परीक्षामा राम्रो अङ्क ल्याउने मात्र होइन, जिम्मेवार नागरिक बनाउने शिक्षा चाहिन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको शिक्षाप्रणालीले विद्यार्थीलाई वर्तमानका लागि मात्र नभई भविष्यका चुनौती र अवसरको सामना गर्न सक्ने बनाउनुपर्ने बताएका छन् । विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता र सञ्चार क्षेत्रमा भइरहेको तीव्र विकाससँगै शिक्षाको स्वरूप र आवश्यकता पनि परिवर्तन भइरहेको उनले बताए ।

पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेश तथा हीरक महोत्सव २०८३ को अवसरमा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आधुनिक ज्ञान र सीपसँगै मानवीय मूल्यलाई पनि शिक्षाको केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।

प्रविधिको विकाससँगै मानवीय विवेक, जिम्मेवारी र संवेदनशीलताको आवश्यकता पनि बढ्दै गएको उनको भनाइ थियो। उनले मानवता, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रप्रतिको जिम्मेवारीलाई शिक्षाको महत्वपूर्ण पक्षका रूपमा विकास गर्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले विद्यालयलाई ज्ञान र शिक्षा प्रदान गर्ने संस्थाका रूपमा मात्र नभई राष्ट्रको भविष्य निर्माण गर्ने आधारका रूपमा व्याख्या गरे । विद्यालयमा पाठ्यपुस्तकको ज्ञानसँगै अनुशासन, इमानदारिता, परिश्रम, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता जीवनोपयोगी मूल्य पनि सिकाइने उनले बताए ।

आजका विद्यार्थी नै भोलिका शिक्षक, चिकित्सक, इन्जिनियर, प्रशासक, उद्यमी, राजनीतिज्ञ, वैज्ञानिक तथा जिम्मेवार नागरिक बन्ने उल्लेख गर्दै उनले विद्यार्थीको समग्र विकासमा विद्यालयको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे ।

शिक्षाको उद्देश्य परीक्षामा राम्रो अङ्क ल्याउनुमा मात्र सीमित हुन नहुने राष्ट्रपति पौडेलले बताए । विद्यार्थीलाई समस्या समाधान गर्न सक्ने, नयाँ सोच विकास गर्न सक्ने, प्रविधिको सदुपयोग गर्न जान्ने र समाज तथा राष्ट्रप्रति जिम्मेवार नागरिक बन्न सक्ने बनाउनुपर्ने उनको भनाइ थियो ।

यसका लागि सरकार, नीतिनिर्माता र शिक्षासँग सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताए । 

Share News