने, कामबाट निकाल्ने काम गर्नु हुन्न, उनले भने । कर्मचारी कटौती गर्ने समस्या फाइनान्स कम्पनीमा नभएको उनको भनाइ छ । ‘म विश्वस्त छु, वित्तीय कम्पनीमा यो कसैले गर्दा पनि गर्दैनन्,’ उनले भने । तर, पछिल्लो समय ठूला बैंकहरुको सिको गर्दै केही लघु वित्त संस्थाहरुले पनि करारका कर्मचारी कटौती गरेको कुरा पनि बाहिरिरहेको छ । अध्यक्ष रेग्मी भन्छन्ः कर्मचारी कटौती गर्नेविरुद्द अगाडि बढ्छौं नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले कर्मचारी कटौती गर्ने बैंक तथा वित्तीय संस्थाविरुद्द आफुहरु अगाडि बढ्ने बताए । धेरै बैंक तथा वित्तीय संस्थामा कर्मचारी हटाएको आफुले पनि सुनेको बताउँदै उनले त्यस्तो नगर्न समेत आग्रह गरे । ‘बाहिर हटाएको भन्ने कुरा सुनिएको छ, तर सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले नहटाएको भनिरहेका छन, नाफा हुँदा राख्ने नोक्सान हुँदा हटाउँनु उचित हुँदैन,’ उनले भने । अहिलेसम्म ठूला एक दुई बैंकले गरेको आफुले सुनेका उनले बताए। युनियन भएको बैंकमा त्यस्तो समस्या नभई युनियन नभएको बैंकमा यस्तो समस्या भएको उनको भनाइ छ । ‘बैंक वित्तीय संस्था अहिले नै धरासायी हुने अवस्था छैन, उनीहरुले कमाएको नाफाको जगेडा कोष छ, एक दुई महिनाको बन्दले त्यस्तो असर पर्दैन, त्यसैले आत्तिनु पर्ने अवस्था अहिल्यै आइरहेको छैन,’ उनले भने । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले हटाएका कर्मचारीहरु दैनिक ज्याला गरेर कमाउनेहरु भएको उनको भनाइ छ । उनीहरुको बारेमा बोलिदिने कोही नभएको कारणले पनि बैंकले आफुले चाहेको गरिरहेको उनले बताए । ‘महामारीको नाउँमा वित्तीय विवरणमा संस्थालाई परेको असर पुष्टि नभइकन हामी कर्मचारी हटाउने कुरामा सहमत हुँदैनौं, माथिल्लो तहमा बस्नेहरुको सुविधा नघट्यो भने राम्रो हुन्न, यसका विररुद्दमा हामी अगाडि बढ्छौं,’ उनले भने । बैंक तथा वित्तीय संस्थाले कर्मचारी निकाल्न थालेपछि वित्तीय संस्था कर्मचारी युनियनले राष्ट्र बैंक र बैंकर्स संघमा त्यसो नगर्न सुझवपत्र पठाइसकेको उनले बताए । समस्यामा परेका कर्मचारीले यस्तो गर्न सक्छन् बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कुनै समस्या अर्थात मर्कामा पर्यो भने राष्ट्र बैंकमा आफ्नो गुनासो राख्न पाउने सुविधा छ । राष्ट्र बैंकको गुनासो शाखामा कर्मचारीले लिखित रुपमा पत्र दिएर आफ्नो समस्याको बारेमा भन्न सक्नेछन् । त्यसको बारेमा विस्तृत बुझ्नको लागि सम्बन्धित बैंकसँग स्पष्टिकरण माग्न सक्ने अधिकार राष्ट्र बैंकसँग छ । यो प्रक्रियाले पनि कर्मचारीको समस्या समाधान हुन सक्छ । धेरैले अहिले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीको रोजगारी धरापमा भनिरहे पनि बैंक तथा वित्तीय संस्थाहरुले भने सम्बन्धित बैंकलाई कर्मचारी कटौती नगर्न आग्रह गरिसकेको बताउँछन् । तर, करारमा रहेको कर्मचारीहरुको रोजगारी भने अझै धरापमा नै छ ।
राखेप सदस्य सचिवको छिनोफानो मन्त्रिपरिषदले गर्ने
काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवको छिनोफानो अब मन्त्रिपरिषद्ले गर्ने व्यवस्था गरिएको छ । ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ लाई बुधबार राष्ट्रियसभाले पारित गरेपछि सदस्य सचिव नियुक्तिको नयाँ प्रावधान आएको हो । यसअघि सदस्य सचिवको नियुक्ति सोझै युवा तथा खेलकूदमन्त्रीको सिफारिसमा गरिँदै आएको थियो । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको विधेयक प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भनी प्रस्ताव पेश गरे । विधेयक राष्ट्रियसभामा सर्वसम्मत पारित भएको छ । यसअघि गत वर्ष साउनमा राष्ट्रियसभाबाट पारित सो विधेयक फागुन तेस्रो साता प्रतिनिधिसभाको बैठकले पारित गरेको थियो । राष्ट्रियसभाबाट पारित विधेयकानुसार अब राखेपको सदस्य सचिव हुनका लागि ३० वर्ष उमेर पुगेको हुनुपर्ने छ । यस्तै उक्त व्यक्तिले खेलकूदका क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको तथा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने पारित विधेयकमा व्यवस्था गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित उक्त खेलकूद विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा लागू हुनेछ । विधेयकमा राखेप सदस्य सचिव सिफारिसका लागि तीन सदस्यीय समितिको व्यवस्था गरिएको छ । समितिका संयोजकमा युवा तथा खेलकूद मन्त्रालयका सचिव तथा सदस्यमा एक खेलकूदविज्ञ र एक महिला रहने छन् । उक्त समितिले एक महिलासहित तीन उपयुक्त व्यक्तिको नाम युवा मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालयले समितिले सिफारिस गरेका मध्येबाट एक जनाको नाम सदस्य सचिवका लागि मन्त्रिपरिषद्समक्ष पेश गर्नेछ । मन्त्रिपरिषद्ले उचित ठानेको व्यक्तिलाई राखेप सदस्य सचिवमा नियुक्त गर्ने विधेयकमा व्यवस्था गरिएको छ । सदस्य सचिवको पदावधि चार वर्षको हुनेछ । निजलाई अर्को एक पटकका लागि पुनः नियुक्त गर्न सकिने प्रावधान छ । राखेप बोर्डमा पहिलोपटक नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि अनिवार्य रहने व्यवस्था गरिएको छ । राखेप सञ्चालनका लागि सात सदस्यीय कार्यकारी समितिको व्यवस्था गरिएको छ । समितिका संयोजकमा सदस्य सचिव तथा सदस्यमा खेलकूद महाशाखा प्रमुख, परिषद्का सदस्यमध्येबाट अध्यक्षले मनोनय गरेको एक महिलासहित दुई, परिषद्ले मनोनयर गरेको एक महिलासहित दुई तथा परिषद्को प्रशासन महाशाखा प्रमुख सचिव रहने विधेयकमा उल्लेख छ । यस्तै ओलम्पिक, एशियाली खेलकूद र दक्षिण एशियाली औपचारिक खेलकूद प्रतियोगिता वा अन्तरराष्ट्रय खेल सङ्घ तथा महासङ्घद्वारा आयोजित विश्वस्तरीय खेलकूद प्रतियोगितामा सहभागी भएका नेपाली खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडीको मान्यता दिइने विधेयकमा उल्लेख छ । राष्ट्रियस्तरका खेलाडी भन्नाले राखेपद्वारा आयोजित राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी भएका नेपाली खेलाडीलाई जनाइनेछ । विधेयकमा भलिबललाई राष्ट्रिय खेलका रूपमा कायम गरिएको छ । रासस
उद्योग व्यवसायमा राहतका अल्प र दीर्घकालीन कार्यक्रम ल्याउन माग
