विकासन्युज

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने सम्भावना रहेको छ । ती प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानका साथै मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।  आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी तथा हिमाली भागका धेरै तथा तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्ता लगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

शैक्षिक सत्र २०८३ का लागि म्याग्दीमा भित्रियो पाठ्यपुस्तक, विद्यालयमा वितरण सुरु

काठमाडौं ।  आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई वितरण गरिने पाठ्यपुस्तक जिल्लामा भित्रिएको छ । पुस्तक व्यवसायीहरूले शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्र्याएर विद्यालयहरूलाई वितरण गर्न थालेका हुन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ म्याग्दीका अध्यक्ष नारायण शर्माले पोखरास्थित जनक शिक्षा सामग्री केन्द्रबाट आवश्यक पुस्तक खरिद गरी बेनी ल्याइसकेको जानकारी दिए ।  ‘विगत १० वर्षदेखि म्याग्दीका पुस्तक व्यवसायीहरूले बेनीमा सामूहिक रूपमा बिक्री कक्ष स्थापना गरेर विद्यालयमा पुस्तक पु¥याउन गरेको अभ्यासलाई यसपालि पनि निरन्तरता दिएका छौं,” उनले भने,, “नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुनुअघि नै यही महिनाभित्र सबै विद्यालयमा पुस्तक पु¥याउने लक्ष्यसहित बिक्री कक्ष सञ्चालन गरेका छौं ।’   भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका विद्यालयहरूलाई प्राथमिकता दिएर जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङ्कअनुसार पुस्तक प्याकिङ गरेर पालिकाको केन्द्रमा रहेका पुस्तक पसलसम्म ढुवानीको व्यवस्था मिलाएको पनि शर्माले बताए । आजदेखि पुस्तक विद्यालयमा पठाउन सुरु गर्ने उनले बताए ।  महासंघमा आबद्ध २८ जना पुस्तक व्यवसायीहरूले संयुक्त रूपमा बिक्री कक्ष सञ्चालन गरेका हुन् । महासङ्घमा आबद्ध नभएका पुस्तक व्यवसायी भीमबहादुर श्रेष्ठले पनि माग अनुसारका पुस्तक भित्र्याएर वितरण गर्न थालिसकेको बताए ।    म्याग्दीका सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्म १७ हजार ३३६ सेट पुस्तक आवश्यक पर्छ । निजी विद्यालयहरूमा करिब छ हजार विद्यार्थी छन् । बालकक्षामा एक हजार ९०६, कक्षा १ मा एक हजार ४६४, कक्षा २ मा एक हजार ३४५, कक्षा ३ को एक हजार ४०२ र कक्षा ४ को एक हजार ४६६ जना विद्यार्थीलाई लक्षित गरेर पुस्तक ल्याएको महासंघका सचिव धु्रवराज सुवेदीले बताए ।  कक्षा ५ मा एक हजार ५२७, कक्षा छ मा एक हजार ६१०, कक्षा ७ मा एक हजार ६०१, कक्षा ८ मा एक हजार ७०६, कक्षा ९ मा एक हजार ७३२ र कक्षा १० मा एक हजार ४९७ विद्यार्थी रहेका छन् । उक्त सङ्ख्याका विद्यार्थीका लागि यस वर्ष १३ हजार २४५ थान पुस्तक म्याग्दी आइपुगेका छन् । गत वर्षको मौज्दात रहेको पुस्तक पनि रहेकाले अभाव नहुने सचिव सुवेदीले बताए । 

इन्धन आपूर्तिको असहजताले वैशाख १५ देखि शैक्षिकसत्र, अब एकपटक भर्ना भएपछि पटक-पटक शुल्क लिन नपाइने

