‘भाटभटेनी रेमिट’बाट पठाइएको रेमिट्यान्स जनता बैंकबाट भुक्तानी पाइने

काठमाडौँ । जनता बैंक र भाटभटेनी मनि ट्रान्स्फर प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोवार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र बिएमटीका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षरण गरेका छन् । भाटभटेनी मनि ट्रान्स्फर प्रालि भाटभटेनी समूहद्वारा संचालित कम्पनि हो । सम्झौता बमोजिम ‘भाटभटेनी रेमिट’ मार्फत पठाइएको अन्तरिक तथा बाह्य रेमिट्यान्सहरु जनता बैंकको देशैभरी छरिएका १२९ शाखा तथा ५० शाखा रहित बैंकिङ्ग मार्फत भुक्तानी लिन सकिने छ ।

गुराँस लघुवित्तको आईपीओ आजदेखि, १० कित्ता मात्रै भर्नु उपयुक्त

काठमाडौं । गुराँस लघुवित्तको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)  आजदेखि खुल्ने भएको छ । उक्त लघुवित्तको २ लाख ५० हजार कित्ता साधारण शेयरमध्ये ३८७५ कित्ता कर्मचारी र १२५०० कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी हुन आउने २ लाख ३३ हजार ६२५ कित्ता शेयरको निष्काशन खुला हुनेछ । विद्यमान धितोपत्र निष्काशन नियमावलीअनुसार न्यूनतम १० कित्ताका दरले सम्भव भएसम्म सबै आवेदकलाई शेयर बाँडफाँड गर्नुपर्ने भएकोले सो शेयर २३ हजार ३६२ जनाले मात्रै प्राप्त गर्नेछन् । आवेदक संख्या सोभन्दा कम भएको अवस्थामा मात्र आवेदकले सो भन्दा बढी शेयर पाउँछन् । तर हाल आवेदकको ट्रेन्ड हेर्दा सोभन्दा बढी संख्यामा आवेदन पर्ने देखिएकोले सो शेयर सो संख्याका भाग्यमानी आवेदकले मात्रै पाउने सम्भावना छ । त्यसैले आवेदकले १० कित्ता शेयरका लागि मात्रै आवेदन दिन उपयुक्त हुन्छ । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्मको लागि आवेदन दिन सकिने जनाइएको छ । उक्त लघुवित्तको आवेदन छिटोमा बैशाख २० र ढिलोमा जेठ १४ गते बन्द हुने जनाइएको छ । गुराँसले आईपीओ निष्कासनका लागि चैत २६ गते धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको थियो । उसले आफ्नो आईपीओको निष्कासन तथा विक्री प्रबन्धकको रुपमा एनआईबीएल क्यापिटललाई नियुक्त गरेको छ । यद्यपि आवेदकले भने सीआश्वा सेवा सञ्चालन गर्ने आफ्नो डिम्याट खातासँग लिङ्क भएको बैंकको जुनसुकै शाखाबाट उक्त आईपीओका लागि आवेदन दिन सक्नेछन् । धनकुटा जिल्लामा मुख्य कार्यालय रहेको उक्त लघुवित्तको प्रदेश १ का विभिन्न जिल्लामा गरी २३ शाखा सञ्चालनमा छन् । हाल ५ करोड २५ लाख चुक्ता पुँजी रहेको उक्त कम्पनीको आईपीओ निष्कासनसँगै पुँजी ७ करोड ७५ लाख पुग्नेछ ।

खल्ती डिजिटल वालेटले पायो राष्ट्र बैंकबाट अनुमति, अब मनि ट्रान्सफर सेवा शुरु गर्ने

काठमाडौँ । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमति पत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । डिजिटल भुक्तानीका साथै अब खल्ती मार्फत आन्तरिक मनि ट्रान्सफर र अन्य विभिन्न किसिमका मोबाईल वित्तीय सेवाहरू पनि उपलब्ध हुने छन् । नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्ट अप कम्पनी हो । सुरुवात देखि नै खल्ती नविनतम प्रविधि तथा सेवा मार्फत मानिसको जीवन सहज बनाउन केन्द्रित रहेको जनाइएको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाईसेन्स प्राप्त गरेपछि डिजिटल माध्यमबाट प्रदान गरिने सेवालाई अर्को तहमा पुर्याउन थप उत्प्रेरित बनेको कम्पनीले जनाएको छ । अब सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याउन खल्तीको ध्यान केन्द्रीत हुनेछ । खल्तीले राष्ट्र बैंकबाट अनुमतीप्राप्त गरेको अवसरमा खुशी व्यक्त गर्दै कम्पनीका प्रबन्ध निर्देशक मनिष मोदीले भने,‘हामी अब देशका हरेक कुना काप्चाबाट सरकारको डिजिटल नेपालको सपनालाई साकार पार्न ‘डिजिटल नेपाल, समृद्धिको महाअभियान’भन्ने नाराका साथ भरपूर प्रयास गर्नेछौँ । बैंकिङ पहुँचमा नरहेको दूरदराजको जनसंख्यालाई समेत वित्तीय सेवाप्रदानगर्ने र उनीहरुको जीवन सरल बनाउने पनि हाम्रो उद्देश्य रहनेछ ।” खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाईल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिलभुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिकपत्रिकाहरुको ग्राहक–शुल्कतिर्ने जस्ता अन्यथुप्रै सेवाहरु लिन सकिन्छ । साथै, खल्ती एप प्रयोग गरी साना–ठूला खुद्रा पसलमा क्यु–आर कोड मार्फत मोबाईलबाटै पैसा तिर्न सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख रहेको कम्पनीले जनाएको छ ।