भदौयता लेक लागेर ४ विदेशीसहित ७ पर्यटकको मृत्यु
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक लागेर चार विदेशी नागरिकसहित सात जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको गत भदौ २२ देखि यही चैत २० गतेसम्म यहाँ भ्रमणमा आएका पर्यटकमध्ये छ पुरुषसहित एक महिला पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतका अनुसार मृत्यु हुनेमा भारतका तीन पुरुष र मेक्सिकोका एक गरी चार पर्यटक रहेका छन् । यसरी मृत्यु हुनेमा ४१ वष उमेर समूहदेखि ७५ वर्ष उमेर समूहका रहेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आवको २२ भदौमा मुक्तिनाथमा लेक लागेर वेलगार्व, उदारखुर्द, कर्नाटक भारतका ७१ वर्षीय आन्नद माधवाराओ देशपाण्डेको मृत्यु भएको थियो । गत असोज २४ गते महालक्ष्मी नगरपालिका–४ इमाडोल ललितपुरका ७५ वर्षीय माधवप्रसाद शर्मा उप्रेतीको घरपझोङ–४ जोमसोममा लेक लागेर मृत्यु भएको थियो । यसैगरी कात्तिक ९ गते सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ घर भएका ५० वर्षीय जगतबहादुर तिमिल्सिनाको घरपझोङ–२ मार्फामा लेक लागेर मृत्यु भएको प्रहरी निरीक्षक महतले जानकारी दिए । यस्तै, कात्तिक २२ गते ६१ वर्षीय भारतीय पर्यटकको घरपझोङ–३ स्थित एक होटलमा, पुस १२ गते ७४ वर्षीय भारतीय पर्यटक चन्द्रकान्त श्रपत तम्बोकरको मुक्तिनाथ रानीपौवामा लेक लागेर मृत्यु भएको थियो । यसैगरी, यही चैत १७ गते मेक्सिकोका ६७ वर्षीय फेडेरिको लोपेज क्याम्बाको थासाङ गाउँपालिका–१ टुकुचेस्थित पक्की पुल नजिक लेक लागेर मृत्यु भएको थियो भने चैत २० गते ठोरी गाउँपालिका–४ पर्साकी ४१ वर्षीय सरिता बुढाथोकीको मुक्तिनाथ मन्दिरमा लेक लागेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
ट्रान्क्यूलिटी स्पा र जिन नेपालको आयोजनामा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न, वैशाखमा प्रशिक्षक तालिम हुने
काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको संयुक्त सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न भएको छ । शनिबार अर्थात् चैत्र २२ गते आयोजित उक्त कार्यक्रममा स्वास्थ्य र फिटनेसप्रति चासो राख्नेहरूको उल्लेख्य सहभागिता रहेको थियो । रोयाल ट्यूलिप काठमाडौं हस्पिट्यालिटी पार्टनर रहेको उक्त उत्सवमा देशभरका करिब ४०० फिटनेसप्रेमी र लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकहरू एकै ठाउँमा भेला भएका थिए । बिहान ८ बजेदेखि सुरु भएको फेष्टमा सहभागीहरूले जुम्बा नृत्यका साथै शरीरलाई स्फूर्त राख्ने ‘डिटक्स’ र तनाव कम गर्ने ‘डिस्ट्रेस’ गतिविधिहरूमा भाग लिएका थिए । कार्यक्रमले सहभागीहरूलाई दैनिक जीवनमा सक्रिय र स्वस्थ जीवनशैली अपनाउन ऊर्जा प्रदान गरेको थियो । कार्यक्रममा बोल्दै ट्रान्क्यूलिटी स्पाका प्रमुख मानव संसाधन तथा वित्त अधिकृत एवं जिन नेपालकी सक्रिय सदस्य निशा श्रेष्ठले भनिन्, ‘यस्ता कार्यक्रमहरूले मानिसलाई स्वस्थ र सक्रिय रहन प्रेरित गर्दछ। फिटनेस समुदायसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । ’ फेष्टको सफलतासँगै आगामी वैशाख १८ गते (शुक्रबार) द सोल्टी काठमाडौंस्थित ट्रान्क्यूलिटी स्पामा ‘जुम्बा प्रशिक्षक तालिम’ आयोजना गरिने भएको छ । यो तालिमले नयाँ प्रशिक्षकहरू उत्पादन गर्न र फिटनेस क्षेत्रमा व्यावसायिकता विकास गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ । जिन नेपालले हाल देशभर ५० भन्दा बढी लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकहरूलाई एउटै संजालमा जोड्दै फिटनेस समुदाय विस्तारमा सक्रिय भूमिका खेलिरहेको छ । आगामी दिनहरूमा पनि ट्रान्क्यूलिटी स्पा र जिन नेपालबीच वेलनेस संस्कृति प्रवद्र्धनका लागि निरन्तर सहकार्य हुने बताइएको छ ।