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र मापदण्ड विपरीतको भर्ना शुल्क फिर्ता गराउन संघीय सरकारले स्थानीय सरकारलाई पत्राचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्राचार गरी निजी (संस्थागत) विद्यालयहरूमा लिइँदै आएको कानुनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन यही चैत २२ गतेको शिक्षा मन्त्रालयको निर्देशन कार्यान्वयन र अनुगमनका लागि आग्रह गरेको हो । इन्धन आपूर्तिको असहजताका कारण वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र सञ्चालन गर्न सोही दिनको नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । विद्यालय तहको सञ्चालन र अनुगमनका लागि स्थानीय तहलाई संविधानतः अधिकार रहेको छ । नयाँ शैक्षिकसत्र अगावै विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गराउन शिक्षा मन्त्रालयले तदारुकता देखाएको हो । सरकारले विद्यमान कानुन विपरीत लिइएको भर्ना शुल्क र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ द्वारा निर्धारित बाहेक अन्य शुल्कलाई फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाएको हो । शिक्षा मन्त्रालयले प्रचलित कानुनअनुसार भर्ना भएपश्चात् मात्र स्वीकृत गरिएको शीर्षकमा स्वीकृत भएको शुल्क मात्र लिन पाउने व्यवस्था हुँदाहुँदै विद्यार्थीबाट अग्रिम शुल्क असुल गरिएको, साथै स्वीकृत भएको भन्दा बढी शुल्क लिएको, तोकिएको शीर्षकमा भन्दा फरक शीर्षकमा शुल्क लिएको गुनासो आएपछि कारबाही गर्न पहल गरेको हो । यस्तै, एउटै विद्यालयमा एक पटक भर्ना भएपश्चात् पनि पटकपटक भर्ना शुल्क लिएको जस्ता गुनासो आएको र सर्वोच्च अदालतबाट फैसला भए बमोजिम शैक्षिकसत्र सुरु नहुँदै भर्ना नगर्न, नियमविपरीत शुल्क नलिन, कानुनी प्रावधानभन्दा बाहिर हुनेगरी अग्रिम शुल्क लिएको भए तत्काल फिर्ता गराउन साथै सो अनुसार भए नभएको अनुगमन गरी नभएको भए सम्बन्धित विद्यालयलाई आवश्यक कारबाही गर्ने व्यवस्थाका लागि सम्पूर्ण स्थानीय तहलाई पत्राचार गरिएको हो । