विकासन्युज

काठमाडौं महानगरले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्ने

काठमाडौं । काठमाडौं महानगरले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्ने रोगबाट जनस्वास्थ्यमा पर्ने क्षति कम गराउनका लागि कामपाले जन्मजात मुटु रोग परीक्षण गर्ने तयारी गरेको हो ।    विभागका प्रमुख दीपक केसीका अनुसार विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोगको परीक्षण (आरएचडी/सिएचडी स्क्रीनिङ) गराउने भएको छ ।  ४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुने प्रमुख केसीले जानकारी दिए । यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम (गो रेड फर वुमन) सञ्चालन गरिनेछ ।  कामपाको स्वास्थ्य विभागले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्न लागेको पनि जानकारी दिएको छ ।  ‘बालबालिकामा हुने यो समस्या समयमा पत्ता लगाउन सकियो भने सरल उपचार विधिबाट स्वस्थ्य जीवन बनाउन सकिन्छ । समय बितेपछि समस्या पत्ता लाग्यो भने महङ्गो उपचारले पारिवारिक अवस्थालाई खराब बनाउँछ । यसकारण हामीले बालबालिकाको मुटु बाथको परीक्षण कार्यक्रम गरेका हौं,’ स्वास्थ्य विभागका प्रमुख केसी भन्छन्, ‘यो परीक्षणबाट प्राप्त हुने तथ्याङ्कका आधारमा थप कार्यक्रम तर्जुमा गर्नेछौं ।’ कामपाले थालेको यो कामले धेरै परिवारमा प्रत्यक्ष लाभ हुनेछ । भविष्यका कर्णधारहरूको जीवन बचाउन कामपाले पुण्यको काम गरेको छ । प्रतिष्ठानका सभापति महेनमोहन श्रेष्ठको प्रतिक्रिया छ ।

बुटवलमा कर्जा सुरक्षण गोष्ठी सम्पन्न, नयाँ सफ्टवेयरबारे अभिमुखिकरण

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा कर्जा दाबीसम्बन्धी नयाँ सफ्टवेयरबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा चैत २४ गते बुटवलस्थित एक होटलमा आयोजित एकदिने कार्यशाला गोष्ठीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, इन्फिनिटी लघुवित्त, ग्रामीण लघुवित्त, जनउत्थान लघुवित्त लगायतका संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रमको उद्घाटन तथा सञ्चालन शाखा कार्यालय बुटवलका प्रमुख बसन्त के.सी.ले गरेका थिए भने स्वागत मन्तव्य नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेलले व्यक्त गरेकी थिइन् । गोष्ठीमा कोषले सञ्चालन गर्दै आएको कर्जा सुरक्षण कार्यक्रम तथा भावी योजनाबारे कर्जा विभागका प्रमुख प्रबन्धक विक्रान्त आचार्यले जानकारी दिएका थिए । त्यस्तै, कोषले नयाँ रूपमा लागू गर्न लागेको कर्जा सुरक्षणसम्बन्धी सफ्टवेयरबारे सूचना प्रविधि विभाग प्रमुख राजु के.सी.ले प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागी संस्थाका प्रतिनिधिहरूले विभिन्न जिज्ञासा राखेका थिए, जसको समाधान कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले गरेका थिए । कोषले बैंक तथा वित्तीय संस्थासँग निरन्तर संवाद गर्दै कर्जा सुरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने तथा बजारको आवश्यकता अनुसार सुधारका लागि सुझाव संकलन गर्ने उद्देश्यले यस आर्थिक वर्षभर देशभर यस्ता गोष्ठी सञ्चालन गर्ने जनाएको छ ।   

६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढे

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले घटेर २७५७ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  मंगलबार ३४५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्र पावरको भएको छ । न्यादीको २४ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिलाइन्स स्पिीनिङ मिल्सको २४ करोड २१ लाख, आँखु खोला जलविद्युतको २३ करोड ५७ लाख, एसवाई प्यानलको २३ करोड ४८ लाख र नेसनल हाइड्रोको २३ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।   मंगलबारको कारोबारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भुजुङ हाइड्रो, सुपर खुदि, स्वेत गंगा हाइड्रो, रिडिज लाइन इनर्जी र सूर्यकुन्ड हाइड्रोको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ ।   

नयाँ वर्षमा मनकामना हिलक्रेस्टको अफर : १६ हजारमा वान नाइट स्टे, यस्ता छन् अन्य सुविधा

