विकासन्युज

छिटो सेवा दिलाउने बहानामा रकम असुल्ने ३३ बिचौलिया समातिए

काठमाडौं । मधेस प्रदेशमा ३३ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी कार्यालयहरूमा सक्रिय रहेको बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मधेस प्रहरी कार्यालयबाट आज जारी विज्ञप्तिमा पर्साको वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयबाट चार जना, मालपोत कार्यालयबाट तीन जना, रौतहटको गौरस्थित मालपोत कार्यालयबाट पाँच जना, चन्द्रपुर मालपोत कार्यालयबाट दुई जना, सर्लाहीको मलङ्गवा ट्रायल सेन्टरबाट दुई जना, मलङ्गवा मालपोत कार्यालयबाट नौ जना, धनुषाका विभिन्न सरकारी कार्यालयबाट चार जना र सप्तरीका विभिन्न कार्यालयबाट चार जना गरी कुल ३३ जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ । पक्राउ पर्ने व्यक्तिहरूले सर्वसाधारणलाई छिटो सेवा दिलाइदिने बहानामा अतिरिक्त रकम असुल्ने, गलत सूचना दिने तथा सेवा प्रवाहमा अनियमितता ल्याउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अन्य संलग्न व्यक्तिहरूको खोजी तथा नियन्त्रण प्रक्रिया जारी राखेको जनाएको छ । आम नागरिकलाई सरकारी सेवा लिँदा कुनै पनि बिचौलियाको प्रलोभनमा नपर्न आग्रह गर्दै यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन अपिल गरेको छ । कार्यालयले यस्ता गैरकानुनी कार्यमा संलग्न जो कोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सहायक प्रवक्ता मानबहादुर राईले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्भावित नयाँ रोगको सामना गर्न सरकार एकीकृत रूपमा अगाडि बढिरहेको छ: स्वास्थ्यमन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको सामना गर्न सरकार एकीकृत रूपमा अगाडि बढिरहेको बताएकी छन् । विश्व स्वास्थ्य दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले सरकार जलवायु परिवर्तनका चुनौती र नयाँ-नयाँ रोगहरूको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेको बताएकी हुन् ।  मन्त्री मेहताले मानिस र पशुपन्छीको स्वास्थ्य वातावरणसँग अभिन्न रूपमा जोडिएको उल्लेख गर्दै प्रकृति सुरक्षित र पशुपन्छी स्वस्थ नरहेसम्म मानिस पनि पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताइन् । उनले सबै प्राणी जगत् र पर्यावरणको रक्षा गर्नु नै स्वास्थ्यको वास्तविक मर्म रहेको उल्लेख गरिन् ।  ‘सरकारले राष्ट्रिय एक स्वास्थ्य रणनीतिमार्फत स्वास्थ्य, पशु र वातावरण क्षेत्रबीचको सहकार्यलाई स्थानीय तहसम्म सुदृढ बनाउँदै लगेको छ’, मन्त्री मेहताले भनिन् ‘त्यसैले यो सबै कुरालाई मध्यनजर गरी सरसफाइलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाऔँ, स्वस्थकर जीवनशैली अपनाउन लागौँ ।’ उनले  विज्ञानमा विश्वास गर्न, खोप लगाउन र नियमित स्वास्थ्य जाँच गराउन तथा चिकित्सकको सल्लाहअनुसार मात्र औषधिको प्रयोग गर्न पनि सबैमा आग्रह गरिन् । आज विश्व स्वास्थ्य दिवस ‘मानव, पशुपन्छी र पर्यावरणको हितस विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने नाराका साथ मनाइएको छ ।  

ललितपुरमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३-००१ ख ८०६८ नम्बरको ट्रकले एएए ३५४२ नम्बरको मोटरसाइकललाई (मंगलबार) आज दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुर महानगरपालिका-२ सानेपा बस्ने सुनसरी घर भएका ६५ वर्षीय विदुर गुरुङ र मोटरसाइकलमा सवार उनकै आमा ८५ वर्षीया धनमाया गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ । ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।  