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शैक्षिकसत्र प्रारम्भ भएपछि मात्रै विद्यार्थी भर्ना गराउन तथा शुल्क मापदण्ड विपरीत शुल्क नलिन व्यवस्था मिलाउन र गैरकानुनी रूपमा त्यसरी शुल्क लिइएको पाइए शुल्क फिर्ता नगर्ने विद्यालयलाई शिक्षा ऐन, २०२८ लगायतका अन्य कानुनी व्यवस्था बमोजिम कारबाही हुन सक्नेतर्फ समेत सचेत गराए । शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ५४ को ४ र नियम ७८ को (ग) को व्यवस्था तथा सर्वोच्च अदालतको यही चैत २० गतेको आदेशको उल्लंघन गरी शैक्षिकसत्र अगावै विद्यार्थी भर्ना गर्ने कार्यलाई पनि दण्डनीय हुनेतर्फ सचेत गराइएको छ । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता महेन्द्र सुवेदीले शिक्षा मन्त्रालयबाट भएको निर्देशनलाई कार्यान्वयनका क्रममा शिक्षा विकास तथा समन्वय विकास एकाइद्वारा आवश्यक समन्वय र सहजीकरण गरिने बताए । उनले वैशाख १५ गतेदेखि मात्रै विद्यार्थी भर्ना गर्न र कक्षा सञ्चालन गर्न सबै विद्यालयलाई आग्रह गरे । अधिकांश निजी विद्यालयमा भर्ना वैशाख १५ अगावै हुने स्थिति देखिन्छ । शिक्षाविद् डा. बालचन्द्र लुइँटेलले शैक्षिकसत्रको सञ्चालनमा एकरूपता ल्याउन र निजी विद्यालयको शुल्क व्यवस्थापनमा नियमको पालना गराउनु राम्रो भएको बताए । उनले भने, ‘शिक्षा जस्तो सामाजिक क्षेत्रमा नियमन गर्नु अत्यावश्यक छ । विगतका सरकारले भन्दा अहिलेको सरकारले कानुनको कार्यान्वयनमा तदारुकता देखाउनु सकारात्मक हो ।’ काठमाडौँको रानीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले वैशाख १५ गतेदेखि शैक्षिकसत्र सुरु गर्ने सरकारको निर्णय आफूहरूले कार्यान्वयन गर्ने तर भर्ना प्रक्रिया त्यसअघि नै थाल्ने तयारी गरेको बताए । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का महासचिव रामहरि सिलवालले शिक्षा क्षेत्र आफैँमा महत्त्वपूर्ण, गरिमय र संवेदनशील क्षेत्र भएकाले यस्ता विषयमा निर्णय गर्दा सरकारले सरोकार भएका पक्षसँग संवाद गर्नु उचित भएको बताए । उनले विगतमा शैक्षिकसत्रको एक महिना अगाडिदेखि भर्ना लिइँदै आएकामा यस वर्ष वैशाख १५ देखि शैक्षिकसत्र सञ्चालन भनिएपछि यसको व्यावहारिक कार्यान्वयनमा अन्योल उत्पन्न भएको गुनासो गरे । विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिकसत्र सुरु नभएको तथा शिक्षा नियमावली बमोजिम लब्धांकपत्र लगायत आवश्यक सक्कल प्रमाणपत्र समेत प्राप्त नभएको अवस्थामा विद्यालयहरूले भर्नाको सूचना प्रकाशन नगर्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश दिइएको थियो । यसअघि हरेक वैशाख २ गतेदेखि शैक्षिकसत्र सञ्चालन हुँदै आएको थियो ।