काठमाडौं । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै मनकामना हिलक्रेस्ट रिसोर्टले ‘वान नाइट स्टे’ को नयाँ प्याकेज सार्वजनिक गरेको छ ।  रिर्सोटले प्रति जोडी  १५ हजार ९९९ रुपैयाँ (करसहित) मा ल्याइएको उक्त अफरमा बसाइँ, खानपान, मनोरञ्जनदेखि धार्मिक पर्यटनसम्म समेटिएको छ ।  रिर्सोटका अनुसार पहिलो दिन पर्यटकलाई स्वागतस्वरूप वेलकम ड्रिंक प्रदान गरिनेछ भने बसाइँ अवधिभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछ । मनोरञ्जनात्मक प्याकेज मनोरञ्जनात्मक प्याकेजअन्तर्गत बिङ्गो, राफेल ड्र, डिजे डान्स फ्लोरसहितको, लाइभ म्युजिक, विभिन्न खेलकुद गतिविधि तथा मगर कल्चरल कौरा सांस्कृतिक नृत्य जस्ता कार्यक्रम समावेश गरिएको छ । डिनर यो प्योकेजभित्र पाहुनाहरूका लागि एक ककटेल/मकटेल निःशुल्क उपलब्ध गराइनेछ । साथै बफेट डिनरको पनि व्यवस्था गरिएको छ । भोलिपल्ट बिहान अर्थात नयाँ वर्षको दिन ११ बजेसम्म फुल इंग्लिस वा कन्टिनेन्टल बफेट ब्रेकफास्टको सुविधा समेत प्याकेजमा समावेश गरिएको होटलले जनाएको छ। प्याकेजको अर्को आकर्षणका रूपमा मनकामना केवलकारको दुईतर्फी टिकट प्रदान गरिएको छ ।  नयाँ वर्षको दिन खानपानमा १० प्रतिशत छुट दिएको रिर्सोटले जनाएको छ । त्यस्तै, अर्ली बर्ड अफर तथा जिम, स्विमिङ पुल, साउना र स्टीमको सुविधा पनि उपलब्ध गराएको छ । रिसोर्टका अनुसार यही प्याकेजअन्तर्गत परिवारसहित बस्न आउँदा १० वर्षभन्दा मुनिका बच्चाका लागि प्रति बच्चा ३ हजार रुपैयाँ अतिरिक्त शुल्क लाग्नेछ । त्यस्तै, १० वर्षभन्दा माथिका एडल्टका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ शुल्क लाग्ने होटलले जनाएको छ ।  होटलले यो अफर सीमित समयका लागि लागू हुने जानकारी दिएको छ ।

चन्द्र ढकालका छोरा सचिन ढकालसहित अब्बल र बलियो बन्यो ज्योत्सना समूह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको सरगर्मी बढ्दै जाँदा एसोसिएट्सतर्फ ज्योत्सना श्रेष्ठको टिम बलियो बन्न पुगेको छ । प्रोक्सी वारमा चल्दै आएको महासंघको एसोसिएट्सतर्फको निर्वाचनमा उपाध्यक्षका उम्मेदवार ज्योत्सना समूहमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकालको प्रवेशसँगै समूह थप बलियो र सशक्त बन्न पुगेको हो । महासंघको निर्वाचनमा एसोसिएट्सतर्फ चन्द्र ढकालको वर्चस्व रहँदै आएको छ । आफू एसोसिएट्स उपाध्यक्ष हुँदा निर्वाचनअघि नै प्रोक्सी भोटको आधारमा सर्वसम्मत भएका चन्द्र ढकालका छोरा सचिन ढकाल ज्योत्सना श्रेष्ठ समूहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा चुनाव उठेसँगै चुनावी माहोल थप तातेको छ । उनको समूह थप सशक्त बनेको महासंघसम्बद्ध जानकारहरू बताउँछन् । ढकाल वरिष्ठ उपाध्यक्ष हुँदा पनि उनले सबैभन्दा बढी एसोसिएट्सतर्फकै मत पाएका थिए । आफूले सबै क्षेत्रलाई समावेश गरी टिम निर्माण गरेको र पूरा टिमको जित सुनिश्चित रहेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताइन् । अहिले पनि महासंघको एसोसिएट्सतर्फकै उपाध्यक्ष रहेकी श्रेष्ठले हालको कार्यकालमा व्यवसायीमैत्री नीति निर्माण तथा समूहगत सौदाबाजी जस्ता विषयमा आफूले धेरै काम गरेको र अझै नीतिगत पैरवी तथा व्यवसायीमैत्री वातावरण निर्माणका लागि काम गर्न बाँकी रहेकाले आफू पुनः सोही पदमा दोहोरिएको जानकारी दिइन् ।  ‘हामीले सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी एसोसिएट्सतर्फको सदस्य पदमा उम्मेदवारहरू छनोट गरेका छौँ,’ उनले भनिन्, ‘तसर्थ हाम्रो समूहलाई मतदान गरी जिताउन सम्पूर्ण मतदातामा हार्दिक अनुरोध गर्दछु ।’ उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, गोपाल खनाल, चन्द्र ढकाल, जमुना पौडेल, जश श्रेष्ठ, देशबन्धु बस्नेत (अजित), ई. विनोद ढकाल, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, शैलेन्द्र गुरागाईं, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, शोभा ज्ञवाली, सन्दीप अग्रवाल (माखरिया) चुनावी मैदानमा छन् ।    

