यूकेमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालय उद्घाटन
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा यूकेमा पनि शुरु भएको छ । आइतबार यूकेको रेडीङमा कार्यालय उद्घाटन भएको हो । उक्त कार्यक्रममा युकेका लागी नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथिका रुपमा रहेका थिए । साथै, एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोलराज शर्मा, सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यूके लिमिटेडका प्रबन्धनिर्देशक करमबहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यूके भर आफ्ना प्रतिनिधि मार्फतपनि दिने योजना बताएको छ । छिट्टै नै यूकेबाट नेपालमा मात्रै सीमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजनापनि सार्वजनिक गरेको छ ।
गणपतिको शेयर आवेदन आजदेखि, १५०० कित्तासम्म आवेदन दिन सकिने, कति भर्ने ?
काठमाडौं । गणपति माइक्रोफाइनान्सको आईपीओ सोमबारदेखि खुल्दैछ । जम्म ३ लाख ३५ हजार कित्तामध्ये कर्मचारी र म्युचुअल फण्डको आरक्षण कटाएर बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता शेयरका लागि सोमबार बैंकिङ समयदेखि आवेदन खुला हुनेछ । उक्त कम्पनीको आईपीओ बिहीबार बन्द हुनेछ । न्यूनतम १० देखि १५०० कित्तासम्म आवेदन गर्न सकिने उक्त शेयर ३१ हजार ३०७ जनालाई १०/१० कित्ताका दरले वितरण हुनेछ । आवेदकको संख्या ३१ हजारभन्दा कम भए मात्रै आवेदकलाई २० कित्ता शेयर पर्ने सम्भावना रहन्छ । तर त्यो असम्भवप्रायः रहेकोले आवेदकले न्यूनतम १० कित्तामात्रै आवेदन गर्नु उपयुक्त हुन्छ । उक्त आवेदन डिम्याट खातासँग लिंक भएका जुनसुकै बैंक खाता भएको बैंकका शाखाहरुबाट भर्न सकिन्छ वा मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेट सुविधा भएका जुनसुकै स्थानमा रहेर पनि भर्न सकिन्छ ।
मोबाइल वित्तीय सेवामा प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता
काठमाडौँ । मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी भएको छ । राष्ट्र बैंकको भूमिकासहितको सो सम्झदारी पत्रमा बैंकको तर्फबाट गर्भनर डा. चिरञ्जीवी नेपाल र प्राधिकरणको तर्फबाट कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले हस्ताक्षर गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । मोबाइल वित्तीय सेवाको विकास तथा नियमनलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन दुवै नियमनकारी निकायले संयुक्तरुपमा गर्नुपर्ने कार्य र त्यसका लागि समन्वयका क्षेत्र र विकास रणनीतिसमेत समझदारी पत्रमा उल्लेख गरिएको छ । साथै दूरसञ्चार प्रविधिको प्रयोग गरी देशमा क्रियाशील विभिन्न भुक्तानीसम्बन्धी कार्यमा संलग्न भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक र दूरसञ्चार सेवा प्रदायक संस्थासँग सम्बन्धित कार्यलाई सहजीकरण तथा नियमन गरी आवश्यकता अनुसार नीति निर्माण कार्यमा समेत सहयोग पु¥याउने उद्देश्यले दुवै नियमनकारी निकायको प्रतिनिधित्व हुने गरी एक संयुक्त समन्वय समितिसमेत गठन गरेको छ । रासस