८ अर्ब ५० करोडको लागतमा बिपी राजमार्गको कायापलट गरिँदै, गृहमन्त्री गुरुङले लिए प्रगति विवरण

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन-निरीक्षण गरेका छन् । उनले राजमार्गको क्षति र आउने सम्भावित विपत्तिबारे सरोकारवालासँग स्थलगत छलफल गरेका छन् । क्षतिग्रस्त उक्त राजमार्गको अनुगमनका क्रममा गृहमन्त्री गुरुङले अब हुने सम्भावित विपत्तिबारे चासो दिँदै यसअघि कस्ता खालका विपत् भए, कस्तो व्यवस्थापन गरियो, त्यस अनुसारको पूर्वतयारी गर्नुपर्नेबारे सुरक्षा प्रमुखलाई रणनीतिक तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । ‘यसअघि कस्तो खालको विपत्ति भयो, त्यसलाई मध्यनजर गर्दै रेस्क्यू गर्ने तयारीबारे हामी सचेत रहनुपर्दछ, खोलामा डुबे गोताखोर तथा अन्य अवस्थाका लागि एम्बुलेन्स हैन, जाम हुनसक्छ, समय महत्त्वपूर्ण हो, अब हामीले हेलीबाट रेस्क्यू गर्नुपर्दछ, जियो-लोकेसन गरी त्यसबारे व्यवस्थापन गर्दै रेस्क्यू गर्ने हो, त्यसका लागि त्रिभुवन विमानस्थलमा केन्द्रीय विपद् व्यवस्थापनबाट एयरपोर्टमा जुन टोली चाहिने हो, त्यही परिचालन गर्नेछौँ, जे आवश्यक हो सोहीअनुसार तयारी गर्नेछौं’, उनले भने । गृहमन्त्री गुरुङले सोहीअनुसार तयारी गर्न केन्द्रीय सुरक्षाकर्मी तथा जिल्लास्थित सुरक्षाकर्मीलाई निर्देशन दिएका हुन् । अनुगमनका क्रममा गुरुङले डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेश, नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा र रोशी गाउँपालिका अध्यक्ष दिनेश लामालगायत सरोकारवाला स्थानीय तहका प्रमुखसँग क्षतिग्रस्त राजमार्गबारे जानकारी लिएका थिए । त्यस अवसरमा योगेशले स्थायी निर्माणमा तीव्रता दिइएको तर हालको अवस्थामा पटकपटक भइरहेको वर्षाका कारण केही रोकिएको जानकारी गराए । यस्तै, योगेशले यसअघि अस्थायी रूपमा निर्माण गरिएको डाइभर्सन बगाउँदा पुनःनिर्माण गरी यातायातका साधनलाई पुनः सञ्चालन ग्रिएको जानकारी गराउँदै आगामी वर्षअघि पुरानै सडक लेनमा अस्थायी रूपमा भए पनि यातायात सञ्चालन गर्नेगरी ‘इक्युपमेन्ट’ थपेर निर्माण कार्यलाई तीव्रता दिइएको गृहमन्त्री गुरुङलाई जानकारी गराए । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ । राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्नेगरी निर्माणलाई तीव्रता दिइएको योगेशले बताए । उनका अनुसार राजमार्गमा भइरहेको काम हेर्दा दुई वर्षभित्र सडक पुनःनिर्माणको काम सकिनेछ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडक खण्डमा कुल २५ प्रतिशत काम भएको योगेशको भनाइ छ । विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस वर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि प्रक्रिया पुर्‍याएर स्थायी पुनःनिर्माण थालिएको हो । क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनर्निर्माण गर्ने बर्खे खोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किलोमिटर सडक निर्माणको काम यसै महिनाभित्र ठेक्का सम्झौता हुने योगेशले जानकारी दिए । क्षति पुर्‍याएको विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि ‘आरसिसी’ पर्खाल लगाउन सुरु गरिएको छ ।  यस्तै डालाबेँसी, मङ्गलटार खण्ड, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने काम भइरहेको योगेशले बताए । उनका अनुसार गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ । राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त खण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ। यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाई कालोपत्र गरी कामलाई तीव्रता दिइएको योगेशले बताए ।  बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो । अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । ‘पुनर्निर्माण हुने सडक खण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई दुई लेनको निर्माण गरिनेछ’, योगेशले भने । उनका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ। डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख  रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी ठेक्का पाएको कार्यालयले जनायो। यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनर्निर्माणका लागि लामा-नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म ४ दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि ६१ करोड रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी खरिढुङ्गा-घिसिङ-क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ । क्षतिग्रस्त कुल २९ दशमलव ५ किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किमी सडकलाई जाइकाले दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। कार्यालयले जाइकाले निर्माण गर्ने सडक खण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको थियो । क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिएको हो। जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडकखण्डलाई एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ । यसअघि गुरुङले अरनिको रामार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको १८ किलोमिटर सडक खण्डमा पर्ने भैंसेपाटीमा पुल तथा बनेपास्थित पुलबजारको पुन्यमाता खोलामा निर्माण सुरु गरिएको पुलको निरीक्षण गरी कामलाई तीव्रता दिन आग्रह गरे । 

बुधबार देशभर चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक/दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए ।  उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको तथा भोलिदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाएर काम कारबाही गर्न अनुरोध गरे । यसको असर पश्चिम नेपालमा बढी रहेको र ती क्षेत्रमा भने बिहानैबाट असर गर्ने बताए । उनका अनुसार दिउँसो त्यसको असर काठमाडौँमा पनि आइपुग्ने छ ।  विभागले आज साँझ जारी गरेको बुलेटिनअनुसार बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भू-भागमा साधारणतया बादल लाग्ने जनाइएको छ ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा भारी वर्षारहिमपातको सम्भावना रहेको पनि मौसमविद् लामिछानेले बताए । मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू-भागमा केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको उनले बताए। बिहीबार पनि बदली कायम रहने छ ।   