पोखरा । पोखराका उद्योगी व्यवसायीले बन्दाबन्दीका कारण उद्योग/वाणिज्य क्षेत्रमा पारेको असरलाई दृष्टिगत गर्दै राहतका कार्यक्रमसहित बजेट ल्याउन माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी, पोखरा उद्योग वाणिज्य सङ्घ तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको संयुक्त आयोजनामा संचालित कार्यक्रममा अर्थतन्त्रलाई सही दिशामा ल्याउन राहतका अल्प र दीर्घकालीन प्याकेज ल्याउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले व्यवसायलाई विस्तारै सञ्चालनमा ल्याउनुपर्ने धारणा राखे । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले कोरोनाले अर्थतन्त्रमा पुर्याएको गम्भीर क्षतिको मूल्याङ्कन गर्दै उद्योग/वाणिज्य र पर्यटन क्षेत्रको लागि विशेष राहत प्याकेजको मागसहित आगामी आर्थिक वर्षको बजेट पूर्वाधार र औद्योगिक व्यावसायिक वातावरण निर्माणमा केन्द्रित हुनुपर्ने बताए । उनले कर्जाको समयसीमा बढाउनुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, वासलात ऋणात्मक भए पनि कर्जा प्रवाह गरिनु्पर्ने तथा आउँदा दिनमा पूँजी हेरेर नभई आम्दानी, योजना तथा नवीनतम सोचका आधारमा उद्योगी/व्यवसायीलाई कर्जा प्रवाह गरिनुपर्नेमा जोड दिए । त्यस्तै उद्योगधन्दा खुलाउनुपर्ने, ‘नो वर्क, नो पे’को व्यवस्था गरिनुपर्ने, खेतीयोग्य जग्गाको खण्डीकरण रोक्नुपर्ने, भूउपयोग नीति लागू हुनुपर्ने र कृषिमा अनुदान बढाइनुपर्ने सुझाव दिइएको छ । पर्यटन उद्योगमा कम्तीमा एक वर्ष सबै प्रकारका कर मिनाहा गरिनुपर्ने र पर्यटन प्रवद्र्धनका लागि छुट्याइएको बजेट पर्यटन पुनःउत्थानको क्षेत्रमा खर्च गरिनुपर्ने माग गर्दै अध्यक्ष अधिकारीले वैदेशिक रोजगारीबाट फर्केनेका लागि स्वरोजगारका कार्यक्रम ल्याउन माग गरे । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकालले व्यवसायलाई आधार मानेर ऋण प्रवाह गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठ, भिमाद उद्योग वाणिज्य सङ्घका अध्यक्ष हस्तबहादुर खड्का, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष लक्ष्मी त्रिपाठी र पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष माइकला कर्माचार्यले कोरोनाका कारण निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको लगानी जोखिममा परेको बताउँदै सरकारले विद्यमान अवस्थाको गम्भीरताका साथ विश्लेषण गर्दै राहत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना सङ्क्रमण र बन्दाबन्दीका बीचमा पनि आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने विचार राख्र्द उद्योग–व्यवसाय सञ्चालन नगरिए अर्थतन्त्र नै थला पर्ने जिकिर गरे । रासस
चक्रवात अम्पन: बङ्गालबाट आएको आँधीमा १५ जनाको मृत्यु, ३० लाखलाई सुरक्षित स्थानमा सारियो
काठमाडौं । बङ्गालको खाडीबाट उत्पन्न भएको एउटा समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा गरी कम्तीमा १५ जनाको मृत्यु भएको छ । साे आँधीका कारण प्रभावित क्षेत्रमा तीव्र हावाहुरी र वर्षाका कारण उथलपुथल भएको जनाइएको छ । पूर्वी भारतीय राज्यहरू र बाङ्ग्लादेशमा अम्पन नामक उक्त आँधीको असर धेरै देखिएको छ । ती क्षेत्रहरूमा तीव्र गतिको हुरी चल्दा रुखहरू ढलेका छन् भने घरको छानाहरू उडेका छन् । बिजुली र टेलिफोनका