डेपुटी गभर्नर किरण पण्डितले लिए सपथ, दुई दशकको अनुभव

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  मंगलबार आयोजित एक कार्यक्रमका बीच गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ ग्रहण गरेका हुन् ।  शपथ लगत्तै पण्डितले आजै बैंकमा आफ्नो कार्यभार समेत सम्हालेका हुन् ।  नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गतेको निर्णयअनुसार पण्डित डेपुटी गभर्नर पदमा नियुक्त भएका हुन् ।  शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर पण्डितलाई बधाई दिँदै बैंकको गरिमा र जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वासका साथ सफल कार्यकालको शुभकामना व्यक्त गरे ।  डेपुटी गभर्नर पण्डितको नेपाल राष्ट्र बैंकमा दुई दशक लामो व्यावसायिक अनुभव रहेको छ । २०६२ माघ २ गते (सहायक निर्देशकको रूपमा) राष्ट्र बैंकमा प्रवेश गरेका उनी २०६८ मा उप–निर्देशक, २०७४ मा निर्देशक र २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए ।  कार्यकारी निर्देशकको भूमिकामा रहँदा पण्डितले बैंकका महत्त्वपूर्ण विभागहरूको नेतृत्व सम्हालिसकेका छन् । उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको सफल नेतृत्व गर्नुका साथै बैंकको प्रवक्ताको जिम्मेवारी समेत कुशलतापूर्वक निभाएका छन् । अनुभवी र दक्ष कर्मचारीको रूपमा चिनिने पण्डितको नियुक्तिले राष्ट्र बैंकको नीतिगत र व्यवस्थापकीय कार्यमा थप उचाइ पुग्ने अपेक्षा गरिएको छ । 

भदौयता लेक लागेर ४ विदेशीसहित ७ पर्यटकको मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक लागेर चार विदेशी नागरिकसहित सात जनाको मृत्यु भएको छ ।  चालु आर्थिक वर्षको गत भदौ २२ देखि यही चैत २० गतेसम्म यहाँ भ्रमणमा आएका पर्यटकमध्ये छ पुरुषसहित एक महिला पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतका अनुसार मृत्यु हुनेमा भारतका तीन पुरुष र मेक्सिकोका एक गरी चार पर्यटक रहेका छन् । यसरी मृत्यु हुनेमा ४१ वष उमेर समूहदेखि ७५ वर्ष उमेर समूहका  रहेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आवको २२ भदौमा मुक्तिनाथमा लेक लागेर वेलगार्व, उदारखुर्द, कर्नाटक  भारतका ७१ वर्षीय आन्नद माधवाराओ देशपाण्डेको मृत्यु भएको थियो ।  गत असोज २४ गते महालक्ष्मी नगरपालिका–४ इमाडोल ललितपुरका ७५ वर्षीय माधवप्रसाद शर्मा उप्रेतीको घरपझोङ–४ जोमसोममा लेक लागेर मृत्यु भएको थियो ।  यसैगरी कात्तिक ९ गते सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ घर भएका ५० वर्षीय जगतबहादुर तिमिल्सिनाको घरपझोङ–२ मार्फामा लेक लागेर मृत्यु भएको प्रहरी निरीक्षक महतले जानकारी दिए । यस्तै, कात्तिक २२ गते ६१ वर्षीय भारतीय पर्यटकको घरपझोङ–३ स्थित एक होटलमा, पुस १२ गते ७४ वर्षीय भारतीय पर्यटक चन्द्रकान्त श्रपत तम्बोकरको मुक्तिनाथ रानीपौवामा लेक लागेर मृत्यु भएको थियो  ।  यसैगरी, यही चैत १७ गते मेक्सिकोका ६७ वर्षीय फेडेरिको लोपेज क्याम्बाको थासाङ गाउँपालिका–१ टुकुचेस्थित पक्की पुल नजिक लेक लागेर मृत्यु भएको थियो भने चैत २० गते ठोरी गाउँपालिका–४ पर्साकी ४१ वर्षीय सरिता बुढाथोकीको  मुक्तिनाथ मन्दिरमा लेक लागेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको आयोजनामा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न, वैशाखमा प्रशिक्षक तालिम हुने

काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको संयुक्त सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न भएको छ । शनिबार अर्थात् चैत्र २२ गते आयोजित उक्त कार्यक्रममा स्वास्थ्य र फिटनेसप्रति चासो राख्नेहरूको उल्लेख्य सहभागिता रहेको थियो ।  रोयाल ट्यूलिप काठमाडौं हस्पिट्यालिटी पार्टनर रहेको उक्त उत्सवमा देशभरका करिब ४०० फिटनेसप्रेमी र लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकहरू एकै ठाउँमा भेला भएका थिए । बिहान ८ बजेदेखि सुरु भएको फेष्टमा सहभागीहरूले जुम्बा नृत्यका साथै शरीरलाई स्फूर्त राख्ने ‘डिटक्स’ र तनाव कम गर्ने ‘डिस्ट्रेस’ गतिविधिहरूमा भाग लिएका थिए । कार्यक्रमले सहभागीहरूलाई दैनिक जीवनमा सक्रिय र स्वस्थ जीवनशैली अपनाउन ऊर्जा प्रदान गरेको थियो ।  कार्यक्रममा बोल्दै ट्रान्क्यूलिटी स्पाका प्रमुख मानव संसाधन तथा वित्त अधिकृत एवं जिन नेपालकी सक्रिय सदस्य निशा श्रेष्ठले भनिन्, ‘यस्ता कार्यक्रमहरूले मानिसलाई स्वस्थ र सक्रिय रहन प्रेरित गर्दछ। फिटनेस समुदायसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । ’ फेष्टको सफलतासँगै आगामी वैशाख १८ गते (शुक्रबार) द सोल्टी काठमाडौंस्थित ट्रान्क्यूलिटी स्पामा ‘जुम्बा प्रशिक्षक तालिम’ आयोजना गरिने भएको छ । यो तालिमले नयाँ प्रशिक्षकहरू उत्पादन गर्न र फिटनेस क्षेत्रमा व्यावसायिकता विकास गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ । जिन नेपालले हाल देशभर ५० भन्दा बढी लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकहरूलाई एउटै संजालमा जोड्दै फिटनेस समुदाय विस्तारमा सक्रिय भूमिका खेलिरहेको छ । आगामी दिनहरूमा पनि ट्रान्क्यूलिटी स्पा र जिन नेपालबीच वेलनेस संस्कृति प्रवद्र्धनका लागि निरन्तर सहकार्य हुने बताइएको छ ।

४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोगमा सरकारको प्रतिबन्ध

काठमाडौं । सरकारले वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोलाको प्रयोगमा कडाइ गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै यस्ता झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नगर्न निर्देशन दिएको हो ।  चालु आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नं. ११८ मा उल्लेख भएअनुसार संवत् २०८२ मंसिर १ गते देखि नै देशभर ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा पूर्ण प्रतिबन्ध लगाइएको थियो । मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको निर्णयबाट स्वीकृत प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभागले यो कदम चालेको हो ।  विभागको जारी सूचनामा भनिएको छ ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोलाको आयात, उत्पादन, बिक्री वितरण र दैनिक कामकाजका क्रममा प्रयोग नगर्नु/नगराउनुहुन सम्बन्धित सबैलाई यसै सूचना मार्फत पुनः अनुरोध गरिन्छ ।’ पातलो प्लाष्टिक नष्ट हुन सयौं वर्ष लाग्ने र यसले माटो तथा जलस्रोतमा गम्भीर असर पुर्‍याउने हुनाले, सहरको ढल निकासमा अवरोध पुर्‍याउने र फोहोर व्यवस्थापनमा चुनौती थप्ने भएकाले तथा सरकारको नीति र बजेट वक्तव्यमा गरिएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउन प्रतिबन्ध गरेको जनाएको छ ।  विभागले अनुगमनका क्रममा प्रतिबन्धित प्लाष्टिक प्रयोग गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिनेसमेत संकेत गरेको छ । सर्वसाधारण र व्यवसायी दुवैलाई वातावरणमैत्री विकल्पहरू प्रयोग गर्न विभागले प्रोत्साहन गरेको छ ।

‘ज्ञान मसला’को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना के एल दुगर ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’ ले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।  कम्पनीले एक कार्यक्रमका बीच खड्कालाई ब्रान्डको नयाँ अनुहारको रूपमा सार्वजनिक गरेको हो । यस साझेदारीमार्फत कम्पनीले आफ्नो ब्रान्ड पहिचानलाई थप ऊर्जावान् बनाउने र विशेषगरी नयाँ पुस्ताका उपभोक्ताहरूसँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ । सन् १९८९ मा स्थापना भएको के एल दुगर ग्रुपले तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास आर्जन गर्दै आएको छ । कम्पनीका अनुसार ज्ञान ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थापित गरेको छ । ज्ञान मसलासँग जोडिन पाउँदा अभिनेत्री स्वस्तिमा खड्काले पनि खुसी व्यक्त गरेकी छन् । उनले लामो समयदेखि आफ्नो घरमा समेत प्रयोग हुँदै आएको ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तामाझ पुर्‍याउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाइन् । उपभोक्ताको बदलिँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले हाल १४ विभिन्न प्रकारका मसलाहरू बजारमा उपलब्ध गराएको छ । बजारको मागअनुसार गुणस्तर र सान्दर्भिकता कायम राख्दै नयाँ उत्पादनहरू पनि थप्दै जाने कम्पनीको योजना छ ।