छिटो सेवा दिलाउने बहानामा रकम असुल्ने ३३ बिचौलिया समातिए

काठमाडौं । मधेस प्रदेशमा ३३ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी कार्यालयहरूमा सक्रिय रहेको बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मधेस प्रहरी कार्यालयबाट आज जारी विज्ञप्तिमा पर्साको वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयबाट चार जना, मालपोत कार्यालयबाट तीन जना, रौतहटको गौरस्थित मालपोत कार्यालयबाट पाँच जना, चन्द्रपुर मालपोत कार्यालयबाट दुई जना, सर्लाहीको मलङ्गवा ट्रायल सेन्टरबाट दुई जना, मलङ्गवा मालपोत कार्यालयबाट नौ जना, धनुषाका विभिन्न सरकारी कार्यालयबाट चार जना र सप्तरीका विभिन्न कार्यालयबाट चार जना गरी कुल ३३ जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ । पक्राउ पर्ने व्यक्तिहरूले सर्वसाधारणलाई छिटो सेवा दिलाइदिने बहानामा अतिरिक्त रकम असुल्ने, गलत सूचना दिने तथा सेवा प्रवाहमा अनियमितता ल्याउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अन्य संलग्न व्यक्तिहरूको खोजी तथा नियन्त्रण प्रक्रिया जारी राखेको जनाएको छ । आम नागरिकलाई सरकारी सेवा लिँदा कुनै पनि बिचौलियाको प्रलोभनमा नपर्न आग्रह गर्दै यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन अपिल गरेको छ । कार्यालयले यस्ता गैरकानुनी कार्यमा संलग्न जो कोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सहायक प्रवक्ता मानबहादुर राईले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्भावित नयाँ रोगको सामना गर्न सरकार एकीकृत रूपमा अगाडि बढिरहेको छ: स्वास्थ्यमन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको सामना गर्न सरकार एकीकृत रूपमा अगाडि बढिरहेको बताएकी छन् । विश्व स्वास्थ्य दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले सरकार जलवायु परिवर्तनका चुनौती र नयाँ-नयाँ रोगहरूको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेको बताएकी हुन् ।  मन्त्री मेहताले मानिस र पशुपन्छीको स्वास्थ्य वातावरणसँग अभिन्न रूपमा जोडिएको उल्लेख गर्दै प्रकृति सुरक्षित र पशुपन्छी स्वस्थ नरहेसम्म मानिस पनि पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताइन् । उनले सबै प्राणी जगत् र पर्यावरणको रक्षा गर्नु नै स्वास्थ्यको वास्तविक मर्म रहेको उल्लेख गरिन् ।  ‘सरकारले राष्ट्रिय एक स्वास्थ्य रणनीतिमार्फत स्वास्थ्य, पशु र वातावरण क्षेत्रबीचको सहकार्यलाई स्थानीय तहसम्म सुदृढ बनाउँदै लगेको छ’, मन्त्री मेहताले भनिन् ‘त्यसैले यो सबै कुरालाई मध्यनजर गरी सरसफाइलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाऔँ, स्वस्थकर जीवनशैली अपनाउन लागौँ ।’ उनले  विज्ञानमा विश्वास गर्न, खोप लगाउन र नियमित स्वास्थ्य जाँच गराउन तथा चिकित्सकको सल्लाहअनुसार मात्र औषधिको प्रयोग गर्न पनि सबैमा आग्रह गरिन् । आज विश्व स्वास्थ्य दिवस ‘मानव, पशुपन्छी र पर्यावरणको हितस विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने नाराका साथ मनाइएको छ ।  

ललितपुरमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३-००१ ख ८०६८ नम्बरको ट्रकले एएए ३५४२ नम्बरको मोटरसाइकललाई (मंगलबार) आज दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुर महानगरपालिका-२ सानेपा बस्ने सुनसरी घर भएका ६५ वर्षीय विदुर गुरुङ र मोटरसाइकलमा सवार उनकै आमा ८५ वर्षीया धनमाया गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ । ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।