खम्बाहरू पनि ढलेका छन्। ३० लाखलाई सुरक्षित स्थानमा सारियो कतिपय घरहरूमा लडेका रुखहरू र खम्बाहरू पस्दा मानिसहरू घाइते समेत बनेका छन् । कम्तीमा ३० लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षित स्थानमा सारिएकाहरूमा बाङ्ग्लादेशीहरू धेरै छन्। कोरोनाभाइरसका महामारीका कारण उद्धारमा कठिनाइ उत्पन्न भएको छ । ठूलो आँधी कोभिड-१९ का कारण सामाजिक दूरी कायम गर्नुपर्दा आम उद्धारमा समस्या भएको हो । कतिपय मानिसहरू सुरक्षित क्षेत्रमा जान तयार भइरहेका छैनन् । त्यसमध्ये केही मानिसहरू हालै मात्र कोरोनाभाइरसबाट बच्न क्वारन्टीनमा बसेर फर्केकाहरू पनि छन् । उक्त आँधी बङ्गालको खाडीमा सन् १९१९ यता आएको सबैभन्दा ठूलो समुद्री आँधी हो । यद्यपि यसको हावाको गति केही कम भएको छ। तर पनि यसलाई एकदमै शक्तिशाली समुद्री आँधीका रूपमा लिइएको छ । नेपालमा प्रभाव मौसमविद्हरूले नेपालमा पनि उक्त आँधीको प्रभाव देखिएको जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल उक्त आँधीको प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ । हाल देशको पूर्वी र मध्य भू(भागमा पूर्ण बदली रही पश्चिममा आंशिक बदली रहेको उसले जनाएको छ । पूर्व र मध्यको थोरै स्थानमा वर्षा भईरहेको पनि महाशाखाले जनाएको छ । उसले चट्ट्याङ र केही साना खोलाहरूमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आह्वान पनि गरेको छ । (बीबीसी)
९२ हजार मेटन चामल मौज्दात
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग १६ हजार ५ सय ४ र निजी क्षेत्रका उद्योगसँग ७५ हजार मेट्रिक टन गरी दुई निकायसँग ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा २ हजार ८ सय ४३ मेट्रिक टन चामल, ६ सय ६४ क्विन्टल फापर, ५ सय २४ क्विन्टल सिमी, ५ सय ५७ मेट्रिक टन गहुँ र १८ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा २ हजार ८ सय २५ मेट्रिक टन नून गरी १ लाख ३७ हजार ९ सय ६६ मेट्रिक टन मौज्दात छ । मन्त्रालयको तथ्यांकानुसार साल्ट ट्रेडिङसँग २ हजार २ सय ६३ चिनी र निजी क्षेत्रसँग ६३ हजार २ सय ७ गरी ६५ हजार ४ सय ७४ चिनी मौज्दात छ । यसैगरी निजी क्षेत्रका व्यापारीसँग दाल तथा गेडागुडी १६ हजार ८१ मेट्रिक टन मौज्दात छ भने ८३ हजार ९ सय ६७ मेट्रिक टन खाने तेल आयात प्रक्रियामा रहेको जनाइएको छ । मौज्दात पेट्रोलियम पदार्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट मंगलबार ९ सय ३२ किलोलिटर डिजेल आयात भएकामा १ हजार ६ सय ५१ किलोलिटर बिक्री भएको र ३३ हजार १ सय ७४ किलोलिटर मौज्दात रहेको छ । बन्दाबन्दीका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएपछि नेपाल आयल निगमले भण्डारणबाट निश्चित मात्रामा तेल घटेकाले इण्डियन आयल कर्पोरेशनलाई अनुरोध गरेर पाइपलाइन सञ्चालन गर्दै आएको छ । बन्दाबन्दीअघि दैनिक सञ्चालन भएको पाइलपाइन हाल आवश्यकतानुसार सञ्चालन गरिँदै आएको छ । यसैगरी निगमसँग ६ हजार ५ सय ५० किलोलिटर पेट्रोल, २ हजार १ सय ४२ किलोलिटर मट्टीतेल, सात हजार ३४ किलोलिटर हवाइ इन्धन गरी ४८ हजार ९ सय किलोलिटर पेट्रोलियम पदार्थको मौज्दात छ । त्यस्तै विभिन्न एलपी ग्यास उद्योगसँग ११ मेट्रिक टन ग्यास मौज्दात रहेको जनाइएको छ । रासस