४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोगमा सरकारको प्रतिबन्ध
काठमाडौं । सरकारले वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोलाको प्रयोगमा कडाइ गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै यस्ता झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नगर्न निर्देशन दिएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नं. ११८ मा उल्लेख भएअनुसार संवत् २०८२ मंसिर १ गते देखि नै देशभर ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा पूर्ण प्रतिबन्ध लगाइएको थियो । मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको निर्णयबाट स्वीकृत प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभागले यो कदम चालेको हो । विभागको जारी सूचनामा भनिएको छ ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोलाको आयात, उत्पादन, बिक्री वितरण र दैनिक कामकाजका क्रममा प्रयोग नगर्नु/नगराउनुहुन सम्बन्धित सबैलाई यसै सूचना मार्फत पुनः अनुरोध गरिन्छ ।’ पातलो प्लाष्टिक नष्ट हुन सयौं वर्ष लाग्ने र यसले माटो तथा जलस्रोतमा गम्भीर असर पुर्याउने हुनाले, सहरको ढल निकासमा अवरोध पुर्याउने र फोहोर व्यवस्थापनमा चुनौती थप्ने भएकाले तथा सरकारको नीति र बजेट वक्तव्यमा गरिएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउन प्रतिबन्ध गरेको जनाएको छ । विभागले अनुगमनका क्रममा प्रतिबन्धित प्लाष्टिक प्रयोग गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिनेसमेत संकेत गरेको छ । सर्वसाधारण र व्यवसायी दुवैलाई वातावरणमैत्री विकल्पहरू प्रयोग गर्न विभागले प्रोत्साहन गरेको छ ।
‘ज्ञान मसला’को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना के एल दुगर ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’ ले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच खड्कालाई ब्रान्डको नयाँ अनुहारको रूपमा सार्वजनिक गरेको हो । यस साझेदारीमार्फत कम्पनीले आफ्नो ब्रान्ड पहिचानलाई थप ऊर्जावान् बनाउने र विशेषगरी नयाँ पुस्ताका उपभोक्ताहरूसँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ । सन् १९८९ मा स्थापना भएको के एल दुगर ग्रुपले तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास आर्जन गर्दै आएको छ । कम्पनीका अनुसार ज्ञान ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थापित गरेको छ । ज्ञान मसलासँग जोडिन पाउँदा अभिनेत्री स्वस्तिमा खड्काले पनि खुसी व्यक्त गरेकी छन् । उनले लामो समयदेखि आफ्नो घरमा समेत प्रयोग हुँदै आएको ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तामाझ पुर्याउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाइन् । उपभोक्ताको बदलिँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले हाल १४ विभिन्न प्रकारका मसलाहरू बजारमा उपलब्ध गराएको छ । बजारको मागअनुसार गुणस्तर र सान्दर्भिकता कायम राख्दै नयाँ उत्पादनहरू पनि थप्दै जाने कम्पनीको योजना छ ।