नयाँ वर्षमा हायर ब्राण्डको अफर : फ्री गिफ्ट देखि बम्पर उपहार

काठमाडौं । नयाँ वर्षको अवसर पारेर हायरले आफ्ना फ्रिज, वासिङमेसिन, टीभी लगाएतका विभिन्न घरायसी उपकरणको खरिदमा आकर्षक अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले विभिन्न उत्पादन खरिद गर्दा फ्री गिफ्ट, क्यासब्याकका साथै बम्पर उपहार जित्ने मौका पाउनेछन् ।  कम्पनीका अनुसार रेफ्रिजेरेटर (फ्रिज) अन्तर्गत सिङ्गल डोर किन्दा माहाराजा ड्राइ आइरन, डबल डोर फ्रिज किन्दा महाराजा स्टिम आइरन र साइड वाइ साइड फ्रिजको खरिदमा हायर बाण्डकै ५० लिटरको फ्रिज उपहार स्वरुप उपलब्ध हुनेछ । त्यस्तै, वासिङ मेसिन खरिद गर्ने ग्राहकका लागि पनि विशेष उपहारको व्यवस्था गरिएको छ । सेमि–अटो वा टप लोड वासिङ मेसिन किन्दा महाराजा ड्राइ आइरन उपलब्ध हुनेछ भने फ्रन्ट लोड वासिङ मेसिन खरिद गर्दा माहाराजाको ५०० वाटको मिक्सर ग्रान्डर– नोभेलो उपहार स्वरुप प्राप्त हुनेछ । यसका साथै एयर कन्डिसनर (एसी) खरिद गर्दा ग्राहकले तीन हजार मूल्य बराबरको निशूल्क जडान सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै चेस्ट फ्रिजर र भीसी कुलर खरिद गर्ने ग्राहकले तोकिएको मूल्यमा २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । त्यस्तै, माइक्रोवेभ ओभन र एलइडी टीभी खरिद गर्दा तोकिएको बजार मूल्यमा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ। हायरले नयाँ वर्षको अफरलाई अझ रोचक बनाउन ‘बम्पर अफर’ पनि ल्याएको समावेश गरेको छ । यसअन्तर्गत साप्ताहिक ‘लक्की ड्र’ मार्फत विजेतालाई महाराजा मिक्स्चर ग्राइन्डर उपहार प्रदान गरिनेछ । त्यस्तै, ‘ग्राण्ड प्राइज’ अन्तर्गत भाग्यशाली विजेताले हायरको ६५ इन्चको एलइडी टीभी प्राप्त गर्ने कम्पनीले जनाएको छ ।  यसबाहेक ‘शेरय एण्ड विन’ अफरअन्तर्गत ग्राहकहरूले हायर सिंगल डोर फ्रिज जित्न सक्नेछन् । यसका लागि भने तपाईंले हायरको पोस्ट आफ्नो फेसबुक तथा इन्स्टाग्राममा शेयर गर्नुपर्नेहुन्छ । यो अफर चैत्र २३ गते अर्थात सोमबारबाट सुरु भएर सिमित अवधिका लागिमात्रै कायम हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, यो अफरले नयाँ वर्षमा ग्राहकलाई गुणस्तरीय उत्पादनसँगै थप लाभ प्रदान गर्नेछ । साथै यसले ग्राहकसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने अपेक्षा समेत कम्पनीको छ ।   

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित ३ जनाको राजीनामा स्वीकृत

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुईजना विज्ञ सदस्यको राजीनामा स्वीकृत भएको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।   अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा पेश गरेका थिए ।  सरकारले उनीहरूलाई २०८१ साल वैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेको थियो । कार्यकाल बाँकी रहँदै उनीहरूले राजीनामा दिएका हुन् ।

