एनबीआई र देवः विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रम सम्बन्धी सम्झौता
काठमाडौँ । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट लि.(एनबीआई) र देवः विकास बैंक लि.बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । साथै बैंकमा कार्यरत कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण प्रदान गर्ने जेएएलबीआईकोर्सको विषयमा पनि सम्झौता भएको छ । उक्त सम्झौतामा नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बा र देवः विकास बैंक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
युनियन हाइड्रोको शेयर बाँडफाँट, सबैलाई मागेअनुसार शेयर
काठमाडौँ । यूनियन हाइड्रो पावर कम्पनीको शेयर बाँडफाँट भएको छ । आवेदन गर्ने सबैलाई मागअनुसार शेयर बाँडफाँट गरिएको लक्ष्मी क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सिआश्वा प्रणालीबाट ४७ हजार १८५ जनाले आवेदन दिएका थिए । त्यसमा ४५ हजार ४६२ जनाको आवेदन स्वीकृत भएको छ । कम्पनीले गत चैत १३ गतेदेखि साधारण शेयर बिक्री गरेको थियो । कम्पनीले ३४ लाख १० हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो । आवेदनकर्ता सबैलाई शेयर दिँदै कम्पनीले आज शेयर बाँडफाँट गरेको हो ।
रसुवागढीको आईपीओ बाँडफाँडः ४० कित्तासम्म हाल्नेलाई सबै पर्यो, २५ हजारलाई थप १० कित्ता
काठमाडौं । रसुवागढीको हाइड्रोपावर कम्पनीको आईपीओ बिहीबार बाँडफाँड भएको छ । उक्त आईपीओमा ४० कित्तासम्म मात्रै आवेदन गरेकालाई माग गरेजति सबै र ५० कित्ता वा सो भन्दा बढी आवेदन गरेकालाई थप १० कित्ता सेयर परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ११ हजार ०७१ जना आवेदकलाई कुल ३५ लाख १५ हजार ९३० कित्ता सेयर बाँडफाँडमा समावेश नगरी माग गरेजति सबै कित्ता वितरण गरिएको छ । त्यस्तै, ५० कित्ता वा सो भन्दा बढी आवेदन गरेका आवेदकहरुलाई ४० कित्ताका दरले ५५ लाख ६६ हजार ६०० कित्ता सेयर बाँडफाँड गरिएको छ । साथै, ५० देखि ५ हजार कित्तासम्म माग गर्ने २५ हजार ६९३ जनालाई गोलाप्रथाबाट थप १० कित्ता सेयर बाँडिएको छ । बाँकी रहेको ७ कित्ता सेयरको लागि ५० वा सो भन्दा बढी कित्ता सेयर माग गरेका गोलप्रथा बाहेक ४० कित्ता पाएका ७ जनालाई १/१ कित्ता सेयर वितरण गरिएको हो । रसुवागढीको ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर २ लाख ९१ हजार २७२ जनालाई वितरण गरिएको हो । कूल ३ लाख २ हजार ३४३ जना आवेदकमध्ये ११ हजार ०७१ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । उक्त आईपीओमा सबैभन्दा बढी काठमाडौं वासीले आवेदन दिएका थिए । त्यस्तै, आईपीओमा मुगु, मनाङ्, दैलेख जस्ता दुर्गम जिल्लाबाट पनि ३००/४०० बढी आवेदन परेकाे क्यापिटलले जनाएको छ । वैशाख ६ देखि १२ गतेसम्म निष्काशन भएको उक्त सेयरको बाँडफाँड बिहीबार सिंहदरबारस्थित उर्जा मन्त्रालयको सभाहलमा भएको हो । कम्पनीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर मध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारमा बिक्री गरेको थियो । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत समावेश भएकाे यस कम्पनीको सेयर तत्कालै नेप्सेमा सूचीकरण हुने बताइएकाे छ ।