अन्योलमै कोरोना परीक्षण केन्द्र
सुर्खेत । प्रदेश सरकारले छिञ्चुमा स्थापना गर्ने तयारी गरेको कोरोना परीक्षण केन्द्र स्थान विवादका कारण अन्योलमा परेको छ । भारतबाट फर्किएकाहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने उद्देश्यले भेरीगङ्गा नगरपालिकामा स्थापना गर्ने भनिएको परीक्षण केन्द्रको अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य नाका सुर्खेतका बबई र कुइने तथा सल्यानको कपुरकोटमध्ये पहिलो चरणमा बबई हुँदै छिञ्चु आउनेहरुका लागि परीक्षण केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो । हालसम्म बबईबाट भित्रिनेको ज्वरो मापन गरेर पठाउने गरिएको छ । पछिल्लो समय भारतले रेल सेवा सञ्चालन गरेपछि स्वदेश फर्किने नेपालीको सङ्ख्या बढेको छ । यसले गर्दा सीमानाकामा नेपालीको भीड लाग्ने गरेको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीले बबई, छिञ्चुलगायत सम्भावित स्थानको अवलोकन गरेको थियो । बबईमा जग्गाको अभाव भएकाले उक्त टोली छिञ्चुमा कोरोना परीक्षण केन्द्र स्थापना गर्ने टुङ्गोमा पुगेको थियो । छिञ्चुका मदानेचौर र शारदा माविमा स्थापना गरिने केन्द्रबाट स्वाब सङ्कलन गरी पिसिआर विधिबाट परीक्षण गर्ने सरकारको तयारी भए पनि भेरीगङ्गाले बजारको मुख्य केन्द्रमा कोरानो परीक्षण तथा भारतबाट भित्रिएकालाई व्यवस्थापन गर्नु उपयुक्त नहुने सुझाव दिएको थियो । सामाजिक विकासमन्त्री रावलले परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएकालाई मात्र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा क्वारेन्टिनमा पठाइने बताए । उनका अनुसार रिपोर्ट पोजिटिभ आएमा सीधै प्रदेश अस्पताल सुर्खेत लगिनेछ । बबईमा जग्गा नभएपछि आफूहरुले वैकल्पिकरूपमा छिञ्चुमा रहेको शारदा मावि र मदानेचौरलाई छनोट गर्ने जनाए । नगरपालिकाको विरोध कर्णाली सरकारले छिञ्चुमा कोरोना परीक्षण कक्ष बनाउने तयारी थालेसँगै नगरपालिकाले विरोध जनाएको छ । छिञ्चुबजारका बीचमा अवस्थित विद्यालय र मदानेचौर जङ्गलमा कक्ष बनाउने तयारीको नगरपालिकाले विरोध जनाएको हो । नगरपालिकाका उपप्रमुख रेणु आचार्यले बजारका बीचमा भारतबाट आएकाहरुलाई राखेर कोरोना परीक्षण गर्दा समुदायमा सङ्क्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरे । “बबई नदीको किनारामा चौर खनेर भए पनि कोरोना कक्ष बनाउनु उपयुक्त हुन्छ”, उनले भने, “आफूखुशी स्थानीय तहसँग समन्वय नगरी बजारभित्र भारतबाट आएकालाई राख्नु न्यायसङ्गत हुँदैन ।” प्रदेश सरकारले नगरपालिकासँग समन्वय नगरी एक्लै अघि बढ्न खोजेको उपप्रमुख आचार्यको आरोप छ । प्रदेश सरकारले भने क्वारेन्टिन नभई परीक्षण कक्ष स्थापना गर्न लागेकाले डराउनु नपर्ने बताएको छ । “रिपोर्ट आउन केही समय लाग्ने भएकाले बस्न असहज नहोस् भन्ने उद्देश्यले सहायता कक्ष बनाउन लागेका हौँ”, मन्त्री रावलले भने, “एक्कासि धेरै सङ्ख्यामा आउँदा बस्न र खानाको समस्या हुने हुँदा कम्तीमा १ सय टेन्ट राखेर कोरोना परीक्षणपछि मात्रै घर पठाउने सरकारको तयारी हो ।”