काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले विश्व लगानी सप्ताह २०२६ को अवसरमा काठमाडौंको गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयमा वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
महिलाको आर्थिक सशक्तीकरण, वित्तीय पहुँच विस्तार र लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ५० भन्दा बढी प्रौढ महिला विद्यार्थी सहभागी भएका थिए ।
कार्यक्रममा सहभागीलाई बचत, व्यक्तिगत वित्तीय व्यवस्थापन, दीर्घकालीन लगानी, नेपालको पुँजी बजार, डिम्याट खाता, मेरो सेयर र प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी आधारभूत जानकारी दिइएको थियो ।
कार्यक्रमको सहजीकरण नेपाल एसबिआई मर्चेन्ट बैंकिङका संस्थागत परामर्श प्रमुख अरुण श्रेष्ठले गरेका थिए । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक शान्ता पण्डित, सहप्रधानाध्यापक उर्मिला प्रधान, व्यवस्थापन पक्षका प्रतिनिधि तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका लगानी प्रमुख उत्सव तुलाधरको उपस्थिति थियो ।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक पण्डितले विभिन्न उमेर समूहका महिलालाई लक्षित गरी सञ्चालन गरिएको वित्तीय शिक्षा कार्यक्रमले उनीहरूको आर्थिक निर्णय क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले कार्यक्रम आयोजना गरेकोमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङप्रति आभार व्यक्त गरिन् ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रतिनिधिहरूले वित्तीय रूपमा सचेत र सक्षम नागरिक निर्माणका लागि वित्तीय साक्षरता आवश्यक रहेको बताए । विशेषगरी महिलालाई औपचारिक वित्तीय प्रणाली र पुँजी बजारसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको उनीहरूको भनाइ थियो ।
चेतना महिला माध्यमिक विद्यालयले विगत २२ वर्षभन्दा बढी समयदेखि विभिन्न उमेर समूहका महिलालाई कक्षा १ देखि १० सम्म शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयबाट एसईई उत्तीर्ण गरेका महिलाहरू स्थानीय तहको नेतृत्व, उद्यमशीलता, स्वास्थ्य सेवा तथा विभिन्न पेसा–व्यवसायमा आबद्ध भई आत्मनिर्भर बनेका छन् ।
विद्यालयमा हाल १६० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् भने दैनिक करिब १२० जना विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।