विकासन्युज

किरण पण्डित बने राष्ट्र बैंकको डेपुटी गभर्नर

काठमाडौं । मन्त्रिपरिषद बैठकले किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त छ । आज (मंगलबार) बसेको बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो । 

योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने गरेको हो । डोटीका भट्टले अर्थशास्त्रमा पीएचडी गरेका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा उनले गभर्नर हुने चर्चाबीच पदबाट राजीनामा दिएका थिए । तर अन्तमा विश्व पाैडेल गभर्नरमा नियुक्त भएका थिए ।  भट्ट तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकार पनि हुन् । उनी नीति अनुसन्धानमा काविल अर्थशास्त्रीका रूपमा परिचित छन् । 

उपराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिपछि यादवलाई सोमबार (हिजो) राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  यादवको स्वास्थ्य परीक्षणको रिपोर्ट नर्मल आएको र केही रिपोर्ट आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ।

सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक सुरू

काठमाडौं।  मन्त्रिपरिषद बैठक सुरु भएको छ । मंगलबार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

मन्त्रीको मर्यादाक्रम हेरफेर, सुधन तेस्रोबाट पाँचौंमा झरे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९९०  मर्यादाक्रम  हेरफेर  गरिएको हो ।  नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रोमा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औं नम्बरमा पुगेका हुन् ।  दोस्रोमा डा. स्वर्णिम वाग्ले यथावत रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौंथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । 

१७ ईडीमध्ये ४ जनाको नाम सिफारिस, को बन्दैछन् डेपुटी गभर्नर ?

काठमाडौं । सरकारले आज (मंगलबार) राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चार जना कार्यकारी निर्देशकलाई डेपुटी गभर्नरमा नियुक्त गर्नका लागि मन्त्रिपरिषद बैठकमा प्रस्ताव पेस गरेसँगै आज राष्ट्र बैंकले दुई जना कार्यकारी निर्देशकलाई डेपुटी गभर्नरका रुपमा पाउनेछ ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले एक साताअघि नै अर्थमन्त्री समक्ष चार जना कार्यकारी निर्देशकको नाम सिफारिस गरेका थिए । सोही अनुसार आज अर्थमन्त्रीले उनीहरुको नाम डेपुटी गभर्नरका लागि मन्त्रिपरिषदमा लगेका हुन् । चार जनामध्येबाट सरकारले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्नेछ ।  डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र गत फागुन २४ गते नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरबाट बिदा भएको वा राष्ट्र बैंकको डेपुटी गभर्नर पद रिक्त भएको करिब एक महिना हुन लागेको छ । अन्ततः सरकारले डेपुटी गर्भनर नियुक्त गर्न लागेको हो ।  राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर राष्ट्र बैंकका विशिष्ट श्रेणी (कार्यकारी निर्देशक–ईडी) स्तरका अधिकृतहरूमध्येबाट नियुक्त गरिने व्यवस्था छ । हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक रहने व्यवस्था छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रोशन कुमार सिग्देल उमेरहदका कारण चैत १८ गते सेवा निवृत्त भएसँगै डेपुटी गभर्नरका लागि योग्य संख्या १७ मा सीमित भएको छ ।  हाल नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रुपमा नरेश शाक्य, रेवती प्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरु प्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिमिल्सिना, चेत प्रसाद उप्रेती, डा. रामशरण खरेल, डा. डिल्लीराम पोख्रेल, दीर्घराज रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजन विक्रम थापा र राजेन्द्र भट्टराई कार्यकारी निर्देशक पदमा कार्यरत छन् । उनीहरुमध्ये नै दुई जना डेपुटी गभर्नरमा नियुक्त हुनेछन् ।

चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली

काठमाडौं । इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यहरूको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकांक्षी उडान सम्पन्न गर्दै पृथ्वीतर्फ फर्किने यात्रा सुरु गरेको छ । करिब सात घण्टासम्म अन्तरिक्षयानको झ्यालमा आँखा गाडेर बसेका चार सदस्यीय टोलीले मानव इतिहासमै फरक र अभूतपूर्व खगोलीय अनुभव संकलन गरेका छन् ।      चन्द्रमाको कम चिनिएका क्रेटरहरूदेखि सूर्य ग्रहणसम्मका दृश्य अवलोकन गरेका अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षबाट देखिएका दृश्यलाई शब्दमा व्यक्त गर्नै कठिन भएको बताएका छन् । अन्तरिक्ष यात्री भिक्टर ग्लोभरले आफूहरूले देखेका दृश्य मानव कल्पनाभन्दा पर रहेको उल्लेख गर्दै त्यसलाई ‘अविश्वसनीय’ अनुभवका रूपमा वर्णन गरे ।      उडानका क्रममा टोलीले चन्द्र सतहका सूक्ष्म संरचनाहरूलाई नजिकबाट नियालेका थिए भने चन्द्रमाले सूर्यलाई ढाक्दा देखिने सूर्य ग्रहणको दृश्य पनि प्रत्यक्ष देखेका थिए । त्यस्तै, चन्द्र सतहमा देखिएका उज्याला चमकहरू उल्का प्रहारका सङ्केत भएको उनीहरूले बताएका छन् । आर्टेमिस द्वितीयका प्रमुख वैज्ञानिक केल्सी यङले यस अभियानबाट प्राप्त वैज्ञानिक जानकारी अत्यन्तै मूल्यवान रहेको बताउँदै अन्तरिक्ष यात्रीहरूको योगदानको प्रशंसा गरे ।      ऐतिहासिक दूरी पार गर्दै टोलीले सन् १९७० को अपोलो १३ अभियानले कायम गरेको कीर्तिमानसमेत तोडेको छ । उनीहरू पृथ्वीबाट करिब दुई लाख ५२ हजार ७६० माइल (चार लाख छ हजार ७७८ किलोमिटर) टाढा पुगेका थिए, जुन अघिल्लो रेकर्डभन्दा चार हजार १०५ माइल बढी हो । अन्तरिक्ष यात्री जेरेमी ह्यानसेनले यो उपलब्धिले भावी पुस्तालाई अझ अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।      यात्राका क्रममा उनीहरूले करिब ४० मिनेटसम्म पृथ्वीसँग सम्पर्क गुमाउनुपरेको थियो, जुन अन्तरिक्षयान चन्द्रमाको पछाडि पुग्दा स्वाभाविक रूपमा हुने ‘ब्ल्याकआउट’ हो । यो क्षण ५० वर्षभन्दा बढीपछि पहिलोपटक मानवले पृथ्वीसँग सम्पर्कविहीन भएको घटना बनेको छ । पुनः सम्पर्क स्थापित भएपछि अन्तरिक्ष यात्री क्रिस्टिना कोचले पृथ्वीको आवाज फेरि सुन्न पाउँदा निकै सन्तोष मिलेको बताए ।      यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूसँग फोनमार्फत संवाद गर्दै उनीहरूलाई ‘आधुनिक समयका अग्रगामी’ भन्दै प्रशंसा गरे । उनले यस्तो साहसिक अभियानले विश्वलाई प्रेरित गरेको उल्लेख गर्दै अन्तरिक्ष अन्वेषणमा अमेरिका अग्रपङ्क्तिमा रहने धारणा व्यक्त गरे । संवादका क्रममा केही समय सङ्केत अवरोधसमेत देखिएको थियो, जसलाई उनले दूरीको कारण भएको टिप्पणी गरे ।      ओरियन क्याप्सुलमार्फत फर्किंदै गरेको टोली अब स्वतः पृथ्वी फर्किने बाटो (फ्री–रिटर्न प्रक्षेपवक्र) मार्गमा पृथ्वी आइपुग्न करिब चार दिन लाग्नेछ । रिड वाइसम्यानको नेतृत्वमा रहेको यस मिसनमा विविध ऐतिहासिक उपलब्धि पनि समावेश छन् । ग्लोभर चन्द्रमाको वरिपरि पुग्ने पहिलो अश्वेत अन्तरिक्ष यात्री बनेका छन् भने कोच पहिलो महिला र ह्यानसेन पहिलो गैर–अमेरिकीका रूपमा इतिहासमा दर्ज हुने तयारीमा रहेका छन् ।      मिसनका क्रममा टोलीले दुई नयाँ चन्द्र क्रेटरको नाम प्रस्ताव गर्ने निर्णय गर्दा एउटा भावनात्मक क्षण पनि देखा पर्‍यो । पहिलोलाई अन्तरिक्षयानको उपनाम ‘इन्टिग्रिटी’ बाट नामकरण गर्न प्रस्ताव गरिएको छ भने दोस्रो ‘क्यारोल’ नाम रिड वाइसम्यानकी स्वर्गीय पत्नीको सम्झनामा राख्न सुझाव दिइएको छ, जसको क्यान्सरका कारण निधन भएको थियो । उक्त क्षणमा टोली भावुक बनेको थियो र ह्युस्टनस्थित मिसन कन्ट्रोलले पनि मौन धारण गरेको थियो ।      नासाका अनुसार यी नामहरू औपचारिक स्वीकृतिका लागि अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनसमक्ष पेश गरिनेछन्, जुन खगोलीय संरचनाहरूको नामकरण गर्ने आधिकारिक निकाय हो ।       

राष्ट्र बैंकले आज दुई डेपुटी गभर्नर पाउँदै, अर्थमन्त्रीले लगे प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दुई डेपुटी गभर्नर पाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डेपुटी गभर्नर नियुक्तिको लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेका छन् ।  अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्रीले चार जनाको नाम मन्त्रिपरिषदमा पेश गरेका छन् । आज नै मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने स्रोतको दाबी छ ।  गभर्नरले चार जनाको नाम अर्थमन्त्रालयमा सिफारिस गरेका छन् । उनले चारै जनाको नाम क्याबिनेटमा पेस गर्ने बुझिएको छ ।  मन्त्रिपरिषद् बैठक १२:३० बजे बस्दैछ ।