३० वर्ष पुरानो टाइम फर्मास्युटिकल्सले सर्वसाधारणका लागि सेयर जारी गर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र टाइम फर्मास्युटिकल्सबीच बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासनका लागि शिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको कम्पनीले धितोपत्र दर्ता तथा निष्कासन नियमावली र बुक बिल्डिङ निर्देशिका, २०७७ को प्रावधानअनुसार बोलपत्र दर्ता, खोल्ने र निर्णय गर्ने प्रक्रियामा नेप्सेको सहजीकरण प्राप्त गर्ने गरी यो सम्झौता गरेको हो । सम्झौता पत्रमा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईं र टाइम फर्मास्युटिकल्सका तर्फबाट प्रबन्ध सञ्चालक सुदर्शनलाल श्रेष्ठले हस्ताक्षर गरे । उक्त अवसरमा कम्पनी सचिव अधिवक्ता सुदिप घिमिरे र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टको तर्फबाट मनोहर कडेलको समेत उपस्थिति रहेको थियो । कम्पनीले १० करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको कुल १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ विधिमार्फत बोलकबोल गरिनेछ भने बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ । यस सेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पुँजी ५३ करोड रुपैयाँ पुग्नेछ । ३० वर्षदेखि औषधि उत्पादनमा सक्रिय यो कम्पनी डब्ल्यूएचओ(जीएमपी प्रमाणित उद्योग हो, जसले हाल २०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै ३०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ । नवलपरासीको उत्पादन प्लान्ट र ललितपुरको सातदोबाटोस्थित मार्केटिङ कार्यालय मार्फत कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ।
इनड्राइभले चालकहरूका लागि २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग गर्ने
काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा बढ्दो इन्धन मूल्य र महँगीको प्रभावलाई मध्यनजर गर्दै ड्राइभर पार्टनरहरूलाई सहयोग गर्न २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग गर्ने घोषणा गरेको छ । यस पहलमार्फत कम्पनीले चालकहरूको आर्थिक दबाब कम गर्दै उनीहरूको आम्दानीलाई स्थिर राख्न सहयोग गर्ने लक्ष्य राखेको छ । नेपालमा राइड–हेलिङ सेवाको विस्तारसँगै हजारौं चालकहरूका लागि यो महत्वपूर्ण रोजगारीको स्रोत बनेको छ । साथै, यात्रुहरूले पनि सहज र किफायती यातायात सेवा उपभोग गर्दै आएका छन् । तर पछिल्लो समय इन्धन मूल्यमा भएको निरन्तर वृद्धिले चालकहरूको सञ्चालन खर्च बढाएको छ, जसले उनीहरूको दैनिक आम्दानीमा प्रत्यक्ष असर पुर्याएको छ । अर्कोतर्फ, यात्रुहरू पनि भाडा वृद्धि प्रति संवेदनशील रहेको अवस्थामा बजारमा सन्तुलन कायम राख्नु चुनौतीपूर्ण बन्दै गएको छ । यही दोहोरो चुनौतीलाई सम्बोधन गर्न इनड्राइभले चालकहरूको दिगोपन र यात्रुहरूको किफायती सेवाबीच सन्तुलन कायम गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले चालक समुदायबाट उठिरहेका चासो र गुनासाहरूलाई गम्भीरतापूर्वक लिँदै, यातायात क्षेत्रका संरचनात्मक समस्याहरू समाधान गर्न भइरहेको पहलहरूलाई पनि समर्थन गरेको जनाएको छ । चालकहरूका लागि इन्धन सहयोग पहल बढ्दो सञ्चालन लागतलाई ध्यानमा राख्दै इनड्राइभले २०२६ अप्रिल १५ (वैशाख २, २०८३) देखि लागू हुने गरी रु २२ लाखको इन्धन सहयोग कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । यो कार्यक्रममार्फत इन्धन मूल्य वृद्धिबाट प्रभावित चालकहरूको आर्थिक भार कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । यस पहलले चालकहरूको आम्दानीमा आएको दबाबलाई न्यूनीकरण गर्नुका साथै यात्रुहरूमा थप आर्थिक भार नपार्दै सेवा