काठमाडौं । पूर्वसचिव तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रमुख विज्ञ सल्लाहकार दिनेशकुमार घिमिरेले नेपालमा उत्पादित विद्युत् आन्तरिक खपतमा नै जोड दिनुपर्ने बताएका छन् ।
इप्पान र क्यानडा फर लोकल इनिसिएटिभले आयोजना गरेको नेपालको हरित भविष्य निर्माणसम्बन्धी नियमित ‘फ्राइडे फोरम’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अन्तरदेशीय विद्युत् निर्यातको भर परेर मात्रै विद्युत् उत्पादनमा जोड दिन नहुने बताए । तत्कालका लागि भने भारत र बंगलादेशमा विद्युत् निर्यात गर्नु बाध्यता रहेको उनको भनाइ छ । दीर्घकालीन रूपमा भने विद्युत् निर्यातको भर पर्न नहुने उनले बताए ।
उनले प्रसारण पूर्वाधार निर्माण गरेर नेपालमै आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिए । नेपालको आन्तरिक खपतका लागि हालको विद्युत् माग वास्तविक सम्भावनाभन्दा कम रहेको उनको भनाइ छ । उनले प्रसारण पूर्वाधार, औद्योगिक करिडोर र अन्य विद्युत् खपत बढाउने संरचना निर्माण हुन नसक्दा माग खुम्चिएको बताए ।
उनले विद्युत् खपत बढाउन विद्युतीय यातायात, सार्वजनिक यातायातको विद्युतीकरण तथा घरायसी खाना पकाउने र ताप उत्पादनका लागि विद्युत्को प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए । यसबाट उत्पादित विद्युत् देशभित्रै खपत गर्न सकिने उनको भनाइ छ ।
उनले भने, ‘अहिलेको समस्या भनेको जेनेरेटेड पावरलाई म्यानेज गर्न हो । देशभित्रको ट्रान्समिसन र डिस्ट्रिब्युसन संरचना पनि हामीसँग पर्याप्त छैन । त्यसले गर्दा जेनेरेट भएको विद्युत् पनि उपयोग हुन सकेको छैन । निर्यात गर्न पनि हाम्रा आफ्नै चुनौती छन्, ट्रान्समिसन बोटलनेकहरू छन् । अहिले एउटा मात्रै अपरेसनल ट्रान्समिसन इन्टरकनेक्सन लाइन छ, जुन पनि अलरेडी एक्जस्टेड भइसकेको छ ।'
उनले जलाशययुक्त आयोजना र सौर्य ऊर्जाको विकासमा ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गरे । तत्कालीन प्राथमिकताका रूपमा ठूला क्षमताका सौर्य विद्युत् आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) को विकासलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।
जलाशययुक्त आयोजना निर्माण गर्न लामो समय लाग्ने भएकाले त्यसको अध्ययन तथा कार्यान्वयनसँगै सौर्य ऊर्जाको उत्पादन शीघ्र विस्तार गर्नुपर्ने उनले बताए । उनका अनुसार सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीले विद्युत् आपूर्तिमा हुने उतारचढाव व्यवस्थापन गर्न सहज हुनेछ । उनले वर्षायाममा उत्पादन हुने विद्युत् व्यवस्थापन गर्न भने सीमापार विद्युत् व्यापारको बजार विस्तार आवश्यक रहेको बताए ।