दादुराविरुद्ध बङ्गलादेशको आपतकालीन अभियान

काठमाडौं । एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी फैलिएको दादुरा प्रकोप नियन्त्रण गर्न बङ्गलादेशले देशव्यापी आपतकालीन खोप अभियान सुरु गरेको छ । तीव्र रूपमा बढ्दो सङ्क्रमणलाई नियन्त्रणमा लिन सरकारले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर उच्च जोखिम क्षेत्रबाट अभियान अघि बढाइरहेको छ ।      सरकारले विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र गाभी खोप गठबन्धनसँगको सहकार्यमा आइतबारदेखि १८ उच्च जोखिममा रहेका जिल्लाहरूमा छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन सुरु गरेको जनाएको छ । यो अभियान अर्को महिनादेखि चरणबद्ध रूपमा देशभर विस्तार गरिने योजना रहेको छ । युनिसेफका प्रतिनिधि राणा फ्लावर्सले सङ्क्रमण तीव्र गतिमा बढिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गरे । उनका अनुसार यो प्रकोपले विशेष गरी खोप नलगाइएका वा न्यून खोप लगाइएका बालबालिकामा रहेको प्रतिरक्षात्मक खाडल उजागर गरेको छ । साथै, नौ महिनाभन्दा कम उमेरका शिशुहरूमा सङ्क्रमण देखिनु झन् चिन्ताजनक भएको उनले बताए, किनकि उनीहरू नियमित खोपका लागि अझै योग्य हुँदैनन् ।      सरकारी तथ्याङ्कअनुसार करिब १७ करोड जनसङ्ख्या रहेको देशमा मार्च १५ यता सात हजार ५०० भन्दा बढी शङ्कास्पद सङ्क्रमित फेला परेका छन् । तीमध्ये ९०० भन्दा बढीमा दादुरा पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार दादुरा अत्यन्तै सङ्क्रामक वायुजन्य रोग हो, जसले ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या र शरीरमा विशेष प्रकारको बिमिरा ल्याउँछ । साना बालबालिकामा यसले गम्भीर जटिलता र मृत्यु समेत निम्त्याउन सक्छ ।      रोगको फैलावट रोक्न कम्तीमा ९५ प्रतिशत जनसङ्ख्यामा खोप कभरेज आवश्यक हुने बताइएको छ । तर बङ्गलादेशमा खोप पहुँचमा असमानता कायम रहँदा जोखिम अझै उच्च रहेको देखिएको छ ।      स्वास्थ्यमन्त्री सरदार मोहम्मद सखावत हुसेनले संसद्मा जवाफ दिँदै वर्तमान प्रकोप विगतका सरकारहरूको कमजोर व्यवस्थापनको परिणाम भएको बताए । उनका अनुसार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको नेतृत्वको अघिल्लो सरकार र त्यसपछिको अन्तरिम प्रशासनले खोप भण्डारण र आपूर्ति व्यवस्थापनमा आवश्यक निर्णय लिन नसक्दा दादुरासहित अन्य छ रोगका खोप अभाव सिर्जना भएको हो ।      हालैको राजनीतिक अस्थिरताले पनि खोप अभियानमा अवरोध पुर्‍याएको थियो । सन् २०२४ मा भएको जनविद्रोहपछि शेख हसिना सत्ताच्युत हुनुभएको थियो भने त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । उक्त सरकारले फेब्रुअरीमा सम्पन्न निर्वाचनपछि सत्ता निर्वाचित सरकारलाई हस्तान्तरण गरेको थियो ।     स्वास्थ्य अधिकारीहरूले अभिभावकलाई बालबालिकामा दादुराको लक्षण देखिए तत्काल अस्पताल लैजान आग्रह गरेका छन् । ढाकास्थित सङ्क्रामक रोग अस्पतालकी उपनिर्देशक एफए आसमा खानले उच्च ज्वरो देखिएमा औषधि पसलबाट आफूखुसी औषधि नलिन सुझाव दिँदै समयमै अस्पताल पुर्‍याउन आग्रह गरे । उनका अनुसार अस्पतालमा उपलब्ध चिकित्सकीय सेवाले उचित उपचार सुनिश्चित गर्न सक्छ ।      बङ्गलादेशले सन् १९७९ देखि खोप अभियान सञ्चालन गर्दै आएको छ, जसले खोप कभरेज दुई प्रतिशतबाट बढेर ८१६ प्रतिशत पुर्‍याउन सफल भएको छ । तर युनिसेफले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा देशले प्रगति गरे पनि खोप पहुँचमा गहिरो असमानता अझै कायम रहेको चेतावनी दिएको थियो । रासस