निरन्तरता कायम राख्न सहयोग गर्ने लक्ष्य राखेको छ । यसले बजारअनुकूल र व्यवहारिक समाधानमार्फत चालकहरूको दिगोपन सुदृढ गर्ने तथा किफायती यातायात सेवा निरन्तर उपलब्ध गराउने इनड्राइभको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ । चालक आम्दानी र लचिलोपन सुदृढ गर्ने प्रयास इन्धन सहयोग पहलसँगै इनड्राइभले चालकहरूको आम्दानी वृद्धि र कार्यगत लचिलोपनलाई थप मजबुत बनाउन विभिन्न उपायहरू कार्यान्वयन गर्दै आएको छ । तीमध्ये प्रमुख पहलहरू यसप्रकार छन् : केही चयन गरिएका राइडहरूमा कम सेवा शुल्क लागू गरिएको । प्लेटफर्ममा सक्रिय सहभागिता बढाउन कार्यसम्पादनमा आधारित प्रोत्साहन तथा पुरस्कार व्यवस्था र चालकहरूको कमाइ क्षमता बढाउने विभिन्न अभियान र इन्सेन्टिभ कार्यक्रमहरू । विश्वव्यापी रूपमा इनड्राइभले राइड–हेलिङ उद्योगमै सबैभन्दा न्यून सेवा शुल्क संरचना मध्ये एक कायम राख्दै आएको छ, जसले यसको 'ड्राइभर फस्र्ट' दृष्टिकोणलाई झल्काउँछ । साथै, इनड्राइभको पियर–टु–पियर मोडेलले यात्रु र चालकलाई भाडा प्रत्यक्ष रूपमा तय गर्न सक्ने सुविधा प्रदान गर्दछ । यसले वास्तविक समयको बजार अवस्था र सञ्चालन खर्चलाई ध्यानमा राख्दै न्यायोचित भाडा निर्धारण गर्न सहयोग र्पुयाउँछ । सन्तुलित र दिगो मोबिलिटी प्रणालीप्रति प्रतिबद्धता इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, 'बढ्दो इन्धन लागतले हाम्रा ड्राइभर पार्टनरहरूको दैनिक आम्दानीमा प्रत्यक्ष प्रभाव पारेको छ । यस्तो अवस्थामा प्लेटफर्महरूको जिम्मेवारी भनेको तत्काल राहत दिने मात्र होइन, दीर्घकालीन रूपमा चालक र यात्रु दुवैका लागि न्यायोचित र सन्तुलित प्रणाली निर्माण गर्नु हो ।' 'हाम्रो प्लेटफर्मको मूल आधार नै न्याय हो । चालकलाई सशक्त बनाउँदै सेवा सबैका लागि पहुँचयोग्य राख्नु हाम्रो प्राथमिकता हो, जसले दिगो र सन्तुलित मोबिलिटी इकोसिस्टम निर्माणमा योगदान पुर्याउँछ ।' नेपालको मोबिलिटी क्षेत्र तीव्र रूपमा विकास भइरहेको सन्दर्भमा इनड्राइभले चालक समुदाय, साझेदारहरू तथा अन्य सरोकारवालाहरूसँग सहकार्य गर्दै चुनौतीहरूको समाधान खोज्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ । कम्पनीले बजार अवस्थाको निरन्तर अनुगमन गर्दै आवश्यकता अनुसार आफ्ना कार्यक्रमहरूलाई थप परिमार्जन गर्दै लैजाने जनाएको छ ।
सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजबीच सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत बैंकका ग्राहकहरूले विभिन्न स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । सम्झौताअनुसार जमलस्थित नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा ग्राहकहरूले ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । सिद्धार्थ बैंकले यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जाने प्रवृत्ति बढाउने विश्वास लिएको छ ।
पूर्वपत्नीको जाहेरीले जीपी तिमिल्सिना पक्राउ
काठमाडौं । सञ्चारकर्मी जीपी तिमिल्सिना पक्राउ परेका छन् । पूर्वपत्नीसमेत रहेकी पूर्वमिस नेपाल उषा खड्गीले जाहेरी दिएपछि जीपी पक्राउ परेका हुन् । परिसरका डीएसपी प्रकाश जबेगुले जीपीले मंगलबार पक्राउ परेको जानकारी दिए । ‘हामीले तिमिल्सिनालाई पक्राउ गरेका छौं,’ उनले भने । उषा खड्गीले तिमिल्सिनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जाहेरी दिएकी थिइन् । केही दिनअघि खड्गीले सामाजिक सञ्जालमार्फत पूर्वपतिविरुद्ध अभद्र व्यवहार गरेको उल्लेख गरेकी थिइन् ।